गृहपृष्ठ साउन महिनाको व्रत समापन (फाेटाे फिचर)
साउन महिनाको व्रत समापन (फाेटाे फिचर)
साउन महिनाको अन्तिम सोमबारका अवसरमा पशुपती क्षेत्रलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका व्रतालु भक्तजनले आज विधिपूर्वक व्रत समापन गरेका छन् । यस्तै, पशुपतीनाथ मन्दिर परिसरमा पनि व्रतालु भक्तजनको चहलपहल बढेको हो ।
यस वर्ष साउन महिनामा पाँच सोमबार परेकामा आज अन्तिम सोमबार बिहान ३ः१५ बजेदेखि पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको पशुपती क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिएका छन् ।
पशुपती मन्दिरमा पुजा गर्न आएकी भक्तजन होमकुमारी गौतम भन्छिन्, ‘साउनको व्रत बस्नाले श्रीमान्को आयु लामो हुने, रोग नलाग्ने र परिवारमा खुसीयाली आउने एउटा धार्मीक विश्वास रहेको छ, त्यसै विश्वासको साथ मन्दिर आएकी छु ।’
यस्तै, ‘अर्की भक्तजन नितु बस्नेत भन्छिन्, ‘हिन्दु परम्पराअनुसार चलिआएको यस साउन महिनाको सोमबार व्रत बस्दा पार्वतीले शिवजी जस्तै वर पाएकी थिइन्, मैले पनि शिवजी जस्तै वर पाउनका लागि ५ बजेदेखि दर्शन गर्न लाइन बसिरहेको छु, आशा छ मेरो मनोकामना पूरा हुने छ ।’
त्यसैगरी, सुनसरीदेखि तिर्थयात्रामा आएकी ८० वर्षीया वृद्धा डम्मरकुमारी दाहाल भन्छिन्, ‘साउनको सोमबार भगवान शिवको प्रिय बार हो यस दिन शिवको पूजा गर्नाले मनोकामना पूरा हुने, सुख, शान्ति, समृद्धि छाउने हुनाले दर्शन गर्न आएका छौँ ।’
बोलबम तीर्थालुहरुको पनि पशुपतीलगायत देशभरका शिवालयमा घुइँचो छ । काठमाडौँको पशुपतीसहित भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वरलगायतका शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।
तस्बिर:





प्रकाशित समय : १८:४९ बजे



















