fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ सेयरको मूल्य घट्न नदिन ‘कर्मचारी सेयर खरिद योजना’

सेयरको मूल्य घट्न नदिन ‘कर्मचारी सेयर खरिद योजना’

जब सेयर बजार केही ओरालो लाग्छ, बजारमा हकप्रद र बोनस सेयरका कारण अधिक आपूर्ति भई सेयर बजार घटिरहेको भन्ने एक प्रकारको विश्लेषण सुरु हुन्छ र त्यसभित्रको एउटा विश्लेषण संस्थागत लगानीकर्ताको अभावमा बजारमा सेयरको पर्याप्त माग हुन सकेन भन्ने पनि हो ।

केही समय अघिसम्म चलेको बियरिस बजारमा कम्पनीलाई बोनस र हकप्रद सेयर बिक्री-वितरणमा रोक लगाउनुपर्नेसम्मका कुरा सामाजिक सञ्जाललगायत अनलाइन पत्रपत्रिकामा देखिन आए । बजार घट्नुको कारण अधिक आपूर्ति भएको तर्क केही समयअघिको बियरिस बजारमा मात्र आएको होइन, २०६५ पछिको बियरिस ट्रेन्डमा पनि यसबारे बहस भएको थियो । तर, २०६७ पछिको बुलमा त्यो हरायो । २०७२/७३ पछिको बियरिस ट्रेन्डमा फेरि अधिक आपूर्तिका कुरा आए र बजार बढेसँगै विस्तारै अहिले हराउँदै गएका छन् । बजार बढ्न सुरु गरेपछि नियामक चुप, लगानीकर्ता चुप, मिडिया चुप, सामाजिक सञ्जाल सान्त । बजारको अधिक आपूर्ति र उच्च उतारचढाव कम गर्न २०६५ पछिको बियरिस ट्रेन्डबाट सुरु भएको नागरिक लगानी कोषको स्टक डिलरको चर्चाले अझै पनि मिडियामा स्थान पाइरहेको छ । तर, कम्पनीले कहिले काम सुरु गर्ने त्यो सायद ऊ आफैँलाई थाहा नहुन सक्छ ।

बजारमा सेयरसँग जोडिएका लगानीका अन्य विकल्पहरुको कमिका कारण एकोहोरो किनबेचमात्र भइरहँदा समय–समयमा सेयरको बढी र कम आपूर्तिका कुरा आइरहन्छन् । यस्ता बहस भविष्यमा पुनः दोहोरिनेछन् । सेयर कारोबारबाट पटक-पटक टाट पल्टेका चर्चित अमेरिकी सट्टेवाज जेसी लाइभमोर भन्छन्, ‘सेयर बजारमा अहिले जे भइरहेको छ, त्यो विगतमा पनि भएको थियो र भविष्यमा पनि हुनेछ । यो एउटा फिजिसियनको काम जस्तै लामो अनुभवको यात्रा पनि हो, जहाँ हरेक पटक नयाँ कुरा फेस गरिरहनुपर्छ । सेयर कारोबारको दौडानमा धेरै गल्ती हुन्छन् । ती गल्ती पैसा कमाउनेसँग भन्दा पनि गुमाउनेसँग सम्बन्धित नै बढी हुन्छन् । तर, कोही बुद्धिमान र भाग्यमानी दुवै बन्छ भने सेयरमा पैसा बनाउन उसले विगतमा गरेका गल्ती दोहोर्‍याउँदैन ।’

सेयर खरिद गरेर त्यसलाई लामो समयसम्म होल्ड गर्न सक्ने प्रकारका उपकरण तथा योजनाको अभावमा हामीले सेयर बजारमा उच्च उतारचढावको सामना गरिरहनुपर्छ ।

सेयर खरिद गरेर त्यसलाई लामो समयसम्म होल्ड गर्न सक्ने प्रकारका उपकरण तथा योजनाको अभावमा हामीले सेयर बजारमा उच्च उतारचढावको सामना गरिरहनुपर्छ । खरिद गरेर लगानीकर्ताले लामो समय सेयर होल्ड गर्नसक्ने एउटा योजना भनेको ‘कर्मचारी सेयर खरिद योजना’ हो । कर्मचारी सेयर खरिद योजना कम्पनी विशेषको योजना हो । यसमा कम्पनीका कर्मचारी सोही कम्पनीको सेयरमा लगानी गर्ने योजनामा सहभागी हुन्छन् । उदाहरणका लागि सानिमा बैँकले कर्मचारी सेयर खरिद योजना सञ्चालन गरेमा बैँकले तय गरेको मापदण्डअनुसार योजनामा सहभागी हुने कर्मचारीले हरेक महिना तलबको एउटा निश्चित प्रतिशत रकम यो योजनामा लगाउँछन् । जस्तो कि तलबको ५ प्रतिशत । यस्तो योजनामा कम्पनीले पनि सोही बराबर रकम कर्मचारीलाई थपिदिने गर्छ । प्रतिमहिना एक लाख रुपैयाँ तलब बुझ्ने कर्मचारी यो योजनामा सहभागी भए उसले प्रत्येक महिना तलबको ५ प्रतिशत अर्थात् ५ हजार रुपैयाँ योजनामा लगाउँछ र बैँकले सोही बराबर वा ५ हजार रुपैयाँ थपिदिन्छ । योजनामा प्रत्येक महिना यो कर्मचारीको योगदान १० हजार रुपैयाँ हुने भयो । योजनामा तलबको अधिकतम कति प्रतिशत योगदान गर्ने भन्ने पहिल्यै तय गरिन्छ ।

योजनामा सहभागी सबै कर्मचारीको कुल रकमले सोही कम्पनीको सेयर खरिद गरिन्छ । उदाहरणका लागि सानिमा बैँकको कर्मचारी सेयर खरिद योजनामा सहभागीबाट संकलित रकमले सानिमा बैँककै सेयर किनिन्छ । कुन मितिमा सेयर किन्ने भन्ने कम्पनीले योजनाको कार्यविधिमा तय गर्नेछ । जस्तो कि अर्को महिनाको ५ गते । उक्त दिन बिदा परे अर्को दिन किन्ने भन्ने हुन्छ । योजनामा सहभागीबाट जम्मा भएको सबै रकमले बजार मूल्यमा एकै दिन सेयर किनिन्छ । उक्त दिन पर्याप्त आपूर्ति हुन नसके भोलिपल्ट किनिन्छ । यसले सेयर खरिदमा कमिसन लागत कम पनि पर्न सक्छ । त्यस्तै ठूलो संख्यामा सेयर खरिद गर्दा डिस्काउन्टमा पनि सेयर प्राप्त हुनसक्छ ।

कम्पनीको सेयर मूल्य भित्री सूचनाका कारण प्रभावित नबनोस् भन्ने उद्देश्यले कार्यविधिमै सेयर खरिदका लागि कुनै निश्चित दिन तय गरिन्छ । यसरी खरिद गरेको एकमुष्ठ सेयर कर्मचारीको योगदानका आधारमा समानुपातिक रुपमा यसको लगानी व्यवस्थापकले बाँडफाँड गरिदिन्छ । उदाहरणका लागि सानिमा बैँकले सानिमा क्यापिटललाई कर्मचारी सेयर खरिद योजनाको व्यवस्थापनको जिम्मा दिन सक्छ वा अन्य कुनै मर्चेन्ट बैंकले पनि यो काम गर्न सक्छन् । यसको सामान्य प्रक्रियामा सानिमा बैँकले कर्मचारीबाट योजनाको पैसा संकलन गरेर सानिमा क्यापिटललाई दिन्छ र सानिमा क्यापिटलले ब्रोकरलाई आदेश दिएर सेयर खरिद गर्छ । जसका लागि सानिमा क्यापिटलले एउटै वा फरक–फरक ब्रोकरको प्रयोग गर्न सक्छ ।

योजनामा सहभागी हरेक कर्मचारीको योजना व्यवस्थापककहाँ अलग–अलग खाता हुन्छ । हरेकले आफ्नो कर्मचारी खरिद योजना खाताको अवस्था अनलाइनबाट पनि हेर्न सक्नेछन् । माथिकै उदाहरणमा सानिमा बैंकले दिएको बोनस तथा नगद लाभांश सोही खातामा जानेछ । सामान्यतः कर्मचारी सेयर खरिद योजनामा कर्मचारी सञ्चय कोषमा जम्मा गरिने जस्तो रकम लगानी गरिन्छ ।

यसरी हरेक महिना कम्पनीकै कर्मचारीबाट सोही कम्पनीको सेयर किनेर होल्ड गर्दा बजारमा कम्पनीको सेयर मूल्यमा उच्च उतारचढाव कम हुन्छ । अमेरिका र क्यानडा जस्ता देशमा प्रायः कम्पनीले कर्मचारी सेयर खरिद योजना सञ्चालन गरेको पाइन्छ । योजनामा सहभागी हुने वा नहुने भने कर्मचारीको स्वेच्छिक विषय हुनेछ ।

हामीकहाँ कम्पनीले सेयरको प्राथमिक निष्कासन गर्दा जारी सेयरको ५ प्रतिशत कर्मचारीका लागि छुट्याउनुपर्ने कानुनी व्यवस्था छ । तर, यसबाहेक कम्पनीले अलग्गै आफ्नै सेयर कर्मचारीले खरिद गर्ने जस्तो कर्मचारी सेयर खरिद योजनासम्बन्धी कुनै कानुन बनेको छैन । कानुनका कतिपय व्यवस्थाले कम्पनीको विभिन्न तहका कर्मचारीले पदमा रहँदा र पद छाडेको एक वर्षसम्म सोही कम्पनीको सेयर बजारबाट किन्न तथा भएको सेयर बिक्री गर्न नपाउने व्यवस्था गरेको छ । उदाहरणका लागि बैँक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १२ ले बैंक वा वित्तीय संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा बैंक तथा वित्तीय संस्थाको व्यवस्थापन र लेखासम्बन्धी कार्यमा प्रत्यक्ष संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित बैंक वा वित्तीय संस्थाको सेयर आफ्नो वा आफ्नो परिवारको सदस्यका नाममा खरिद गर्न वा भए बिक्री गर्न बन्देज लगाएको छ । यति मात्र नभई भएको सेयर धितो बन्धक राख्न पनि रोकेको छ ।

सेयर बजारमा विकल्पहरु बढाउन तथा लगानीकर्ताले सेयरको होल्डिङ पिरियड बढाउन नियामक निकायले विश्व बजारमा भएका अभ्यासलाई अनुशरण गरी हाम्रो बजारलाई सुहाउँदा विकल्प पस्कनुपर्ने हुन्छ, जसका लागि हाल भएका कानुनी अड्चनहरु विस्तारै खुकुलो बनाउँदै जानुपर्ने देखिन्छ ।

(सेयर बजार विश्लेषक भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट र सेयर बजारका बारेमा क्यानेडियन सेक्युरिटिज कोर्ससमेत गरेका छन् ।)

यो पनि पढ्नुहोस्

सेयर कारोबारका ‘अपराधी’

प्रकाशित समय १३:०५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु