गृहपृष्ठ लालपुर्जा नेपाली, जग्गा भारतमा
लालपुर्जा नेपाली, जग्गा भारतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र भारतसँग सिमाना जोडिएको पुनर्वास, बेलौरी नगरपालिका तथा बेल्डाँडी गाउँपालिकाका बासिन्दा सीमा समस्याले आक्रान्त छन् ।
बिगतबाट भोगचलन गर्दै आएको जमिन भारतले कब्जा गर्न थालेपछि पीडित बनेका सीमाबासी नागरिकहरु नेपाली नापी टोलीले समेत धोका दिएको भन्दै बिरोधमा उत्रिएका छन् ।
जिल्लाको पुनर्वास नगरपालिकादेखि बेल्डाँडी गाउँपालिकासम्म पर्ने पुरै सीमा विवाद कायमै छ । भारतले रातारात पिल्लर सराउँदै जाने नेपाली नागरिकले त्यसको प्रतिकार गर्दा ज्याननै गुमाउनुपर्ने परिस्थितिबाट सो क्षेत्रका नागरिक गुज्रिरहेका छन् ।
झन् नेपाली नापी टोलीले समेत भारतकै नापीअनुसार पिल्लर हालिदिँदा सीमा क्षेत्रका नागरिक पिल्लरनै तोड्नसम्म पुगेका छन् । हालै नेपाल भारत संयुक्त सर्वे टोलीले बेलडाँडी गाउँपालिका ३ वैवाह क्षेत्रमा निर्माण गरेको ७८३/४ नम्बर पिल्लर पनि एक विद्यालयको जमिनमा गाडिएको थियो ।

राधाकृष्ण जनप्रिय स्कुलको अढाई विगाहा जमिनमा नापी टोलीले नयाँ पिल्लर हालेपछि स्थानीयले गत शनिवार तोडफोडसमेत गरेका थिए । नेपाली लालपुर्जा भएको जमिनमा पिल्लर हाल्दै नेपालीहरुलाई भगाउने काम नेपालकै अधिकारीको लापरबाहीले भएको भन्दै उनीहरुले पिल्लरनै तोडेका हुन् ।
स्थानीय बलराम डँगौराले विगतमा त्यस्तो कुनै समस्या नआए पनि हाल नेपाली नापी टोलीसहितले जमिनको बिच भागमा पिल्लर हालेको बताए । बिगतबाट भोगचलन गर्न लागेको जमिनमै पिल्लर हालेर भारतको जमिन बनाइदियो अब कहाँ जाने उनले भने ‘कित अन्तै व्यवस्थापन हुनुपर्छ नत्र जमिन फिर्ता हुनुपर्छ ।’
सो क्षेत्रमा मात्रै नभएर अन्य क्षेत्रमा पनि पुरानो नापीभन्दा नेपालतर्फ सारेर पिल्लर गाडिन थालेका छन् । त्यस्तै बेलौरी नगरपालिका १० भुँडाका बलिराम चौधरीको पनि ३० वर्षदेखि भोगचलन गर्दै आएको जमिनमा नयाँ पिल्लर गाडिन लागेको छ । २०५४ सालमा जग्गाधनी प्रमाणपत्र बनाएका चौधरीको १ बिगाहा १७ कट्ठा जमिन भारतमा पर्न लागेको छ ।
नयाँ नापीले ५ सय मिटर यता पिल्लर हाल्न थालेपछि उनको सो जमिन अब भारतमा जान लागेको हो । जमिन भारतकै भए किन नेपाली पुर्जा दिइयो भन्दै चौधरीले प्रश्न गरिरहेका छन् । यसको समाधान कुन निकायबाट हुन्छ तत्काल समाधान गरिदिन उनले आग्रह गरेका छन् ।
यसैबीच नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलको टोलीले सीमा क्षेत्रको अनुगमन गरेको छ । सीमाको समस्या झन् बढ्दै गएको भन्दै नेपाली कांग्रेस संसदीय दलले अब प्रदेशको सदनमा कुरा उठाउने र संघीय सरकारसम्म पनि पुग्ने जनाएको छ । दिन प्रतिदिन भारतको हेपाहा प्रवृति सहन नसकिने जनाउँदै संसदीय दलका नेता डा. रणबहादुर रावलले सीमा समस्या समाधान गर्न सरकारले लाग्नुपर्नेमा जोड दिए ।

त्यस्तै अतिक्रमित सीमा क्षेत्रमा राष्ट्रिय जनमोर्चाले मोटरसाइकल ¥यालीनै निकालेको छ । सीमा समस्या र राष्ट्रियताका विषयमा गम्भिर भएर लाग्नुपर्नेमा जनमोर्चाले जोड दिएको छ । सरकारले कुटनीतिक माध्यमबाट होस् या अन्य माध्यमबाट होस् सीमा समस्या समाधान गरी नेपाली भूमि फिर्ता गर्नुपर्ने राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम संयोजक मनोज भट्टको माग छ ।
सीमा समस्याका विषयमा नागरिकनै विज्ञ हुन खोज्दा विवाद निम्तिरहेको सरकारको दाबी छ । नागरिकले सरकारमाथि विश्वासनै नगरेको संकेत सीमामा देखिएको प्रशासनको ठहर छ । जुन माध्यमबाट समाधान हुन्छ त्यो बाटो अपनाउनुपर्नेमा नागरिकहरुले विवाद निम्त्याउने काम गरिरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए ।
विवाद आएका ठाउँमा काम रोकेर सही नक्सा अनुसार काम गर्ने निर्णय भइसकेकाले तत्काल सीमामा विवाद नतिम्त्याउन उनले आग्रह गरे ।
प्रकाशित समय : २२:१९ बजे



















