fbpx
corona information

गृहपृष्ठ हामी भारतसँग निर्भर छैनौँ, बरु भारतीय हामीमा निर्भर छन् : जयनारायण शाह

हामी भारतसँग निर्भर छैनौँ, बरु भारतीय हामीमा निर्भर छन् : जयनारायण शाह

झापा जिल्लाका १५ वटा स्थानीय तहमध्ये पाँचवटा भारतसँग जोडिएका छन् । त्यसमध्येको एउटा स्थानीय तह हो‑ झापा गाउँपालिका । झापा गाउँपालिकाको १५ किलोमिटर सिमाना भारतसँग जोडिएको छ । गाउँपालिकामा आर्थिक रुपमा विपन्न मानिस धेरै छन् । तर, भारत र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को प्रताडना सहनु नपर्ने भए उनीहरू खुसीसाथ जीवन बिताउन सक्थे । हाँसी‑हाँसी जीवन गुजार्न सक्थे । एसएसबी सीमा क्षेत्रका बासिन्दाको खुसीमा बेला‑बेला ‘नुनचुक’ बनिदिन्छ । झापाबासी यसैमा बढी चिन्तित छन्, यसैबाट बढी पीडित छन् । करिब आठ वर्षदेखि यो गाउँपालिकाको २० बिघा जमिन एसएसबीले अतिक्रमण गरेको छ । अहिले के छ त्यहाँको अवस्था ? जनप्रतिनिधिले जमिन फिर्ता लिन के‑कस्तो प्रयास गरिरहेका छन् ? के भारतसँगको निर्भरता नै सीमा अतिक्रमणको मुख्य कारण हो ? यिनै विषयमा गाउँपालिका अध्यक्ष जयनारायण शाहसँग डीआर आचार्यले टेलिफोनबाट गरेको कुराकानी :

झापा गाउँपालिकामा भारतले कति जमिन अतिक्रमण गरेको छ ?

भारतले अहिले होइन, आठ वर्षअघि नै टाँगनडुब्बाका ६ कृषकको करिब २० बिघा जमिन अतिक्रमण गरेको छ । त्यसयता कृषकले जोतखन गर्न पाएका छैनन् । झापा जिल्लाको ४ नम्बर निर्वाचन क्षेत्रमा पर्ने यो ठाउँ त्यसयता बाँझै छ ।

भारतले अतिक्रमण गरेको भूमि नेपालकै हो भन्ने आधार के‑के छन् ?

धेरै आधार छन् । त्यो नेपालीहरूको नम्बर जग्गा हो । उनीहरूसँग त्यसको लालपुर्जा छ । जिल्ला मालपोत कार्यालयमा त्यसको रेकर्ड छ । अहिले पनि उनीहरू तिरो तिरिरहेका छन् । नापी कार्यालयमा नक्सा छ । त्यो नेपालकै भूमि हो र भारतले अतिक्रमण गरेको हो भन्ने नेपाललाई मात्र होइन, भारत र एसएसबीलाई पनि राम्ररी थाहा छ ।

नेपाली भूमि अतिक्रमण भएको विषयमा कस-कसलाई जानकारी गराउनुभएको छ ?

यस विषयमा हामीले सबै सम्बन्धित निकायमा लिखित, मौखिक जानकारी गराएका छौँ । झापाका सुरक्षा प्रमुख, जिल्ला प्रशासन प्रमुख, सशस्त्र प्रहरी प्रमुख, सांसदलगायत सबैलाई जानकारी गराएका छौँ । उहाँहरूबाट अनुगमन गर्ने काम पनि भएको छ तर नेपाली भूमि फिर्ता लिन सकिएको छैन ।

त्यो क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा बलको बोर्डर आउट पोस्ट (बिओपी) छैन ?

छ । दसगजाभन्दा करिब चार किलोमिटरमाथि एउटा बिओपी छ । गाउँपालिकाको १५ किलोमिटर भूमि सिमाना जोडिएको छ । उनीहरूले गस्ती पनि गरिरहेका हुन्छन् । अहिले लकडाउनयता १५ वटा अस्थायी पोस्ट थपिएका छन् । तर, भारतीयको ज्यादति रोकिएको छैन ।

सीमा अतिक्रमणबाहेक अरु के‑के गरेर दुःख दिन्छन् भारतीयले ?

एक साताअघिको मात्र घटना भन्छु । मोटरसाइकलमा दुई जना भारतीय जबर्जस्ती नेपाल प्रवेश गर्न खोजे । सशस्त्र प्रहरीले उनीहरूलाई रोकेर सम्झाई बुझाई भारत फिर्ता पठाइदिए । करिब दुई घण्टा नबित्दै २०० जनाजति भारतीय घरेलु हतियारसहित आएर सशस्त्रमाथि जाइलागे । सशस्त्रले दुई राउन्ड हवाई फायर गरेपछि उनीहरू भागे । पछि नेपाल र भारतका सीमा क्षेत्रका निकायका प्रतिनिधि बसेर छलफल गर्‍यौँ । माफी मागे । ‘अब यस्ता काम हामीबाट हुँदैनन्’ भन्दै गए । तर, यिनीहरूको भर नै हुँदैन ।

भारतीय नागरिक र भारतीय एसएसबीबाट यस्ता गतिविधि भइरहन्छन् ?

भइरहन्छन् । अधिकांश नेपालीले भारतीय बजारबाट सामान ल्याउने गर्छन् । नेपाली बजारभन्दा भारतीय डिगलबेङ नजिक पर्ने भएकाले उनीहरूले पारिको बजार प्रयोग गर्छन् । त्यसबेलामा पनि भारतीयबाट नेपालीले सास्ती खेपिरहनुपर्छ । लकडाउनले एउटा निकै राम्रो के गरेको छ भने अहिले नेपालीहरू नेपाली बजार नै प्रयोग गरिरहेका छन् । स्थानीय स्तरमै पसलहरू खुलेका छन् । खाद्यान्न सामग्रीका लागि दैनिक भारतीय बजारको भर नपर्नुपर्ने स्थिति आएको छ । भारतबिना पनि बाँच्न सकिने रहेछ भन्ने आत्मबोध गराएको छ । हामी पनि लकडाउन खुल्नेबित्तिकै अस्थायी बजार स्थापनाका लागि पहल गर्ने तयारीमा छौँ ।

के नेपाल भारतमा निर्भर रहनुपरेका कारण भारतीयबाट यस्ता अशोभनीय गतिविधि भइरहेका हुन् ?

हेर्नुस् । भारतबिना हामी चल्न सक्दैनौँ भन्ने एउटा ठूलो मानसिक समस्याबाट नेपालीहरू गुज्रिरहेका छन् । तर, त्यस्तो हुँदैन । हामी सीमा क्षेत्रका बासिन्दा पनि भारतबिना सहजै बाँच्न सक्ने रहेछौँ भने केन्द्र किन बाँच्न सक्दैन । केही कुरा आयात‑निर्यात त एक‑अर्को देशबीच हुनु सामान्य कुरा हो । तर, सानो कुरा पनि उत्पादन नगर्ने र भारतकै भर पर्ने सोच हामीले त्याग्नुपर्छ र मात्र देशको विकास सुरु हुन्छ ।

भारतीयबाट हुने गलत कामका लागि हाम्रो परराष्ट्र नीति, भारतसँगको द्विपक्षीय वार्ता, नेपाल सरकार र नेपाली नेताका अडानलगायत चाहिँ कारक हुन् भन्ने लाग्छ ।

हाम्रो गाउँपालिका त कुनै कुरामा पनि भारतसँग निर्भर छैन । यहाँबाट केही नेपालीहरू मात्र रोजगारीका लागि भारतका ठूला सहर दिल्ली, मुम्बई गएका छन् । तर, दैनिक तीन‑चार सय भारतीय दैनिक रोजगारी र ज्याला मजदुरीका लागि नेपाल आउने गर्छन् । गाउँपालिका आफैँमा आत्मनिर्भरमात्र छैन, अन्य जिल्लामा पनि खाद्यान्न निर्यात गर्न सक्षम छ । त्यसकारण हामीले भारतको भर पर्नै पर्दैन । हामी भारतबिना बाँच्न सक्छौँ, बरु भारतीय हामीबिना बाँच्न नसक्लान् । भारतीयबाट हुने गलत कामका लागि हाम्रो परराष्ट्र नीति, भारतसँगको द्विपक्षीय वार्ता, नेपाल सरकार र नेपाली नेताका अडानलगायत चाहिँ कारक हुन् भन्ने लाग्छ ।

भारतले अतिक्रमण गरेर बाँझो रहेको जग्गाको उत्पादन क्षमता कति हो ?

त्यो जग्गामा ४८० क्विन्टल धान र १२ सय क्विन्टल मकै उत्पादन हुनसक्छ ।

झापा गाउँपालिकाको विकासका अन्य अवरोधक के‑के हुन् ?

अरु केही छन् । यो गाउँपालिकाका लागि झापाका दुई ठूला नदी कनकाई र बिरिङबाट निकै समस्या हुने गरेको छ । वर्षात्को समयमा त्राही त्राही हुन्छ । २०७४ सालमा राति आएको बाढीले स्थानीय १० जनाको ज्यान लियो भने गाउँपालिकाको करिब १ हजार बिघा जमिन बालुवामा परिणत गरिदियो । त्यसयताका दुई वर्षमा करिब ५ सय बिघामा खनजोत हुन थालेको छ । मौसमी बाली लगाउन थालिएको छ । तर, अरु ५ सय बिघा अझै जोखिममा छ । जनता तटबन्ध कार्यक्रमबाट बजेट मगाएर केही तटबन्ध गरेका छौँ तर पर्याप्त छैन ।

अब फरक प्रसंगमा जाऔँ, तपाईं जनप्रतिनिधि बनेर आएको तीन वर्षको अविधिमा के‑के गर्नुभयो ?

हामीले सडक र कृषिलाई विशेष प्राथमिकतामा राखेका छौँ । सीमा क्षेत्र भएकाले विपन्न बस्ती धेरै छन् । सबै टोलमा ग्राभेल पुर्‍याएका छौँ । यो अवधिमा करिब १०० किलोमिटर ग्राभेल गरेका छौँ भने २५ किलोमिटरभन्दा बढी कालोपत्रे गरेका छौँ । तर, बाढीको जोखिमका कारण भएका गरेका विकासका काम पनि भत्किने बिग्रिने जोखिम उच्च छ ।

मुख्य बाली कुन‑कुन हुन् ?

हाम्रो मुख्य बाली धान र मकै नै हुन् । मकै पकेट क्षेत्र नै तोकेर उत्पादन बढाएका छौँ । कृषि ज्ञान केन्द्रबाट राम्रो सहयोग छ । मैले अघि पनि भनेँ यसमा हामी आत्मनिर्भर मात्र छैनौँ, निर्यात गर्न पनि सक्षम छौँ ।

गाउँपालिकाबाट धान, मकैलगायतका अन्न भारततिर जाने सम्भावना कति हुन्छ ?

हाम्रोबाट जानेभन्दा पनि आउने धेरै हुन्छ । फलस्वरुप नेपाली कृषक अन्यायमा पर्छन् । भारतमा कृषिमा ठूलो अनुदान भएकाले नेपालमा भन्दा कम लागतमा उत्पादन हुने गर्छ । यसलाई निराकरण गर्न सीमा जोडिएको कनकाई नगरपालिकासँगको समन्वयमा संकलन तथा भण्डारण केन्द्र स्थापना गरिरहेका छौँ । ड्राइ सेन्टर निर्माण गर्ने छलफल भइरहेको छ ।

व्यावसायिक कृषिका लागि के गरिरहनुभएको छ ?

हामीकहाँ व्यावसायिक पशुपालन भइरहेको छ तर व्यावसायिक खेती निकै कम छ । त्यसलाई बढाउन अब विभिन्न योजना ल्याउँदै छौँ ।

शिक्षाको स्थिति कस्तो छ ?

अहिले हामीकहाँ दुईवटा उच्चमावि, चारवटा मावि, चारवटा निमावि र ११ वटा प्राथमिक विद्यालय छन् । निजी स्तरबाट पनि केही सञ्चालित छन् । करिब ९५ प्रतिशत बालबालिका विद्यालय जान्छन् । बाँकीलाई पनि विद्यालय पुर्‍याउन हामीले प्रयास गरिरहेका छौँ ।

अन्त्यमा, भारतसँग सीमा जोडिएका कारण कोरोनाभाइरस संक्रमणको जोखिम कति छ ?

भारतसँग सीमा जोडिएका कारण हामी कोरोना संक्रमणको उच्च जोखिममा छौँ । लुकेर, जबर्जस्ती गरेर नेपाल भित्रिन खोज्ने भारतीय धेरै हुन्छन् । केही दिनअघिको घटना त मैले भनिहालेँ । त्यसबाट उच्च सतर्कता अपनाएका छौँ । भारतबाट आएका तेह्रथुम, संखुवासभालगायत जिल्लाका बासिन्दालाई क्वारेन्टिनमा राखिरहेका छौँ । जुम्लाका केहीलाई निश्चित अवधि क्वारेन्टिनमा राखेपछि जिल्ला प्रशासन र सम्बन्धित स्थानीय तहसँग कुरा गरेर पठायौँ । जोखिम छ बच्न प्रयास पनि गरिरहेका छौँ ।

प्रकाशित समय १२:५२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु