fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ यसपालिको चाड मितव्ययी र घरैमा

यसपालिको चाड मितव्ययी र घरैमा

नेपालमा कोरोना माहामारी फैलिएको ६ महिनाभन्दा बढी भइसक्यो । यस कालमा थुप्रै चाडपर्व आएर र गए पनि । सबैले आ-आफ्नै हिसाबले मनाए पनि होलान् । यसपालिका चाडबाडहरु नमाने पनि हाम्रो संस्कृति मासिँदैन तर चाड मान्दा भने हामी मासिन सक्छौँ । हामी बाँचे दसैं, तिहार, छठ, लोसार, माघीलगायतका चाडपर्व फेरि पनि मानौंला । तसर्थ, होसियार रहौं र घरमै बसौं । पहिला बाँचौँ अनि चाडबाड मानौंला । अर्को कुरा हरेक घर परिवारदेखि देश र विश्वकै अर्थतन्त्र पनि कोरोनाको माहामारीले थला परेको अवस्था छ, यस्तो बेलामा अलि मितव्ययिता अपनाउँदा के फरक पर्ला ? तसर्थ चाडका कारण हुने अनावश्यक यातायात, तामझाम, मांसहार, मद्यपान र कोसेली खर्च पनि घटाऔं ।

हरेक सजग जाति, भाषी र सांस्कृतिक समूहका लागि आ-आफ्नो चाडपर्व, सामाजिक मूल्य र मान्यताहरूप्रति विशेष महत्व हुन्छ नै । उनीहरूमा हरेक वर्ष विभिन्न किसिमका चाडपर्व मान्ने प्रचलन संसारभर छ । जसमा खासगरी आफन्तजन भेट्ने, मीठोमसिनो खाने, नयाँ कपडा लगाउने, अग्रज र आफन्तबाट आशीर्वाद ग्रहण गर्ने, पितापुर्खा र देवीदेवताको प्रार्थना, पाठपूजा र सम्झना गर्ने, उपहार चढाउने आदि गरिन्छ । कतिपय संस्कृतिमा त यस बेलामा अनेकन् खेलकुद र अन्य रमाइला जमघट पनि गर्ने गरिन्छ जस्तै वर्षभरिको खेतीपातीको काम, लडाइँ वा अन्य व्यस्तताबाट आराम गर्न, प्रकृति (धर्ती, आकाश, जल) को पूजा गर्न, नयाँ बालीनाली भित्र्याउन पनि चाडपर्व मान्ने प्रचलन सुरु भएको पाइन्छ ।

नेपालको हिमालदेखि तराई, मधेससम्म र गाउँदेखि सहरसम्म विभिन्न किसिमका चाडपर्वहरू मान्ने र अन्य सांस्कृतिक चलनहरूको रौनक देखिने गरेकोमा यसपालि विश्वव्यापी महामारीले यसको रूप फेर्नुपर्ने पक्का भएको छ । अर्कोतर्फ, हरेक परिवार, देश र विश्वकै अर्थतन्त्रमा मन्दी आएको अवस्थामा रोगव्याधीबाट बच्न अनावश्यक यात्रा घटाउनुको विकल्प छैन । साथै, फजुल खर्च कटाउन पनि यो अति जरुरी छ ।

अर्कोतर्फ चाडपर्वहरूले समाज कति विकसित र समृद्ध छ भन्ने कुरा पनि महत्व राख्छ । हामीलाई भौतिक र सामाजिक दुवै विकास आवश्यक छ । तर, केवल धार्मिक रूपमा मठमन्दिर बनाउने हर्कत देख्दा हामी अलि बढी भाग्यवादी छौं कि भन्ने पनि लाग्छ । समाजमा सदियौंदेखि जरा गाडेर बसेका सामाजिक विकृति र विभेदहरू घटाउनुका सट्टा जेल र अपराध नियन्त्रणमा खर्च गर्न हाम्रो सरकार र नीति निर्माता लागेको देखिन्छ । मन्दिरभन्दा पहिला हरेक गाउँमा राम्रा अस्पताल र विद्यालय बनाउनु राम्रो हुन्छ । जनता शिक्षित भए कतिपय विकृति स्वतः कम भएर जान्छ । शिक्षा नै समानताको आधार र विभेदको उपचार हो भन्छन्, होरेस म्यान । यसले हाम्रो विकास कता जाँदै छ भन्ने पनि संकेत गर्छ ।

आधुनिकताको नाममा र विश्वव्यापीकरणको कारणले हिजो हाम्रो समाजमा नभएका कतिपय आयातित धर्म, संस्कार र सभ्यता पनि भित्रिएका छन् भन्दा फरक पर्दैन ।

अर्को कुरा नेपालको नयाँ संविधान २०७२ पछि धर्म निरपेक्ष राज्य भइसकेको अवस्थामा राज्यको एक धर्म छैन, संविधानतः यहाँ हरेक धर्म र परम्पराले समान मान्यता पाइसकेको अवस्था छ । त्यसैले एकमाथि अर्को धर्म र चाडवाड लादिन वा लाद्न पाइँदैन । तर, आधुनिकताको नाममा र विश्वव्यापीकरणको कारणले हिजो हाम्रो समाजमा नभएका कतिपय आयातीत धर्म, संस्कार र सभ्यता पनि भित्रिएका छन् भन्दा फरक पर्दैन । ती सबैको आ-आफ्नै महत्व छन् तर यसले सामाजिक रूपमा विवाद र अनावश्यक खर्च बढाएको पनि हुन सक्छ ।

वर्षभरि नै मानिने यस्ता चाड र कतिपय ढर्राले आमनागरिकको स्वास्थ्य र जीवनशैली पनि फेरिएको छ । चाडपर्व र विविध खाले उत्सवका कारण हुने अनावश्यक भीडभाड, यातायात र व्यवस्थापकीय तनाव, अनुत्पादक तामझाम, प्राणी-हत्या, अत्यधिक मांसहार र मद्यपान पनि स्वास्थ्य र खर्चका हिसाबले बेकार छन् । जुवातास र छरछिमेकसँग देखावटी प्रतिस्पर्धा पनि चाडबाडका विकृति हुन् । हाम्रो बाल्यकालताका रंगोली र दिवाली, राखी, बर्थडे, म्योरिज एनिभर्सरी, बेबी सावरजस्ता कुरा प्रचलनमा थिएनन्, केवल नेपालका आदिवासी मूलबासीहरूको परम्परा र राष्ट्रिय तथा स्थानीय चाडबाडमात्र मान्ने चलन थियो । त्यसमा स्थानीय साधन स्रोतको प्रयोगमा जोड दिन्थ्यो । यस्ता कुराहरुको आक्रामक प्रचार र प्रवर्धन मूलधारे सञ्चारमाध्यम, सामाजिक सञ्जाल, सिनेमा र देखासिकी आदिले पनि गरेको छ ।

अन्त्यमा, यसपालिको चाड मितव्ययी र घरैमा मनाऔं । आफन्त भेटघाट र रमाइलोभन्दा पनि आफू र अन्य परिवारजन कसरी स्वस्थ्य र सुरक्षित रहने भन्ने पहिलो प्राथमिकता हुनुपर्छ । सामाजिक सद्भाव बढाउनका लागि हरेक नागरिकको आफ्नो धर्म परम्पराअनुसारको चाडपर्वको सम्मान गरौं । आ-आफ्नो चाडवाड मानौैं, मनाऔं तर अरुको लहैलहै र दबाबमा होइन, आफ्नो धर्म, परम्परा र संस्कृतिले मानेका रीतिरिवाज र चाडपर्व मानौँ । एकआपसमा सांस्कृतिक विविधता, समता र समावेशिताको प्रवर्धन गरौं । बरु यस्तो विषम परिस्थतिमा हुनेले नहुनेहरुलाई यो चाडबाडको मौसममा एक छाक मिठो खान दिएर खुसी बाँड्नसके चाडपर्वको सार्थकता र मानव धर्म पनि हुन्थ्यो कि ! भीडभाड / भेटघाटबाट खासगरी वुद्धवृद्धा, दीर्घरोगी र बालबालिकाहरु टाढै राखौँ। बचौँ र बचाऔँ ! सम्पूर्ण चाडपर्वको शुभकामना समस्त साथीभाई इष्टमित्र र बन्धुबान्धभहरुमा !

(लेखक समाज कल्याण र जनस्वास्थ्यकर्मी हुन् ।)

यो पनि पढ्नुहोस्

कोभिड १९ र समाज कल्याणको प्रश्न

प्रकाशित समय ११:४१ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु