global ime bank Long Banner Ad

गृहपृष्ठ धानबालीमा पर्याप्त मल नपाउँदा उत्पादनमा समस्या

धानबालीमा पर्याप्त मल नपाउँदा उत्पादनमा समस्या

धानबालीमा पर्याप्त मल नपाउँदा उत्पादनमा समस्या

रामपुर नगरपालिका-५ सुन्दरटोल बस्ने सरस्वती सोमैले करिब नौ घण्टा लाइनमा बसेर १० किलो मल ल्याएकी छन् ।

रामपुर बेझाडमा रहेको सूर्योदय कृषि सहकारी संस्थामार्फत हालसालै वितरण गरिएको युरिया मल उनको धानबालीमा राख्न पर्याप्त छैन । तैपनि मलको हाहाकारले चर्को घाममा लामो समय लाइनमा बसेर मल पाउँदा भने उनी खुसी छन् । उनी भन्छिन्,’बिहान छदेखि दिउँसो तीनबजेसम्म चर्को घाममा लाइनमा बसेर निकै दुःखका साथ १० किलो मल पाइयो, त्यही भए पनि गोडमेल गरेको धानमा राख्न पाउँदा अभाबकाबीच खुसी नै हुनुपर्ने अवस्था सिर्जना भयो ।’

खेत रोप्ने बेलामा युरिया मलको समस्याले कालोबजारीमा खरिद गरेर प्रयोग गर्न बाध्य भएको उनको भनाई छ । कालोबजारीको मल सहकारीमार्फत उपलब्ध हुने मलको तुलनामा कृषकले दोब्बर बढी मूल्य तिरेर खरिद गर्नुपरेको छ । महँगो शुल्क तिरेर कालोबजारीकै मल पाउन त्यति सहज नभएको उनको भनाइ छ । उनी भन्छिन्, ‘हामी कृषक मारमा परिरहेका छौँ, एकातिर समयमा मल नपाइनु, अर्कोतिर कालोबजारीमा चर्को मूल्यमा मल खरिद गर्नुपर्ने अवस्था कृषकलाई छ, मल नपाइने समस्या बर्सेनि खेप्नु परिरहेको छ ।’

रामपुरकै बुद्धिमान बोटेले करिब १० घण्टा लाइन बसेर मुस्किलले सहकारीमार्फत १० किलो मल पाए । सो मल उनको धानबालीलाई पर्याप्त छैन । धान रोप्ने समयमा आवश्यकताअनुसार राख्न नपाएकाले मेहनत र लगानीअनुसार उत्पादन लिन नसकिनेमा उनी चिन्तित छन्। उनले भने,’वर्ष दिन खाने खेती दुःख गरेर लगाइयो, राम्रोसँग मल दिन सकियो भनेमात्र उत्पादन राम्रो हुने हो, धान लगाउने बेला समस्या भए पनि गोडमेल गर्ने समयमा मल सहज हुन्छ भन्ने आशामा बसियो, अझै समस्या उस्तै छ ।’

केही कृषकले मल अभावका बाबजुद धान लगाए । गोडमेल गर्ने समयमा मल भित्रन्छ भन्ने आशाले धान लगाएका कृषक अहिले मल नपाउँदा उत्पादन लिन नसक्ने चिन्ताले पिरोलिएका छन् । खेतमा लगाएका धानबाली सप्रन सकेका छैनन् ।

सरकारले हरेक वर्ष कृषि उत्पादन बृद्धिका लागि प्राथमिकताका साथ हेर्दै आएको बताउँदै आएको छ । कृषक भने मुख्यबाली धानका लागि रासायनिक मल अभावबाट मुक्त हुन सकिरहेका छैनन् । मागअनुसारको मल आपूर्ति नहुँदा खेतीपातीका लागि खेतबारीमा व्यस्त हुनुपर्ने समयमा पाल्पाका किसान डिपो र वितरण केन्द्र दैनिक धाउन बाध्य छन् ।

कृषि सामग्री कम्पनीबाट कोटामा उपलब्ध भएको मल पाउन घण्टौँ लाइनमा बस्न बाध्य छन् । कम्पनीमार्फत सीमितमात्रामा आउने मल लिन कृषक दैनिकजसो आउने गरेको विजयपुर कृषि सहकारीका अध्यक्ष ओमप्रकाश रेग्मीले बताए । माथिल्लो निकायबाटै मल नभित्रिँदा कृषकलाई रित्तो हात फर्काउन बाध्य भएको उनको भनाइ छ ।

पाल्पाका लागि आएको मल कृषि सामग्री कम्पनी जिल्ला शाखाले कृषियोग्य भूमिको क्षेत्रफलका आधारमा स्थानीय तहलाई कोटाअनुसार वितरण गरिरहेको छ । स्थानीय तहले सहकारीमार्फत मल वितरण गरिरहेको छ । तर मागअनुसारको मल वितरण नहुँदा सहकारीलाई वितरण गर्न हम्मेहम्मे परेको छ ।

समानुपातिकरुपमा मल वितरण गर्न भिडभाड भएपछि केही दिनअघि सूर्योदय कृषि सहकारी संस्थाले प्रहरीको सहयोगमा प्रतिव्यक्ति १०-१० किलोको दरले युरिया मल वितरण गरेको कार्यवाहक अध्यक्ष मित्रलाल गौतमले बताए ।

रामपुरमा विगतमा दुई हजार मेट्रिकटन रासायनिक मल जिल्लामा खपत हुने गरे पनि यस वर्ष हालसम्म दुई सय ५० मेट्रिकटन मात्र मल उपलब्ध भएको कृषि सामग्री कम्पनी लिमिटेड पाल्पा शाखाले जनाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार रामपुर, माडी, अर्गली, हेक्लाङ, पूर्वखोला, दोभान, झडेवालगायत जिल्लाको विभिन्न स्थानमा गरी आठ हजार दुई सय १० हेक्टर क्षेत्रफलमा यस वर्ष धान लगाइएको छ । जिल्लामा छ महिनादेखि मलको अभाव सिर्जना भएको छ । धानबाली मात्र नभई मकै, तरकारी, फलफूलबालीमा समेत उचित समयमा युरिया मल दिन नसक्दा मेहनत र लगानीअनुसारको यस वर्ष उत्पादन स्याहार्न नपाइने कृषक बताउँछन् ।

प्रकाशित समय : १३:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु