गृहपृष्ठ बस्ती हटाइएका स्थानमा संरक्षणको काम थाल्न निर्देशन
बस्ती हटाइएका स्थानमा संरक्षणको काम थाल्न निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका काम थाल्न निर्देशन दिएकी छन ।
थापाथलीस्थित वागमती नदी किनारामा शनिबार खाली गराइएको स्थानको निरीक्षण गर्दै उपप्रमुख डङ्गोलले खाली गराइएको र अब गराइने ठाउँको संरक्षणका लागि तारबार लगाउन अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिलगायत सरोकारवाला कार्यालयसँग समन्वय गर्न निर्देशन दिएकी हुन।
कार्यवाहक प्रमुख डङ्गोलले नागार्जुनको इचङ्गुस्थित कोलोनीको भौतिक अवस्थाको निरीक्षण गरेकी थिए । वडा नं ११ का अध्यक्ष एवं कामपाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारका अनुसार वडाभित्र थापाथली र वंशीघाट गरेर ३३२ वटा घरटहरा थिए । यसमध्ये थापाथलीतर्फका १३६ घरटहरा भत्काइएका छन् ।
वागमती नदी खण्डको सिनामङ्गलदेखि वानेश्वर क्याम्पससम्म रहेको अव्यवस्थित बस्तीअन्तर्गत वडा नं ९ तर्फ १६२ घरधुरी र वडा नं ३१ तर्फ दीर्घशान्ति टोल (जागृतिनगर)मा ४७६ घरटहरा थिए । यीमध्ये वैशाख १२ गते वडा नं ९ तर्फका घरटहरा खाली गराइयो ।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०७९ सालमा तयार पारेको प्रतिवेदनअनुसार उपत्यकाका नदी किनारमा तीन हजार ४९६ घरधुरी अव्यवस्थित बसोबासी छन् । समितिको प्रतिवेदनले, काठमाडौं महानगरभित्र दुई हजार २४५ घरधुरी, कागेश्वरी नगरपालिकामा ९०, बुढानीलकण्ठमा १५६, ललितपुर महानगरभित्र १७ र भक्तपुर नगरपालिकामा ७७३ अव्यवस्थित बसोबासी रहेको देखाएको छ ।
तीन वर्ष अन्तरालमा केही घर थपिएका हुन सक्छन् । यस आधारमा काठमाडौं उपत्यकामा झन्डै चार हजार अव्यवस्थित बसोबासी रहेको अनुमान छ ।
प्रकाशित समय : १५:२५ बजे



















