fbpx
corona information

गृहपृष्ठ नेप्से बढ्यो तर तपाईंको सेयर मूल्य किन बढेन ?

नेप्से बढ्यो तर तपाईंको सेयर मूल्य किन बढेन ?

धेरैको गुनासो सुनिन्छ, नेप्से परिसूचक बढेर २००० कटिसक्यो तर मेरो सेयरको मूल्य जहाँको तहीँ छ । बढे पनि धेरै बढेको छैन ? के भएको यस्तो ?

तपाईंहरुका जिज्ञासा स्वाभाविक हुन् । विश्व सेयर बजारमा चारवटा तरिकाबाट बजार परिसूचक (इन्डेक्स) गणना गरिन्छ । तीमध्ये नेप्से परिसूचकको गणना भ्यालु वेटेड विधिबाट गरिन्छ (यसको विस्तृत गणना विधिको जानकारी नेपालको सेयर बजार किताबबाट लिन सकिनेछ) । जुन अमेरिकाको एस एन्ड पी ५०० र भारतको सेन्सेक्स ३० सँग मिल्छ । तर, अमेरिका र भारतले परिसूचक गणनामा जुन चुस्तता र विधि अपनाएका छन्, त्यो नेप्सेले अपनाउन सकेको छैन । वास्तवमा भन्ने हो भने नेप्सेसँग परिसूचक गणना गर्ने कुनै नियम किताब (रुल बुक) नै छैन । वास्तविक र विश्वासनीय परिसूचक त्यो हो, जसमा कुनै एक कम्पनी वा समूहको अधिक प्रभाव रहनु हुँदैन । यसको अर्थ, एउटा कम्पनी वा समूहको मूल्यमा भएको उच्च मूल्य परिवर्तनले परिसूचक अधिक प्रभावित हुनु हुँदैन ।

नेप्से परिसूचकको अहिलेको वृद्धिमा नेपाल टेलिकमको योगदान वा प्रभाव अत्यधिक छ । कुल बजार पुँजीकरण (नेप्सेमा सूचीकरण भएका सबै कम्पनीको कुल बजार मूल्य)मा टेलिकमको मात्रै हिस्सा ६ प्रतिशत (२०७७ मंसिर १६) भन्दा बढी छ । मंसिर १६ गते कम्पनीको कुल बजार पुँजीकरण १ खर्ब ७६ अर्ब छ भने नेप्सेको कुल बजार पुँजीकरण २६ खर्ब ८१ अर्बबराबर छ । अन्य कम्पनीको कारोबार मूल्यलाई यथावत राख्ने र १७ गते टेलिकमको मात्र मूल्य ५ रुपैयाँले बढ्ने हो भने नेप्से परिसूचक एकैदिन २१ अंकभन्दा बढीले बढ्छ । २०६५ सालमा टेलिकमको सेयर मूल्य १४८१ पुग्दा नेप्से सबैभन्दा उच्च ११७५ अंकमा पुगेको थियो । त्यसबेला यही सेयर नै परिसूचक दौडाउने प्रमुख कम्पनी थियो । जब टेलिकमको सेयर मूल्य निरन्तर घट्न थाल्यो, नेप्सेका अंक इँझार छिनेको सुरुवाल खुस्केजसरी खुस्कियो ।

टेलिकमको घट्दो मूल्यले नेप्सेका अंकमात्र झारेन नेपाल स्टक एक्सचेन्जको व्यवस्थापनले अवलम्बन गरेको नेप्से गणना विधिको वास्तविकताकै सुरुवाल खुस्काइदियो । त्यसपछि पनि नेप्सेको व्यवस्थापन प्रमुखमा धेरैवटा जागिरे परिवर्तन भइसके तर अझैसम्म सुरुवालमाथि तान्ने कोसिस गरेको देखिँदैन । अहिलेका हाकिमले पनि सुरुवाल तान्न नभ्याई आफ्नो अवधि सक्ने देखिन्छ । अहिलेको नेप्से गणना विधिमा अधिक बजार पुँजीकरण भएका केही कम्पनीको प्रभाव धेरै छ । यी कम्पनीको सेयर मूल्यमा हुने सानातिना परिवर्तनले पनि नेप्से परिसूचकमा तीव्र उतारचढाव ल्याइदिन्छ । यस्को अर्थ, नेप्सेको गणना तौल नमिलेकाहरु चाकाचुली खेल्न बसेजस्तो छ । यसैले कम्पनीको वास्तविकताभन्दा पनि नेप्सेका अंकलाई विश्वास गरेर बजारमा ओइरिने नयाँ हुन् वा पुराना लगानीकर्ताहरुलाई क्षणभरमै भोलाटाइल बनाइदिन्छ ।

नेप्सेलाई अझ बढी विश्वसनीय र भरपर्दो बनाउने हो भने यसको गणना विधिमा धेरै परिवर्तन वा समायोजन गर्नुपर्ने हुन्छ । नेपाल स्टक एक्सचेन्जले अझ बढी विश्वसनीय परिसूचक दिनका लागि फ्लोट परिसूचक गणना सुरु गर्‍यो । तर, त्यो पनि अझै वास्तविक फ्लोटको परिभाषाभित्र पर्दैन ।

उच्च बजार पुँजीकरण भएको दोस्रो कम्पनीमा नेपाल रि-इन्स्योरेन्स कम्पनी पर्छ । १० करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको यो कम्पनीको पछिल्लो सेयर मूल्य (१५९९)का आधारमा कुल बजार पुँजीकरण १ खर्ब ५९ अर्बबराबर छ । यस्तै बजार पुँजीकरण आधारमा तेस्रो ठूलो कम्पनी नविल बैँक हो । चौथोमा नेपाल लाइफ इन्स्योरेन्स र पाँचौँमा नागरिक लगानी कोष छन् । नेपाल टेलिकम, पुनर्बिमा र नागरिक लगानी कोष आफ्नो समूहमा एक्लै दोडैर प्रथम हुने प्रकारका कम्पनी हुन्, जसको दोस्रो बजारमा आफ्नो समूहमा कुनै प्रतिस्पर्धी छैन । यी तीनै कम्पनीलाई नेप्सेले ‘अन्य’ समूहमा राखेको छ र सोहीअनुसार अन्य समूहको परिसूचक गणना गर्दै आएको छ भने नेपाल लाइफ र नविल आफ्नो समूहमा कोर प्रतिस्पर्धी क्षमता भएर नेतृत्वदायी भूमिका निर्वाह गरेका कम्पनी हुन् । कोर प्रतिस्पर्धा कम्पनी छनौट गर्दा हेरिने महत्वपूर्ण आधार हो । जलविद्युतमा नेतृत्व लिनसक्ने कम्पनी अप्पर तामाकोसी हो, जसको सेयर संख्या माथिका केही कम्पनीसँग करिब बराबर भए पनि मूल्य तल भएका कारण बजारलाई अहिले नै धेरै प्रभावित पार्ने प्रकारको देखिँदैन ।

सेयर छनौटको एउटा आधार बजार पुँजीकरण पनि हो । अन्य देशमा यही पुँजीकरणका आधारमा हाई, मिडियम र स्मल क्याप (क्यापिटलाइजेसन वा पुँजीकरण) गरेर कम्पनीको वर्गीकरण गरिन्छ । कतिपय लगानीकर्ताको उद्देश्य जहिले पनि हाई क्यापबाट मात्र सेयर छनौट गर्ने हुन्छ । स्मल क्यापलाई उच्च जोखिम भएका कम्पनीको सूचीमा राखिन्छ ।

सेयर बजारमा अधिक बजार पुँजीकरण भएका अन्य पाँच कम्पनीमा वाणिज्य बैँक नै छन्, जस्तैः एनआईसी एसिया, ग्लोबल आईएमई बैँक, एभरेस्ट, एनएमबी र नेपाल इन्भेस्टमेन्ट बैँक । उच्च पुँजीकरण भएका १० कम्पनीभित्र ६ वटा बैँक नै पर्छन्, जसमा एनआईसी र नविलको मूल्यमा राम्रै वृद्धि देखिए पनि अन्यमा लगानीकर्ताले सोचेअनुसार वृद्धि अझै देखिएको छैन । नेप्सेको अंकमा प्रभाव राख्न सक्ने यी कम्पनीको मूल्यमा बढोत्तरी देखिएमा नेप्से परिसूचकका अंकले ठूलै छलाङ मार्न सक्छ । नेप्सेले अझ ठूला अंकले छलाङ मार्दै गर्दा अझै पनि तपाईंका कतिपय सेयर भने घस्रिरहेको पाउनुहुनेछ । किनकि, नेप्से गणनामा सबै कम्पनीका सेयर मूल्यको योगदान छ तर त्यसले समानान्तर रुपमा नेप्सेसँगै सेयरको मूल्य वा तपाईंको पोर्टफोलियोको भ्यालु दौडने कुरालाई जनाउँदैन । नेप्सेको वृद्धि प्रतिशसँगै वा त्योभन्दा बढीले तपाईंको पोर्टफोलियोको भ्यालुको प्रतिशत बढाउन सक्नुभयो भने त्यसलाई राम्रो मानिनेछ । यो नै तपाईंको लगानी कति राम्रो छ भन्ने तुलना गर्ने एउटा आधार हो ।

नेप्सेलाई अझ बढी विश्वसनीय र भरपर्दो बनाउने हो भने यसको गणना विधिमा धेरै परिवर्तन वा समायोजन गर्नुपर्ने हुन्छ । नेपाल स्टक एक्सचेन्जले अझ बढी विश्वसनीय परिसूचक दिनका लागि फ्लोट परिसूचक गणना सुरु गर्‍यो । तर, त्यो पनि अझै वास्तविक फ्लोटको परिभाषाभित्र पर्दैन । फ्लोट परिसूचक भनेको बजारमा कारोबार हुनेमात्र सेयरको संख्या र मूल्यका आधारमा गणना गरिने परिसूचक हो । उदाहरणका लागि ऋण लिन वा अन्य कुनै कारणबाट रोक्कामा रहेका सेयर यो गणनामा समावेश गरिँदैन । यस्तै कारोबारमा रोक लगाएका संस्थापक सेयर पनि समावेश हुँदैन । तर, नेप्सेले फ्लोट परिसूचक गणना गर्न यी सबै नियम पालना गर्न सकेको छैन ।

(सेयर बजार विश्लेषक भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट र सेयर बजारका बारेमा क्यानेडियन सेक्युरिटिज कोर्ससमेत गरेका छन् ।)

प्रकाशित समय १५:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु