गृहपृष्ठ इरानी महिलाहरू – जसलाई कुमारीत्व प्रमाणित गर्न प्रमाणपत्र चाहिन्छ
इरानी महिलाहरू – जसलाई कुमारीत्व प्रमाणित गर्न प्रमाणपत्र चाहिन्छ
इरानमा विवाहअगाडि कुमारित्व धेरै युवतीहरू र उनीहरूको परिवारका लागि अत्यन्त महत्त्वपूर्ण छ । कयौंपटक पुरुषहरुले कुमारित्व प्रमाणपत्र (भर्जिनिटी सर्टिफिकेट) माग्छन् । विश्व स्वास्थ्य संगठन यो प्रथालाई मानवअधिकारको विरुद्ध मान्छ ।
पछिल्लो एक वर्षदेखि यो प्रथाविरुद्ध आन्दोलन गर्नेको संख्या पनि बढेको छ ।
‘तिमीले मलाई फसाएर मसँग बिहे गर्यौ किनकी तिमी कुमारी थिएनौ, यदि सत्य थाहा भएको भए तिमीलाई कसैले बिहे गर्ने थिएन।’ जब मरियमले आफ्नो पतिसँग पहिलो पटक यौनसम्पर्क राखेकी थिइन्, उनले यसरी गाली गरे ।
मरियमले आफ्नो श्रीमानलाई यौनसम्पर्कको क्रममा रक्तस्राव नभए पनि आफूले यसअघि कहिल्यै यौनसम्पर्क नगरेको कुरा बुझाउने प्रयास गरिन् । तर उनका श्रीमानले उनको कुरा सुनेनन् र कुमारी भएको प्रमाणपत्र ल्याउन भने ।
इरानमा यो असामान्य विषय होइन। विवाह पक्का भएपछि धेरै महिला डाक्टरकहाँ गएर भर्जिनिटी सर्टिफिकेट बनाउँछन् । तर, विश्व स्वास्थ्य संगठनका अनुसार कुमारित्व परीक्षणको कुनै वैज्ञानिक आधार छैन ।
मरियमको सर्टिफिकेटमा उनको हाइमेन लचिलो रहेकोले यौनसम्पर्कका क्रममा रक्तस्राव नहुन पनि सक्ने लेखिएको थियो ।
‘यसले मेरो इज्जतमा चोट पुगेको छ । मैले कुनै गल्ती गरिनँ तर मेरो श्रीमानले मलाई गाली गरिरहेका छन् । मैले अपमान सहन सकिन। मैले गोली हानेर आत्महत्याको प्रयास गरें ।’
मरियमलाई समयमै अस्पताल पुर्याइयो र उनको ज्यान बच्यो । ‘म त्यो नराम्रो समयलाई कहिल्यै बिर्सन सक्दिनँ। त्यतिबेला मेरो बीस किलो तौल घट्यो ।’
कुप्रथाविरुद्ध आन्दोलन
मरियमको कथा धेरै इरानी महिलाहरूको जीवनको यथार्थ हो। विवाहअघि कुमारी नै रहनु अझै पनि धेरै महिला र उनीहरूको परिवारको लागि धेरै अत्यावश्यक छ । यो एक यस्तो मूल्य हो जुन इरानको संरक्षणवादी संस्कृतिको हिस्सा हो।
तर पछिल्लो समय परिस्थिति केही परिवर्तन हुँदैछ । कुमारित्व प्रमाणपत्रको प्रचलन विरुद्ध देशैभरका महिला तथा पुरुष दुवैले आवाज उठाइरहेका छन् ।
प्रकाशित समय : ०७:०० बजे



















