गृहपृष्ठ संसदीय निर्वाचनको अहिलेदेखि तयारी सुरु गर्नुपर्छ : राजेन्द्र लिङ्देन
संसदीय निर्वाचनको अहिलेदेखि तयारी सुरु गर्नुपर्छ : राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी संसदीय निर्वाचनका लागि अहिलेदेखि तयारी सुरु गर्नुपर्ने बताएका छन् । राप्रपा केन्द्रीय प्रशिक्षण विभागद्वारा आज यहाँ आयोजित प्रदेश–१ स्तरीय दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले विगतको कमीकमजोरी हटाई आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए ।
अध्यक्ष लिङ्देनले पार्टीको जनमत वृद्धि गर्न ७५३ स्थानीय पालिकामा संगठन निर्माण गर्न कार्यकर्तालाई निर्देशन दिँदै निर्वाचनमा पार्टीलाई परिवर्तनको संवाहकको रुपमा जनतालाई विश्वास दिलाउन आग्रहसमेत गरे । उनले निर्वाचनलाई जीवन मरणको रुपमा लिन कार्यकर्तालाई आग्रह गर्दै जनताको समृद्धिको चाहना पूरा गर्न पार्टीलाई सत्तागठबन्धनका दलको विकल्पका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष लिङ्देनले भदौ अन्तिममा निर्वाचनका लागि उम्मेदवारको सूची जारी गर्ने जानकारी दिँदै सोही महिनादेखि मुलुकभरि अभियानको रुपमा पार्टी प्रवेश तथा आमसभाको आयोजना गर्ने बताए । प्रशिक्षक प्रशिक्षण कार्यक्रममा राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधान, केन्द्रीय सदस्य डा.राजेश गिरी र सहप्रवक्ता दिनेश शाहले पार्टीको एजेण्डालाई स्थापित गराउन निर्वाचनमा उम्मेदवारलाई अत्यधिक स्थानमा विजयी गराउन आग्रह गरे ।
सो अवसरमा उपाध्यक्ष प्रधानले स्थानीय तह निर्वाचनको नतिजा र संघीय र प्रदेशसभा निर्वाचन रणनीति, केन्द्रीय सदस्य डा.गिरीले राप्रपाको मूल सिद्धान्त, वैचारिक दर्शन, सांगठनिक स्वरुप एवं भावी कार्ययोजना, जयवहादुर श्रेष्ठले साम्यवाद, समाजवाद, पुँजीवाद र उदारवाद, भुपेन्द्र भण्डारीले हिन्दु धर्म, राजसंस्था र भक्ति सिटौलाले व्यवहारिक राजनीति विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रकाशित समय : २०:२७ बजे