fbpx
corona information

गृहपृष्ठ महेन्द्रकालीन शिक्षा नीति र हाम्रो नियति

महेन्द्रकालीन शिक्षा नीति र हाम्रो नियति

शिक्षाको गुणस्तर शिक्षा नीतिले फरक पार्छ । राजा महेन्द्रले २०१७ सालमा राज्यसत्ता ‘कु’ गरिसकेपछि शिक्षा नीतिमा जुन खालको अवधारणा ल्याए, त्यही शिक्षा नीतिको आधारमा हामी २०७७ सालसम्म छौँ । लगभग ६० वर्षको दौरानमा शिक्षा नीतिमा उल्लेखनीय परिवर्तन केही भएको छैन अर्थात् हामी परम्परागत शिक्षा नीतिमै छौँ । राजा महेन्द्रको राज्यसत्ता ३०-३५ वर्ष किन टिक्यो त भन्दा उनले शिक्षामा लगानी गरे । उनले एक खालको सामान्ती संस्कारवादी शिक्षा लागू गरे । त्यसलाई आधार मानेर देशमा ३० वर्ष राज्यसत्ता चलाए । जो तत्कालीन राणाशासन पछाडिको लामो राजनीतिक इतिहास हो र बलियो दृष्टान्त पनि हो ।

शिक्षाविना देशको विकास गर्न सकिँदैन र राजनीतिमा पनि लामो समय टिक्न सकिँदैन । राजनीतिक पार्टी र राजनीतिक दलहरुले के बुझ्नुपर्छ भने १०० वर्षमात्र वर्चश्व कायम राख्ने हो भने मानिसलाई आर्थिक रुपमा बलियो बनाइदिए हुन्छ । तर, देशको विकास गर्ने हो र हजारौँ वर्षसम्म आफ्नो वर्चश्व राख्ने हो भने शिक्षामा लगानी गर्नुपर्छ । तात्पर्य, शिक्षित रुपमा विकास गराइदिने हो भने हजारौँ वर्ष टिक्न सकिन्छ ।

हाम्रो राजनीतिक इतिहास धेरै लामो त छैन । २०४६ देखि अहिलेसम्मको ३० वर्षको राजनीतिक इतिहाससम्म आइपुग्दा थुप्रै प्रगतिशील, प्रजातान्त्रिक र क्रान्तिकारी साथीहरु सत्तामा आउनुभयो । तर, अपसोच उहाँहरुले कहीँ पनि शिक्षामा लगानी गर्ने तत्परता देखाउनुभएन । महेन्द्रकालीन शिक्षालाई आधार मानेर राज्यसत्ता चलाउनुभयो । त्यसले जनतामा एक खालको वितृष्ण पैदा गर्‍यो । शिक्षामा लगानी नभएकै कारण जनताको छोराछोरी बिदेसिन थाले, तीव्र गतिमा ब्रेनड्रेन भयो । पूर्वाधारमा खर्च गर्ने तर नीतिगत परिवर्तन नगर्दा उच्च शिक्षा अध्ययन गरेर पनि विदेशमा तल्लो स्तरको काम गर्नुपर्ने अवस्था आयो । स्नातकोत्तर र विद्यावारिधि गरेकाहरुले विदेशमा गएर योग्यताअनुसारका काम नपाउनुको पछाडि हाम्रो शिक्षा नीतिको दोष छ ।

प्रस्ट रुपमा भन्नुपर्दा, जो साथीहरु विदेशमा हुनुहुन्छ, उहाँहरु पनि खुसी हुनुहुन्न । उनीहरुलाई आफ्नै देशप्रति लगाव छ । उहाँहरु आफ्नो शिक्षा लिएर यहाँ आउन चाहनुहुन्छ । तर, नेपालमा कर्मचारीतन्त्रभित्रको बोझिलो संरचना र केही गर्न खोज्दा हन्डर खानुपर्ने स्थितिले फर्किन सक्नुभएको छैन । हाम्रो शिक्षा नीतिले हामीलाई अमेरिका, क्यानडा जान सजिलो बनाएको छ, फर्किन सजिलो छैन । विदेशी ज्ञान र अनुभव लिएर आउने चाहने साथीहरुलाई स्वदेशमा काम गर्नका लागि नम्स बनाइदिनुपर्छ, जसले उहाँहरुलाई सजिलो महसुस होस् । स्वदेश फर्किंदा आम्दानी घट्छ भनेर परिवार र रेमिट्यान्स घट्छ भनेर सरकार डराउने होइन, स्वागत गर्ने र सम्मान गर्ने वातावरण बनाउनुपर्छ । उहाँहरु नेपाल आउन लालायित हुनुहुन्छ । त्यो ब्रेनले देशको विकास छिट्टै गर्छ ।

सिंगापुरले ५० वर्षमा कति विकास ग¥यो । ७० वर्षअघिको भिखारी देश चीन आज कसरी लिडिङ देश बन्यो ? कसरी धनी र बुद्धिमानी बन्यो ? हामी भने यही अवधिमा निर्यात गर्ने क्षमतालाई पनि सिध्याएर सबै आयात गर्ने अवस्थामा पुग्यौँ । के यसमा शिक्षा नीति दोषी छैन ?

जागिरे शिक्षा

हामी जागिरे जन्माउने शिक्षा दिइराखेका छौँ । मास्टर गर्छौं, सर्टिफिकेट लिएर ठाउँ-ठाउँ धाउँछौँ । हाम्रो शिक्षा प्रणालीले जागिरे प्रविधि बनायो । त्यसकारण अबको शिक्षा प्रणाली उद्यमी हुने र स्वरोजगार हुनेतर्फ जानुपर्छ । र, यो प्राविधिक शिक्षाबाट सम्भव छ ।

अर्को कुरा, देशको भू-धरातल, भू-अवस्थिति तथा राजनीतिक, सामाजिक, शैक्षिक, सामाजिक अवस्थिति कस्तो छ ? त्यसमा शिक्षालाई जोड्नुपर्छ । हाम्रो देश उर्वर खालको छ । त्यही अनुसार शिक्षा प्रणालीलाई लैजानुपर्छ । हाम्रो देश प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ, शिक्षालाई पर्यटनसँग जोड्नुपर्छ । जडिबुटीको खानी हो, शिक्षालाई जडिबुटीसँग जोड्नुपर्छ । हिमालदेखि तराईसम्म जाँदा विभिन्न प्रकारका हावापानी पाईन्छ । त्यसमै जोडेर शिक्षा दिनुपर्छ । उत्पादन र प्रशोधनमा जोड दिनुपर्छ । हिमाली क्षेत्रमा यार्सागुम्बा टिप्न थुप्रै बालबालिका जान्छन् । तिनीहरुलाई टिप्न जान सजिलो बनाउने शिक्षा दिनुपर्छ ।

अहिलेसम्म हामी विदेशी आइडोलोजी पढाइरहेका छौँ । यो आवश्यक छैन । एकजना भाइ अस्ट्रेलियाबाट फर्किनुभएको रहेछ । उहाँले नेपाल आएर नरिवलको बोक्राबाट कप बनाउने र निर्यात गर्ने काम थाल्नुभएछ । त्यो उत्कृष्ट कार्य हो । नेपालमा यसखालको शिक्षा दिन आवश्यक छ ।

गणतन्त्र आएपछि हामी धेरै खुला भएका छौँ । अहिलेका बालबालिका यति सिर्जनशील छन् कि अबको १०-१५ वर्षपछि नेपाल विकसित हुनेवाला छ । राज्यले वातावरणमात्र बनाइदिनुपर्छ । म केही गर्छु भन्ने मान्छेलाई सम्मान गर्नुपर्छ । फलामको काम गर्नेलाई कामी, लुगाको काम गर्नेलाई दमाई भन्दिने र कामको कदर नगर्ने जुनखालको प्रणाली छ, त्यो हट्नुपर्छ । विदेशीहरुले फलामको काम गर्नेलाई इन्जिनियर, लुगाको काम गर्नेलाई फेसन डिजाइनर भनेर संसारभर चिनाइदिए । तर हामी छोको पनि खान्नौँ ।

जयस्थिति मल्लकालीन शिक्षा प्रणाली हेर्ने हो भने काम गर्नेहरु तल बस्नुपर्ने र कुरा गर्नेहरु माथि बस्नुपर्ने थियो । आज हाम्रा भाइबहिनीहरुले उल्ट्याउन कोसिस गरिरहेका छन्, रोक्न खोजिरहेका छन् । उल्ट्याउन खोज्ने भाइबहिनीलाई राज्यले साथ दिनुपर्छ । जति लगानी गरिन्छ, त्यसअनुसारको क्याटेगोरी तोकेर लगानी गर्ने वातावारण बनाइदिनुपर्छ । सबैभन्दा कम पुँजी लिएर लगानी गर्नेलाई पनि राज्यले ठाउँ दिनुपर्छ किनभने त्यस्ता मान्छे धेरै हुन्छन् । साना व्यवसायी या उत्पादनकै कारण उत्पादन बढ्छ, मूल्यवृद्धि घट्छ । अहिले हामीकहाँ साना, घरेलु तथा मझौला उद्यमीमाथि बेवास्ता भइरहेको छ । हाम्रो शैक्षिक प्रणालीले साना उद्यमी र घरेलु उत्पादनको श्रीवृद्धिमा योगदान दिनुपर्छ । राज्यले शिक्षा नीतिमै परिवर्तन गर्दै विकास दीर्घकालीन ढोका खुला गर्नुपर्छ ।

(महेन्द्र माध्यमिक विद्यालय बालुवाटारका सहायक प्रधानाध्यापक पोखरेल सामुदायिक विद्यालय शिक्षा सुधार समाजका अध्यक्ष हुन् ।)

प्रकाशित समय १४:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु