fbpx
corona information

गृहपृष्ठ कोरोना फैलिन नदिन सतर्क छौं : सीताराम जोशी

कोरोना फैलिन नदिन सतर्क छौं : सीताराम जोशी

स्थानीय तहमा कोरोनाभाइरस नियन्त्रणका लागि सबै सरोकारवाला निकाय लागिपरेका छन् । विश्वभर फैलिएको कोभिड १९ बाट आफू बच्न र अरुलाई बचाउनका लागि सरकारले चैत ११ गते नै लकडाउन घोषणा गर्‍यो ।

लामो समयसम्म लकडाउन जारी भएपछि दैनिक ज्यालादारी गर्ने मजदुरलाई गुजारा गर्न सकस परेको बेलामा केही समाजसेवीको सहयोगमा खानाको व्यवस्था भयो । त्यसपछि लकडाउन खुकुलो बनाएर मजदुरलाई आफ्नो घरसम्म पुर्‍याउने व्यवस्था गर्‍यौँ ।

बाहिरबाट आएका नागरिकलाई अनिवार्य क्वारेन्टिनमा बसाउन संघीय सरकारको निर्देशनपछि सबै तहले लकडाउन तथा क्वारेन्टिनमा बस्न जोड दिए । केही समययता नेपालमा पनि कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम क्षेत्रलाई सिल गरिएका छन् ।

कोरोनाको औषधी विश्वभर नबनेका कारण यसको नियन्त्रणको निर्विकल्प रुपमा लकडाउन नै भएको भन्दै लकडाउनलाई कडा गरिएको सरोकारवाला बताउँछन् । त्यसै सन्दर्भमा कोरोना नियन्त्रणमा शिखर नगरपालिकाले के गरिरहेको छ भन्ने विषयमा हामीले नगर प्रमुख सीताराम जोशीसँग कुराकानी गरेका छौं :

बाहिरबाट आएकालाई अनिवार्य क्वारेन्टिनमा

डोटीको शिखर नगरपालिकामा बाहिरबाट आएकाहरुलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राख्ने व्यवस्था गरिहरेका छौं । नगरपालिका तथा प्रदेश सरकारको सम्पूर्ण खर्चमा क्वारेन्टिनमा बस्नेहरुलाई खाने बस्नेको व्यवस्था गरिरहेको छ । भारत तथा अन्य मुलुकबाट आएकाहरुलाई पहिलो पटक क्वारेन्टिनमा राखेका थियौं । उहाँहरुको कोरोना परीक्षणपछि रिपोर्ट नेगेटिभ आएपछि उहाँहरुलाई घर पठाइसकेका छौं ।

अहिले फेरि ६६ जनालाई क्वारेन्टिनमा राखेका छौं । भारत तथा अन्य मुलुकबाट आउन प्रतिबन्ध लगाएपछि सहरमा भाडामा बस्नेहरु आएका छन् । प्रायः काठमाडौं, धनगढीलगायतका ठाउँमा दैनिक श्रम गर्नेहरु र विद्यार्थीलाई खानबस्न असुविधा भएपछि सबै निकायको पहलमा सम्बन्धित ठाउँमा ल्याइएका थिए ।

नगरपालिकाभन्दा बाहिर जुनसुकै ठाउँबाट आएका भए पनि अनिवार्य क्वारेन्टिनमा राख्ने नियमअनुसार बाहिरबाट आएका विद्यार्थी तथा अन्यलाई अहिले क्वारेन्टिनमा राखेका छौं । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार उहाँहरुलाई दुई हप्ता यतै बसालेर नियमित रुपमा स्वास्थ्यकर्मीको निगरानीमा राख्ने र त्यसपछि रिपोर्ट नेगेटिभ आएपछि घरमा पठाउने व्यवस्था गरेका छौं ।

स्वास्थ्यकर्मीलाई ६० प्रतिशत थप सुविधा

कोरोनाको यो विषम परिस्थितिमा बढी जोखिम हुने भनेकै स्वास्थ्यकर्मी हुन् । यो बेला सबैलाई ज्यानकै माया हुन्छ । कोरोनाको युद्धमा होमिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन प्रोत्साहन स्वरुप थप सुविधा दिएका छौं । अहिले शिखर नगरपालिकाका सबै वडाहरुमा भएका स्वास्थ्य संस्थामा ७६ जना स्वास्थ्यकर्मी खटिइरहनुभएको छ । उहाँहरुको मनोबल बढाउनका लागि क्वारेन्टिनमा खटेका स्वास्थ्यकर्मीलाई तलबसहित तलबको ६० प्रतिशत थप सुविधा दिएका छौं ।

स्वास्थ्य चौकीहरुमा खटिएका स्वास्थ्यकर्मीलाई तलबसहित थप ४० प्रतिशत सेवा दिएका छौं । उहाँहरुले पनि रातदिन नभनेर कोरोनासम्बन्धी सचेतनादेखि रेखदेख गरिरहनुभएको छ । त्यस्तै प्रत्येक वडाहरुमा पनि वडाध्यक्षको नेतृत्वमा कोरोना नियन्त्रणसम्बन्धी सचेतना फैलाइएको छ । स्वास्थ्य संस्थामा पनि पर्याप्त स्वास्थ्य सामग्रीको जोहो गरेका छौं ।

अझै कम पुग्ने जस्तो भएमा पिपिइलगायतका अन्य स्वास्थ्य सामग्री ल्याउनका लागि पनि तयारी गरिरहेका छौं । चार ठाउँमा बनाइएका क्वारेन्टिनमा बसेकाहरुले पनि आवश्यक प्रबन्ध मिलाइएको छ । उहाँहरुले पनि सम्पूर्ण नियम पालना गरिरहनुभएको छ ।

टोलटोलमा राहत वितरण

शिखर नगरपालिकाले कोरोना त्रास फैलिएको बेलामा कसैलाई पनि भाइरस संक्रमण नहोस्, त्रास नफैलिओस् भन्नका लागि गाउँघरमै गएर राहत वितरण गरिरहेको छ । सबै वडाहरुमा वडाध्यक्षको नेतृत्वमा टोलटोलमा राहत सामग्री वितरण गरेका छौं ।

राहतको लागि प्रदेश सरकारबाट पनि सहयोग आएको छ । त्यसले नपुगेपछि नगरपालिकाकै स्रोतबाट भए पनि हामी नगरबासीलाई राहत वितरण गर्नेछौं । सुदूरपश्चिम सरकारबाट अहिले नगरबासीलाई राहत वितरण गर्नका लागि २७ लाख विनियोजन भएको छ । त्यस्तै क्वारेन्टिनमा बस्नेहरुको व्यवस्थाका लागि ४ लाख विनियोजन भएको छ । यो रकमले नपुगेपछि नगरपालिकाको स्रोतबाटै आवश्यक प्रबन्ध मिलाउने तयारी बनाइरहेका छौं ।

अहिले कृषकले बालीनाली भित्र्याउने बेला भएको हुँदा र खाद्य सामग्री वितरण गर्ने बेलामा पनि घुँइचो भएर कोरोनाको जोखिम भएको हुँदा टोलटोलमै वितरण गरिँदै आएको छ ।

असिनाले ६० प्रतिशत बाली नष्ट

कृषकले बाली भित्र्याउने बेलामा शिखर नगरपालिकामा महाविपद् आइलागेको छ । नगरपालिकाका कृषकको खाद्यबाली गहुँ भित्र्याउने बेलामा असिना पानीले करिब ६० प्रतिशन नोक्सान गरेको छ । बानेडुंग्रीसैन, गोपघाटलगायतका क्षेत्रलाई अन्नको भण्डार भनिएकै ठाउँमा असिना पानीले गर्दा व्यापक क्षति भएको छ ।

यसपटक त तीन महिनालाई पनि खान नपुग्ने अवस्था सिर्जना भएको छ । भोकमरी हुने अवस्था सिर्जना भएपछि नगरपालिकाले थप आवश्यक राहत सामग्री वितरण गर्नुपर्ने सोच बनाएका छौं । माथिल्लो भेगतिरका किसानको भने भर्खर गहुँ पाक्दै गरेको छ । अहिले कृषकहरुलाई बाली भित्र्याउने बेला भएको हुँदा लकडाउन गाउँघरतिर अलिकति खुकुलो पारेका छौं । त्यसको सट्टामा कृषकहरु घुलमिल नहुनका लागि सचेतना फैलाइरहेका छौं ।

(भूमिराज पिठातोलीले टेलिफोनमा गरेको कुराकानीमा आधारित)

प्रकाशित समय ११:०८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु