nmb bank

गृहपृष्ठ दिगो आर्थिक वृद्धिका लागि ठोस प्रयास

दिगो आर्थिक वृद्धिका लागि ठोस प्रयास

दिगो आर्थिक वृद्धिका लागि ठोस प्रयास

विगत तीन वर्षदेखि नेपालको आर्थिक वृद्धिदर औसत ६ प्रतिशतभन्दा माथि रहेको विवरण सार्वजनिक भएको छ । यो नेपालको अर्थतन्त्रका लागि निकै सकारात्मक पक्ष हो । नेपाल विश्वमै थोरै प्रतिव्यक्ति आय भएका देशहरूमध्येमा पर्छ । समग्र देशको आर्थिक आकार नै सानो भएका कारण यसो हुन गएको हो । अहिले बल्लतल्ल नेपालको अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब रुपैयाँबराबर पुगेको छ । यसअनुसार हाल नेपालीहरूको प्रतिव्यक्ति आय पनि १०३४ अमेरिकी डलर पुगेको छ । दुई वर्षअघि नै सरकारले नेपाललाई अतिकम विकसित मुलुकबाट विकासशील मुलुकहरूमा स्तरोन्नति गर्ने घोषणा गरेको भए पनि यही आयजन्य सीमा नपुगेकै कारण तल्लै पङ्तिमा रहनु परेको थियो । अहिले पनि मध्यम आय भएका मुलुकमा स्तरोन्नति हुनका लागि १२०० डलरको सीमामा पुग्न अझै केही समय लाग्ने अवस्था देखिएको छ । यो कमजोर अवस्था देशको न्यून आर्थिक विकास भएकै कारणले देखिएको हो ।
नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत नाघ्दा रमाउनु पर्ने स्थितिबाट अहिले तीन वर्षसम्म ६ प्रतिशतभन्दा माथिको वृद्धिदर कायम रहनु चानचुने कुरा भने होइन । तर अर्थशास्त्रीहरूका अनुसार यो वृद्धिका पछाडि केही तत्वले काम गरेका छन् । आर्थिक वर्ष २०७२÷७३ मा ० दशमलव २० प्रतिशतको तल्लो तहको आर्थिक वृद्धिदरपछि पुनर्निर्माण र आर्थिक गतिविधिमा सुधार हुँदा झन्डै ७ दशमलव ७ प्रतिशतको वृद्धिदर हासिल हुन पुग्यो भने गत आर्थिक वर्षमा वृद्धिदर ६.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुन पुग्यो, जुन स्थानीय निर्वाचनका कारण अर्थतन्त्रमा आएको चलायमानता र विद्युत् आपूर्तिमा भएको सुधारका कारणले औद्योगिक उत्पादन बढेको कारणले गर्दा हासिल भएको हो । यस वर्ष पर्यटन क्षेत्रमा भएको सुधार, थोक तथा खुद्रा बिक्रीमा भएको वृद्धिसहित सेवा क्षेत्रको उच्च वृद्धिसहित कृषि क्षेत्रमा भएको उच्च वृद्धिले आर्थिक वृद्धिदरलाई ६ दशमलव ८१ प्रतिशत पुर्‍आर्थिक वृद्धिदर याएको छ ।
सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिदर राखेको अवस्थामा ७ प्रतिशतभन्दा कमको वृद्धिदर हासिल भए पनि निराश हुनुपर्ने अवस्था भने छैन, किनभने नेपालजस्तो सानो अर्थतन्त्र भएको देशले लगातार ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदरलाई स्थिर तुल्याउन सक्नु पनि महत्वपूर्ण कुरा हो, जहाँ सरकारी तहबाट हुने खुद लगानीको अवस्था संकुचित छ भने निजी क्षेत्रको लगानी पनि खासै बढ्न सकेको अवस्था छैन । नेपालको अर्थतन्त्रलाई रेमिट्यान्समुखी अर्थतन्त्र नै भनिन्छ । राष्ट्रिय आयवृद्धिका लागि अन्य कुनै दरिलो र भरपर्दो स्रोत छैन । रेमिट्यान्सले बढाएको लगानीमै टेकेर यहाँको वित्तीय क्षेत्र टिकेको छ र वित्तीय क्षेत्रले समग्र सेवा क्षेत्रलाई धानेको छ । समग्र अर्थतन्त्रको वृद्धिका क्षेत्रगत योगदान र तिनको वृद्धि तथा बैंक तथा वित्तीय क्षेत्रले गरेको लगानीलाई एकै ठाउँमा राखेर हेर्ने हो भने यस कुराको पुष्टि हुनजान्छ ।
यस वर्ष साधारण प्रयासका बाबजुद करिब ७ प्रतिशतको वृद्धिदर हासिल भए पनि सरकार यतिकै सन्तुष्ट हुनसक्ने अवस्था छैन । किनभने, यो सामान्य अवस्थामा हासिल भएको आर्थिक वृद्धिदर हो । यदि देशको आर्थिक वृद्धिदरलाई अझ माथि उठाउने हो भने सरकारले पहिलो त आफ्नो विकासमा खर्च बढाउनु पर्छ भने साथसाथै औद्योगिक लगानीको वातावरण बनाउनु पर्छ । नेपालको अर्थतन्त्रमा कृषिको भूमिका अझै बलियो नै रहेकाले कृषिलाई व्यावसायिक बनाइ त्यसबाट प्राप्त हुने उपलब्धीमा वृद्धि गर्नुपर्छ।

प्रकाशित समय : १९:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु