गृहपृष्ठ निर्वाचनमा शान्तिसुरक्षाको प्रत्याभूति गरिएकाले ढुक्क भएर मतदान गर्नुहोस्ः मन्त्री अर्याल
निर्वाचनमा शान्तिसुरक्षाको प्रत्याभूति गरिएकाले ढुक्क भएर मतदान गर्नुहोस्ः मन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा शान्ति सुरक्षाको प्रत्याभूति गरिएकाले ढुक्क भएर मतदान गर्न सबैलाई आग्रह गरे ।
पर्सा र बारा जिल्लामा ‘निर्वाचनको सुरक्षाको वर्तमान अवस्था, चुनौती र समाधान’ विषयक छलफल कार्यक्रममा गृहमन्त्री अर्यालले ढुक्क भएर मतदान गर्ने वातावरण तयार पारिएको बताए । “प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका विषयमा आवश्यक छलफल गरेका छौँ । निर्वाचनमा सुरक्षाको प्रत्याभूति दिनेगरी हामीले सम्पूर्ण तयारी गरेका छौँ”, उनले भने, “यहाँका स्थानीय प्रशासन तथा सुरक्षा निकायले निर्वाचनको लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउनुभएको छ ।”
गृहमन्त्री अर्यालले बारा र पर्सा जिल्लामा निर्वाचन लक्षित सुरक्षाका विषयमा चुनौती नभएको दाबी गर्दै भएका चुनौती विस्तारै कम हुँदै गइरहेका उल्लेख गरे । “यहाँ देखिएका कतिपय सुरक्षा चुनौतीलाई जिल्ला सुरक्षा समितिले रोकथाम गर्दै आइरहेको छ”, उनले भने ।
गृहमन्त्री अर्यालले कानुन उल्लङ्घन गर्नेलाई अहिलेको अन्तरिम (नागरिक) सरकारले कानुनको दायरामा ल्याउने प्रतिबद्धता जनाए । “कानुन उल्लङ्घन गर्नेलाई कानुनी दायरामा ल्याउनेमा कुनै शङ्का छैन । यसबारे यसअघि रौतहटको स्थानीय प्रशासनले देखाइसकेको छ”, उनले भने, “निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी पारिएकाले पनि जनताले ढुक्क भएर मतदान गर्ने अवस्था तयार भइसकेको छ ।”
गृहमन्त्री अर्यालले निर्वाचनको मतदान गर्ने केही दिन मात्र बाँकी रहेकाले सो अवधिसम्म शान्तिसुरक्षा चुस्तदुरुस्त गराउन थप पहल भइरहेको जानकारी दिए ।
“निर्वाचनको दिन पनि प्रभावकारी हामीले शान्तिसुरक्षाको प्रत्याभूति गराउन र भयरहित मतदानको वातावरणमा तयार गर्न सरोकार भएका निकाय प्रतिबद्धताका साथ लागिरहनुभएको छ”, उनले भने, “वर्तमान सरकारले प्रशासनिक सुशासन कायम गर्नुका साथै अब निर्वाचनमार्फत राजनीतिक सुशासन कायम गर्नेतर्फ अग्रसर छ । अब राजनीतिक सुशासनको जग बसाल्ने छौँ ।”
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्राले दुवै जिल्लामा निर्वाचनको शान्तिसुरक्षाको अवस्था र चुनौतीका विषयमा जानकारी गराएका थिए । त्यसैगरी पर्साका प्रहरी प्रमुख नरेशराज सुवेदी र बाराका प्रहरी प्रमुख नरेन्द्र कुँवरले जिल्लामा निर्वाचनको तयारी र शान्तिसुरक्षाको विषयमा गृहमन्त्रीलाई जानकारी गराएका थिए ।
प्रकाशित समय : १८:३६ बजे



















