गृहपृष्ठ माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु, पदाधिकारी टुंगो लाग्ने
माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु, पदाधिकारी टुंगो लाग्ने
नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आन्तरिक गृहकार्यपछि बैठक बसेको हो । तथापी प्रचण्डको व्यस्तताले बैठक निर्धारित समयभन्दा एक घण्टा ढिलो गरि सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले आज पार्टी पदाधिकारी टुंगो लगाउने छ । एक नेताका अनुसार प्रचण्डले सबै पदाधिकारीको नाम टुंग्याएपछि बैठक बसालेका हुन् । अब औपचारिक रुपले घोषणा हुनमात्रै बाँकी रहेको छ ।
महासचिवका लागि निकै टकराव देखिएपछि तेस्रो व्यक्ति ल्याएर प्रचण्डले पदाधिकारी टुंग्याएका छन् । यसअघि बर्षमान पुन र जनार्दन शर्माबीच महासचिवका लागि शक्ति संघर्ष चलेको थियो । यी दुवैलाई व्यवस्थापन गर्न प्रचण्डले देव गुरुङलाई महासचिवमा अघि चयन गरेका छन् । पुन र शर्मालाई भने उपमहासचिवको जिम्मेवारी दिइएको छ । उनीहरुसँगै गिरिराजमणि पोखरेल पनि उपमहासचिव बन्नेछन् ।
उपाध्यक्षहरुमा दीनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेलको नाम अघि सारिएको छ । वरिष्ठ उपाध्यक्षमा भने नारायणकाजी श्रेष्ठ यसअघि नै चयन भएका छन् ।
बैठकमा पदाधिकारी चयनबाहेक आगामी निर्वाचनका विषयमा समेत छलफल हुनेछ । त्याेसँगै गठबन्धनमा हुने भागबण्डाका विषयमा समेत छलफल चलेको बैठकमा सहभागि एक नेताको भनाइ छ ।
प्रकाशित समय : ०९:५५ बजे