गृहपृष्ठ सभामुखसँग एनएफपिजेका प्रतिनिधिको भेट
सभामुखसँग एनएफपिजेका प्रतिनिधिको भेट
काठमाडौँ । सभामुख डिपी अर्यालसँग राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालमा आबद्ध फोटो पत्रकारहरूको टोलीले भेटगरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारले भोग्नुपरेका समस्याका बारेमा जानकारी गराएका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तसहितको टोलीले संसदीय रिपोर्टिङका समस्याबारी जानकारी दिँदै समाधानका लागि आग्रह गरेका हुन् ।
सभामुख अर्याललाई अध्यक्ष वन्तले पदभार सम्हालेकामा बधाई दिँदै फोटो पत्रकारहरूले कार्यक्षेत्रमा सामना गरिरहेका विभिन्न चुनौतीबारे जानकारी गराए । उनले विशेषगरी संसद् परिसरमा काम गर्ने फोटो पत्रकारहरूलाई आवश्यक सहजीकरणका लागि समन्वयात्मक पहल गरिदिन आग्रह गरे ।
सभामुख अर्यालले हाल संसद् बैठक अस्थायी संरचनाबाट सञ्चालन भइरहेको उल्लेख गर्दै नयाँ संसद् भवन सञ्चालनमा आएपछि यस्ता समस्या क्रमशः समाधान हुने विश्वास व्यक्त गरे । नयाँ भवन सञ्चालनका लागि आवश्यक तयारी तीव्र रूपमा अगाडि बढाइएको जनाउँदै उनले निकट भविष्यमै नयाँ भवनमा वैठक सुरु गर्ने योजना रहेको उनले बताए।
फोटो पत्रकारहरूको पेसागत हकहित र कार्यसुविधा सुनिश्चित गर्न आफू सकारात्मक रहेको उल्लेख गर्दै सभामुख अर्यालले आवश्यक सहयोगका लागि प्रतिबद्धता व्यक्त पनि व्यक्त गरे ।
प्रकाशित समय : १९:४१ बजे



















