गृहपृष्ठ ‘लम्पी स्किन’ बाट पशुधनमा क्षति, राहत कुर्दै किसान
‘लम्पी स्किन’ बाट पशुधनमा क्षति, राहत कुर्दै किसान
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३, फटकशिलाका कुलप्रसाद तिवारीको गाई मरेपछि किलो रित्तो भएको चार महिना पूरा भएको छ । आर्थिक रूपमा विपन्न उनी सरकारले उपलब्ध गराउने भनिएको क्षतिपूर्ति बापतको रकम पर्खिएर बसेका छन् । उनले धेरै स्थानमा स्थानीय तहले राहत दिएको सुने पनि आफ्नो गाउँमा कहीँकतैबाट कुनै पनि सहयोग नपाएको गुनासो गरे ।
धुलिखेल नगरपालिका–१२, शङ्खुपाटीचौरका गायत्री आचार्यको पनि लैनो गाई ‘लम्पी स्किन’का कारण मरेको थियो । एक लाख रुपियाँ पर्ने गाई मरेपछि राहत पाउने आसमा रहनुभएकी उनले हालसम्म स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट कुनै पनि राहत नपाएको गुनासो गरे । आफ्नै नगरका अरू वडाले पीडित किसानलाई राहत वितरण गरेको सुने पनि आफ्नो वडामा राहत पाउन नसक्दा उनी निराश भएका छन् ।
उनीहरूजस्तै ‘लम्पी स्किन’ सङ्क्रमणले किलो रित्तो भएका ६५ हजार ४४१ परिवार सरकारी राहत कुरेर बसेका छन् । चालु आर्थिक वर्ष २०८०र८१ मा मात्रै मुलुकभरका १५ लाख ३६ हजार १८० पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण हुँदा ६५ हजार ४४१ वटा पशु मरेका थिए । असारदेखि असोजसम्म उच्च बिन्दुमा पुगेको फैलावटको दर क्रमिक रूपमा घट्दै अहिले शून्य अवस्थामा पुगे पनि पीडित किसानले भने राहतको आशा नै मारेका छन् ।
पशु सेवा विभागका महानिर्देशक उमेश दाहालले समयमै किसानलाई क्षतिपूर्ति दिलाउन नसकेको स्विकारे । उनले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागले क्षतिको विवरण अर्थ मन्त्रालयमा पठाएको धेरै समय भए पनि रकम निकासा हुन नसकेको बताए ।
उनले झिँगा, लामखुट्टे र भुसुनाको टोकाइले सङ्क्रमित पशुबाट स्वस्थ पशुमा सर्ने ‘लम्पी स्किन’ को सङ्क्रमण चिसो बढेसँगै शून्यको अवस्थामा झरेको छ तर जोखिम कायमै रहेकाले यो वर्षको क्षतिपूर्ति र आगामी वर्षमा हुने जोखिम न्यूनीकरणसम्बन्धी योजना तयार थाल्न आवश्यक बजेट व्यवस्थापन सरकारले गरिदिनुपर्ने बताए ।
प्रकाशित समय : ०७:५७ बजे



















