fbpx
corona information

गृहपृष्ठ खुला सीमा भएकाले भारतबाट संक्रमित व्यक्ति भित्रिने जोखिम उच्च छ : राजेन्द्रकुमार पोखरेल

खुला सीमा भएकाले भारतबाट संक्रमित व्यक्ति भित्रिने जोखिम उच्च छ : राजेन्द्रकुमार पोखरेल

कोरोनाभाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि यतिखेर स्थानीय सरकार अग्रमोर्चामा छन् । कतिपयले बेढंगका साथ काम गरिरहेका छन् भने कतिपयले ढंग पुर्‍याएरै जनतालाई सेवा दिइरहेका छन्, प्रदेश र केन्द्र सरकारको निर्णय कार्यान्वयन गरिरहेका छन् । सकारात्मक पक्ष, हामीकहाँ कोरोनाभाइरस संक्रमण विस्तार हुन पाएको छैन, यसमा तीनै तहका सरकारको पूर्वसावधानीलाई कारक मान्नुपर्छ । नकारात्मक पक्ष कुनै नै कुनै कारणबाट कोरोना संक्रमण विस्तार भयो भने तीनै तहका सरकार पंगु सावित हुनेछन् किनकि हामीसँग यो महामारीसँग लड्नसक्ने कुनै औजार छैन, जागरुकता छैन, साहस छैन र क्षमता पनि छैन । भारतमा उच्च दरमा संक्रमण फैलिरहँदा सीमा क्षेत्रका जिल्लाका स्थानीय तह के गरिरहेका छन् ? यी र यस्तै सन्दर्भमा झापाको कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलसँग डीआर आचार्यले गरेको टेलिफोन कुराकानी :

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि के‑कस्ता उपाय अवलम्बन गरिरहनुभएको छ ?

हामी केन्द्र सरकारले घोषणा गरेको लकडाउन कार्यान्वयनमा बढी केन्द्रित छौँ । त्यसका लागि सचेतनामूलक कार्यक्रम गर्‍यौँ । कोरोनाबाट बच्न साबुनपानीले निरन्तर हात धुनुपर्छ भनेर टोल‑टोल माइकिङ गर्‍यौँ । कोरोनाभाइरस संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्न सक्छ, भीडमा जानु हुँदैन, भीड बनाउनु पनि हुँदैन भनेर सजग गरायौँ । विदेशबाट आउनेहरूलाई अनिवार्य क्वारेन्टाइमा राखेका छौँ । हामीले ४२ शय्या क्षमता भएका तीनवटा क्वारेन्टाइन निर्माण गरेका छौँ । सात जना क्वारेन्टाइनमा बसेर पनि गइसके । सात जना बसिरहेका छन् । यसको सबै व्यवस्था नगरपालिकाले मिलाएको छ । अब पनि निरन्तर यसैमा केन्द्रित हुन्छौँ ।

लकडाउनमा बस्ने कुरालाई स्थानीयबासीले कसरी लिएका छन् ?

अहिले धेरैले सामान्य रुपमा लिइसकेका छन् । सुरु‑सुरुमा बुझाउन अलि बढी नै मेहनत गर्नुपर्‍यो । अलि शिक्षित वर्गहरुले छिट्टै बुझे, छिट्टै एड्जस्ट गरे । केही समुदायका केही मानिसले अझै पनि राम्ररी बुझेका छैन । लकडाउन सरकार, प्रहरी या अरु कसैका लागि हो जस्तो गरिरहेका छन् । मतलवै नगरी भेला भइदिन्छन् । उनीहरूलाई अहिले पनि बुझाउने प्रयास गरिरहेका छौँ ।

भारतमा कोरोनाभाइरस संक्रमण वृद्धिदरले गति लिइरहँदा सीमा क्षेत्रका जिल्लाका बासिन्दाले कसरी लिएका छन् ?

त्रास एकदमै छ । सामान्य ज्वरो आउँदा, टाउको दुख्दा, खोकी लाग्दा, ज्वरो आउँदा पनि कोरोना नै पो लाग्यो भनेर तनाव लिने गरेको पाइन्छ । आत्तिएको पाइन्छ । झापासँगै जोडिएको नक्सलबाडीमा ६ जनामा संक्रमण देखिएपछि स्थानीयबासीमा सन्त्रास थपिएको छ । हामीले बुझाउने कोशिस गरिरहेका छौँ । केन्द्र या प्रदेश सरकारले र्‍यापिड टेस्टका लागि कुनै सामग्री दिए निकै आभारी हुनेथियौँ ।

भारतबाट संक्रमण या संक्रमित व्यक्ति भित्रिन नदिन के गरिरहनुभएको छ ?

यसमा निकै चुनौती छ । अहिले केन्द्र सरकारले नै सीमा लक गरेको छ । सीमा सुरक्षा सशस्त्र बलमा सुरक्षाकर्मी थपिएका छन् । अस्थायी बोर्डर आउट पोस्ट ठूलो संख्यामा थपिएको छ । तथापि, खुला सीमा भएको हिसाबले भारतबाट संक्रमित व्यक्ति आउँदै आउँदैनन् भन्न सकिन्न । करिब २ लाख भारतीय कामका झापामा रहने गरेको अनुमान छ । अहिले नेपालमा संक्रमित अन्यन्तै न्यून देखिएकाले ‘नेपाल जाँदा बचिन्छ’ भन्ने मानसिकता पालेर अनेक तरहले छिर्न सक्छन् । जोखिम धेरै छ । यी सबै अफ्ठ्याराका बाबजुद खुसीको कुरा के छ भने अहिले बाहिरबाट कोही पनि नयाँ मान्छे प्रवेश गरेमा हरेक टोलबासीले नगरपालिकामा सीधा खबर गर्ने गरेका छन् । हामी पनि तत्काल त्यहाँ पुग्ने र त्यस्तो व्यक्तिलाई क्वारेन्टाइनमा राखिहाल्छौँ । नागरिक र स्थानीय सरकारबीचको यो कोअर्डिनेसनले काम गर्छ भन्ने लाग्छ ।

नगरमा कोही मानिसमा संक्रमणको लक्षण देखिए नगरपालिकाले के गर्छ ?

हामीले त्यसका लागि नगरपालिकाका सबै संयन्त्र तयार राखेका छौँ । नगरका कर्मचारीदेखि सबै जनप्रतिनिधिसम्मको टेलिफोन पहुँचमा स्थानीयबासी छन् । समस्या देखिए तत्काल खबर गर्नुस् भनेका छौँ । तत्काल काउन्सेलिङ गर्छौं । परिवारसँगको डिस्टेन्स बढाउन आग्रह गर्छौं । सेल्फ आइसोलेसनमा बस्न भन्छौँ । समस्या थपिँदै गयो भने नगरपालिकाकै गाडीमा राखेर भद्रपुर अस्पताल पुर्‍याउँछौँ । यसबाहेक नियमित औषधी खानुपर्नेहरूका लागि विशेष व्यवस्था गरेका छौँ । उनीहरूले जानकारी गराउनुमात्र पर्छ, हामी जनप्रतिनिधि औषधी लिएर घरमै पुग्छौँ ।

नगरका विपन्न नागरिक र ज्याला‑मजदुरी गरेर दैनिकी चलाइरहेकाहरुलाई राहत वितरण गर्नुभयो ?

त्यस्ता नागरिकलाई सक्दो सहयोग गरिरहेका छौँ । सहयोग गर्नुपर्नेको पहिलो सूचीमा रहेका २५ सयभन्दा बढी घरधुरीलाई राहत बाँडिसकेका छौँ । तत्काल राहत दिनुपर्नेलाई दिइसकेपछि अर्को तह छ, जो लामो समय नगरको सहयोगबिना दैनिकी चलाउन सक्दैनन्, अब तिनलाई पनि दिन्छौँ । कतिपय चामल भएका तर दाल, तेल, नुनको अभाव भएको बताइरहेका छन् । तिनलाई पनि हेर्ने तयारीमा छौँ । मूल कुरा पसल बजारमा सामान छ, खाद्यान्न पर्याप्त छ, मागका आधारमा त्यसको आपूर्ति व्यवस्था जसरी पनि मिलाउँछौँ । म सबै नगरबासीलाई विश्वस्त हुन आग्रह गर्छु‑ कनकाई नगरपालिकामा त्यस किसिमको अव्यवस्था आउन पाउँदैन ।

कतिपय ठाउँमा तरकारी, दूध, फलफूल सडकमा फालिरहेको देखिन्छ ।  तरकारी, फलफूल तथा दुग्ध पदार्थको उत्पादन र आपूर्ति व्यवस्थाको तालमेल कसरी मिलाउनुभएको छ ?

हामी नकारात्मक सोच्न धेरै अगाडि छौँ । के गर्दा चर्चामा आइन्छ त्यही गर्न उद्यत हुन्छौँ । तरकारी, फलफूल या दुग्ध पदार्थ किन फाल्ने ? बरु स्थानीय तहसँग समन्वय गरेर बाँडे हुँदैन ? कति मानिसले अहिले दूध, दही खान पाइरहेका छैनन् । जनघनत्व बढी भएको ठाउँमा हरियो तरकारीको अभाव छ । बाँड्न सकिन्छ नि ! कनकाई नगरपालिकामा सकारात्मक सोच राख्ने नागरिक धेरै हुनुहुन्छ । यहाँ कुखुरा उत्पादकले क्रेटका क्रेट अण्डा बाँड्नुभएको छ, कृषक‑व्यापारीले टमाटर बाँड्नुभएको छ, आलु र अरु तरकारी वितरण गर्नुभएको छ । कनकाई नगरमा उत्पादित कुनै पनि कृषिउपज कृषकले फाल्नु पर्दैन । साना‑साना पसलमा पनि डोरी टाँगेर व्यवस्थित गरिकाले बेच्न दिइएको छ ।

अहिलेको प्रतिकूल अवस्थामा कृषकका लागि मल तथा बीउको आपूर्ति व्यवस्था कसरी मिलाउनुभएको छ ?

कृषकलाई मल तथा बीउको प्रबन्ध सकेसम्म गरिरहेका छौँ । रासायनिक मलको प्रबन्ध गरेर सहकारीमार्फत वितरण भइरहेको छ । रासायनिक मल आपूर्तिभन्दा माग बढी हुने भएकाले पहिलेदेखि नै देशव्यापी रुपमा अभाव हुने गरेको छ । कनकाई नगरपालिकामा मात्रै करिब ३ हजार ५ सय बोरा माग हुन्छ । तर, १५‑१६ सय बोराभन्दा आपूर्ति हुँदैन । आठ‑नौ सय बोरा अहिले आइसकेको छ । चार‑पाँच सय बोरा आउँदैछ । पुगेसम्म मिलाएर बाँड्ने प्रबन्ध गरेका छौँ । रासायनिक मलको समस्या दीर्घकालीन रुपमा समाधान गर्न रणनीति बनाएर जानुपर्छ, जैविक मलको प्रयोग बढाउनुपर्छ । अहिले हामीले धेरैतिर हेर्नुपर्नेछ । डाक्टर आफैँ बन्नुपर्छ, आपूर्तिकर्ता बन्नुपर्छ, उत्पादक बन्नुपर्छ, सकेसम्म गरिरहेका छौँ । काम धेरै भइरहे जस्तो लाग्छ, धेरै गरेका छौँ भन्ने लाग्छ । तथापि नगरबासीको प्रतिक्रिया जस्तो आउँछ, त्यसलाई सहर्ष स्वीकार्छौं ।

लामो समय बजार तथा पसल बन्द हुँदा तरकारी उत्पादन शृंखला टुट्न सक्ने खतरा कति देख्नुहुन्छ ?

त्यस्तो हुनसक्नेतर्फ हामी सजग छौँ । विपत जतिबेला पनि आउनसक्छ भनेर प्रदेशको ७५ प्रतिशत र नगरपालिकाको २५ प्रतिशत गरी ६० लाख लगानीमा कोल्ड स्टोर बनाउँदै छौँ । अहिले त काम रोकिएको छ तर कोल्ड स्टोर बनाएकै उत्पादित कृषि उपजको बजार व्यवस्था मिलाउनका लागि हो । कोल्ड स्टोरका कारण सामान्य अवस्थामा मात्र नभएर यस्ता विपत बेला पनि उत्पादन र आपूर्ति प्रभावित हुँदैन । सामान्य अवस्थामा पनि बेलाबेला धान, बेलाबेला अन्य तरकारीमा यस्तो समस्या झेलिँदै आएको छ । कृषि उपज संकलन, भण्डारणमात्र नभएर प्रशोधनमा पनि नगरपालिका जुट्छ । अहिले संकलन र भण्डारणलाई प्राथमिकतामा राखेका हौँ । पहिलो चरणमा तीनवटा र पछि सबै वडामा कोल्ड स्टोर बनाउँछौँ । हाम्रो लक्ष्य सनड्रायर ल्याएर बाइप्रोडक्ट बनाउने, जंक फुडमाथि विस्तारै नियन्त्रण गर्ने र फुड ह्याबिट नै चेन्ज गर्नेसम्मको छ । कतिसम्म सफल हुन सकिन्छ, हेरौं ।

यो पनि पढौँ

विकासविरोधीले वितण्डा मच्चाए : नगर प्रमुख पोखरेल

प्रकाशित समय १०:५३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु