fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ पर्यटन विकासका लागि त्रिपक्षीय सहकार्य आवश्यक छ : माया भट्ट

पर्यटन विकासका लागि त्रिपक्षीय सहकार्य आवश्यक छ : माया भट्ट

देश संघीयतामा गइसकेपछि सातै प्रदेशमा प्रदेश सरकारहरूले आआफ्नै ढंगले विकासका अभ्यास अगाडि बढाइरहेका छन् । सुदूरपश्चिम सरकारले औपचारिक रुपमा कार्यभार सम्हालेको करिब २ वर्ष भएको छ । नेपाल सरकारले तोकेका एक सय पर्यटकीय गन्तव्यमध्ये १० गन्तव्य सुदूरपश्चिममा छन् । कैलालीको बर्दगोरिया मन्दिरधाम तथा कञ्चनपुरको भम्केनी धाम र बन्दा ताल, डडेल्धुराको अमरगढी र उग्रतारा, बैतडीको सिद्धनाथ उदयदेव धार्मिक स्थल, दार्चुलाको मालिकार्जुन, अछामको सुर्कोट मष्टादेवी मन्दिर, डोटीको वडिकेदार, बझाङको गोरखनाथ मन्दिर र बाजुराको कोल्टीबडिमालिका पदमार्गलाई नयाँ पयर्टकीय गन्तव्यमा समावेश गरिएको थियो । यीसँगै अन्य पर्यटकीय गन्तव्य पनि पर्याप्त छन् । प्रदेशको पर्यटनका क्षेत्रमा गरेका काम र आगामी योजनाका विषयमा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टसँग न्युज कारोबारका सुदूरपश्चिम प्रदेश संयोजक दिनेश विष्टले गरेको कुराकानी :


पर्यटन मन्त्रालय सम्हालेको झन्डै २ वर्ष पुग्न लाग्यो, कस्तो रह्यो अनुभव ?

हालसम्मको अनुभव राम्रै रह्यो । हाम्रा लागि नयाँ विषय पनि हो । संघीयता कार्यान्वयनका सिलसिलामा एउटैमा उद्योग, पर्यटन, वन तथा वातावरण समेटियो । यो महत्वपूर्ण विषय हो । सम्बन्धित सरोकारवाला मन्त्रालय एकै ठाउँमा आएको छ । यसले राम्रो काम पनि गर्न सकिन्छ भन्ने अनुभूति भएको छ । काम गर्दा केही समस्या त हुन्छन नै ।

पर्यकीय स्थल निर्माण र पर्यटन प्रवर्धनको काम स्थानीय स्तरका स्थानीय तहले र माथिल्लो स्तरमा संघीय सरकारले गरिरहेको पाइन्छ । प्रदेश सरकारले गर्ने पर्यटनसँग सम्बन्धित कामहरु के कस्ता छन् ?

पर्यटनका क्षेत्रहरु धेरै छन् । त्यसलाई राम्ररी अध्ययन र मूल्याकंन गर्‍यो भने बृहत् क्षेत्र देखापर्छ । कृषि, पर्यटन, व्यापार–समृद्धिको आधार भन्ने नारा छ त्यसले एकै ठाउँमा काम गर्ने वातावरण बनाएको छ । समृद्धिको आधारलाई जोड्नका लागि पर्यटक भित्र्याइनु जरुरी छ । हाम्रो प्रदेशमा पर्यटकीय सम्भावना छ तर पनि प्रचार हुन नसकेकाले पर्यटक आगमन कम भयो । पर्यटनलाई यहाँका स्थानीय उत्पादनसँग पनि जोड्न आवश्यक छ । हामीसँग उत्पादन हुने चिजलाई निर्यात गर्न सक्ने र हामीसँग उत्पादन हुने चिजलाई उपभोग गर्न पर्यटक आउनु जरुरी छ ।

सबै कुरा एकैचोटी गर्छु भनेर पनि हुँदैन । हामीले प्राथमिकता तोक्नुपर्छ । हामीसँग थुप्रै सम्पदा छन्, संस्कृति छन् । नेपालमा भएका जातजाति, भाषाभाषीहरु सुदूरपश्चिममा छन् । देव भूमि भनेपछि देवीदेवताका मन्दिरहरु पनि विश्वमा हुने यहाँ पनि छन् । मुश्लिमहरूका मस्जिद, बौद्ध गुम्बा र हिन्दु धर्मावलम्बीहरुका शक्ति पिठहरुका मन्दिरहरु छन् । मान्छेले त्यहाँ जान सक्ने वातावरण बनाउनुका साथै नपुग्न सकिएको ठाउँको लागि विकासका रणनीति बनाउनुपर्नेछ ।

मैले मन्त्रालयमा आउनेबित्तिकै सबै कुराको ज्ञान र केही सीपको अभाव भयो होला भनेर पर्यटनसम्बन्धी जनशक्ति नभएकै अवस्थामा छुट्टै कार्यालय स्थापना गर्नुपर्छ भनेर पर्यटन इकाई नै गठन गर्‍यौं । इकाई गठन भएपछि पर्यटनसँग सम्बन्धित व्यक्तिहरूलाई रणनीति तयार पार्न दियौँ, उहाँहरुले केही गर्नुभएको छ । सोही तयारीबाट सुदूरपश्चिममा पाँचवटा करिडोर निर्माण गर्ने योजना बनाएका छौँ । पर्यटन इकाईले पाँचवटा करिडोरमध्ये जहाँ विवादित कुराहरु छन्, त्यसलाई सुल्झाउने र धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि पनि काम गरिरहेको छ । आ‑आफ्नो क्षेत्रको विकासका लागि मेरो गाउँ मेरो ठाउँ भनेर जनता उठ्लान भनेरै पाँचवटा करिडोर बनाउन लागेका हौं ।

कर्णाली करिडोर, त्रिनगर नाकाबाट डोटी हुँदै खप्तड जाने करिडोर, कञ्चनपुर, डडेल्धुरा हुँदै दार्चुला जाने करिडोर, बैतडीबाट बझाङ हुँदै कैलाश मानसरोबर जाने करिडोर र खुटिया सडक हुँदै रामारोशन जाने करिडोर बनाउन लागिएका छन् ।

कैलालीदेखि पहाडी जिल्लाहरुसम्म धेरै तालहरु छन् । यी तालहरुको अवलोकन गरेर अर्को ठाउँमा पनि घुम्नका लागि कम्तिमा कति दिन पर्यटक यहाँ बस्न सक्छन् त्यसको प्याकेज बनाउने, ती करिडोरहरुमा पदमार्ग, मोटरमार्ग निर्माण गरेर कसरी गन्तव्यहरुमा पुगाउन सकिन्छ र एउटाबाट अर्को गन्तब्यमा जानका लागि कति समय लाग्छ यी सबै खाका तयारी गर्दै छौँ अहिले ।

सुदूरपश्चिममा पर्यटन विकासको सम्भाव्यताचाहिँ कतिको छ ?

सुदूरपश्चिम सम्भावना नै सम्भावनाले भरिएको प्रदेश हो । सुन्दर भूमि, हिमालको काख, पहाडदेखि तराईको संगम, वातावरणीय हिसाबले, जैविक विविधता, धार्मिक महत्व र सांस्कृतिक हिसाबले सुदूरपश्चिम प्रदेश देशभरिमै महत्वपूर्ण प्रदेश हो भन्ने मलाई लाग्छ । प्रकृत्तिको अनु्पम उपहार हामीसँग छ । भौतिक संरचना बनाउने र शृंगार–पटार गर्नुपर्ने हाम्रो जिम्मामा छ अहिले । र, शृंगार–पटार गरिएका गन्तव्यहरुको प्रचार गर्नुछ । अहिले ऐतिहासिक धरोहरकै प्रचारप्रसार भएको छैन । गढी–किल्लाहरु छन, अनि हिमालहरु छन् । संघीय सरकारले अपि र सैपाल हिमालको आरोहण खुला त गर्‍यो, जान पाउने अनुमति त दियो तर अनुमति दिएको ठाउँसम्म पुग्न बाटो व्यवस्थापन भएन । अनि, त्यसको व्यापक रुपमा प्रचारप्रसार भएन ।

त्यो कागजमा सीमित भयो र अनुमति अनुसारको सहुलियत दिन सकेन । पूर्वाधार बनाउन सकेन । त्यसो भएको हुनाले पर्यटकहरु आउन सकिरहेका छैनन् । र हाम्रो मुल मुद्दा भनेको पर्यटकहरुलाई कसरी भित्र्याउन सकिन्छ भन्ने नै हो । र त्यो ठाउँको प्रचारप्रसार पनि गर्नुपर्‍यो । हिमाल चढ्ने त सबै हुँदैनन्, चढ्न सक्ने कुन मुलुकमा छन् त्यहाँ प्रचारप्रसार गर्नुपर्छ । त्यहाँ पर्यटक पुर्‍याउनु पर्छ । त्यहाँ पर्यटक पुर्‍याउनका लागि हामीले कुन माध्यमबाट जाने भनेर खोजी गरिरहेका छौँ । खोजी गरेर त्यस्ता कुराको प्रचारप्रसारमा लागेका छौँ ।

हाम्रो डडेल्धुरा भारतको नैनीतालजस्तो ठाउँ छ । अब त्यहाँ ठूल्ठूला होटेलहरु नैनीतालको जस्तो नहुनसक्छ । पर्यटन भ्रमण बर्ष २०२० घोषणा गरिसकेपछि मात्रै १०/११ हजार भारतीय पर्यटक डडेल्धुराको हिउँ परेको भागमा पुगेका छन् ।

सम्भावना हुँदाहुँदै पनि हाम्रो प्रदेश किन पछाडि परेको जस्तो लाग्छ ?

पछाडि पर्नुको मुख्य कारण, पहिलादेखि सुदूरपश्चिमलाई उपेक्षा गरिनु नै हो भन्ने हामीलाई महसुस भएको छ । त्यो केन्द्रीकृत शासन प्रणालीको उपज हो भन्छु म, केन्द्रीकृत शासन प्रणालीमा सुदूरपश्चिम प्राथमिकतामा परेन । त्यसरी सुदूरपश्चिमको पहुँच पनि पुगेन । पहुँच पुग्ने ठाउँमा पनि ख्याल गरिएन कि भन्ने मलाई लाग्छ ।

पर्यटनको क्षेत्रमा गत वर्ष पनि ठूलो बजेट खर्च भयो, तर उपलब्धि देखिएन, मन्त्रालयले मठ मन्दिरमा लगानी गरेको भनेर आलोचना पनि भयो । मन्त्रालयले प्राथमिकता छुट्याउन नसकेको हो ?

अब मठमन्दिर पनि एउटा विषय हो भन्ने मेरो सोचाइ थियो । तत्काल नयाँ रणनीति बनाइ नसकेकोले पुरानो क्रियाकलापमा अगाडि बढ्नका लागी गाउँ सफा गर्नुपर्छ, गाउँ सुन्दर बनाउनुपर्छ, गाउँमा भत्केका मन्दिरहरु छन् । ती आकर्षणको केन्द्रका साथै धार्मिक केन्द्र पनि हुन् । त्यो ठाउँ भत्केको छ, त्यो गाउँ नराम्रो छ भने बाह्य पर्यटक कहाँबाट आउने त? त्यसैले पहिले मठ–मन्दिरका साथै गाउँ सफा गरौँ र अनि बाह्य पर्यटक भित्र्याउँ भनाइ हो । गाउँमा बिग्रेका, भत्केका मन्दिर नरहुन र धार्मिक पर्यटक आउन भन्ने उद्देश्यले मन्दिरमा लगानी गरिएको हो । जाँत, मेला, चैतली हुन्छन् । सुदूरपश्चिमका मठ–मन्दिरहरुमा यस्ता ठाउँमा पर्यटक भित्र्याउनु प¥यो । पर्यटनका लागि त्यो पनि एक खालको पूर्वाधार हो भन्ने सोचका साथ बजेट हालिएको हो । धार्मिक रुपले पनि जब मानिस अनुशासित बन्छ, यस्ता मन्दिरहरुको विकासले मान्छे अनुशासित पनि बन्छ ।

यो वर्ष पनि मन्दिरका लागि बजेट छ, देवभूमि सुन्दर भूमि भनेपछि मन्दिर नबनाइकन गन्तव्य स्थापित हुन्छ त ? मन्दिर ताललगायतका क्षेत्रको संरक्षण र प्रवर्धन गरेर मात्रै पर्यटनको विकास हुन्छ ।

पर्यटनका लागि विनियोजित बजेट के कति खर्च भयो ?

गत वर्ष बजेट नै कम खर्च भयो । हाम्रो संरचना नै वैशाखपछि बन्यो । पर्यटनको बजेट खर्च गर्ने संस्था नै हामीले वैशाखमा बनायौँ, जेठ र असारमा मात्रै काम हुदा त्यति खर्च हुन सकेन । गत आर्थिक वर्षमा मन्त्रालयकै बजेट ४२ प्रतिशत खर्च भएको छ । संघीय सरकारले त्यही बेला कर्मचारी सरुवा, समायोजन गर्‍यो । प्रदेश सरकारलाई कर्मचारीको अभाव भएकाले बजेट खर्च सन्तोषजनक हुन सकेन । यो वर्षचाहिँ सबै कुरा पाइपलाइनमा पसिसकेको छ । तीन वर्षे रणनीति तयार भएको छ । पर्यटन भ्रमण वर्ष २०२० भव्य समारोहका बीच उद्घाटन गर्‍यौं, सबै स्थानीय तहलाई सहकार्य गर्न आमन्त्रण गर्‍यौं र स्थानीय स्तरका पर्यटकीय स्थलको पहिचान गर्न निर्देशन दियौँ । प्रदेश र केन्द्रले काम गर्नुपर्ने ठाउँ कुन हो पहिचान गर्नुस भनी निर्देशन गरेका छौँ । त्यसकारणले यो वर्षको बजेट कार्यान्वयनमा छ, खर्च पनि हुन्छ । खप्तड विकास समिति गठन आदेश पास गरिसकेका छौँ, रमारोहनको पास भइसकेको छ, त्यसो भएकाले यो वर्ष खर्च हुन्छ ।

नेपाल भ्रमण वर्ष २०२० का लागि सुदूरपश्चिम प्रदेश सरकारको के छ विशेष लक्ष्य ?

यो वर्ष संघीय सरकारले अब २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ, सरकारले काठमाडौंमा मात्रै भनेको छैन, देशभरि भनेको हो । हाम्रो प्रदेशमा पर्यटक आउँछन्, पक्कै पनि तर केही पूर्वाधारहरु अधुरा छन्, तिनलाई राम्रो बनाएर सुदूरपश्चिममा बढी पर्यटक भित्र्याउने हो । भ्रमण वर्ष सरकारले मात्रै सोचेर पूरा हुँदैन, सफल पार्न सम्पूर्ण नागरिकको पनि कर्तव्य हुन्छ । विकासमा पछाडि सुदूरपश्चिम छ, हामीलाई थाहा छ र प्रदेशले सक्ने विकासमा लागेका छौँ, आवश्यक बजेटका लागि केन्द्रसँग माग गरेका छौँ । भ्रमण वर्षमा केन्द्रले लिएको लक्ष्यमा हामी सुदूरपश्चिमबाट सक्दो योगदान गर्नेछौं ।

नेपाल सरकारले तोकेका स्थापित तथा प्रवर्धन गरिनुपर्ने प्रदेशका १० गन्तव्यको प्रवर्धनका लागि के भइरहेको छ ?

केन्द्र सरकारले यस प्रदेशमा तोकेका पर्यटकीय गन्तव्य १० वटा थिए, हामीले पनि प्रत्येक निर्वाचन क्षेत्रअन्तर्गत ३२ वटा पर्यटकीय गन्तव्य तोकेका छौँ । ती गन्तव्यहरुको पूर्वाधार विकासका लागि यो वर्ष बजेट विनियोजन गरेका छौँ भने पहुँच मार्गका लागि रणनीति बनाएका छौँ । धेरै ठाउँमा होमस्टे बनाउन सहयोग गरिरहेका छौँ ।

यहाँका पर्यटकीय स्थलहरुबारे जानकारी नपाँउदा पर्यटकहरू अन्यौलमा परिरहेका छन् । यसले पनि त पर्यटन प्रवद्धनका लागि त प्रचारप्रसार नै नभएको पुष्टि हुँदैन ?

प्रचारप्रसारका लागि के कमी छन् भनेर हामीले छलफल गरेका छौँ । हामीले प्रदेशका सातवटा नाकामा सूचना केन्द्र खोल्ने भनेका छौँ । सबै सूचना केन्द्रमा हामीसँग भएको संरचनाका बारेमा आवश्यक जानकारीसहितका फोटो, भिडियो राख्छौँ । सकेसम्म पर्यटक गाइड राख्ने पनि सोचेका छौँ । संस्थागत रुपमा कसैले जिम्मा लिएर सूचना केन्द्र स्थापना गर्ने गरी गयो भने सजिलो हुन्थ्यो, यसका लागि छलफलमा छौँ । सातवटै सूचना केन्द्र स्थापना गर्ने ठाउँमा पर्यटकलाई स्वागत गरेका छौँ त्यो राम्रो पक्ष हो । त्यसले राम्रो सन्देश गएको छ । यस प्रदेशमा सञ्चालन भइरहेका महोत्सवहरुले पनि यस प्रदेशको कला संस्कृतिको पहिचान गराइरहेको छ । यसले पनि भ्रमण बर्ष सफल पार्न टेवा पुग्छ । हामीले नेपाल आइडल रवि वडलाई पर्यटन दूत तोकेका छौँ, यसले पनि प्रचारप्रसार धेरै हुन्छ ।

प्रकाशित समय १५:२० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु