fbpx
corona information

गृहपृष्ठ महाधिवेशन नगरी केपी ओलीलाई अध्यक्षबाट हटाउन मिल्दैन : किरण गुरुङ

महाधिवेशन नगरी केपी ओलीलाई अध्यक्षबाट हटाउन मिल्दैन : किरण गुरुङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको झगडाले पार्टीमात्रै नभएर सरकार सञ्चालनसमेत प्रभावित भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यले साथ नदिइरहँदा पनि पार्टी अध्यक्षका साथै सरकारको नेतृत्व गरिरहेका छन् । सरकारले विकास निर्माण कार्य अघि बढाउन नसकेको, कोरोनाभाइरस संक्रमण नियन्त्रणमा भन्दा कमिसन र घुसखोरीमा लागेको, सबै मन्त्रालयले स्वस्थ ढंगले काम गर्न नसकेको, जनतामा निराशा चुलिएको जस्ता आरोप प्रधानमन्त्रीमाथि लागिरहेका छन् । पार्टीभित्रबाट मात्र नभएर प्रमुख प्रतिपक्षीले पनि प्रधानमन्त्री ओलीले काम गर्न नसकेको भन्दै राजीनामा दिनुपर्ने बताइरहेको छ । तर, प्रधानमन्त्री ओली राजीनामा त के दलीय पद्धतिभन्दा पनि मनमौजी शैलीमा प्रस्तुत हुन थालेपछि पार्टीभित्र चरम असन्तुष्टि बढिरहेको छ । नेकपाभित्रको विवाद,पार्टी फुट लगायतका विषयमा नेकपाका स्थायी कमिटी सदस्य किरण गुरुङसँग गण्डकी ब्युरो प्रमुख महेश ढुंगानाले गरेको कुराकानी :


सत्तारुढ नेकपाभित्र अहिले पदीय विवाद चर्किएको छ । तपाईं नेकपाको स्थायी कमिटी सदस्यको हिसाबले यसलाई कसरी लिनुभएको छ ?

सैद्धान्तिक विवाद हो यो। अहिलेको विवाद प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट राजीनामासँगै पार्टी अध्यक्षबाट हट्नुपर्छ भन्ने विषयमा केन्द्रित छ । तर, अहिलेको अवस्थामा प्रधानमन्त्री हट्नुपर्छ भन्ने माग न्यायोचित पनि छैन, उचित पनि छैन । किनकि लोकतन्त्रमा पाँच वर्षका लागि जनताले चुनेका जनप्रतिनिधि पाँच वर्षसम्म काम गर्न पाउने व्यवस्था छ । त्यसअन्तर्गत नै केपी ओली प्रधानमन्त्री बन्नुभएको हो । जसका कारण लोकतन्त्रमा काम गर्न पाउने अधिकार रहन्छ ।यो विषयमा दुई तिहाई अर्थात् बहुमतको सरकार पनि स्थिर हुनुपर्छ । विभिन्न ढंगले संख्यामा खेल गर्ने, प्रधानमन्त्री हटाइरहने हो भने त अस्थिर हुने भो । लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले अस्थिर सरकारको परिकल्पना गरेको छैन । अस्थिर सरकार नहोस् भन्ने परिकल्पना गरेको छ ।

विगतमा हामीले धेरै दुःख पायौँ, नेपाली कांग्रेसको बहुमतको सरकार हुँदा पनि आन्तरिक विवाद भएका कारण लोकतन्त्र गुम्ने अवस्था सिर्जना भयो । अहिलेको संविधानले अस्थिर सरकार नहोस् भन्ने भन्ने चाहन्छ । केन्द्रीय कमिटीमा बहुमत भएकै आधारमा यसलाई हटाउन मिल्दैन । माओवादी केन्द्रसँग ६० र ४०औं अनुपातमा एकीकरण भएको हो । अर्को महाधिवेशन नहुन्जेलसम्म दुईवटा अध्यक्षको सहमतिका आधारमा पार्टीलाई अगाडि बढाउने भनिएको छ । अल्पमत र बहुमतको हिसाबले फैसला गरेर जानेभन्दा पनि दुईवटा अध्यक्षको सहमतिमा अगाडि बढ्नुपर्ने हुन्छ । हिजो निर्वाचित भएका कारणले नै केपी शर्मा ओली अध्यक्ष हुनुभएको हो । निर्वाचित अध्यक्षलाई केन्द्रीय कमिटी र स्थायी कमिटीको बहुमतका आधारमा हटाउने भन्ने कुरा विधान, प्रद्धति र विधिविपरीत छ ।

अहिलेको स्थितिमा प्रधानमन्त्रीले नैतिकताको आधारमा पनि पद छाड्नुपर्ने होइन र!

नैतिकता केलाई भन्ने ? बाहिरबाट बहुमत भएको भनौँ त्यो पनि छैन, अहिले पनि प्रधानमन्त्रीबाट पनि राजीनामा दिनुपर्छ भन्ने, अध्यक्षबाट हट्नुपर्छ भन्ने, त्यो बहुमत छ भनिएको छ तर त्यो बहुमत छैन । स्थायी कमिटीमा पनि हामी बहुमतमा छौं, त्यसकारण हट्नुपर्छ भन्ने छैन । विधिका कुरा गर्ने हो भने महानिवेशन गर्नुपर्‍यो । अध्यक्ष हटाउने महानिवेशनले हो ।

 अहिले आएर स्थायी कमिटीमा बहुमत छ भन्ने कसरी हुन्छ । स्पष्ट रुपमा भन्दा अहिले राजीनामा माग्ने बेला नै होइन ।अर्को चुनाव नभएसम्म सम्भव पनि छैन । ओलीले नचाहेसम्म दलको नेताबाट हट्न असम्भव छ । जहाँसम्म अविश्वासको प्रस्ताव दर्ता गराउने र प्रधानमन्त्रीबाट फाल्ने कुरा बेग्लै हो । तर, यो प्रक्रियामा जानेबित्तिकै दलको नेताले दलको निर्णयभन्दा अर्को निर्णय गर्न सक्छ । दलको नेताले अरु नेतालाई निष्कासन गर्न सक्छ, दलको नेताको ह्विप लाग्छ ।

दलको नेतालाई पार्टीले निर्देशन दिन सक्दैन र ?

कानुनी रुपमा निर्देशन दिनसक्छ भन्ने कुरा कहीँ उल्लेख छैन । आन्तरिक कुरामा चाहिँ निर्देशन दिन सक्छ ।

महाधिवेशन गर्ने हो भने केपी ओली पार्टी अध्यक्षबाट हट्न सम्भव छ कि छैन?

सम्भव छ । महाधिवेशन नै गर्ने हो भने त किन सम्भव नहुनु ? यो ठूलो कुरा नै होइन । महाधिवेशन गर्ने भनेको नै प्रतिनिधित्व लिएर आउने कुरा हो । तर, निर्वाचित अध्यक्षलाई केन्द्रीय कमिटीले हटाउन सक्दैन, मिल्दैन । त्यसकारण महाधिवेशनमा जानुपर्छ । अरु सामान्य निर्णय गर्ने हो भने केन्द्रीय कमिटीले पनि गर्न सक्ने भो । प्रधानमन्त्री हटाउने भनेको अहिलेको सरकारलाई ढाल्ने हो, प्रधानमन्त्रीले राजीनामा दिनेबित्तिकै अहिलेको सरकार ढल्छ । यस्तो जोखिममा त प्रधानमन्त्रीले फेस गरिरहनुभएको छ।

विवादले उग्र रुप लिइरहँदा पार्टी फुट्ने आशंका बढिरहेको छ । स्वयं प्रधानमन्त्रीबाट पार्टी चोइटिएर जानसक्छ भन्ने अभिव्यक्ति आइरहेको छ, यसलाई कसरी लिनुभएको छ ?

प्रधानमन्त्रीले पार्टी चोइटिएर जान्छ भन्ने अभिव्यक्ति दिने बेला यो होइन । हिजो चुनावामा हारिसकेपछि पाँच वर्ष कुर्नुपर्छ । लोकतन्त्रको विधिमा अर्को महानिवेशनबाट नै अध्यक्ष हुने या जित्ने भन्ने निर्णय हुन्छ । पार्टी फुटाउने कुरा बाहिर आएजस्तो होइन । सरकार गिराउनका निम्ति आधार हुनुपर्छ । के-के कारणले गिराउने हो । विधिअनुसार गिराउन मिल्दैन । अध्यक्षमा दुईवटा सहमति हो, केपी ओली भनेको निर्वाचित अध्यक्ष हो, माधव नेपाल भनेको हारेको व्यक्ति हो । अनि हारेका मान्छेले केन्द्रीय कमिटीमा त्यही पनि एकीकरणमा बनेको केन्द्रीय कमिटीमा संख्याको खेल गरेर बहुमत पुर्‍यायौँ भन्न पाइँदैन । विधि र विधान सबैले मान्नुपर्छ ।

अहिले पूर्वमाओवादीमा भन्दा पनि पूर्वएमालेभित्र नै बढी विवाद र गुटबन्दी देखिएको छ, पूर्वमाओवादी नेताहरुकै खेलका कारण पूर्वएमाले नेताहरुबीच विवाद चर्किएको हो ?

होइन । त्यस्तो खेल होइन । पूर्वएमाले एक ठाउँमा छ, माओवादी एक ठाउँमा छ । पार्टी विभाजन गर्ने पक्षमा न माओवादी छ न त एमाले नै । केही मान्छेलाई प्रधानमन्त्री, पार्टी अध्यक्षजस्ता पद चाहिएका होलान्, त्यति मात्रै हो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ, अध्यक्षबाट हट्नुपर्छ भन्ने पक्षमा आमकार्यकर्ता छैनन् । हामीले पार्टी संगठन ठूलो बनायौं, सगठनको कार्यविधि बैठक लगायतका साना कुरामा ध्यान दिन सकेनाैं, त्यसैको उपज हो यो ।

विगतमा माधव नेपाल गुटका नेतालाई प्रधानमन्त्री ओलीले धेरै पेलेका कारण अहिले नेपाल पक्षका नेताहरु बढी चिढिएका हुन् भनिन्छ, यसमा कतिको सत्यता छ ?

यो पेल्ने भन्ने कुरा पनि केलाई पेल्ने भन्ने, केलाई नपेल्ने भन्ने ? पार्टीभित्र भागबन्डा हुनु नै बेठीक कुरा हो । पार्टी भनेको कुनै आक्रोस पोख्ने ठाउँ होइन, पार्टी भनेको आफूले पद पाइएन भनेर कुण्ठा पोख्ने ठाउँ होइन । त्यसकारण जसले पाए पनि नेपाल कम्युनिस्ट पार्टी नेकपाले पाएको छ । हामीले यसलाई सकारात्मक रुपमा बुझेर अगाडि बढ्न आवश्यक छ ।

अब निकास के त !

अब वामदेव कमरेडले उपयुक्त प्रस्ताव ल्याउनुभएको छ, यसलाई नै टेकेर निकासमा जानुपर्छ ।

माधव नेपाल सम्बद्ध गुटले नमान्ने, तपाईंहरु सम्बद्ध गुटले केही पनि नछाड्ने, यसरी पार्टी चल्छ ?

पार्टी त चल्छ, चलाउनुपर्‍यो नि! एक त महानिवेशन नहुन्जेलसम्म सहमतिको आधारमा नै गर्नुपर्‍यो नि ! पार्टीको अध्यक्ष किन हट्ने ? बहुमतको कुरा गर्ने हो भने त प्रचण्ड पनि हट्नुपर्ने होला ।

प्रकाशित समय १२:१४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु