गृहपृष्ठ भारत श्रीलंकासँग ६ विकेटले पराजित
भारत श्रीलंकासँग ६ विकेटले पराजित
एसिया कप क्रिकेटको सुपर फोर प्रतियोगितामा मंगलबार भारतलाई श्रीलंकाले ६ विकेटले हराएको छ । दोस्रो खेलमा पनि हार बेहोरेपछि भारतलाई फाइनल पुग्न निकै कठिन हुने देखिएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले दिएको १७४ रनको लक्ष्य श्रीलंकाले १९.५ ओभरमा ६ विकेट वाकी राख्दै पुरा गर्यो । श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक ५७ रन बनाउँदा पथुम निसंकाले ५२ रनको योगदान गरे ।
दासुन शनाका र भानुका राजापक्षले नटआउट रहँदै क्रमशः ३३ र २५ रन बनाए । भारतका लागि युजवेन्द्र चहलले ३ र रविचन्द्रन अश्वीनले १ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ७२ रन बनाए ।
समूह चरणको खेलमा पाकिस्तानलाई ५ विकेटले हराएको भारत यसअघि सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले नै पराजित भएको थियो ।
सुपर ४ अन्तर्गत शीर्ष २ स्थानमा रहने टिमले फाइनल खेल्नेछन् । भारतले अब बिहीबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित समय : ०७:१९ बजे



















