nmb bank

गृहपृष्ठ बदर मत घटाउन सक्रिय सहजकर्ता

बदर मत घटाउन सक्रिय सहजकर्ता

बदर मत घटाउन सक्रिय सहजकर्ता

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बागलुङमा मतदाता शिक्षा कार्यक्रम तीव्र पारिएको छ । यही फागुन ३ गतेदेखि थालिएको मतदाता शिक्षा कार्यक्रमले बदर मत घटाउन सघाउने अपेक्षा गरिएको छ ।

निर्वाचनका क्रममा बदर मतको सङ्ख्या न्यून बनाउने उद्देश्यसहित जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षाका लागि वडा–वडामा कर्मचारी खटाइएको छ । खटाइएका सहजकर्ता अहिले टोल–टोलमा पुगेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख यज्ञप्रसाद रिजालका अनुसार १० वटै स्थानीय तहमा ८५ वटै वडामा मतदाता शिक्षा कार्यक्रम एकसाथ थालिएको छ । मतदातालाई मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिनु, मतपत्र प्रयोग गर्ने सही तरिका बुझाउनु तथा मतदान गर्दा ध्यान दिनुपर्ने विषयमा सचेत गराउन मतदाता शिक्षा आवश्यक रहेको र त्यसका लागि नमूना मत चिह्नसहितको आवश्यक नमूना मतपत्रसहित वडा तहमा कर्मचारी खटाइएको छ ।

रिजालका अनुसार मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन सकेमा मतदातालाई मतदान गर्न सहज हुने र बदर मतको समस्या उल्लेखनीय रूपमा घट्ने विश्वास व्यक्त गरे ।

विशेषगरी नयाँ मतदाता, पहिलोपटक मतदान गर्ने युवा, ज्येष्ठ नागरिक तथा कम साक्षर मतदातालाई लक्षित गरी व्यावहारिक अभ्याससहित कार्यक्रम सञ्चालन गरिने छ । एक वडा एक सहजकर्ता खटाइएको छ ।

मतदातालाई मतदान प्रक्रियाको विषयमा जानकारी गराउँदै मतदाताहरूलाई दिएको शिक्षाको विषयमा आयोगमा जानकारी दिने काम भइरहेको बागलुङ नगरपालिका–१ का सहजकर्ता दुर्गा शर्माले जानकारी दिइन । उनले अधिकांश जनतालाई मतदानको विषयमा जानकारी भएको र सिकाएको कुरा चासो दिएको बताइन ।

कार्यक्रमअन्तर्गत मतपत्रमा सही चिह्न कसरी लगाउने, समानुपातिक र प्रत्यक्ष प्रणालीको भिन्नता, मतदान केन्द्रमा पालना गर्नुपर्ने आचारसंहिता तथा मतदानको गोपनीयतासम्बन्धी विषयमा जानकारी गराउँदै घर–घरमा हिँडेको शर्माको भनाइ छ । शर्मा जस्ता ८५ वडाका सहजकर्ताले फागुनको १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नेछन् ।

जिल्ला निर्वाचन कार्यालयले सबै मतदातालाई मतदाता शिक्षा कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै, निष्पक्ष, मर्यादित र सफल निर्वाचन सम्पन्न गर्न सामूहिक प्रयास आवश्यक रहेको जनाएको छ । ८५ वटा वडामा ८५ वटा मतदाता शिक्षा सहजकर्ता खटाएर फागुन ३ गते वडामा पठाइएको हो ।

प्रकाशित समय : १३:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु