गृहपृष्ठ राष्ट्र बैंकको वित्तीय आकार ३४ खर्ब ७२ अर्ब नाघ्यो
राष्ट्र बैंकको वित्तीय आकार ३४ खर्ब ७२ अर्ब नाघ्यो
काठमाडौं- नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्वमा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकको कुल सम्पत्ति ३४ खर्ब ७२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । जुन गत असार मसान्तको २६ खर्ब ७१ अर्ब २३ करोड रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो।
राष्ट्र बैंकको वित्तीय विवरण अनुसार चैत मसान्तसम्म विदेशी मुद्रा सम्पत्तिमा उल्लेख्य वृद्धि भएको छ । बैंकका अनुसार चैत मसान्तसम्म कुल विदेशी मुद्रा सम्पत्ति ३३ खर्ब ६७ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ, जुन गत असार मसान्तको २५ खर्ब ६७ अर्ब ३२ करोड रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो।
विदेशी मुद्रा सम्पत्तिमा विदेशी बैंकहरूसँगको निक्षेप, विदेशी प्रतिभूतिमा लगानी, सुन तथा अन्य रिजर्भ सम्पत्तिहरू समावेश छन्। जसअन्तर्गत विदेशी बैंकहरूसँग रहेको नगद तथा मौज्दात २१ खर्ब ६८ अर्ब ६९ करोड रुपैयाँ रहेको छ भने विदेशी बैंकमा गरिएको म्यादे निक्षेप ६ खर्ब रुपैयाँ नाघेको छ। त्यस्तै, अन्तर्राष्ट्रिय मुद्राकोषसँग सम्बन्धित डेरिभेटिभ सम्पत्ति २१ अर्ब २ करोड रुपैयाँ रहेको विवरणमा उल्लेख छ।
विदेशी प्रतिभूतिमा गरिएको लगानी सबैभन्दा ठूलो हिस्सा ओगट्दै २२ खर्ब ७६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ, जुन गत असार मसान्तको १६ खर्ब ६८ अर्ब २७ करोड रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो। यसैगरी, सुन प्रमाणपत्रमा गरिएको लगानी २ खर्ब ५२ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।
प्रकाशित समय : १३:२७ बजे



















