गृहपृष्ठ मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने
मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने
नेपालमा मनसुन प्रवेशको घोषणा भएको १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिएको घोषणा गरेको थियो ।
मनसुन सक्रिय नहुँदा देशभर गर्मी बढेको छ । नेपालको पूर्वी क्षेत्र हुँदै भित्रिएको मनसुन अझै पूर्ण सक्रिय हुन् तीन-चार दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
न्यून चापीय रेखा मध्य भारतमै रहेकाले मनसुन कमजोर भएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए । ‘उक्त प्रणाली बिस्तारै नेपालसम्म आइपुग्न तीन–चार दिन लाग्नेछ,’ मौसमविद् प्रधानाङ्गले भने ।
अहिले मनसुन कमजोर अवस्थामा रहेकाले हल्का र क्षणिक वर्षा मात्र भएको बताइएको छ । तत्काल भारी वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यकामा बिहान र साँझपख हल्का वर्षा हुने गरे पनि मध्याह्नमा चर्को घाम लाग्ने र दिउँसो बदली हुने क्रम जारी छ । आंशिक बदली र घाम लाग्ने क्रमले गर्दा उपत्यकाका बर्ढी गर्मी महसुस गरिएको छ । तीन दिनयता काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३१ देखि ३२ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेकामा बुधबार ३१ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । यसअघि जेठ ३१ गते यो वर्षकै बढी तापक्रम ३३ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो ।
राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । मध्य र पश्चिमको एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।
त्यस्तै शुक्रबार देशभर सामान्य बदली रही देशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया मनसुन प्रवेश गर्ने समय जुन १० हो । यस वर्ष १२ दिन ढिलो गरी मनसुन भित्रिए पनि अझै सक्रिय बन्न सकेको छैन ।
नेपालमा साधारणतयाः जुन १० देखि सेप्टेम्बर २३ सम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव २ डिग्री र अधिकतम तापक्रम ३१ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । त्यस्तै दिपायल, धनगढी, नेपालगन्जको अधिकतम तापक्रम ३७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । (रासस)
प्रकाशित समय : १८:४६ बजे

















