fbpx
corona information

गृहपृष्ठ सेयर बजार : जो कहिल्यै गुमाउँदैनन्

सेयर बजार : जो कहिल्यै गुमाउँदैनन्

सेयर बजार कम्पनीको स्वामित्व किनबेच हुने ठाउँ हो । यहाँ आशा, लोभ र निरासा मात्र होइन, रोचकता पनि त्यत्तिकै छ । सेयर बजारका रेखाले देखाउने प्रवृत्ति र लगानीकर्ताका व्यवहारले बजारमा अनेकौँ रोचक कुराको सिर्जना गरेका हुन्छन् । सेयर बजारका त्यस्तै केही रोचक कुरा यहाँ उल्लेख गरिएको छ ।

ग्यारेन्टी गर्न सकिने

सेयर बजारका हरेक बियरिस ट्रेन्ड बुलको आधार बन्छ । हरेक बुल बियरको आधार पनि हो । बियर बुलको लागि ढोका हो । बुल बियरको ढोका हो । तर, कहिलेसम्म घटेर बढ्न सुरु गर्ने भन्ने प्रश्न हुन्छ । त्यस्तै अर्को प्रश्न कहिलेसम्म बढेर घट्न सुरु हुने भन्ने हुन्छ । प्रश्नको जवाफ त्यति सहज छैन ।

यसै सन्दर्भमा वारेन बफेटले भनेका छन्, ‘सेयर बजार दीर्घकालमा कता जान्छ भन्न सकिन्छ तर अल्पकालका बारेमा भन्न सकिन्न ।’

यस्तै आगामी दिनमा बजार कता जान्छ वा बजारको दिशा के हुन्छ भनी सोधिएको प्रश्नमा जेपी मोर्गानले भनेका छन्, ‘यो तल‑माथि (फ्लक्च्युएट) गर्छ ।’

एक दिन कुनै पत्रकारले मलाई सोधे, ‘सेयर बजार अलिकति माथि गएको थियो फेरि घट्न थाल्यो नि ! के भा’को यो सर ?’

मैले भनेँ, ‘बजारको सुन्दरता भनेकै तल‑माथि गर्नु हो । एकै ठाउँ बसिरह्यो वा एउटै दिशामा हिँडिरह्यो भने त्यो सेयर बजार हुनै सक्दैन ।’

सेयर बजार तल‑माथि गर्छ । बढेपछि घट्छ, घटेपछि बढ्छ । यी कुरा सबैले ग्यारेन्टीका साथ भन्न सके पनि समय तोक्न भने सम्भव छैन । समय तोक्ने कुरामा अर्थशास्त्री, मिडिया, लगानी व्यवस्थापक, लगानीकर्ताको समूहलगायत सबै असफल हुने गरेको अनुसन्धानको सार पिटर मालोकले ‘हरेक लगानीकर्ताले गर्ने पाँच गल्ती’ नामक आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

‘सेयर बजारमा घट्ने र बढ्ने समय तोक्ने कुरा ‘आफ्नै भविष्य नदेख्ने ज्योतिषीकहाँ गएर भविष्य बताइमाग्नु र त्यसमा विश्वास गर्नु जस्तै हो’ पनि भनिएको छ । तर, बजारमा भविष्य बताउने र विश्वास गरेर त्यसको पछि लाग्नेको कमी भने हुने छैन । जसले अनुशासनमा बसेर कारोबार गर्छ, उसले आफ्नो भविष्य व्यवस्थित गर्न सक्छ । सेयर बजारको सफलता भनेको सिद्धान्त र अनुशासनको पालना हो, समय होइन ।’

डाक्टर पनि बिरामी हुन्छ

सेयर तालिमका क्रममा एक सहभागीले सोध्न भ्याए, ‘सर ! तपाईंलाई चाहिँ सेयरमा कहिल्यै घाटा लागेको छ कि छैन ? प्रश्न बढो गम्भीर थियो ।’

‘सधैँ अरुलाई अर्ति उपदेश दिने, सिकाउने, राम्रा‑नराम्रा कम्पनीका बारेमा कुरा गरिरहने भएकाले यो व्यक्तिलाई पक्कै पनि घाटा नलागेको हुनुपर्छ’ भन्ने प्रश्नकर्तालाई लाग्या पनि हुनसक्छ ।

प्रश्न जायज थियो । उनको प्रश्नमा ‘कहिले, कुन कम्पनीमा र कसरी मैले घाटा व्यहोरेँ’ भनेर विस्तार लगाउनतर्फ लागिन र भनेँ, ‘डाक्टर पनि बिरामी हुन्छ तर अरुभन्दा बढी आफ्नो स्वस्थ्यको ख्याल गर्ला ।’

यति भनेपछि सहभागीबीच हाँसो छायो ।

नो मनी ब्याक ग्यारेन्टी

२०५१ सालमा जस्तो लाग्छ । म धरानमा आइकम पढ्थेँ । जुत्ता किन्न एक पसलमा गएको थिएँ । पसलमा भएमध्ये मन परेको जुत्ता छनौट गरेँ । पैसा तिर्नुअघि पसलेलाई ‘जुत्तामा कुनै ग्यारेन्टी छ कि !’ भनी प्रश्न राखेँ ।

व्यवसायमा ग्यारेन्टी र वारेन्टीका कुरा आइरहन्छन् । विक्रेतालाई क्रेताले यस्तो प्रश्न सोध्नु सामान्य नै हुने गर्छ ।

मेरो प्रश्नमा पसलेले जवाफ दिए, ‘ग्यारेन्टी छ ।’

मैले थप जिज्ञासा राखेँ, ‘कस्तो र कति समयको ग्यारेन्टी ?’

उनले भने, ‘यो जुत्ता मेरो पसलमा हुन्जेल ग्यारेन्टी छ तर पैसा तिरेर पसलबाट निस्किसकेपछि नो ग्यारेन्टी । नो वारेन्टी ।’

सेयरमा गरिने लगानी पनि यी पसलेले भने भन्दा फरक छैन ।

‘के यहाँ तपाईं हामीले लगाएको पैसा वा साँवाको कुनै ग्यारेन्टी छ ?’

छ । तपाईंले किन्नका लागि क्लिक गरेको मूल्यको ग्यारेन्टी छ । तपाईंले बेच्नलाई क्लिक गरेको मूल्यको ग्यारेन्टी छ । किन्नका लागि तपाईंले तिरेको कुल पैसा निश्चित छ र त्यो ग्यारेन्टेड पनि छ तर किनिसकेपछि सेयर मूल्यले लिने दिशाको कुनै ग्यारेन्टी छैन । यो जता पनि जान सक्छ । यो बढ्न पनि सक्छ, घट्न पनि सक्छ । तपाईंले बिक्री गर्दा किन्दा तिरेको मूल्य पुरै फिर्ता आउछ नै भन्ने कुनै निश्चितता छैन । सेयर बजारले त्यसको कुनै ग्यारेन्टी गर्न सक्दैन । बढी आउन पनि सक्छ । कम आउन पनि सक्छ । सेयर किन्नका लागि लगाएको पैसा शतप्रतिशत फिर्ता आउँछ भन्ने ग्यारेन्टी न ब्रोकरले गर्न सक्छ न कम्पनीले न त बजारले नै । यसैले सेयर बजारमा ‘नो मनी ब्याक ग्यारेन्टी’ । जोखिम लगानीकर्ता आफैँले उठाउने हो ।

सकारात्मक बढी पढिन्छ

‘कोशी नदीको पुल निर्माण कार्य सम्पन्न’ । खर्बौंको अर्थतन्त्र चलायमान बनाउन सक्ने यो समाचार टिभीमा आइरहँदा मानिसको खासै ध्यान जाँदैन । तर, कोशीको पुल भाँचिएको समाचार आयो भनेँ ‘ए पख’ । ‘एकछिन हल्ला नगर त’ भनेर सँगै बस्नेलाई थम्थम्याउँदै टिभीतिर ध्यान दिएर हेर्छ र सुन्छ ।

बाटो बनेको समाचार सुनिँदैन या पढिँदैन तर भत्किएको वा पहिरो गएको बढी पढिन्छ । विवाहको समाचार कम पढिन्छ तर सम्बन्ध बिच्छेदका समाचार बढी पढिन्छ । यस्ता उदाहरण धेरै छन्, जहाँ नकारात्मक सूचना र समाचारले मानिसको ध्यान बढी खिचिरहेको हुन्छ, तानिरहेको हुन्छ ।

हामीकहाँ मात्र होइन, संसारमै नकारात्मक समाचार बढी पढिन्छ भने सकारात्मक समाचार कम । तर, सेयर बजारमा ठीक विपरीत हुने गर्छ । जहाँ मानिसहरु सकारात्मक समाचार बढी रुचाउँछन् भने नकारात्मक कम ।

कहिलेकाहीँ म नेप्से परिसूचक घटेको समाचारका लिंक सामाजिक सञ्जालमा सेयर गर्छु, जसका पाठक त्यति देखिँदैनन् । सेयर गरिएको समाचारमा प्रतिक्रिया शून्य जस्तै हुन्छ । जब नेप्से बढेको समाचारको लिंक सेयर गर्छु पाठकको संख्या ह्वात्तै बढेको पाउँछु । कमेन्ट, लाइक, सेयर वा अन्य प्रतिक्रिया बढी नै हुने गर्छ । यस्तै, जब‑जब सेयर बजार बढ्न थाल्छ, आर्थिक अनलाइन र पत्रिका हेर्नेको संख्या र  आर्थिक पत्रिकाको बिक्री ह्वात्तै बढ्छ ।

यसैले सेयर बजार त्यस्तो ठाउँ हो, जहाँ नकारात्मक कम पढिन्छ, सकारात्मक बढी पढिन्छ । नकारात्मक कम रुचाइन्छ, सकारात्मक बढी मन पराइन्छ ।

सेयर बजार घट्दा ब्रोकरको कार्यालय करिब सुनसान हुन्छ । बढ्दा भीड हुन्छ । बढ्दा चोक‑चोक, गल्ली‑गल्ली, पसल‑पसलमा सेयरका कुरा हुन्छन् । घट्दा कतै केही सुनिँदैन । सेयर बजार घट्दा आईपीओमा आवेदन बढ्दैन । सेयर बजार बढ्दा आईपीओमा आवेदन बढ्छ ।

जो कहिल्यै गुमाउँदैनन्

एक मित्रले सेयर कारोबार गर्ने इच्छा व्यक्त गरे र भने, ‘घाटाचाहिँ हुनु भएन है रविन्द्र जी !’

‘सेयर बजार एकोहोरो बढिरहने नभएर घटबढ भइरहने ठाउँ हो । घट्ने पनि भएकाले घाटा नै नहुने ग्यारेन्टी त गर्न सकिन्न । घाटाको सम्भावना त्यत्तिकै रहन्छ,’ मैले भनेँ ।

उनले थप जिज्ञासा राखे, ‘घाटा नै नहुने कुनै उपाय छैन ?’

मैले भनेँ, ‘त्यसका लागि त सेयर ब्रोकर बन्नुपर्छ, जहाँ कारोबार गर्नेलाई नाफा वा घाटा जे भए पनि ब्रोकरको कमिसन सुनिश्चित हुन्छ । लगानीकर्ता नाफामा जाओस् वा घाटामा जाओस् ब्रोकरको कमिसन भने आइरहन्छ । उ कहिल्यै घाटामा जाँदैन ।’

चार्लिज डि इलाइजले आफ्नो पुस्तक ‘विनिङ द लुजर्स गेम’मा लेखेका छन्, ‘सेयर ब्रोकर र म्युचुल फन्ड एजेन्टबीच कन्फ्युज नहुनुहोस्, उनीहरु धेरै राम्रा हुन्छन् तर उनीहरुको काम तपाईंलाई पैसा बनाइदिने होइन । उनीहरुको काम भनेको तपाईंबाट उनीहरुले पैसा बनाउने हो ।’

अझ सरकारलाई कर बुझाउनुभन्दा पनि पहिला ब्रोकर कमिसन बुझाइन्छ । जस्तो कि बेचेको मूल्यबाट खरिद मूल्य र ब्रोकर कमिसन कटाएपछि हुने नाफाबाट बल्ल सरकारलाई कर (पुँजीगत लाभकर) बुझाइन्छ । अझ रमाइलो, घाटा भए सरकारले केही पाउँदैन तर ब्रोकरले कमिसन भने पाइरहेको हुन्छ ।

(सेयर बजार विश्लेषक भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट र सेयर बजारबारे क्यानेडियन सेक्युरिटिज कोर्स पनि गरेका छन् ।)

यो पनि पढ्नुहोस्

सेयरमा बुक बिल्डिङ प्रणाली र सेयर बाँडफाँड

प्रकाशित समय १४:०० बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु