global ime bank Long Banner Ad

गृहपृष्ठ मौलिकता गुमाउँदै घान्द्रुक

मौलिकता गुमाउँदै घान्द्रुक

मौलिकता गुमाउँदै घान्द्रुक

विसं २०२६/२०२७ तिरको कुरा हो, घान्द्रुकका शङ्करमान गुरुङ त्यही गाउँको विद्यालयमा पढाउने गर्थे । गाउँको तल विद्यालय थियो । उनी विद्यालय आउजाउ गर्दा बाटोमा फाट्टफुट्ट विदेशी भेटिन्थे । उनीहरु को हुन्, किन आएका हुन् ? कसैलाई पत्तो थिएन । पहिलोपालि आएका पर्यटक घान्द्रुकका लागि नौला थिए ।

उतिबेला घरगाउँमा कोही नचिनेको मान्छे आयो भने ‘जासुसी गर्न’ आएको भनेर शङ्काको  दृष्टिले हेरिन्थ्यो । विदेशी आउने क्रम बढेपछि शिक्षक गुरुङले सोधखोज गर्न थाले । अनि थाहा भयो, उनीहरु त घुमफिरका लागि आएका पर्यटक पो रहेछन् । त्योबेला घान्दु्रुकमा होटल, रेष्टुराँको कल्पना नै थिएन ।

पर्यटकले खाने र बस्ने ठाउँ खोज्दै हिँडेको देखेपछि उनले आफ्नै घरमा लैजान थाले । “घरमा जे पाक्छ उनीहरु त्यही खान्थेँ, सामान्य कोठामा सुत्थे”, शिक्षक गुरुङले विगत कोट्याए, “गाउँका अरुले राख्न मानेनन्, मैले राखेँ, अङ्ग्रेजी भाषाको अलिअलि ज्ञान भएकाले पनि मलाई सजिलो भयो ।”

व्यापार गर्ने नभई घरमा आएका पाहुनालाई सेवा–सत्कार गर्ने संस्कार गुरुङहरुमा थियो । शिक्षक गुरुङले पनि सुरुसुरुमा त्यसै गरे । “विदेशीलाई राखेर यतिउती पैसा लिनुपर्छ भन्ने हामीलाई थाहा नै थिएन, न हाम्रो संस्कारमा पथ्र्यो”, उनले भने, “हाम्रो आतिथ्यताबाट खुसी भएर उनीहरु आफैँले केही पैसा छाडेर जान्थे ।”

विस्तारै शिक्षक गुरुङको घरमा बास बस्न आउने पर्यटकको सङ्ख्या बढ्दै गयो । अरु गाउँलेले पनि पर्यटक भेटेपछि शिक्षककै   घरमा पठाउन थाले । “घान्दु्रक आएका पर्यटकलाई पहिलोपटक घरमै राखेर सेवा दिएको हामीले नै हो”, उनले सुुनाए, “पछि मैरे नाता पर्ने कुलबहादुर गुरुङले घान्द्रुकमा पहिलो होटल खोल्नुभयो ।”

पर्यटकलाई लक्ष्य गरी खोलिएको उक्त होटलको नाम फिस्टेल थियो । जुन अहिले बन्द छ । विसं २०२७ तीर फिस्टेल होटल खुलेपछि अर्को वर्ष शिक्षक गुरुङले कोटगाउँमा होटल अन्नपूर्ण खोले । उनले कान्छोबुबाको घरमा होटल चलाएका थिए । पछि त्यही घर किनेर विसं २०५० सम्म अन्नपूर्ण कै नाममा होटललाई निरन्तरता दिए ।

अठहत्तर वर्षीय शिक्षक गुरुङ अहिले पनि होटल व्यवसायमा हुनुहुन्छ । चौहत्तर वर्षीया श्रीमती बेलकुमारीको दरिलो साथ पनि रहँदै आएको छ । गुरुङका छोरा मिलन भने सपरिवार बेलायत बस्छन् । विसं २०५० पछि छोराको नाममा मिलन होटल चलाउँदै आएका छन्, गुरुङ दम्पत्तीले । “पहिलेको भन्दा अझ राम्रो भ्यू प्वाइन्ट भेटाएपछि होटल त्यहीँ बनायौँ, नाम पनि नयाँ राख्यौँ”, उनले भने ।

विसं २०५० मै शिक्षण पेसाबाट सेवानिवृत्त भएपछि गुरुङले पुरै समय होटललाई दिन थाले । झण्डै ५४ वर्षदेखि आतिथ्य सेवामा सक्रिय उहाँलाई घान्द्रुक कै पहिलो पर्यटन व्यवसायीका रुपमा चिनिन्छ । घान्द्रुकको पर्यटनको कुरा गर्दा शिक्षक गुरुङको नाम जहिल्यै पनि अघि आउँछ ।

“मैले होटल सुरु गर्दा बाटोको छेउमा बसेर के गरेको होला भनेर मान्छेले भन्थे”, उनले भने, “कमाइ हुन्छ भन्ने थाहा पाएपछि पछि गाउँका अरु पनि होटल व्यवसायमा लागे ।” विसं २०४०÷२०४२ देखि घान्द्रुकमा होटल थपिँदै जान थाले । पर्यटकको आउजाउ पनि बाक्लिन थाल्यो ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित घान्द्रुक गाउँ चल्तीको गन्तव्यकारूपमा देशीविदेशी माझ परिचित छ । बर्सेनि हजारौँ पर्यटकले त्यहाँ पाइला टेक्छन् । प्रकृति र संस्कृतिमा रमाउँछन् । पर्यटकीय चहलपहल बढेपनि घान्द्रुकको असली पहिचान गुम्ने हो की ! भन्ने पिरलो गुरुङलगायत गाउँका अगुवालाई छ ।

घान्द्रुक उहिलेको जस्तो छैन । जीवनशैली, रहनसहन फेरिँदो छ । नयाँ बनिरहेका संरचनाले गाउँको मौलिक स्वरुप खल्बलिएको छ । “विदेशीले यहाँ सडक नल्याउनू, ठूला सुविधासम्पन्न होटल पनि नखोल्नु भन्थेँ”, शिक्षक गुरुङले सुनाए, “तर जमानाअनुसार चल्नुपर्ने व्यवसायीलाई पनि बाध्यता छ, अहिले ठूल्ठूला भवन बने, गाउँमा मोटरबाटो पनि आयो ।”

सडकले पदमार्ग भत्केका छन् । पर्यटक धूलो–हिलो सहँदै सडकबाटै पर्यटक हिँडेका भेटिन्छन् । हिमालको काखमा पहाडे शैलीका लहरै घर । ग्रामिण परिवेश र हावापानी । गुरुङ समुदायको कला, संस्कृति र रहनसहन । पाहुनाको सत्कारका लागि खुलेका घरबास । गाउँकै उब्जनीबाट बनेका परिकार । पहिलेपहिले घान्द्रकुमा पर्यटक लोभ्याउने चीज यिनै थिए । अहिले घान्द्रुक विस्तारै कङ्क्रिटले ढाकिँदैछ ।

पर्यटकको आउजाउ बढेसँगै कराडौँ लगानीमा होटलदेखि रिसोर्टसम्म खुलेका छन् । आधुनिकताले गाउँको पुरानो चिनारीलाई विस्थापित गर्दैछ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बढ्दो व्यवसायीकरणले घान्द्रुकको मौलिकपन गुम्दै गएको धारणा व्यक्त गरे । “यो विषय हामी सबैलाई महशुस भएको छ, नयाँ संरचना बनाउँदा मौलिकता झल्कने गरी बनाउनेतिर जोड दिएका छौँ”, उनले भने, “कतिपय व्यक्तिले पुराना र जीर्ण घरलाई पनि संरक्षण गर्न थालेका  छन् ।”

मौलिकता जोगाउन नसके घान्द्रुकको पर्यटनको भविष्य पनि सङ्कटमा पर्ने स्थिति देखिएको स्वयं पर्यटन व्यवसायीले बताए  । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले घान्द्रुकमा बनिरहेका ठूल्ठूला संरचनाबारे पर्यटकबाटै गुनासो आइरहेको बताए । “हुन त व्यवसायीको पनि बाध्यता होला, जग्गा अभाव भएका कारण धेरै तला थपेको हुनसक्छ”, उनले भने, “पक्कै हो घान्द्रुक पहिले जस्तो छैन, परम्परागत घर धेरै हटिसके ।”

स्थानीय पहिचान दिन सकिएन भने हिमाल हेर्न मात्रै पर्यटक नआउन पनि सक्ने उनको  भनाइ थियो । घान्द्रुकबाट नजिकै देखिने अन्नपूर्ण र माछापूछ«े हिमशृङ्खलाको दृश्यले जोकोहीलाई पनि लोभ्याउँछ । देशविदेशसम्म चिनिएको गन्तव्य भएकाले घान्द्रुकको एकीकृत र पर्यटनमैत्री हिसाबले पूर्वाधार विकास गर्नुपर्नेमा अध्यक्ष गुरुङको जोड थियो । घान्द्रुकको पर्यटन प्रवर्द्धनका लागि समितिले बर्सेनि अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव गर्दै आएको छ ।

प्रकाशित समय : १७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु