गृहपृष्ठ आफ्नो ठाउँको समृद्धिका लागि आफैँ सक्रिय बनौँ
आफ्नो ठाउँको समृद्धिका लागि आफैँ सक्रिय बनौँ

ऐतिहासिक स्वर्ण वर्ष मनाइसकेको संघले स्थानीय तहमा उद्योग व्यवसायको विकास, भक्तपुरको कला सँस्कृतिको जगेर्ना र सामाजिक काममा समेत अग्रभागमा रहेर आफ्नो भूमिका निर्वाह गरेको छ ।
समग्र भक्तपुर जिल्ला कला संस्कृतिमा सम्पन्न छ । नेपालको पर्यटन उद्योगमा भक्तपुर जिल्लाको योगदान उल्लेख्य छ । दिगो आर्थिक विकासका लागि पर्यटनको ठूलो भूमिका हुन्छ । पर्यटन सूचना केन्द्रका अनुसार २०७५ मा भक्तपुर घुम्न आउने पर्यटकको संख्या ३५ हजार रह्यो भने भक्तपुर नगरपालिकाले २६ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन गर्यो । यो तथ्यांक बर्सेनि बढेको पाइन्छ । भक्तपुरका प्रमुख पर्यटकीय गन्तव्यको भौतिक पूर्वाधार सुधारमा ध्यान दिन सकियो भने अझ बढी पर्यटन आकर्षण गर्न सकिने देखिन्छ ।
विशेष गरी भक्तपुरको दरबार क्षेत्र विश्व सम्पदा सूचीमन समेत सूचीकृत छ । नेपालको इतिहासमा यो क्षेत्रले तिब्बट र भारतको ट्रेड रुटको रुपमा समेत पहिचान बनाएको छ । भक्तपुरको यो क्षेत्रले नेवारी ऐतिहासिक सँस्कृतिको जीवन्त गहिराइको प्रदर्शनीसमेत गरेको छ ।
भक्तपुरको जुजु धौ, भादगाउँले टोपी, हाकु पटासी विश्वमै प्रसिद्ध छन् । साथै, पोल्ट्री व्यवसाय र हस्तकलाका सामानमा विशेष गरी माटोका भाँडाका लागि भक्तपुर धनी छ । समग्र यी वस्तुले जिल्लाको आर्थिक, व्यावसायिक, सामाजिक र साँस्कृतिक विकासमा अमूल्य योगदान पुर्याएका छन् । जिल्लामा होम स्टे व्यवसाय पनि फस्टाउँदै गएको पाएको छु । पर्यटन मन्त्रालयका अनुसार सन् २०१९ सम्म भक्तपुरमा समुदाय र निजी स्तरबाट १७ वटा होमस्टे सञ्चालनमा छन् । वातावरण अनुकूल हुनेबित्तिकै यो संख्यामा बढोत्तरी हुने देखिन्छ ।
भक्तपुर दरबार क्षेत्र, टौमढी क्षेत्र, दत्तात्रेय क्षेत्र र पोटेरी क्षेत्रका आ-आफ्नै महत्व छन् । यी क्षेत्रहरुको गहिरो अध्ययन गरेर हेर्ने हो भने भक्तपुर परापूर्वकालमा आर्थिक व्यापारिक र कला सँस्कृतिमा कति धनी रहेछ भन्ने कुरा स्पष्ट हुन्छ ।
भक्तपुरको आर्थिक विकासको प्रमुख आधार र सम्भाव्य क्षेत्र पर्यटनलाई लिन सकिन्छ । यो क्षेत्रको प्रवर्धनमार्फत स्थानीय जनताको जीवनस्तर सुधार गर्दै समग्र जिल्लालाई नै आर्थिक रुपमा सम्पन्न गराउन विभिन्न सांस्कृति गतिविधि सञ्चालन, पर्यटन मेला तथा महोत्सव, सांस्कृतिक नृत्यलगायत कला र संस्कृतिलाई प्रवर्धन गर्ने कार्यक्रममा विशेष जोड दिनुपर्ने देखिन्छ ।
समग्र जिल्लामा उद्यमी व्यवसायीले भोग्नुपरेका समस्याका विषयमा हामी जानकार नै छौँ । कोभिडका कारण साना तथा मझौला उद्योग व्यवसाय सबैभन्दा बढी प्रभावित छन् । साना तथा मझौला उद्यम व्यवसायको पुनरुत्थानका लागि मौद्रिक नीतिमार्फत आएका राहत कार्यक्रम बिना कुनै अवरोध र झन्झट लागू हुनुपर्नेमा हामीले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छौं ।
केही दिन अघिमात्र हामीले अर्थमन्त्रीलाई भेटेर उद्यमी व्यवसायीको कर विवरण बुझाउने म्याद थप तीन महिना बढाउन र बैंकहरुलाई पुस मसान्तभित्र बुझाउनुपर्ने ऋण तिर्न तोकिएको समय अपर्याप्त भएकाले कम्तीमा तीन महिना पर सारिदिन पनि आग्रह गरेका छौं ।
साना तथा मझौला उद्यमीलाई मौद्रिक नीतिमार्फत घोषणा गरिएका राहत प्याकेजबाहेक पनि छुट्टै रिकभरी जस्तो कर छुट, विभिन्न अन्य शुल्क मिनाहा, बजार प्रवर्धनलगायतको प्याकेज ल्याउन र बजेटको मध्यावधि समीक्षामा विशेष राहत प्याकेज राखिदिन आग्रह गरेका छौं ।
जिल्लामा उद्यमी व्यवसायीले व्यवसाय दर्ता तथा नवीकरण, ढक तराजुको नवीकरण, अनुगमन, बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण तिर्न ताकेतालगायतमा निकै धेरै समस्या भोग्नुपरेको छ । महासंघले उद्यमी व्यवसायीले भोग्नुपरेका समग्र समस्यालाई वास्तविक रुपमा पहिचान गरी तिनको समाधानका लागि सरकारमा सुझाव पेस गर्ने कार्यक्रम छ । यसमा भक्तपुर उद्योग वाणिज्य संघसहित सबैको अर्थपूर्ण सहयोग अपेक्षा हामीले गरेका छौं ।
कोभिडको कारण गत आर्थिक वर्षमा मात्रै कुल गार्हस्थ्य उत्पादनमा १ खर्व ९८ अर्ब क्षति भएको तथ्यांक आएको छ । १५ लाख ६७ हजारले रोजगारी गुमाएका छन् ।
कोभिडले हाम्रो अर्थतन्त्र खल्बल्याएको छ । कोभिडको कारण गत आर्थिक वर्षमा मात्रै कुल गार्हस्थ्य उत्पादनमा १ खर्व ९८ अर्ब क्षति भएको तथ्यांक आएको छ । १५ लाख ६७ हजारले रोजगारी गुमाएका छन् । नेपालमा कोभिडले १२ लाख नागरिक गरिबीको रेखामुनि पुगेको र विश्वमा कोभिडका कारण १ अर्बभन्दा बढी मानिस गरिबीको चपेटामा पर्ने अनुमान सार्वजनिक भएको छ । केही दिन अघिमात्र विश्व बैँकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । पाँच महिनाभन्दा बढी ठप्प हुँदा पर्यटन क्षेत्र नराम्ररी प्रभावित छ । आगामी वर्ष अर्थात् २०२२ मा पनि आर्थिक वृद्धि २.२५ प्रतिशतमात्र हुने अनुमान पनि आएको छ ।
यो अवस्थामा हाम्रा उद्योगधन्दालाई पूर्वावस्थामा ल्याउन हामीले निकै मेहनत गर्नुपर्ने छ । महासंघले प्रतिवर्ष ४ लाख रोजगारी सिर्जना गर्ने, दोहोरो आर्थिक वृद्धि र आयात प्रतिस्थापन निर्यात वृद्धिको लक्ष्य राखेर भिजन पेपर तयारी गरिरहेको छ ।
महासंघले विगतमा कृषि मन्त्रालयको सहयोगमा भक्तपुरलगायत अधिकांश जिल्लामा एक गाउँ एक उत्पादन र एक जिल्ला एक उत्पादन कार्यक्रम लागू गरेको थियो । भक्तपुरमा पनि लप्सी कार्यक्रम प्रभावकारी रुपमा लागू भएको मैले बुझेको छु । तर, विभिन्न कारणबाट कृषि मन्त्रालयको सहयोग रोकिँदा कार्यक्रमलाई निरन्तर दिन सकेका छैनौं । त्यसका लागि अहिले संघीय, प्रादेशिक र स्थानीय सरकारसँग यस विषयमा के कसरी सहकार्य गर्न सकिन्छ भनेर छलफल भइरहेको र त्यसको निरन्तरताको लागि पहल भइरहेको छ ।
भक्तपुर निकै धेरै सम्भाव्यता बोकेको जिल्ला हो । कृषि, पर्यटन, कला संस्कृति यसका समृद्धिका आधार हुन् । जिल्लाको समृद्धिका लागि हामी आफैँ अलिकति सक्रिय भएर कामहरु थालौँ । सरकारले कुन ठाउँमा कसरी सहयोग गर्नुपर्ने हो, त्यसको पहिचानसहित हामी हाम्रा सुझावहरु तयार गरौं । यसका लागि भक्तपुर उद्योग वाणिज्य संघले अग्रणी भूमिका निर्वाह गरोस् । महासंघ सधैँ साथमा छ ।
(भक्तपुर उद्योग वाणिज्य संघको ३३औँ वार्णिक साधारणसभामा उद्योग वाणिज्य संघका अध्यक्ष गोल्छाले व्यक्त गरेको विचार ।)
प्रकाशित समय ०७:४६ बजे