global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ कैलालीका पाँच निर्वाचन क्षेत्रमा ७९ जनाको उम्मेदवारी

कैलालीका पाँच निर्वाचन क्षेत्रमा ७९ जनाको उम्मेदवारी

कैलालीका पाँच निर्वाचन क्षेत्रमा ७९ जनाको उम्मेदवारी

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली जिल्लाका पाँच निर्वाचन क्षेत्रमा ७९ जनाले उम्मेदवारी दर्ता गराएका छन ।

आज यहाँ मनोनयन दर्ता गराउनेमा १३ स्वतन्त्र र ६६ जना विभिन्न राजनीतिक दलका उम्मेदवार छन् । उम्मेदवारहरूले आफ्ना समर्थकसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारीको मनोनयनपत्र दर्ता गराएका हुन ।

निर्वाचन क्षेत्र नं १ मा छ स्वतन्त्रसहित १९, क्षेत्र नं २ मा तीन स्वतन्त्रसहित १६, क्षेत्र नं ३ मा ११, क्षेत्र नं ४ मा एक स्वतन्त्रसहित १६ र क्षेत्र नं ५ मा तीन स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दिएको प्रदेश निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।

सबै निर्वाचन क्षेत्रमा आज उम्मेदवारीको मनोनयन दर्ताको काम शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । कैलाली निर्वाचन क्षेत्र–४ को प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्टले उम्मेदवारी दर्ता गराएका छन ।

सुदूरपश्चिममा राष्ट्रिय रूपमा चर्चित नेताहरूमध्ये अछाम क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावल, कञ्चनपुर–२ मा नेपाली कांग्रेसका नेता नरायणप्रसाद (एनपी) साउद र बैतडीमा कांग्रेससका चतुरबहादुर चन्द, नेकपा (एमाले) बाट दामोदर भण्डारीले उम्मेदवारी दिएका छन ।

एक निर्वाचन क्षेत्र रहेको बाजुरा जिल्लामा एक स्वतन्त्रसहित सात, बैतडीमा दुई स्वतन्त्रसहित १२ र बझाङमा सात र दार्चुलामा आठ जनाले उम्मेदवारी दिएको सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।

पार्टीबाट टिकट नपाएर असन्तुष्ट भएका कतिपय आकांक्षीले स्वतन्त्र उम्मेदवारी दिएका छन । भदौ २३ र २४ गतेको जेनजी घटनापछिको परिवर्तित अवस्थामा भइरहेको निर्वाचनमा मनोनयन दर्तासँगै यसअघिका चुनावको तुलनामा यसपटक भिन्न र रोचक प्रतिस्पर्धा हुने नेता कार्यकर्ताको भनाइ छ ।

टिकट वितरणमा देखिएको असन्तुष्टि र आन्तरिक किचलोका कारणले पनि यसपालिको चुनाव रोचक बन्ने देखिएको स्थानीय भोजराज पाण्डेयले बताए ।

सुदूरपश्चिमका सबै नौ जिल्लामा प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्र छन् । पछिल्लो निर्वाचनमा नेपाली कांग्रेस आठ, नागरिक उन्मुक्ति पार्टी तीन, तत्कालीन नेकपा (एकीकृत समाजवादी) तीन, नेकपा (एमाले)दुई क्षेत्रमा विजयी भएको थियो ।

प्रकाशित समय : २०:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु