गृहपृष्ठ सुर्खेतका १३८ परिवारले पाए जग्गाधनी पुर्जा
सुर्खेतका १३८ परिवारले पाए जग्गाधनी पुर्जा
राष्ट्रिय भूमी आयोग सुर्खेत शाखाले यहाँका दुई सरकारी कार्यालयसहित १३८ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । आयोगका अध्यक्ष केशव निरौलाको उपस्थितिमा आज भेरीगंगा नगरपालिकाका १०२ र गुर्भाकोट नगरपालिकाका ३६ घरपरिवारलाई पुर्जा वितरण गरिएको हो ।
आयोगले वितरण गरेकामध्ये दुई पुर्जा नेपाल सरकारका नाउँमा छ । अध्यक्ष निरौला, आयोगका जिल्ला अध्यक्ष श्रीधर पौड्याल, भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यलगायतले जग्गाधनी पुर्जा वितरण गरेका थिए ।
सुर्खेतमा २०३९ सालयता भूमिहिनलाई जग्गाधनी पुर्जा वितरण गरिएको थिएन । वर्षौंपछि पुर्जा पाउँदा स्थानीयवासी खुसी देखिन्थे । जग्गाधनी पुर्जा नहुँदा विद्युत्, बैंकिङलगायत अन्यसेवा उपभोग गर्नबाट उनीहरु बञ्चित हुँदै आएका थिए ।
अध्यक्ष निरौलाले सरकारले भूमिहिन, सुकुम्बासीलाई जग्गा दिनाका साथै व्यवस्थित बसोबासका कामलाई उच्च प्राथमिकता राखेको बताए । जिल्ला अध्यक्ष पौड्यालले कर्मचारी र जनप्रतिनिधिको सहयोगले गर्दा ४० वर्षपछि पहिलोपटक भूमिहिनलाई पुर्जा वितरण गर्न आफूहरु सफल भएको धारणा व्यक्त गरे ।
उप-प्रमुख आचार्यले भने, 'नागरिकको वर्षौंदेखिको ठूलो समस्या समाधान भएको छ । अब नगरभित्रका बाँकी भूमिहिन सुकुम्बासीलाई जग्गा दिनाका साथै पुर्जासमेत प्रदान गर्न पहल गर्छौँ ।
प्रकाशित समय : १२:५० बजे



















