fbpx
corona information

गृहपृष्ठ वास्तविक अर्थतन्त्रको विकासमै हाम्रो ध्यान केन्द्रित छ : सुनिल केसी

वास्तविक अर्थतन्त्रको विकासमै हाम्रो ध्यान केन्द्रित छ : सुनिल केसी

एनएमबी बैंक डच सरकारको स्वामित्वमा रहेको एफएमओसँगको संयुक्त लगानीमा सञ्चालित बैंक हो । विश्वका ८५ देशमा ऋण या लगानी गरेको अनुभव रहेको एफएमओको एनएमबी बोर्डमा पनि प्रतिनिधित्व छ । १४औं वर्षमा यात्रा गर्दैगर्दा बैंक संस्थागत सुशासनसहित धेरै सूचकमा नेपालका पुराना बैंकभन्दा अगाडि छ । र, एनएमबी बैंकको व्यवस्थापन टिमको नेतृत्व गरिरहेका छन् सुनिल केसीले । त्मनिर्भर नेपाल’, ‘ग्रिन फाइनान्सिङ’लगायत अभियान ल्याएर बैंकला नेपालकै उत्कृष्ठ बैंक बनाउने योजनामा जुटेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) केसीसँग बैंकको अवस्था, भावी योजना, र्थिक विकासमा बैंकको भूमिकालगायत विषयमा गजेन्द्र बुढाथोकी र डीचार्यले गरेको कुराकानी :


बढ्दो प्रतिस्पर्धात्मक अवस्थामा एनएमबी बैंकले आफूलाई कहाँ उभ्याएको छ ?

प्रतिस्पर्धा छ भन्नेमा कुनै दुबिधा छैन । वाणिज्य बैंक २७ वटा छन् र अरू वित्तीय संस्था पनि छन् । वित्तीय बजारका अवस्था हेर्दा अलिकति ‘ओभर क्राउडेड’ छ । त्यसबीचमा सबै संस्था आ‑आफ्नो रणनीति बनाएर अघि बढिरहेका छन् । यद्यपि, त्यति धेरै फरक पनि देखिँदैनन् । हामी चाहिँ अलिकति फरक किसिमले जान खोजिरहेका छौं । हामीले चाहिँ ‘सस्टेनेबल फाइनान्स’ अथवा ‘रियल इकोनोमी’मा केन्द्रित भएर रणनीति तय गरिरहेका छौं । हामी नाफा र ब्यालेन्स सिटमा मात्र भन्दा पनि फरक हिसाबले गइरहेका छौं । नाफा एउटा कुरा भयो, हामी चाहिँ ट्रिपल बटम लाइन कन्सेप्टमै काम गरिरहेका छौं । त्यसले गर्दा हामीलाई प्रतिस्पर्धाभन्दा अलि फरक ठाउँमा उभ्याउन सकेको हाम्रो बुझाइ छ ।

हामी मार्जिन या नाफाभन्दा पनि त्यससँगै हामीले गरेको व्यवसायले कसरी रियल इकोनोमीमा योगदान दिन सक्छ भनेर सोच्छौं । तीन वर्षयता हामीले यसलाई अझै फरक किसिमले लगिरहेका छौं । हामीले ऊर्जा क्षेत्र, त्यसमा पनि नवीकरणीय ऊर्जा, पर्यटन, कृषि, शिक्षा, पूर्वाधारलगायत साना तथा मझौला कर्जालाई प्राथमिकतामा राखेका छौं । पर्यटनमा अपार सम्भावना देखेका छौं । शिक्षाका लागि धेरै पैसा बाहिरिएकाले त्यसमा लागेका हौं । शिक्षा क्षेत्रमा केही गर्न सकियो भने पूरै नभए पनि ठूलो मात्रामा पैसा बाहिरनबाट रोकिन्छ भन्ने हाम्रो विश्वास छ ।

यो क्षेत्रको लगानीले अन्ततः रियल इकोनोमीमै योगदान पुग्छ । यो क्षेत्र सहज रूपमा चलायमान हुनासाथ व्यावसायिक सम्भावना झनै फैलिँदै जान्छन् । कुल गार्हस्थ्य उत्पादन (जिडिपी) लाई ८‑१० प्रतिशतका हिसाबले बढाउँदै लैजाने र नेपाललाई मध्यम आयस्तर भएको मुलुकमा लैजाने हो भने दीर्घकालीन सोच राखेरै अघि बढ्नुपर्छ । जस्तैः जलविद्युतमा हुने लगानी एउटा परियोजना बन्नुमा मात्रै सीमित हुँदैन, त्यसले धेरै उद्योगलाई सहज हुन्छ, रोजगारी सिर्जना हुन्छ, व्यापार घाटा न्यूनीकरण हुन्छ, उद्योगहरूको प्रतिस्पर्धी क्षमता बढ्छ । सिमेन्ट उत्पादन गर्दा विद्युत ठूलो मात्रामा प्रयोग हुने गर्छ । विगतमा डिजेलबाट उत्पादन भइरहेकोमा विद्युतबाट हुन थालेपछि उत्पादन लागत धेरै नै घट्छ । जसका कारण मूल्य घट्छ, सिमेन्टको माग बढ्छ, पूर्वाधार निर्माणमा पनि लागत कम पर्छ । वैदेशिक लगानी भित्रिन्छ । रासायनिक मलको हकमा पनि यही उत्पादन तथा मूल्य शृंखला लागू हुन्छ । हामी यही खालको सोचसहित काम गरिरहेका छौं । हामीले आज गर्ने व्यवसायले पाँच वर्षपछि मलाई नै व्यवसायका लागि ठाउँ बन्नुपर्छ भन्ने अवधारणासहित काम हामी अघि बढेका छौं । त्यही भएर नै हामी ११ वर्षअघि खुलेको बैंक ३०–३५ वर्षअघि खुलेका बैंकसँग प्रतिस्पर्धा गर्न सकिरहेका छौं ।

बैंकिङ बिजनेस छोटो अवधिका लागि हेरिने बिजनेस होइन, बैंकले अनेकौं आरोह-अवरोह पार गरेका हुन्छन् । त्यसबाट सिकेर उनीहरूले नीतिगत तहमा धेरै सुधार गरिसकेका हुन्छन् । हामी उनीहरूसँग प्रतिस्पर्धामा छौं । अहिले कसको ब्यालेन्स सिटको आकार कत्रो छ भन्दा पनि ५०-१०० वर्षसम्म बैंकहरू कसरी सञ्चालन भइरहन्छन् भन्ने कुराले अर्थ राख्छ ।

दोस्रो, एनएमबी बैंक नेपालका थोरै ज्वाइन्ट भेन्चर्स बैंकहरूमध्येमा पर्छ । डच (नेदरल्यान्ड्स) सरकारको स्वामित्वमा रहेको एफएमओ हाम्रो १५ प्रतिशतको सेयर पार्टनर हो । त्यो बैंकसँग विश्वका ८५ देशमा ऋण या लगानी गरेको अनुभव छ । हाम्रो बोर्डमा उनीहरूको पनि प्रतिनिधित्व छ । त्यसले गर्दा हामी संस्थागत सुशासनलगायतमा पनि अरुभन्दा अलि फरक छौं ।

एउटा त के भएजति सबै बैंकले पनि आफैं केही गर्न सक्ने भन्ने हुँदैन । बैंकले लगानीका लागि फन्ड जुटाउने मात्र हो । बैंकले मूल्य शृंखलामा काम गर्नुपर्ने हुन्छ, त्यो भयो भने साना कर्पोरेट हाउसदेखि ठूला-ठूला उद्योगलाई पनि धेरै सजिलो हुन्छ ।

विगतको विस्तार र अहिले चालिएको बिग मर्जरलगायतका कदमले नेपालको बैंकिङ क्षेत्र अब संकुचनको स्थितिमा पुग्यो भनिन्छ, यसलाई कसरी लिनुभएको छ ?

मलाई त त्यस्तो लाग्दैन । नेपाल भर्खर विकासको चरणमा प्रवेश गर्दै छ । आजभन्दा १५ वर्ष अघिदेखिको तथ्यांक हेर्ने हो भने कुल गार्हस्थ्य उत्पादन औसत ४ प्रतिशत हाराहारीमा बढ्यो होला । अन्तिम तीन वर्षको अलि बढी छ । तर, राजनीतिक स्थिरता र सँगसँगै अरु कारणले नेपाल आर्थिक विकासको चरणमा प्रवेश गर्दैगर्दा अवसर झनै आउँछन् जस्तो लाग्छ । दक्षिण एसिया र हाम्रो स्तरका अरू देशसँग तुलना गर्ने हो भने नेपालको बैंकिङ क्षेत्र निकै राम्रो अवस्थामा छ । नेपालको बैंकिङ क्षेत्रको आधुनिक इतिहास ३५–३६ वर्षमात्र लामो छ । यो खासै धेरै होइन तर यति हुँदाहुँदै पनि नेपालको बैंकिङ क्षेत्र स्थापित भइसकेको छ । आज हामी जिडिपीको करिब ९९ प्रतिशत अर्थात् ३० खर्ब रूपैयाँबराबरको निक्षेप व्यवस्थापन गरिरहेका छौं । यद्यपि, बैंकिङ क्षेत्रको वृद्धिदर २० प्रतिशत हाराहारी छ । नेपालको जिडिपी ८ देखि १० प्रतिशतको वृद्धिदरमा गए पनि विश्वव्यापी तथ्यांकलाई हेर्दा बैंकिङ क्षेत्र जिडिपीको तीनदेखि चार गुणासम्म वृद्धि हुनसक्छ । नेपालले पूर्वाधारमा धेरै ठूलो लगानी गर्न बाँकी नै छ । सरकारी योजनाअनुसार नै केही वर्षभित्र १५ हजार मेगावाट विद्युत उत्पादन गर्नुपर्नेछ, जसलाई मात्र पनि नेपालको बैंकिङ क्षेत्रले धान्दैन । त्यसको अर्थ हामीले ट्यागमा लेखेजस्तो ‘हामी देख्छौं अपार सम्भावना’कै स्थिति छ । मेरो विचारमा संख्या घटाउन जरुरी छ तर संकुचनमा पुग्यो भन्ने लाग्दैन ।

 

दस वर्ष लामो द्वन्द्व र त्यसपछिको संक्रमणकालमा पनि बैंक क्षेत्र डगमगाएन, यसरी हेर्दा यो वृद्धि अवास्तविक जस्तो लाग्दैन ?

नेपालको बैंकिङ क्षेत्र अत्यन्तै पारदर्शी छ । त्यसकारण अवास्तविक हो कि भन्ने कुरा आउँदैन । राष्ट्र बैंकको अनुगमन र नियमन अत्यन्तै चुस्त छ । अवास्तविक भएको भए अहिलेसम्म कुनै ठूलो दुर्घटना भइसक्नुपर्ने थियो । र, म त्यस्तो स्थिति देख्दिन पनि ।

 

बैंकहरूले लामो समय तरलता अभावको समस्या खेप्नुपर्‍य, अहिले फेरि कर्जा माग भइरहेको छैन भनिन्छ, कारण के हुनसक्छ ?

ऋण प्रवाह नभइराखेको स्थिति पनि होइन । गत वर्षको तुलनामा केही कम भएकोचाहिँ पक्कै हो । ६ महिनाको तथ्यांक हेर्ने हो भने निक्षेपको वृद्धिदरभन्दा ऋण प्रवाहको वृद्धिदर नै बढी छ । कर्जा प्रवाह कम हुनुका केही कारण छन् । गत वर्षको तुलनामा पाँच महिनाकै तथ्यांक हेर्दा ४०–५० अर्बले आयात घटेको छ । नेपाली बैंकिङ क्षेत्रको मुख्य लगानीको क्षेत्र आयात पनि हो । आयात नै घटेपछि कर्जाको माग पनि कम हुने भइहाल्यो । अर्को कारण, अनुत्पादक क्षेत्र भन्दै सरकारले अटो लोनमा कडाइ गरेको छ । दसैंतिहारको समयमा बढी माग हुने अटो लोनको हिस्सा यसपटक साँघुरियो । विशेष गरी लग्जरियस कारका लागि कर्जाको माग निकै कम भयो । गत वर्ष सिमेन्ट, होटललगायतमा ठूलो कर्जा माग भयो । अर्को कुरा, लामो समयसम्म तरलता अभाव भइरहँदा, तरलता व्यवस्थापन हुने कुरामा अनिश्चितता भइरहँदा उद्योगीहरूले दीर्घकालीन योजनाअनुसार गर्ने कामहरू केही समयका लागि स्थगन गरेको पनि बुझिएको छ । सिमेन्टलगायतका उद्योग क्षेत्रमा बढी प्रतिस्पर्धा देखिएपछि बैंकहरू पनि त्यो क्षेत्रमा जान नचाहेको हुनसक्छ । साथै संघीयता कार्यान्वयनमा आइसकेपछि, तीन तहका सरकार बनेपछि सरकारहरूको खर्च गर्ने क्षमता पनि बढ्छ भन्ने जुन अपेक्षा थियो, त्यो हुन सकेन । सरकारले कर्जा प्रवाहलाई थप पारदर्शी बनाउनका लागि लिएका नीतिहरू पनि कर्जा माग कम हुनुका कारक हुनसक्छन् । सरकारले राम्रा कामहरू गरिरहँदा सुरु सुरूमा अन्योल हुनसक्छ ।

यस्तो खालको स्ट्रेस (तनाव)को अवस्था कायम रहिरहे नयाँ चरणको वित्तीय संकट निम्तिन सक्छ भनेर विज्ञहरूले बताइरहेका छन् नि ? यसलाई कसरी लिनुहुन्छ ?

अहिले त्यस्तो स्थिति आइहाल्छ भन्ने लाग्दैन । तरलता अभावका कारण बरु बैंकहरू बढी दबाबमा हुन्छन्, थिए । त्यो अवस्थाबाट बैंकहरू अहिले माथि उठिसकेका छन् । संकटको स्थिति निम्तिहाल्ला भन्ने लाग्दैन । तर, कहिलेकाहीँ बढी प्रतिस्पर्धा भइरहँदा अनुत्पादक तथा चाहिनेभन्दा नचाहिने क्षेत्र अर्थात् सट्टेबाजतिर पैसा गयो भने समस्या ननिम्तिएला भन्न सकिन्न ।

 

अहिले अनौपचारिक अर्थतन्त्र फस्टाएको हो कि भन्ने आशंका गर्न थालिएको छ, के भन्नुहुन्छ ?

त्यसका विभिन्न कारण हुनसक्लान् । त्यो हुनु राम्रो होइन र त्यसलाई कसरी रोक्ने या कम गर्ने भन्नेतर्फ सबै लाग्नुपर्छ ।

 

ठूला आकारका बैंकहरू बनाउने नाममा वास्तविक बैंकिङ पहुँच संकुचित भएको भन्ने आरोप लाग्ने गरेको छ, तपाईंको धारणा के छ ?

मर्जर हुनुपर्छ । संख्या घट्नुपर्छ तर त्यो रणनीतिक हुनुपर्छ । मर्जर केका लागि गर्ने भन्ने हुन्छ । दुईवटा कम्पनी जोडेर ठूलो बनाइहाल्ने भन्नेले मात्र हुँदैन । मुख्य कुरा थुप्रै कम्पनीका शाखाहरू एकै ठाउँमा हुनु, बढी प्रतिस्पर्धा हुनु राम्रो पक्कै होइन । एउटै घरमा तीनवटा बैंक पनि छन् होला कतै । त्यसले लागत बढाइरहेको छ । सम्पत्ति शुद्धीकरणका कुरा छन् । डिजिटलाइजेसनका कुरा छन्, साइबर सुरक्षा र आक्रमणका कुरा छन्, त्यसमा पनि लगानी गर्नुपर्ने हुन्छ । त्यसकारण कम भएर ठूला हुँदा राम्रो हो । तर, त्यो चाहिँ काठमाडौंमा मात्र हुने र उस्तै–उस्तै खालका बैंकमात्र मिल्न थाले भने सहरी क्षेत्रभन्दा बाहिर लगानी नहुने या त साना तथा मझौला उद्यमीसम्म बैंक नपुग्ने अथवा उनीहरू बैंकभित्र छिर्नै नसक्ने अवस्था आयो भने राम्रो हुँदैन । त्यसका लागि सबैजनाले जिम्मेवार भएर सोच्न जरुरी छ । मर्जरको कारण प्रस्ट हुनुपर्छ ।

 

बैंकिङ पहुँचभन्दा बाहिर रहेका मानिसलाई बैंकिङ पहुँचमा ल्याउन प्रयास नै भएन भनिन्छ, त्यो क्षेत्रमा जानका लागि तपाईंहरू के गरिरहनुभएको छ ?

मुख्यतः त्यो लेभलमा जान नेटवर्क चाहियो, हामीसँग सबल नेटवर्क छ । हामीसँग अहिले १६३ वटा शाखा छन् । ग्रामीण क्षेत्रलाई बढी लक्षित गरेर शाखा थपिरहेका छौं । त्यहाँ फिजिकल्ली पुगिसकेपछि त्यो क्षेत्रको वस्तस्थिति बुझेर हामी काम गर्छौं । अहिले मोबाइलको पहुँच राम्रो भएकाले फिजिकल्ली पुग्न नसकिने ठाउँमा डिजिटाइजेसनमार्फत पुग्छौं । अर्को हाम्रो आफ्नै सब्सिडिज कम्पनी लघुवित्त पनि छ । त्यसका करिब सयवटा शाखा छन् । ती शाखालाई कसरी अधिकतम उपयोग गरेर जान सकिन्छ भनेर सोच बनाइरहेका छौं । यी उहाँहरूसँग पुग्ने माध्यम भए ।

अर्को कुरा उहाँहरूलाई के चाहिएको छ, त्यो बुझ्नुपर्‍यो । त्यो भनेको प्रडक्ट र सर्भिस हो । हामीले पत्रकार सम्मेलन नै गरेर योजना सार्वजनिक गरेका थियौं । हामीले एक अर्ब रूपैयाँजति पैसा विदेशबाट फर्किने कामदारलाई दिन्छौं भनेका छौं । यो सँगै विदेशबाट फर्किने कामदारलाई लक्षित गरी सरकारले पनि नीति ल्याएको छ । त्यसअन्तर्गत रहेर हामीले बाहिरबाट सीप सिकेर आएका युवालाई सहजै ऋण प्रवाह गरिरहेका छौं । सहुलियतपूर्ण कर्जाका विषयमा पनि हामी आक्रामक ढंगले लागिरहेका छौं । यससँगै वित्तीय साक्षरताका क्षेत्रमा पनि धेरै काम गर्नुपर्नेछ ।

साना तथा मझौला उद्योगतर्फ एनएमबीको कर्जा प्रवाह हिस्सा कति छ ?

साना तथा मझौला उद्योगतर्फ हाम्रो कर्जा प्रवाह हिस्सा ३० प्रतिशतभन्दा माथि नै छ ।

 

यहाँहरूले अगाडि बढाइरहनु भएको ‘ग्रिन फाइनान्सिङ’ अभियानबारे केही बताइदिनुहोस् न !

हामीले ग्रिन फाइनान्सिङमा काम गरिरहेको भनेको मुख्यतः ऊर्जा क्षेत्र नै हो । जलविद्युत, अरु नवीकरणीय ऊर्जा, सोलार, लघुवित्त, वैकल्पिक ऊर्जालगायतमा हामी सक्रिय रूपमा लागेका छौं । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसँगको समन्वयमा धेरै काम भइरहेको छ । आजको मितिमा ४० वटा भन्दा बढी जलविद्युत आयोजनामा हाम्रो लगानी छ, २२–२५ वटा लघुवित्तमा लगानी गरेका छौं । सोलारमा त हामी नै लिड गरिरहेका छौं । हामीले गर्न खोजेको के हो भने विश्वव्यापी रूपमै जलवायु परिवर्तन ठूलो मुद्दा बनिरहेका बेला हाम्रो अभियानले न्यूनीकरणमा केही भूमिका खेल्न सक्छ । तराई क्षेत्रमा सोलार पम्पहरूले अहिलेका डिजेल पम्पहरूलाई प्रतिस्थापन गर्न सके धेरै फाइदा हुन्छ । यसबाहेक अरू इनर्जी इफिसियन्सीको परियोजना पनि होलान् । जलवायु परिवर्तनका मुद्दालाई गम्भीर रूपमा लिनुको विकल्प छैन । अहिले नै केही समस्या देखिइसकेका छन्, अझ यो बढ्न सक्छ । यसमा संयुक्त रूपमा काम गर्नुपर्छ भन्ने लाग्छ । यो विश्वव्यापी एजेन्डा हो, जुन नेपालका लागि झन् बढी जरुरी छ । हामी यसमा अरुभन्दा अगाडि बढेर काम गरिरहेका छौं ।

 

शैक्षिक क्षेत्रको विकासका लागि एनएमबी बैंकको योजना के छ ?

हामी शिक्षामा पनि धेरै गरिरहेका छौं । धेरै स्किमहरू आइरहँदा पनि मानिस किन बिदेसिइरहेका छन् ? भनेर हामीले विश्लेषण गरेका थियौं । अहिले जुन स्तरमा मानिस पढ्नका लागि बाहिर गइरहेका छौं र जुन दरमा डलर बाहिर गइरहेको छ, त्यसलाई रोक्ने हो भने यहाँ पूर्वाधार हुनुपर्छ । अहिले हामीले गरेको त छोटो अवधिका लागि हो । तर, यहाँ ठूला कलेज आउँछन् र त्यसलाई हामीले सहयोग गर्ने हो भने विदेशी विद्यार्थीका लागि नेपाल आकर्षणको केन्द्र बन्न सक्छ । अहिले भएभन्दा ठिक उल्टो स्थिति आउन सक्छ । त्यसमा काम गर्नुपर्छ भन्ने हाम्रो अवधारणा हो ।

एनएमबी बैंक बिग मर्जरमा जाने विषयमा के भइरहेको छ ?

हामी अहिले भौगोलिक हिसाबले उपयुक्त र स्थानीय क्षेत्रमा राम्रो प्रभाव जमाएका कम्पनीलाई मर्ज गरिरहेका छौं । हालसालै गण्डकी प्रदेशमा रहेको राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंकलाई लियौं । नेपालमा पर्यटनको अवसर सबैभन्दा बढी गण्डकी प्रदेशमा छ भन्ने लाग्छ । त्यो प्रदेश विविधतायुक्त छ । कृषि र जलविद्युतमा पनि त्यहाँ धेरै सम्भावना छ । हामी त्यसरी सेलेक्टिभ भएर अघि बढिरहेका छौं । त्यो जारी रहन्छ । बिग मर्जरका विषयमा हाम्रो सोचाइसँग मिल्ने कम्पनी भए भने जान सकिन्छ भन्ने हो । त्यसमा हामी खुला छौं । तर, हामीले खोजेको रणनीतिक लक्ष्यबाट विमुख हुनेगरी मर्जरमा जाँदैनौं ।

 

मर्जरका लागि अहिले कुनै बैंकसँग कुरा भइरहेको छ ?

कुनै छैन ।

(तस्बिर : कबेन्द्रकुमार रावल)

प्रकाशित समय १४:१९ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु