fbpx
corona information

गृहपृष्ठ सेयरमा बुक बिल्डिङ प्रणाली र सेयर बाँडफाँड

सेयरमा बुक बिल्डिङ प्रणाली र सेयर बाँडफाँड

बुक बिल्डिङमार्फत सेयर (धितोपत्र)को प्राथमिक निष्कासन गर्ने नियमावली र निर्देशिका धितोपत्र बोर्डले जारी गरेसँगै प्राथमिक निष्कासन, मूल्य र बाँडफाँडका विषयमा विभिन्न बहस सुरु भएका छन् । मेरो मेसेन्जर बक्समा यस बारेका जिज्ञासाको बाढी नै लागेको छ । सामाजिक सञ्जालका भित्तामा पनि सर्वसाधारणका जिज्ञासा सर्वत्र देखिन्छन् । यी जिज्ञासामध्येका केही जिज्ञासमा के अब अंकित मूल्यमा प्राथमिक सेयर किन्न नपाइने हो ? के अब न्यूनतम् १० कित्ता बाँडफाँड हुँदै आएको व्यवस्था खारेज हुने हो ? अब १० कित्ता सेयर भर्न नपाइने हो ? के अब न्यूनतम् ५० कित्ता सेयरमात्र भर्न पाइने वा न्यूनतम् ५० कित्तामात्र बाँडफाँड हुने हो ? यस्ता धेरै जिज्ञासा राखेको पाइन्छ । यस्तै अर्को महत्वपूर्ण प्रश्न के सबै कम्पनीले बुक बिल्डिङमार्फत मूल्य बढाबढमा मात्र सेयर जारी गर्ने हुन् ?

यस्तै अनेक जिज्ञासा यो लेखमार्फत मेटाउने प्रयास गरिएको छ ।

बुक बिल्डिङ भनेको प्रतिस्पर्धात्मक माध्यमबाट सेयरको मूल्य निर्धारण गरी कम्पनीले सेयर जारी गर्ने प्रक्रिया हो । अहिलेको कानुनी व्यवस्थाअनुसार कुनै कम्पनीले बुक बिल्डिङमार्फत सेयर जारी गर्न चाहे धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त संस्थागत लगानीकर्ताबाट उनीहरुले तिर्न चाहेको मूल्य र किन्न चाहेको सेयर संख्याको आशय (निवेदन) माग गर्छ । यसरी आशय माग गर्दा कम्तीमा १० वटा संस्थागत लगानीकर्ताबाट तिर्न चाहेको मूल्य लिनुपर्ने कानुनी व्यवस्था छ । मानौँ कम्पनीको सेयरलाई १२ वटा संस्थागत लगानीकर्ताबाट तिर्न चाहेको मूल्य र सेयर संख्याको सूची गोप्य रुपमा प्राप्त भयो । संस्थागत लगानीकर्ताबाट प्राप्त यिनै मूल्यका आधारमा कम्पनीले सेयर बिक्रीका लागि एउटा आधार मूल्य तय गर्नेछ ।

आधार मूल्य तय गरेपछि त्यसको २० प्रतिशत कम र २० प्रतिशत बढी गरी अन्तिम बिक्री मूल्यको सीमा निर्धारण गरिन्छ । उदाहरणका लागि आधार मूल्य १५० रुपैयाँ भए यसको २० प्रतिशत कम गर्दा न्यूनतम् मूल्य १२० र २० प्रतिशत बढी गर्दा १८० रुपैयाँ हुन जान्छ । यसकै आधारमा सेयरको बिक्री मूल्यको सीमा न्यूनतम् १२० देखि अधिकतम् १८० रुपैयाँ तय हुन्छ ।

यही सीमाभित्र मूल्य बढाबढ गर्न लगाई जारी गर्न लागेको कुल सेयरको ४० प्रतिशत सेयर कम्पनीले संस्थागत लगानीकर्तालाई बिक्री गर्छ । संस्थागत लगानीकर्ताले १२० देखि १८० रुपैयाँ प्रतिसेयरको बीचमा मूल्य बढाबढ गर्नुपर्ने हुन्छ । मूल्य बढाबढ कम्पनीले गोप्य शिलबन्दी वा नेप्सेको कारोबार प्रणाली कुनै पनि माध्यमबाट गर्न सक्छ । बिक्री बन्द भएपछि सबैभन्दा बढी तिर्नेबाट मागअनुसारको सेयर बाँडफाँड गरिन्छ । जुन मूल्यमा जारी सबै सेयर बिक्री भइसक्छ, त्यसलाई कटअफ मूल्य भनिन्छ । कटअफ मूल्यभन्दा कम मूल्यमा सेयर किन्न चाहने संस्थागत लगानीकर्ताले सेयर प्राप्त गर्दैनन् । बुक बिल्डिङ प्रक्रियाबाट सेयर किनेका संस्थागत लगानीकर्ताले कम्पनीको सेयर स्टक एक्सचेन्जमा सूचीकरण भएको मितिले ६ महिनासम्म बिक्री वा हस्तान्तरण गर्न पाउँदैनन् ।

संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँड गरेपछि कटअफ मूल्यमा १० प्रतिशत छुट गरी सर्वसाधारणलाई बाँकी ६० प्रतिशत सेयर जारी गरिन्छ ।

संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँड गरेपछि कटअफ मूल्यमा १० प्रतिशत छुट गरी सर्वसाधारणलाई बाँकी ६० प्रतिशत सेयर जारी गरिन्छ । उदाहरणका लागि संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँड गर्दा कटअफ मूल्य १५० रुपैयाँ भएछ भने त्यसको १० प्रतिशत कम अर्थात् १३५ रुपैयाँ प्रतिसेयरमा सर्वसाधारणलाई सेयर जारी गरिन्छ । यसरी जारी गरेको सेयरमा सर्वसाधारणले आवेदन दिने न्यूनतम् कित्ता ५० हुनेछ भने सर्वसाधारणले अहिलेको जसरी नै ‘मेरो सेयर’बाट आवेदन दिन सक्नेछन् । सबैलाई ५० कित्ताका दरले दिन पुग्ने भए न्यूनतम् ५० कित्ताका दरले बाँडफाँड गरिन्छ, नपुग्ने भए गोलाप्रथाद्वारा ५० कित्ताका दरले बाँडफाँड गरिन्छ ।

सर्वसाधारणमा रहेको अर्को ठूलो जिज्ञासा के अब कम्पनीले सय रुपैयाँमा सेयर जारी गर्दैनन् ? के सबै कम्पनीले यसरी नै बढी मूल्यमा सेयर जारी गर्छन् ? के अब न्यूनतम् १० कित्ता सेयर बाँडफाँड हुँदैन ? भन्ने रहेको छ ।

सबै कम्पनीले बुक बिल्डिङमार्फत सेयर जारी गर्न सक्दैनन् या पाउँदैनन् । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ अनुसार यसरी सेयर जारी गर्न कम्पनीले चारवटा पूर्व सर्तहरु पूरा गर्नुपर्ने हुन्छ । जस्तैः कम्पनीले विगत तीन वर्षदेखि लगातार खुद नाफा कमाएको हुनु पर्छ, साधारण सभाले बुक बिल्डिङ विधिमार्फत धितोपत्र जारी गर्ने निर्णय गरेको, प्रतिसेयर नेटवर्थ प्रतिसेयर चुक्ता पुँजीको कम्तीमा १५० प्रतिशत रहेको र कम्तीमा औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङको ग्रेड प्राप्त गरेको हुनुपर्छ । यी सर्त पूरा गर्न नसक्ने कम्पनीले बुक बिल्डिङमार्फत सेयर जारी गर्न पाउँदैनन् ।

पूर्वसर्त पूरा गर्न नसक्ने कम्पनीले प्रतिसेयर सय रुपैयाँ वा अंकित मूल्यमा नै सेयर जारी गर्छन् । आवेदन दिने न्यूनतम् संख्या पनि १० कित्ता नै हुन्छ र बाँडफाँड पनि न्यूनतम् १० कित्ताका दरले नै गरिन्छ ।

(सेयर बजार विश्लेषक भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट तथा सेयर बजारका बारेमा क्यानेडियन सेक्युरिटिज कोर्ससमेत गरेका छन् )

यो पनि पढ्नुहोस्

सेयर बजारका डरलाग्दा चार (४) अवस्था

प्रकाशित समय १५:४९ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु