nmb bank

गृहपृष्ठ वित्तीय क्षेत्रको वृद्धिदरमा सुधार हुँदै, ८ प्रतिशत बृद्धि हुने प्रक्षेपण

वित्तीय क्षेत्रको वृद्धिदरमा सुधार हुँदै, ८ प्रतिशत बृद्धि हुने प्रक्षेपण

वित्तीय क्षेत्रको वृद्धिदरमा सुधार हुँदै, ८ प्रतिशत बृद्धि हुने प्रक्षेपण

चालु आर्थिक वर्षमा वित्तीय र बीमा क्षेत्रको वृद्धिदर ७.८० प्रतिशत हुने प्रक्षेपण गरिएको छ । अपेक्षित रूपमा कर्जा प्रवाह नहुँदा बैंक तथा वित्तीय संस्थामा करिब साढे ६ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएका बेला पनि वित्तीय तथा बिमा क्षेत्रको वृद्धिदरमा सुधार हुने देखिएको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमान प्रतिवेदनले औंल्याएको छ ।

गत आर्थिक वर्षको तुलनामा यो प्रक्षेपण ०.५४ प्रतिशत बिन्दुले बढी हो । गत आर्थिक वर्षमा यस क्षेत्रको वृद्धिदर ७.२७ प्रतिशत हुने संशोधित अनुमान छ । ‘बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धि, बैंक र वित्तीय संस्थाको सेवा शुल्कको आम्दानीमा भएको वृद्धिसँगै यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा बढोत्तरी हुने अनुमान गरिएको हो,’ प्रतिवेदनले भनेको छ, ‘अपेक्षित कर्जा प्रवाह विस्तार नभए पनि गत वर्षभन्दा धेरै नै कर्जा प्रवाह भएकाले वृद्धिको अनुमान पनि केही बढी देखिएको हो ।’

गत वर्षको साउनदेखि फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप ४ खर्ब ३५ अर्ब ८७ करोडले बढेको छ । यो ७.६ प्रतिशतको वृद्धि हो । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप २ खर्ब ८० अर्ब ५७ करोड ९५.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा ०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १४.६ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । गत फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.५ प्रतिशत थियो । गत वर्षको फागुन मसान्तमा यस्तो निक्षेपको अंश ३६.८ प्रतिशत थियो ।

चालु आर्थिक वर्षको आठ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ९९ अर्ब ५० करोड ९४.२ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब २८ अर्ब १८ करोड ९२.८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा ०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिवेदनले चालु आर्थिक वर्षमा घरजग्गा कारोबारको वृद्धिदर २.९८ प्रतिशतले हुने हुने अनुमान गरेको छ । घर जग्गाको कारोबारमा तुलनात्मक रूपमा कमी आएको भए तापनि निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा सामान्य रूपमा बढ्ने कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष ०७९/८० मा यस क्षेत्रको वृद्धिदर २.१८ प्रतिशत रहने संशोधित अनुमान कार्यालयले गरेको छ । आर्थिक वर्ष ०७८-७९ को अन्तिम तथ्यांकअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर १.७२ प्रतिशत कायम गरिएको छ । कोभिडका कारण गरिएको लकडाउनका कारण अघिल्ला दुई आर्थिक वर्षमा वित्तीय र बीमा क्षेत्रको वृद्धिदर खुम्चिएको थियो । कोभिडको जोखिम कम भएपछि मुलुकमा आर्थिक गतिविधि बढेका छन् । यसले बैंकिङ र बिमा क्षेत्रमा पनि सकारात्मक प्रभाव परेकाले चालु आर्थिक वर्षमा यस क्षेत्रको वृद्धिदरमा सुधार देखिएको राष्ट्रिय तथ्यांक कार्यालयले बताएको छ ।

गत चैतसम्म नेपालमा बीमा पहुँच ४३.३२ प्रतिशत पुगेको नेपाल बिमा प्राधिकरणको तथ्यांक छ । गत वर्षको यही अवधिमा यस्तो पहुँच ४४.५५ प्रतिशत थियो ।

प्रकाशित समय : १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु