fbpx
corona information

गृहपृष्ठ सडक अनुशासन पालना नगर्दा दुर्घटना बढेका छन् : भीमप्रसाद ढकाल

सडक अनुशासन पालना नगर्दा दुर्घटना बढेका छन् : भीमप्रसाद ढकाल

महानगरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्व १० महिनायता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले गरिरहेका छन् । २०५२ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका उनको कार्यशैली अलि भिन्न छ । जिम्मेवारी पूरा गर्न उनी अहोरात्र खट्छन् । परिणामत: छोटो समयमै राजधानीको सवारी व्यवस्थापनमा नतिजा देखिइसकेको छ । थोरै जनशक्तिबाट राजधानीको ट्राफिक व्यवस्थापन गर्नु उनका लागि ठूलो चुनौती हो । काठमाडौँ उपत्यकामा हुने सवारी जाम र दुर्घटना न्यूनीकरण गर्न महाशाखाको नेतृत्व सम्हालेयता उनले धेरै काम गरेका छन् । उनको जुझारु कार्यशैलीका कारण मातहतका ट्राफिक प्रहरीमा समेत उत्साह भरिएको छ । महाशाखाले एकै वर्षमा डेढ लाखभन्न्दा बढी चालक, सहचालक र पैदल यात्रुलाई सचेतना कक्षामा सहभागी गराएको छ । राजधानीको ट्राफिक व्यवस्थापन, सवारी दुर्घटनाका कारण, समाधानका विषयलगायतमा एसएसपी ढकालसँग बबिता तामाङले गरेको कुराकानी :


नेपालमा हरेक वर्ष सवारी दुर्घटना बढिरहेका छन्, यसका मुख्य कारण के के हुनसक्छन् ?
सवारी दुर्घटनाको मुख्य कारण चालकको लापर्बाही नै हो । सवारी चालकले जुन–जुन प्रोटोकल मान्नुपर्ने हो त्यसलाई उल्लंघन गरिरहेका हुन्छन् । जस्तैः गाडीको कन्डिसन ठिक छ कि छैन, आफू कहाँ जानुपर्ने हो, कुन बाटो प्रयोग गर्नुपर्ने हो, बाटोअनुसारको ड्राइभिङ कस्तो हुनुपर्ने, कताबाट ओभरटेक गर्नुपर्ने, जहीँतहीँ पार्किङ गर्न हुने कि नहुनेलगायतका विषयमा चालकले ख्याल गर्नुपर्ने हुन्छ । आफ्नो साधन ठिक छ कि छैन, सुरक्षित छ कि छैन त्यसमा ध्यान दिनुपर्छ । ट्राफिक नियमका कुरामा ध्यान दिनुपर्छ ठाउँ ठाउँमा ट्राफिक नियमसम्बन्धी विभिन्न चिह्न राखिएका छन् त्यसलाई पालना गर्नुपर्छ । ओभरेटेक, ओभरलोड गर्नु हुँदैन । यी र यस्ता कुरामा चालकले ध्यान दिएनन् भने दुर्घटना हुन्छ ।

अर्को कारण मापसे गरेर सवारी चलाउने चालकको संख्या धेरै छ । दुर्घटनाको अर्को कारण मापसे हो । त्यस्तै बाटोको अवस्थाका कारण पनि दुर्घटना हुन्छ । गाडीलाई मोड नपुग्दा, कतिपय ठाउँमा बालुवामा चिप्लिएर र खाल्डाखुल्डीमा परेर पनि बढी दुर्घटना हुन्छ । दुर्घटना बढ्दै जानुको कारण जनसंख्या वृद्धि हुँदै जानु पनि हो । साथै सवारी साधनको संख्या पनि बढ्दै गइरहेका छन् । अहिले बाटो सुधार गर्ने काम पनि भएको छ तर जुन मात्रमा सवारी साधन बढेको छ । त्यो मात्रामा बाटोहरु बनिरहेका छैन ।

चालक सधैँ हतारमा हुने र धैर्य गर्न नसक्ने स्थितिले दुर्घटना निम्त्याइरहेको छ ।

ट्राफिक प्रहरी र विभिन्न संघसंस्थाले व्यापक सचेतनाका कार्यक्रम चलाउँदा पनि त्यसलाई ग्रहण गरेर सवारी नचलाउने, सचेतनाको कक्षा लिने तर सडक अनुशासन पालनामा गम्भीर नहुने जस्ता गतिविधि भइरहेका छन् । चालक सधैँ हतारमा हुने र धैर्य गर्न नसक्ने स्थितिले दुर्घटना निम्त्याइरहेको छ ।

सवारी दुर्घटना न्यूनीकरण गर्न तपाईंहरुले के गरिरहनुभएको छ ?
सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीबाट धेरै प्रयास भइरहेका छन् । हामीले जति प्रयास गरेका छौं, त्यसलाई सामान्य मात्र पनि पालना गरे सवारी दुर्घटना न्यून हुन्छ । तर, पालना नगरिएका कारण दुर्घटना न्यूनीकरण गर्न सकिएको छैन । हामीले त कानुनले दिएभन्दा बढी काम गरिरहेका छौँ । हामीले सडकमै गएर कक्षा दिइरहेका छौँ, सारंगी बजाएर, प्लाकार्ड देखाएर, पर्चा पम्प्लेट बाँडेर सजग गराइरहेका छौँ । यो वर्षमात्र पनि डेढ लाखभन्दा बढीलाई कक्षा दिएका छौँ । त्यस्तै ट्राफिक एफएमबाट, फेसबुकलगायतका सामाजिक सञ्जालबाट पनि ट्राफिक नियम पालना गर्नुपर्छ भनेर सबै खालका प्रयास गरिरहेका छौँ ।

अहिले हामी दैनिक १६ घण्टा ड्युटी गरिरहेका छौँ । यो सबै दुर्घटना न्यूनीकरणका लागि गरेका हौँ । हामीसँग सीमित जनशक्ति छ । ६ वर्षअघिको दरबन्दीमा काम गरिरहेका छौँ । अहिले एक हजार ८६ दरबन्दी छ तर काठमाडौंमा १२ लाख सवारी साधन गुड्छन् । यस हिसाबले एक जना ट्राफिक प्रहरीले ११ सय सवारी साधनलाई हेर्नुपर्ने हुन्छ । उपत्यकाभर २ हजार १४ किलोमिटर सडक छ । त्यति सडकलाई अहिले भएका ट्राफिकले भाग गर्ने हो भने पनि एक जनाको भागमा डेढ किलोमिटर पर्छ । तर, हामीले सबै खालका कार्यक्रम जस्तैः ट्राफिक परिचालनका कुरा, जनचेतना कार्यक्रम गरिरहेका छौँ । अरु निकायसँग समन्वय गरेर आठ-नौ वर्षदेखि नबनेका ट्राफिक लाइट बनाएका छौँ । अहिले १९ वटा जति मुख्य चोकहरुमा ट्राफिक लाइट बल्छन् । भोलिका दिनमा थप्दै जानेछौँ ।
हामीले ट्राफिक प्रहरीका साथै सिसी क्यामेराबाट पनि निगरानी गरिरहेका छौँ र जरिवाना तिराइरहेका छौँ । भ्यानबाट पनि अवस्थाअनुसार निगरानी गर्छौं । यी सबै प्रयासले गर्दा गत सालको तुलनामा यो वर्षको जेठसम्म दुर्घटना निकै कम भएको छ । मानवीय क्षति ३८ प्रतिशतले कम भएको छ ।

सवारी दुर्घटनामा ज्यान गुमाउनेमा १७ देखि ३५ वर्ष उमेर समूहका धेरै छन्, यसको कारण के हुनसक्छ ?
युवा उमेरका व्यक्तिहरु बढी दुर्घटनामा पर्ने गरेको पाइएको छ । यो उमेर समूहका युवाले अनियन्त्रित भएर मोटरसाइकल चलाउँछन् । युवा सवारी चालकहरु ओभर स्पिडमा गुड्ने, प्रतिस्पर्धा गर्ने, हतारिएर चलाउने जस्ता कारणले बढी दुर्घटनामा परिरहेका हुन्छन् । सडक अनुशासन र ट्राफिक नियम पालनामा उनीहरु एकदमै बेवास्ता गर्छन् । यो त्यसकै परिणाम हो ।

नेपालमा लाइसेन्सबिना नै सवारी साधन चलाउने अथवा लाइसेन्स पाउनेबित्तिकै सडकमा लिएर निस्किने गरिन्छ, सवारी दुर्घटनाको कारण यो पनि हैन र !
हो । लाइसेन्स लिइसकेपछि लाइसेन्स लिने व्यक्तिले सडकमा सवारी कुदाइहाल्न हुँदैन । सवारी चलाउने व्यक्तिले कम्तीमा एक महिनाको ड्राइभिङसम्बन्धी र सडक नियमसम्बन्धी कोर्स लिनु जरुरी छ ।

विदेशमा लाइसेन्स लिइसकेको व्यक्तिलाई उमेरअनुसार ६ वर्षदेखि १ वर्षसम्मको रोड ट्रायलमा राखिन्छ, हामीकहाँ यस्तै खालका नीतगत व्यवस्था गर्न सकिँदैन ?
सकिन्छ । नेपालमा लाइसेन्स पाउनेबित्तिकै रोडमा निकाल्ने प्रवृत्ति छ, जुन गलत हो । यस विषयमा हामीले योजना बनाइरहेका छौँ । आमनागरिकलाई ट्राफिक शिक्षा दिनका लागि संस्थागत रुपमा प्रयास पनि गरिरहेका छौँ । निकट भविष्यमा त्यसलाई सुरु पनि गर्नेछौँ ।

काठमाडौँको जाम सधैँ सास्तीको विषय बन्ने गरेको छ, यसको दीर्घकालीन समाधानका लागि के गर्नुपर्ला ?
उपत्यकामा धेरैले जामको सास्ती भोग्नुपर्ने स्थिति छ । यसलाई मध्यनजर गरेर यो वर्षको सुरुवातमै कार्ययोजना बनायौँ । प्रधानमन्त्री कार्यालयमा नौ सदस्यीय ट्राफिकको भौतिक सुधारसम्बन्धी अल्पकालीन कार्ययोजना बनाएका छौँ । यसमा खाल्डाखुल्डी पिच गर्ने, सडकमा मार्किङ गर्ने, करिडोरहरु क्लियर गर्नेलगायतका ट्राफिकसग सम्बन्धित भौतिक सुधार गर्ने योजना छन् । यी योजना मुताबिक काम भइरहेका छन् । योजनाबमोजिम जिम्मेवारी पाएका निकायहरु नगरपालिका, सडक विभाग, मेलम्चीलगायतले काम गरिरहेका छन् । ६० प्रतिशत काम कार्यान्वयनमा आइसकेको छ ।

खासगरी भक्तपुरबाट काठमाडौँ आउनेले सडकमै डेढ-दुई घण्टा बिताउनुपर्छ, यसको समाधानको पहल किन भइरहेको छैन ? अथवा के भइरहेको छ ?
भक्तपुरबाट काठमाडौँ, ललितपुर आउनेहरुका लागि कोटेश्वरको जाम नै मुख्य समस्या हो । कोटेश्वरको जाम कम गर्नका लागि लेन थप्ने निर्णय गरिसकेका छौँ र काम पनि सुरु भइसकेको छ । कोटेश्वर चोकदेखि जटिबुटी चोकसम्म तीन लाइनको लेन थपिँदैछन् । यो काम सकिनेबित्तिकै जाम कम हुन्छ । गौशाला-चाबहिल जाम पनि मुख्य समस्या हो, अहिले बाटो बनिरहेको छ । त्यहाँको काम सकिसकेपछि त्यो समस्या पनि समाधान हुन्छ ।

नगरपालिकाहरुले पनि हामीले बनाएका योजनाअनुसार काम सुरु गरिसकेको छ । साधन स्रोत उपलब्ध गराइरहेको छ ।

उपत्यकाका कतिपय सडकमा एकतर्फी बाटो तोक्ने, कतिपय ठाउँमा लेफ्ट टर्न निषेध गर्ने, गाडी जथाभावी क्रस हुन नदिने तथा कतिपय ठाउँमा अन्डर पास खोलेर गाडीको फ्लो सहज बनाउने काम भइरहेको छ । कुन लेनबाट चलाउने, कताबाट ओभरटेक गर्नेजस्ता नियमलाई व्यवस्थित गर्न सम्बन्धित स्थानीय तहसँग समन्वय भइरहेको छ । नगरपालिकाहरुले पनि हामीले बनाएका योजनाअनुसार काम सुरु गरिसकेको छ । साधन स्रोत उपलब्ध गराइरहेको छ । लकडाउनको समयमा २८६ वटा लिंक रोडमा ‘स्टप, लुक र गो’ लेखेका बोर्ड राखेका छौँ, ताकि सानो सडकबाट ठूलो सडकमा जाँदा चालकले बोर्ड देखेर रोक्छ र दुर्घटना हुनबाट बच्न सकिन्छ । अहिले कोटेश्वर, बानेश्वर, बुद्धनगर, डिल्लीबजार, नक्साललगायतका स्थानमा त्यस्ता बोर्ड राखिसकेका छौं ।

जथाभावी पार्किङ पनि सडक जामको कारण बन्ने गरेको छ, यसलाई हटाउन कस्तो पहल गरिरहनुभएको छ ?
जथाभावी गरिने पार्किङ हटाउन अभियान नै चलाएका छौँ । चालकलाई निषेधित क्षेत्रमा पार्किङ नगर्न हामी अनुरोध गर्छौं । कसैले अटेर गरेमा स्टिकर टाँसिदिने र जरिवाना गर्ने गर्छौं । सचेत गराउँदा पनि नमानेको खण्डमा कानुनी दायरामा ल्याउँछौँ ।

सडकमा पार्किङ गर्नेलाई लिइने जरिवाना रकम कम भएर पनि जथाभावी पार्किङ बढेको त होइन ?
त्यो कारण पनि हो । अहिले हामीले हजार जरिवाना लिइरहेका छौँ । जरिवाना कम भएको विषयमा यातायात विभागसँग छलफल भइरहेको छ । यातायात व्यवस्थासम्बन्धी कानुनमा जरिवाना र कार्यविधिको विषयमा सुधार गर्नुपर्ने महसुस गरेका छौँ । त्यससम्बन्धी सुझाव सम्बन्धित निकायमा दिएका छौँ । चाँडै नै यातायातसम्बन्धी कानुन आउँछ र जरिवाना पनि बढ्नेछ भन्नेमा हामी विश्वस्त छौँ ।

उपत्यकामा कति सवारी साधन रहने, निजी कति, सार्वजनिक कति हुने, सडक र फुटपाथको अवस्थालगायतका विषयमा सरोकारवाला निकायको ध्यान किन गइरहेको छैन ?
यस विषमा सम्बन्धित निकायको ध्यान गइरहेको छैन भन्न मिल्दैन । उपत्यकामा कति सवारी साधन हुने भन्ने विषयमा सडक विभागले सर्भे गरिरहेको छ । सडकको क्षमताअनुसार सवारी साधन यति हुनुपर्छ भन्ने सम्बन्धमा ध्यान दिइरहेको छ । त्यसलाई कार्यान्वयनमा ल्याउन आवश्यक छ ।

प्रकाशित समय ११:४७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु