fbpx
Nepal Mediciti

गृहपृष्ठ अब बिमा क्षेत्रको विकास सोचेभन्दा धेरै हुन्छ : किशोरप्रसाद लामिछाने

अब बिमा क्षेत्रको विकास सोचेभन्दा धेरै हुन्छ : किशोरप्रसाद लामिछाने

kisor-lamichhane-ceo-prabhu-life-newskarobar

प्रभु ग्रुप अफ कम्पनीबाट प्रवर्धित प्रभु लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको छोटो अवधिमै बिमा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भइसकेको छ । २०७४ मंसिरमा स्थापना भएको यो कम्पनीको ऊर्जाशील युवा टिमको नेतृत्व गरिरहेका छन्– किशोरप्रसाद लामिछानेले । जीवन बिमा क्षेत्रमै करिब २० वर्ष बिताइसकेका लामिछाने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा क्यासियर एसिस्टेन्ट लेभलबाट बिमा क्षेत्रमा प्रवेश गरेका व्यक्ति हुन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका लामिछाने फिलिपिन्स, थाइल्यान्ड, श्रीलंका, भारतलगायत देशमा बिमासम्बन्धी तालिम तथा अध्ययनमा पनि सहभागी भइसकेका छन् । जीवन बिमाको अवस्था, नेपालमा बिमाको सम्भावना, बिमा क्षेत्रका चुनौतीलगायत विषयमा केन्द्रित रही कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत लामिछानेसँग गरिएको कुराकानी :

 

जीवन बिमाबारे प्रस्ट पारिदिनुस् न !

बिमा भनेको जोखिम हस्तान्तरण हो । विज्ञानले जति प्रगति गरेको छ, आविष्कार गरेको छ, हाम्रो जीवन पनि त्यति नै जोखिमयुक्त बन्दै गएको छ । अर्को कुरा, रहनसहन, खानपानलगायतका कारण मानिसको जीवनमा जोखिम थपिएको छ । आयआर्जन गरिरहेको परिवारको कुनै सदस्यलाई केही भइहालेमा परिवारका बाँकी सदस्यको विचल्ली नहोस् भन्ने मूल मर्मबाट जीवन बिमा निर्देशित भएको हुन्छ । समग्रमा, जीवन बिमा वचतलाई प्रोत्साहनका साथै जोखिम हस्तान्तरण नै हो ।

 

नेपालमा जीवन बिमाको अवस्था र सम्भावना कस्तो छ ?

डेढ–दुई वर्षयता नौवटा जीवन बिमा कम्पनीहरु थपिएपछि प्रतिस्पर्धा बढेको छ । अब ग्रास रुट लेभलमा नगएर सहर केन्द्रितमात्र भएर व्यवसाय हुँदैन भन्ने निष्कर्षमा सबै संस्था पुगेका छन् । हामीलाई विगतदेखि नै नियामकले समेत गाउँ जानुस् भनिरहँदा गएनौं । यसमा राजनीतिक अस्थिरता पनि कारण हुनसक्छ । किनकि, विगतमा ग्रामीण र सहरी क्षेत्रमै पनि व्यवसाय त्यति सहज थिएन । असुरक्षा थियो, चन्दाआतंक थियो, जसले व्यावसायिक वातावरण धुमिल बनाएको थियो । तर, अहिले स्थानीय स्तरबाटै जनताले सबै किसिमका सेवा पाउने भएपछि हामी पनि त्यहाँसम्म पुग्नैपर्ने हुन्छ । अब सदरमुकाम केन्द्रित भएर व्यवसाय गर्न सक्ने स्थिति छैन । अब गाउँ पस्नैपर्छ । अहिले सबै कम्पनी त्यही हिसाबले लागेका पनि छन् । फलतः जीवन बिमाको पहुँच बढेको छ । बजार विस्तार गर्ने भनेको कम्पनीले नै हो । लामो समय ७ प्रतिशत भनिरहेको अवस्थामा दुई वर्षयता १७–१८ प्रतिशत पुग्नु भनेको अब बिमाको भविष्य उज्ज्वल छ भन्ने नै हो ।

kishor-lamichhane-ceo-prabhulife-newskarobar

नेपालको बिमा क्षेत्र धेरै वर्ष खुम्चिएर रहनुको कारण के हुनसक्छ ?

विगतमा बिमा गर्दा पैसा बुझाउनुपर्ने मानसिकताबाट समाज लामो समय गुज्रियो । कम्पनीहरु जसरी सर्वसाधारणसम्म पुग्नुपर्थ्यो, राजनीतिक अस्थिरताका कारण पुग्न सकेका सकेका थिएनन् । साथै, गरिबी र अचेतना पनि लामो समय नेपालको बिमा क्षेत्र फस्टाउन नसक्नुको मुख्य कारण बन्यो ।

 

वर्षौंदेखि ६७ प्रतिशतमा जकडिएको जीवन बिमाको बजार दुई वर्षयताको अवधिमा १७ प्रतिशत नाघिसकेको छ, कसरी यस्तो सम्भव भयो ?

बिमाको बजार छोटो अवधिमै यति उचाइमा पुग्नुको मुख्य कारण कम्पनीहरुबीचको प्रतिस्पर्धा नै हो । एकसाथ जीवन बिमा कम्पनीहरु नौवटा थपिएका छन् । ती कम्पनीहरुले आफ्नो अस्तित्व कायम राखेरमात्र पुग्दैन, लगानीकर्ताले प्रतिफल पाउनुपर्ने अवस्थासँग पनि यो जोडिएको छ । कम्पनीहरुले उच्च प्रतिफलका लागि व्यवसाय विस्तारलाई प्राथमिकतामा राखेपछि यो सम्भव भएको हो । अहिले सर्वसाधारण पनि बिमाप्रति सकारात्मक देखिन थालेका छन् । बिमालाई मानिसहरुले वित्तीय औजारको रुपमा पनि हेर्न थालेका छन् । बचत पनि हुने र जोखिम हस्तान्तरण पनि हुने भएपछि दोहोरो लाभका लागि मानिस बिमाप्रति आकर्षित हुन थालेका छन् । यही बीचमा राजनीति संग्लिएको छ । स्थिर र बलियो सरकार बनेको छ । मलाई लाग्छ, केही वर्षभित्रै बिमा क्षेत्रको विकास अनपेक्षित देखिन्छ ।

 

यसको अर्थ, बिमालाई अब नेपालीले प्राथमिकतामा राख्न थालेका हुन् ?

नेपालीले बिमालाई प्राथमिकतामा राख्न थालेका छन् । तर, अझै पनि आम्दानीको २–३ प्रतिशत रकम बिमाका लागि छुट्याउनुपर्छ भन्ने चेत आइसकेको छैन । मानिसको आयस्तर बढ्दै गएको छ, गरिबी दर घट्दै गएको छ । अब नागरिकको ठूलो हिस्सा बिमा पोलिसी खरिद गर्न सक्ने अवस्थामा पुगेको छ । पहिला बाँच्नुपर्छ, अनि मात्र भविष्यका लागि सोच्ने हो, तसर्थ गरिबीबाट जकडिएको मानिसले बिमाबारे सोच्न निकै कठिन हुन्छ । तर, नियमित आम्दानी गर्न थालेको वर्ग बिमामा जोडिन थालेको छ । प्रायः सबै कम्पनीबाट बालबच्चाको बिमालेख बढी बिक्री भइरहेको छ । भोलि आफू नरहँदाका बखत पनि बच्चाको पढाइ प्रभावित नहोस्, आर्थिक संकट आइनपरोस् भन्ने बुझाइको नतिजा हो यो ।

kishor-lamichhane-ceo-prabhulife-newskarobar

सरकार बिमाप्रति कति संवेदनशील छ जस्तो लाग्छ ?

पछिल्लो समय सरकार पनि बिमाप्रति संवेदनशील देखिएको छ । वैदेशिक रोजगार (म्यादी) जीवन बिमा, स्वास्थ्य बिमा, कृषि बिमामा अनुदानलगायतका कार्यक्रममलाई दिएको प्राथमिकताले पनि सरकार अनुदार भएको या बेवास्ता गरिरहेको भन्न मिल्दैन । यस्ता कार्यक्रमले बिमाप्रति जागरण पनि बढाइरहेको छ । फलतः मानिसलाई जीवन बिमाबारे बुझाउन पनि सहज भइरहेको छ । सरकारले गर्ने भनेको वातावरण सहज बनाइदिने हो, नीतिगत अवरोधहरु भए हटाइदिने हो र सरकारी तवरबाट भई पनि रहेको छ । व्यवसाय गर्ने भनेको त बिमा कम्पनीहरुले नै हो । बरु सरकारले विद्यालय तहदेखि नै अनिवार्य बिमा अध्ययन–अध्यापन गराउने हो भने दीर्घकालमा यो क्षेत्रको भ्यालु धेरै बढेर जाने थियो । बाल्यकालदेखि नै बिमाबारे बुझाउन सक्नु मुलुककै लागि ठूलो उपलब्धि हुनेछ ।

 

बिमा क्षेत्रको विकासका लागि नियामक निकायबाट कस्तो भूमिका अपेक्षा गर्नुहुन्छ ?

अहिले बिमा समिति आफैं पनि सचेतना अभिवृद्धिमा जुटिरहेको छ । स्थानीय जनप्रतिनिधिसँग छलफल तथा अन्तक्र्रिया गरिरहेको छ । बिमालाई मानिसको दैनिक जीवनसँग कसरी जोड्न सकिन्छ भन्ने अभिप्रायले नै नियामक निकाय यसरी लागेको हो । बिमा समिति लामो समय जनशक्ति अभावको चपेटाबाट गुज्रियो तर अहिले बिमा समिति यस्ता समस्याबाट मुक्त छ । बिमा क्षेत्रको विकासका लागि समितिले प्लानिङ गरिरहेको छ भन्ने लाग्छ ।

 

बिमाको विकास तथा विस्तारमा सहयोग पुर्याउने उद्देश्यले निजी क्षेत्रबाट एनसिस नेपालले घुम्ती बिमा राष्ट्रिय सचेतना अभियान सुरु गरेको छ, यसलाई कसरी लिनुहुन्छ ?

यस्ता बिमा अभियानले मानिसमा जागरण ल्याउँछ । परिणामस्वरुप दीर्घकालमा यसको नतिजा राम्रो आउँछ । तर, यस्ता कार्यक्रम भएसँगै बिमा कम्पनीहरु व्यवसाय विस्तारका लागि ती ठाउँमा पुग्नुपर्छ । उदाहरणका लागि एनसिसले बेलकामा घुम्ती बिमा राष्ट्रिय सचेतना अभियान सञ्चालन गरेलगत्तै हामी त्यो ठाउँमा पुग्यौं । एक महिनाको अवधिमा बेलकामा प्रभु लाइफका २५ जना अभिकर्ता थपिएका छन् । हामीले तत्काल तालिम पनि सञ्चालन गर्यौं र त्यो निकै प्रभावकारी पनि देखियो । त्यसकारण म के भन्छु भने कुनै पनि कामबाट नतिजा निकाल्न चेतना अभिवृद्धि धेरै महत्वपूर्ण हुन्छ ।

 

बिमा कम्पनीहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुनुको कारण के हो ?

बिमा कम्पनीहरुबीच तीव्र प्रतिस्पर्धा छ । तर, यो प्रतिस्पर्धा भर्जिन एरियामा गएर व्यवसाय विस्तार गर्ने र आफूलाई स्थापित गर्ने मान्यताबाट गाइडेड छ । तर, कम्पनीहरुले जीवन बिमाको बजार विस्तार हुँदा पूरा बिमा इन्डस्ट्रीलाई फाइदा हुन्छ भन्ने बुझ्नुपर्छ । बजार आफ्नो पक्षमा पार्ने ध्याउन्नमा अरुको गलत प्रचार गर्नु हुँदैन । आफ्ना गुणहरुको बखान गरेर बजार विस्तार गर्नु राम्रो हुन्छ । आफ्नो प्रोडक्ट बेचेर बजार विस्तार गर्नुपर्छ । अस्वस्थ प्रतिस्पर्धा हानीकारक छ ।

kishor-lamichhane-ceo-prabhulife-newskarobar

बिमा दाबी भुक्तानी प्रक्रिया झन्झटिलो छ भन्ने आरोपलाई कसरी लिनुहुन्छ ?

जीवन बिमातर्फ दाबी भुक्तानीमा समस्या छैन अर्थात् ९९ प्रतिशत दाबी भुक्तानी हुन्छ । १ प्रतिशत समस्या होला तर त्यसमा पनि बिमा कम्पनीहरुको दोष कम छ । व्यक्तिले बिमा गरेको समयमा आफ्नो गतल विवरण दिएको फेला परेमा भुक्तानीमा समस्या आउने हो । तर, अन्य अवस्थामा दाबी भुक्तानी नहुने भन्ने हुँदै हुँदैन ।

 

व्यवसाय विस्तारका लागि प्रभु लाइफ इन्स्योरेन्सका खास योजना के छन् ?

हामी व्यवसाय विस्तारका लागि सबै सम्भावना खुला राखेर अघि बढिरहेका छौं । व्यावसायिक सम्भावना भएका ठाउँमा फरक बिमा योजनासहित पुग्ने गरेका छौं । समसामयिक बिमा योनजालाई थप मोडिफाइ गरेर लागू गरिरहेका छौं । जोखिम व्यवस्थापनका दृष्टिबाट, लाभका दृष्टिबाट फरक बिमा योजनाहरु ल्याइरहेका छौं । बजारमा फरक पहिचान बनाउनका लागि मेहनत गरिरहेका छौं । अभिकर्ताको तालिम तथा प्रशिक्षणमा ध्यान दिएका छौं । आगामी दिनमा बिमा क्षेत्रकै एउटा लिडिङ कम्पनीको रुपमा स्थापित हुने योजना हाम्रो छ ।

तस्बिर ः सुनिल प्रधान

प्रकाशित समय ०९:५५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु