nmb bank

गृहपृष्ठ आज बैंक, बीमा, सेयर बजार खुला रहने

आज बैंक, बीमा, सेयर बजार खुला रहने

आज  बैंक, बीमा, सेयर बजार खुला रहने

बागमती प्रदेश सरकारले आज (सोमबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमतीमा सरकारी कामकाजको भाषाको रूपमा लागु हुने दिनको अवसरमा प्रदेशका सम्पूर्ण सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारहरूले सार्वजनिक बिदा दिँदा संघीय सरकार मातहतका कार्यालयहरू के हुन्छन् भन्ने विषयमा सर्वसाधारणमा अन्यौलता हुने गरेको छ । विशेषगरी अत्यावश्यक क्षेत्रका रूपमा सञ्चालन हुँदै आएका बैंक तथा वित्तीय संस्था प्रदेश सरकारहरूले बिदा दिँदा बन्द हुन्छन् कि खुला रहन्छन् भन्ने विषयमा सर्वसाधारणमा दुविधा हुने गरेको हो ।

गृह मन्त्रालयका अनुसार प्रदेश सरकारहरूले घोषणा गरेका बिदाहरू संघीय सरकार मातहतका कार्यालयमा लागु हुँदैनन् । तर, प्रदेश सरकारले वर्षभरि दिने बिदाहरूमध्ये ६ वटा सार्वजनिक बिदालाई संघीय कार्यालयहरूमा लागु गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

‘नेपाल सरकारले निर्णय गरी तोकेका सार्वजनिक बिदाका अतिरिक्त प्रदेश सरकारले आ–आफ्नो प्रदेशको धर्म, संस्कृति र रीतिथितीसमेतलाई दृष्टिगत गरी घोषणा गरेका बढीमा वर्षको ६ दिनसम्मको सार्वजनिक बिदामा सम्बन्धित प्रदेशमा रहेका संघीय सरकारका कार्यालयमा समेत सार्वजनिक बिदा हुनेछ, तर प्रदेश सरकारले आफ्नो प्रदेशभरि लागु हुने गरी ६ दिनभन्दा बढी सार्वजनिक बिदा घोषणा गरेमा र काठमाडौं उपत्यकाका तीन जिल्लाको हकमा गृह मन्त्रालयले निर्णय गरेबमोजिम हुनेछ,’ सरकारी तथा सार्वजनिक बिदा विवरणमा उल्लेख छ ।

प्रदेश सरकारले आफ्नो प्रदेशभरि लागु हुने गरी घोषणा गरेका सार्वजनिक बिदा वर्षको सुरुमै प्रदेश राजपत्रमा प्रकाशन गर्नुपर्ने हुन्छ । साथै, प्रदेशस्थित संङीय सरकारका कार्यालयमासमेत सार्वजनिक बिदा हुने ६ दिनहरू कुन-कुन हुने भन्ने सम्बन्धमा प्रदेश राजधानी रहेका जिल्ला प्रशासन कार्यालय संयमले एकीन गरी अग्रीमरूपमा गृह मन्त्रलायमा सार्वजनिक बिदाका लागि अनुरोध गरी पठाउनुपर्ने व्यवस्था रहेको प्रवक्ता भट्टराईको भनाइ छ ।

प्रदेश सरकारको आग्रहमा गृह मन्त्रालयले सम्बन्धित प्रदेशमा वर्षभरि ६ दिनसम्म संघीय कार्यालयमा बिदा दिने उनले बताए । तर, आजको बिदामा भने गृह मन्त्रालयमा जानकारी नआएकाले संघीय सरकार मातहतका कार्यालय खुला रहने उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्य संघीय सरकारअन्तर्गत पर्ने भएकाले प्रदेश सरकारको बिदामा राष्ट्र बैंक बन्द नहुने बताउँछन् । उनका अनुसार बैंक तथा वित्तीय संस्थाहरू व्यावसायिक प्रयोजनका लागि सञ्चालन हुने भएकाले प्रदेश बिदामा बन्द हुँदैनन् ।

‘बैंक तथा वित्तीय संस्था व्यवसाय गर्ने प्रयोजनका लागि सञ्चालन हुन्छन्, सरकारी कार्यालय जस्तो बैंकहरू होइनन्, कुनै–कुनै शाखा कार्यालय बन्द गर्न सक्छन्, तर सबै कार्यालय बन्द हुँदैनन्,’ उनले भने, ‘राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरीवेक्षण मात्रै गर्ने हो, तर शाखा सञ्चालनमा संस्थाहरू स्वायत्त हुन्छन् ।’

उनका अनुसार प्रदेश अन्तर्गत तोकिएका शाखा कार्यालयहरू प्रदेश सरकारले दिएको बिदामा बन्द हुन्छन् भने संघीय अन्तर्गतका कार्यालय बन्द हुँदैनन् ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल बीमा कम्पनीहरूले आफ्नै हिसाबले बिदा दिने गरेको बताउँछन् । बीमा प्राधिकरणले बीमासम्बन्धी क्यालेण्डर प्रयोग गर्न निर्देशन दिएको भए पनि प्रदेश बिदासम्बन्धी निर्णय स्वयम बीमा कम्पनीले गर्ने गरेको उनको भनाइ छ ।

‘प्राधिकरणले संघ सरकारका बिदा मात्रै लागु गर्छ । किनभने प्राधिकरण संघीय सरकार मातहतको कार्यालन हो,’ उनले भने ।

प्रदेशमा बिदा भए पनि सेयर बजारमा भने खुला रहने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरि पराजुलीले बताए । उनका अनुसार सेयर बजार संघीय सरकारले गरेको निर्णयले मात्रै बन्द हुन्छ । प्रदेश सरकारको बिदाले नेप्से कारोबार बन्द नहुने उनको भनाइ छ ।

प्रदेश सरकारले सार्वजनिक बिदा गरे पनि निजी क्षेत्रबाट सञ्चालित स्कुल, कलेज, अस्पताल, उद्योग, कारखाना नियमितरूपमा सञ्चालन हुनेछन् । त्यस्तै, निर्माण, सार्वजनिक यातायात, सञ्चार, स्टेशनरी, औषधी पसल, डेरी, कृषिमा आधारित सबै व्यवसाय, खुद्रा व्यापार, होटल, रेष्टुरेन्टलगायत क्षेत्रमा संघीय, प्रदेश वा पालिका स्तरको बिदामा कुनै प्रभाव देखिँदैन ।

 

प्रकाशित समय : ०८:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु