fbpx
corona information

गृहपृष्ठ व्यावसायिक पत्रकारितामा योगदानकर्ताको स्मरण

व्यावसायिक पत्रकारितामा योगदानकर्ताको स्मरण

सन्दर्भ : नवाैं विजयबाबु स्मृति दिवस

bijayababu-newskarobar

सक्रिय युवा आर्थिक पत्रकार विजयबाबु खत्रीलाई मुलुकले गुमाएको नौ वर्ष बितेको छ । आर्थिक पत्रकारितामा सक्रिय रहँदारहँदै ३४ वर्षको उमेरमा २०६८ साल मंसिर १२ गते रुपन्देहीको सालझन्डीमा भएको सडक दुर्घटनामा परी खत्रीको निधन भएको थियो । उनको निधनबाट नेपालको आर्थिक पत्रकारिताले मात्र होइन, समग्र आर्थिक क्षेत्रका सरोकारवालाहरूले एउटा सदस्य गुमाएको/नभएको महसुस गर्दै आएका छन् । आफ्नो पत्रकारिता करिअरको छोटो अवधिमा नै स्व. खत्रीले नेपालको आर्थिक–व्यावसायिक क्षेत्रमा आफ्नो सशक्त कलमका माध्यमबाट जुन बलियो उपस्थिति जनाएका थिए, उनको निधनपछिको भएको क्षतिको सहजै परिपूरण हुन सक्दैन । स्व. विजयबाबु खत्रीकै पहल र व्यवस्थापनमा नेपालको पहिलो आर्थिक दैनिक पत्रिकाको जन्मिएको थियो, सोही पत्रिकाकै बजार विस्तारका सिलसिलामा जाँदा सडक दुर्घटनामा परेर उनको निधन भएको थियो । आर्थिक पत्रकारितासँग जोडिएकामात्र नभइ, तत्कालीन समयका नीतिनिर्माण तहदेखि निजी क्षेत्रको नेतृत्व तहसम्म र गैर आवासीय नेपालीहरूको तत्कालीन नेतृत्व पंक्तिले समेत स्व. खत्रीको निधनपछि समाजको एउटा सक्रिय युवा सदस्य गुमाएको अनुभूति व्यक्त गर्ने गरेका छन्, किनकी नेपालमा पत्रकारितामार्फत मुलुकका समकालीन आर्थिक-व्यावसायिक मुद्दाहरूलाई स्थापित गराउन उनी त्यतिकै सक्रियतापूर्वक लागिपर्ने गर्थे ।

नेपालमा व्यावसायिक पत्रकारिता अझै पनि शैशवकालीन अवस्थामा नै छ । २०४९ सालपछि निजी क्षेत्रबाट ब्रोडसिट दैनिक पत्रिकाहरूको प्रकासन र २०५९/६० पछि निजी क्षेत्रका टेलिभिजन च्यानलहरूको स्थापनासँगै नेपालमा व्यावसायिक पत्रकारिताको विकास भएको मान्ने गरिएको भए पनि वास्तविक रूपमा निजी सञ्चार संस्थाहरू अझै व्यावसायिक बन्न सकेका छैनन् । कोरोना भाइरस महामारी र २०७६ चैत महिनादेखि लगाइएको लकडाउनपछि साना लगानीका सञ्चार संस्थामात्रै होइनन्, ठूला भनिएका सञ्चार गृहहरूमा एकै पटक संकट देखिनुले व्यावसायिकताको अभाव प्रष्ट भएर गयो । सञ्चार संस्थाको लगानी र आकारले मात्र तिनको व्यावसायिकता झल्काउँदैन, तिनले देखाउने व्यवहार, योजना र कार्यनीतिले समेत कुन संस्था कतिको व्यावसायिक छ भन्ने थाह हुन्छ । संकटसँग जुझ्ने योजनाका अभावमा संस्थाहरू विफल भएको देखियो ।

पत्रकारिता पनि मुलुकभित्रका आर्थिक-सामाजिक संरचनाको एउटा सक्रिय हिस्सा हो, यसले समाजको अवस्थालाई प्रतिम्बित गरिरहेको हुन्छ । समाचार, सम्पादकीय, लेख र विश्लेषणहरूमार्फतमात्र होइन, सञ्चार संस्थाको आफ्नै व्यावसायिक उपस्थितिले पनि यसको प्रतिनिधित्व गर्दछ, किनकी सञ्चार संस्थाले पत्रकारदेखि अन्य सञ्चारकर्मी र सम्बन्धित कर्मचारीहरूलाई रोजगारी, व्यावसायिक गतिविधिमार्फत राज्यलाई योगदान गरिरहेको हुन्छ । त्यसैले सञ्चार क्षेत्रका कुनै पनि सदस्यले दिएका योगदानका अवमुल्यन गर्ने गराउने काम कसैबाट हुनु हुँदैन । निजी सञ्चार संस्थाहरूको विकासमा स्व. विजयबाबु खत्रीले पुर्‍याएको योगदान यहाँनेर स्मरणीय छ । तत्कालीन समयमा उमेरले सानो भए पनि उनको भूमिका र सक्रियता कुनै परिपक्व सञ्चार उद्यमीभन्दा कम थिएन । आजको दिनमा स्व. खत्रीले नेपालमा व्यावसायिक पत्रकारिताको विकासमा दिएको योगदानमात्र स्मरण गर्नसके उनीप्रति सही श्रद्धाञ्जलि हुनेछ ।

प्रकाशित समय १३:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु