fbpx
corona information

गृहपृष्ठ सहमतिको नाममा कसैको दासत्व स्वीकार्न सक्दैनौँ : किशोर प्रधान

सहमतिको नाममा कसैको दासत्व स्वीकार्न सक्दैनौँ : किशोर प्रधान

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिँदै गर्दा वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारहरुबीच रस्साकस्सी चलिरहेको छ । महासंघको भावी नेतृत्वमा पुग्नका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान र चन्द्र ढकालबीच प्रतिस्पर्धा हुँदैछ । मतदाताहरु फकाउन दुवै उम्मेदवार प्यानलसहित देश दौडाहामा छन् । मतदाता आफूप्रति सकारात्मक देखिएको भन्दै उनीहरुले आ-आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन् । यही परिप्रेक्ष्यमा पूर्वअध्यक्ष पशुपति मुरारका, अध्यक्ष भवानी राणा र ‘प्रेसिडेन्ट इन वेटिङ’ शेखर गोल्छाको साथ पाएका वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार किशोर प्रधानसँग महासंघको गुटबन्दी, सहमतिको सम्भावनालगायतका विषयमा भूमिराज पिठातोलीले गरेको कुराकानी :


केही वर्षयताको निर्वाचनमा नेतृत्व चयन प्रक्रियामा भइरहेको राजनीतिले नेपाल उद्योग वाणिज्य महासंघ नै कमजोर भएको टिप्पणी हुने गरेको छ, यसपटकको गुटबन्दी अझै चर्को देखिन्छ, यसलाई महासंघलाई थप कमजोर बनाउँदैन ?

विगतका केही निर्वाचनमा राजनीतिक गुटबन्दी भएको स्वाभाविक हो । महासंघमा राजनीति हुनु हुँदैनथ्यो । यसले महासंघको भविष्यमा ठूलो उतारचढाव आउँछ भनेर हामीले आवाज उठाउँदै आएका हौं । तर, केही वर्षयता महासंघमा राजनीति भइरह्यो । आगामी निर्वाचनहरुमा राजनीति रोक्न र टुटफुटलाई जोड्नका लागि हामी अघि सरेका हौं । आगामी निर्वाचन शुद्ध निजी क्षेत्रको हकहितमा हुनेगरी मतदाताले उम्मेदवार चुन्नेछन् । महासंघमा यस्तै गतिविधि हुन नदिन हाम्रो टिम नेतृत्वका लागि आएको हो । यो टिम एकदमै सक्षम, जागरुक र अनुभवी छ । टिमकै सक्षमता देखेर मतदाता पनि उत्साहित भएका छन् । त्यसैले हाम्रो टिम नै निर्वाचित हुनेमा ढुक्क छौं । देशभरबाट हाम्रो प्यानललाई पर्याप्त साथ छ । हाम्रो टिमलाई निर्वाचित गराउन जिल्ला र नगरका प्रतिनिधि पनि सक्रिय भएर लागेका छन् । आगामी निर्वाचनमा महासंघमा राजनीति हुने सम्भावनै रहँदैन । त्यस्तै राजनीति चिर्नका लागि हामी आएका हौं ।

तपाईं महासंघमा लामो समयदेखि विभिन्न जिम्मेवारीमा बस्नुभयो । यस्तै गतिविधिका कारण विगतमा पनि महासंघ फुटको संहारमा पुगेको थियो । यस्तो अवस्थामा सहमतिको सम्भावना कति छ ?

सहमति जुट्ने–नजुट्ने भन्ने विषयमा अहिले केही भन्न सकिन्न । सहमतिका लागि कसैले बस्नुस् पनि भन्न सक्छन् । यहाँ कसैको दासत्व स्वीकार्न सकिन्न । स्वच्छ र स्वतन्त्र तरिकाले निर्वाचनमा जाने हो । देशभरका निजी क्षेत्रबाट प्रतिनिधित्व गर्नेहरुले महासंघमा हाम्रो आवश्यकतालाई देखे र उम्मेदवार बन्न आग्रह गरे । त्यसैले हामीले उम्मेदवारी दिने निर्णय गरेका हौं । निजी क्षेत्रको हकहितमा काम गरेको अनुभव भएका कारण उहाँहरुले हाम्रो खाँचो देखेका हुन् । विगतको जस्तो महासंघ नभई हामी नयाँ इतिहास निर्माण गर्छौं । फुटाउने नभई जुटाउनका लागि र निजी क्षेत्रको हकहितका लागि हाम्रो उम्मेदवारी हो । विगतमा भएका घटनाबाट पाठ सिक्दै नयाँ ढंगले महासंघ सञ्चालन गर्नका लागि नेतृत्व गर्नुपर्ने मतदाताबाटै दबाब आएकाले हामी उत्प्रेरित भएका हौं । यसमा सहमति जुटाउनका लागि एक पक्षले बस्नुपर्ने हुन्छ । हामी बस्ने पक्षमा छैनौं ।

महासंघमा मारवाडी र गैरमारवाडीबीच गुटबन्दी चल्दा निजी क्षेत्रका अरु संगठन पनि जन्मिए । यसरी एकतामा हिँडेको महासंघ कसका कारण खण्डीकरण भयो ?

महासंघ खण्डीकरण हुनुमा विगतका विभिन्न नेतृत्व दोषी छन् । म अहिले कसैको नाम खुलाउन चाहन्न । त्यस बेलामा पनि महासंघमा विभिन्न गुटबन्दी थिए । केही साथीहरु महासंघमा टिक्न नसकेर पनि बाहिरिए । अब उहाँहरुलाई पनि हाम्रो नेतृत्वले महासंघमा सहभागी गराउँछ । हाम्रो उद्देश्य प्रस्टै छ । हामी फुटेकालाई पनि जुटाउने प्रयास गर्नेछौं । निजी क्षेत्रका विभिन्न संगठनलाई महासंघमै ल्याएर उहाँहरुको हकहितमा महासंघले काम गर्नेछ । सबै संगठनको एउटै छाता संगठन महासंघ भएपछि एकतामा बल हुन्छ भने जस्तै हामी निजी क्षेत्रका व्यवसायीलाई पनि सक्षम बनाउँछौं । सरकारलाई खबरदारी तथा नीति निर्माणमा जिम्मेवारी बनाउँछौं । त्यसैले अबको निर्वाचनपछि खण्डीकृत भएकाहरुलाई पनि एकीकृत गरिन्छ । त्यो भिजन हामीसँग छ ।

महासंघमा गुटबन्दीका कारण निजी व्यवसायी मर्कामा परेका छन् । यस्ता गलत क्रियाकलाप महासंघमा रोक्न के गर्नुहुन्छ ?

उद्योग वाणिज्य महासंघ निजी क्षेत्रहरुको छाता संगठन हो । यसभित्र विभिन्न निजी व्यवसायमा आबद्ध प्रतिनिधि छन् । निजी संस्थाका विभिन्न संगठनका सरोकारलाई महासंघले उठाउँदै आएको छ । लामो समयसम्म महासंघमा आबद्ध भइरहँदा धेरै कुरा जान्ने अवसर पाएको छु । यसबीचमा केही कमी–कमजोर भएका पक्कै हुन् । खासगरी साना व्यवसायीलाई पनि सरकारले करको दायरा फराकिलो पार्दा उहाँहरुले निकै समस्या पाउनुभयो । त्यसमा पनि कोरोना माहामारीका बेलामा ६–६ महिनासम्म व्यापार व्यवसाय ठप्प हुँदा बढी समस्या भएको हो । उहाँहरुका मागलाई महासंघले प्राथमिकताका साथमा उठाउनुपर्ने हो । तर, लकडाउनकै कारण महासंघको नयाँ नेतृत्व चुनिन कठिन भयो । अब महासंघले नयाँ नेतृत्व पाउँदै छ । निजी क्षेत्रका सबै संगठन तथा व्यवसायीलाई आगामी दिनमा महासंघले सक्षम अभिभावकको भूमिका निर्वाह गर्नेछ ।

पूर्वअध्यक्षहरु सहमतिका लागि जुटिरहनुभएको छ । सहमतिमै जाने हो भने एक पक्षले छोड्नुपर्ला, तपाईं छोड्न सक्नुहुन्छ ?

तपाईंको प्रश्न नै सुहाएन जस्तो लाग्छ । निर्वाचनमा जुटेको मान्छे छोड्ने कुरा हुन्छ ? पूर्वअध्यक्षहरुको त आफ्नो जिम्मेवारी नै हो । उहाँहरुले सहमतिका लागि कुरा उठाउनु स्वाभाविक हो । तर, हामी हरेक कुराले महासंघको जिम्मेवारी पाउनुपर्ने उम्मेदवार हौं । हामीभित्रको टिम लामो समयदेखि अनुभव बटुलेको छ । काम गर्न सक्षम छ । हामीले टिममा पनि नेतृत्व सम्हाल्न सक्नेहरुलाई नै उम्मेदवारी बनाएका छौं । पूर्वअध्यक्षहरुले सहमतिको प्रयास गरे पनि हामी दासत्व स्वीकार गर्न सक्दैनौं, जसले जे भन्यो त्यही गर्नलाई । महासंघमा लोकतान्त्रिक प्रणालीअनुसार निर्वाचन गराउनुपर्छ । त्यसपछि निर्वाचनको परिणामले नै नतिजा दिन्छ । हामी देशव्यापी रुपमा मतदाताको न्यानो आतिथ्यताका लागि भेटघाटमा जुटिरहेका छौं । सबैतिरको उत्साह र उमंगले हाम्रो जित सुनिश्चित देखिएको छ । त्यसैले छोड्ने कुरै हुँदैन ।

तपाईंले जित्नुभयो भने महासंघको एकता बढाउन र खण्डीकरण रोक्न के गर्नुहुन्छ ?

मैले अघि नै भनिसकेँ । हामी महासंघलाई ‘महासंघ’ बनाउँछौं । महासंघमा भइरहेको राजनीतिलाई अन्त्य गर्छौं । हाम्रो टिम निर्वाचित हुने निश्चित छ । हामीले धेरै योजना त बनाएका छैनौं तर महासंघलाई निजी क्षेत्रको अभिभावक भएको महसुस पक्कै गराउँछौं । निर्वाचनपछिको हाम्रो कार्यकाल निजी क्षेत्रको हकहितका लागि हुनेछ । स–साना संगठनका मागलाई पनि सरकारसमक्ष पुर्‍याउँछौं । आवश्यक मागहरुलाई सम्बोधन गर्न सरकारलाई बाध्य पार्नेछौं । निर्वाचित भइसकेपछि हामीलाई सहयोग गर्नेलाई मात्रै नभएर हामी निजी क्षेत्रकै साझा भएर काम गर्नेछौं । हाम्रो टिमलाई अग्रजहरुले पनि साथ दिइरहनुभएको छ । उहाँहरुको सल्लाहबमोजिम महासंघलाई सरकारको महत्वपूर्ण अंगको रुपमा हेर्ने गरी काम गर्नेछौं ।

कोभिड १९ का कारणले अर्थतन्त्र नै ठूलो संकटमा परेका बेलामा निजी क्षेत्रको साझा आवाज भएर महासंघले सरकारलाई जागरुक बनाउन कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?

अहिले विश्वभर नै कोरोनाले भयावह रुप लिएको छ । त्यसमा नेपाल पनि अछुतो रहने कुरै भएन । नेपालमा पनि सबैलाई संकट परेको छ । कसैलाई बढी र कसैलाई कममात्र हो । त्यसमा पनि निजी क्षेत्रमा साना व्यवसायी बढी मर्कामा छन् । सानो लगानीमा व्यवसाय गरेकाहरुले महिनौंसम्म बन्द गर्नुपर्दा भाडा तिर्न नसकेर डिप्रेसनमा पर्नुपर्ने अवस्था आएको छ । ठूला व्यवसायीले अर्बौंको घाटा व्यहोर्नुपरेको छ । कर्मचारीलाई विदाइ गर्नुपरेको छ । महिनौंदेखि व्यवसाय ठप्प हुँदा पनि सरकारलाई कर तिर्नुपर्ने अवस्था छ । यस बेलामा पनि व्यवसायीको हित र आवश्यकताअनुसार कर छुट गराउन र व्यवसाय सञ्चालन गराउन महासंघ लागिरहेको छ, लागिरहनेछ । हाम्रो टिमले निजी क्षेत्रको आवाज बुलन्द गर्छ र सरकारलाई निजी क्षेत्रको हितमा काम गर्न बाध्य बनाउँछ ।

प्रकाशित समय १५:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु