गृहपृष्ठ ‘बाइबलीय अवधारणाले मानवलाई ‘पापी’का रूपमा चित्रित गर्यो, स्वतन्त्र निर्णय क्षमतालाई सीमित गर्यो’ (भिडियो सहित)
‘बाइबलीय अवधारणाले मानवलाई ‘पापी’का रूपमा चित्रित गर्यो, स्वतन्त्र निर्णय क्षमतालाई सीमित गर्यो’ (भिडियो सहित)
काठमाडौं । राजनीतिक विश्लेषक बुद्ध छिरिङ मोक्तानले पश्चिमी ज्ञान प्रणाली र आधुनिकताले निर्माण गरेको लैङ्गिक तथा भूराजनीतिक ढाँचाको पुनःसमिक्षा आवश्यक रहेको बताएका छन् ।
काठमाडौंमा आयोजित ‘लैङ्गिक दृष्टिकोणबाट भूराजनीतिको पुनपरिवर्तन’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले पश्चिमी ‘एनलाइटनमेन्ट’ पछि विकसित विचारधाराले मानवलाई ‘तर्कसंगत, स्वतन्त्र र इच्छाशक्ति भएको’ रूपमा परिभाषित गरे पनि त्यसले ऐतिहासिक रूपमा महिला तथा अन्य समुदायमाथि विभेद सिर्जना गरेको दाबी गरेका हुन् ।
उनले भने, ‘पश्चिमी एनलाइटनमेन्टले मानवलाई स्वतन्त्र र तर्कशील रूपमा परिभाषित गरेपनि त्यसको सुरुवाती ढाँचा पुरुषकेन्द्रित थियो । अब लैङ्गिक दृष्टिकोणबाट भूराजनीतिको पुनःपरिभाषा गर्न पूर्वीय ज्ञान प्रणाली र शक्ति–केन्द्रित दर्शनलाई समेट्न आवश्यक छ ।’
उनले उदारवाद र माक्र्सवादजस्ता पश्चिमी विचारधाराले पनि प्रारम्भमा पुरुषकेन्द्रित दृष्टिकोणलाई नै आधार मानेको बताए । मोक्तानले बाइबलीय अवधारणाबाट प्रभावित पूरानो युरोपेली शासन प्रणालीले मानवलाई ‘पापी’का रूपमा व्याख्या गर्दै स्वतन्त्र निर्णय क्षमतालाई सीमित गरेको उल्लेख गरे ।
त्यसको प्रतिक्रिया स्वरूप विकसित भएको आधुनिक पश्चिमी चिन्तनले स्वतन्त्रता र तर्कशीलताको अवधारणा अघि सारे पनि लैङ्गिक समानताको सवालमा पछि मात्र सुधारका प्रयास सुरु भएको उनको भनाइ थियो ।
उनले भने, ‘बाइबलीय अवधारणाले मानवलाई ‘पापी’का रूपमा चित्रित गर्दै स्वतन्त्र निर्णय क्षमतालाई सीमित गर्यो । त्यसको प्रतिक्रिया स्वरूप विकसित पश्चिमी चिन्तनले स्वतन्त्रता र तर्कशीलताको अवधारणा अघि सारेपनि लैङ्गिक समानताका सवालमा सुधारका प्रयास ढिलो गरी सुरु भए ।’
उनले पूर्वीय दर्शन, विशेषगरी शक्ति र प्रकृतिमा आधारित दृष्टिकोणले लैङ्गिक सम्बन्धलाई फरक तरिकाले व्याख्या गर्ने बताए । दर्शनमा प्रकृति र पुरुषको अवधारणालाई उदाहरण दिँदै उनले शक्ति (ऊर्जा)लाई केन्द्रमा राखेर समाज र ब्रह्माण्ड बुझ्ने परम्परा रहेको उल्लेख गरे ।
कार्यक्रममा उनले पश्चिमी ‘युरोसेन्ट्रिक’ भूराजनीतिक ढाँचाले विश्व राजनीति लामो समयसम्म प्रभावित पारेको उल्लेख गर्दै अब एशियाली ज्ञान प्रणाली, विशेषगरी नेपाल, भारत र चीनजस्ता सभ्यताबाट नयाँ वैकल्पिक दृष्टिकोण विकास गर्नुपर्ने आवश्यकता औंल्याए ।
मोक्तानले लैङ्गिक दृष्टिकोणबाट भूराजनीतिक पुनर्परिभाषा गर्न पूर्वीय दर्शन, सांस्कृतिक चेतना र ऐतिहासिक अनुभवलाई समेटेर नयाँ ढाँचा निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रकाशित समय : १७:०१ बजे



















