fbpx
corona information

गृहपृष्ठ लिम्बु राष्ट्रको सन्दर्भमा धर्म, संस्कृति, संस्कार र इतिहास

लिम्बु राष्ट्रको सन्दर्भमा धर्म, संस्कृति, संस्कार र इतिहास

किरात र युमा धर्ममध्ये कुन लेख्ने भन्ने आ-आफ्नै तर्क, अडान र अभियान

हिजोआज लिम्बुहरु बीच धर्म, संस्कृति, संस्कार र ईतिहासबारे बहस, छलफल र वादविवाद भइरहेको छ । यसबारेमा विभिन्न व्यक्तिहरुको भिन्न-भिन्न मत र दृष्टिकोणहरु रहन सक्छन् । म चाहिँ विज्ञान पढेको व्यक्ति भएकोले मुन्धुम, धर्म, संस्कृति, संस्कार र ईतिहासलाई वैज्ञानिक कसीको आधारमा पनि हेर्ने गर्छु । आध्यात्मिक विश्वासको आधारमा मात्र हेर्दिनँ । यसर्थ, मैले लेखेको यस लेखमा दुवै पक्ष आध्यात्मिक र वैज्ञानिक विश्वासलाई मिसाएको छु । आलोचना तथा विरोध त आ-आफ्नै विश्वास र दृष्टिकोणबाट गर्न सकिन्छ तर कुनै पनि विषयलाई एउटै विश्वास र दृष्टिकोणबाट मात्र हेरिए एकांकी हुन्छ । यस लेखमा केही विषयहरुलाई आलोचनात्मक रुपमा पनि प्रस्तुत गरिएको छ ।

लिम्बु राष्ट्रको विकास

जेनेटिक विज्ञानअनुसार मानिसमा सर्दै आएको पुर्खाको वंशलाई चिनाउने जीनलाई हाप्लोग्रुप भनिन्छ । आमातिरको ग्रुप चिनाउनेलाई mtDNA र बाबुतिरको ग्रुप चिनाउनेलाई Y-chromosome DNA भन्ने गरिन्छ । लिम्बुहरुमा रहेको जेनेटिकल हाप्लोग्रुपको परीक्षण तथा अध्ययन अनुसन्धान नभएकाले लिम्बु जनसमुदायमा कुन-कुन र को-कोसँग सम्बन्ध राख्ने हाप्लोग्रुपहरु छन् भन्ने कुरा जेनेटिकल्ली भन्न सकिने अवस्था छैन । यति चाहिँ अनुमान गर्न सकिन्छ कि लिम्बुमा चिनियाँ-तिब्बती पुर्खा (Sino-Tibetan Ancestor (STA) र चिनियाँ-स्थानीय आदिवासी पुर्खा (Sino-Local Indigenous Ancestor (SIA) भएका मानव समूहहरु रहेका छन् । लिम्बुहरुको मुन्धुमले वर्णन गरेअनुसार लिम्बु राष्ट्र ३ वटा मानव समूह मिलेर बनेको देखिन्छ । ति ३ वटा मानव समूहहरु हुन्, १. सिन्युक मुदेनसा (ताङसाङथास), २. तेमेनसा (मुनाफेन) र ३. खाम्बोङबा-लुम्बोङबासा । यि तिनै समूहका मानवहरूलाई मुन्धुममा सावायेतहाङसा (सावायेतहाङ सन्तान) भनिएको छ । यि ३ मानव समूहरुको आ-आफ्नो भाषा तथा संस्कृति थियो कि थिएन अहिलेसम्म थाहा हुन सकेको छैन । ति तिनै समूहले याक्थुङ भाषा र संस्कृतिलाई अंगीकार गरे र एउटा राष्ट्रको रुपमा विकास भए । ति तिनै समूहभित्र फरक-फरक वंशहरु भने रहेका छन् भन्ने कुरा उनीहरको ईतिहास र माङ्गेन्ना मुन्धुमले बताउँछ । भाषागत हिसाबले हाल तम्मरखोले, मेवा खोले, फेदापे, आठराई, याङरुपे, पान्थरे र चौबिसेमा बोल्ने तरिका र केही शब्दहरु फरक परे पनि भाषा एउटै छ । तर छथरमा भने २ वटै भाषा बोलिन्छः छथरे र लिम्बु । छथरे भाषा पनि लिम्बु भाषा नै हो तर यो अरुले बुझ्नलाई अलि गाह्रो छ । संस्कृति त सबै क्षेत्र र वंशहरुमा लगभग एउटै छ ।

यि तिन समूहहरुको प्रत्येकको प्रकाशित वंशावलीको आधारमा यि ३ मध्ये खाम्बोङबा-लुम्बोङबासालाई छोडेर बाँकी २ समूह ईस्वीको आठौं/नवौ शताव्दीतिर हाल लिम्बुवान भनिएको भूमिमा आईपुगेको देखिन्छ । सिन्युक-मुदेनसा (स्व. ईमानसिंका अनुसार ताङसाङथास)हरुको समूह सातौं शताव्दीमा तिब्बतमा भएको बौद्ध धार्मिक क्रान्तिका कारण आफ्नो प्राकृत विश्वास (Animism) को अस्तित्व बचाउन बिस्थापनमा परि यो क्षेत्रमा आएको पाईन्छ । यसलाई मुन्धुमले पनि स्पष्ट गर्दछ । आउने क्रममा उपाजोङ, चाङपाजोङ, साम्येजोङ, पावोजोङ, टिङग्रीजोङ, तानाक्जोङ, खाम्पाजोङ हुँदै बिभिन्न ठाउँमा बसाईसराई गर्दै छिटोमा करिब ८/९ शताव्दीतिर लिम्बुवान भनिएको भूमि आईपुगेको अनुमान हुन्छ ।

यि मानव समूहहरु आउनुभन्दा अघि त्यहाँ को थिए ? भन्ने प्रश्न स्वभाविक रुपमा उठ्छ । तिनीहरु आउनुअघि त्यस क्षेत्रको खास-खास ठाउँमा खाम्बोङबा-लुम्बोङबा थिए भन्ने कहानी रहेको छ जो लिम्बु राष्ट्र बन्ने क्रममा लिम्बु राष्ट्रमा विलय भए । यो कुरा सिन्युक मुदेनसाका विभिन्न राजाहरुसँग खाम्बोङबाहरुले लडाई गरेको मुन्धुममा पनि उल्लेख छ । एउटा याद गर्नु पर्ने कुरा के छ भने ति खाम्बोङवा लुम्बोङवा दावी गर्नेहरुको पुस्ता र जनसंख्या विश्लेषण गर्दा भने धेरै संशय/शंका उत्पन्न गराउँछ ।

अहिले कुन धर्म मान्ने र लेख्ने भन्ने वादविवाद भइरहेको छ । फेरि धर्म भनेको नशाजस्तै हुने आध्यात्मिक आस्था र विश्वास भएकाले तिनीहरु जो उक्त धर्म विश्वासमा छन् अरुको कुरा सुन्न पनि सक्दैनन् र चाहँदैनन् पनि । यस अर्थमा यसको समाधान कठिन मात्र होईन असम्भव छ भन्ने ठान्छन कतिपय मानिसहरु । तर असम्भव छ भनेर छोड्न मिल्दैन ।

यसैगरी, तेमेनसा (स्व. ईमानसिं चेम्जोङका अनुसार मुनाफेन)हरु सातौं/आठौ शताव्दीमा गंगा मैदानको दक्षिणतिरबाट कर्णाट वंशी राजाहरुको आक्रमण र युद्धबाट बच्न र पछिल्लो समयमा मुस्लिमहरुको आक्रमण तथा युद्धबाट बच्न उत्तरी भागतिर आउने क्रममा अहिले बसोवास गरेको लिम्बुवान भूमिमा आएको पाईन्छ । यिमध्ये कतिपय नेपाल खाल्डोमा राज्य गर्ने किरात भनिएका राजवंशहरुको शाखा सन्तान पनि हुन सक्छन् । यिनै ३ समुहहरु मिलेर दश लिम्बुवान राज्य निर्माण गरेको कुरा ईतिहास तथा प्रचलित कहावतअनुसार थाहा हुन्छ । यो कुरा तेमेनसा लिम्बु वंशका लिम्बुहरुको मांगेन्ना मुन्धुमले स्पष्ट गर्दछ । प्रमाणहरुले यस्तो देखाउँछ कि तिनीहरु बीच समय-समयमा झै-झगडा भए पनि एकले अर्कोलाई जितेर होईन कि तिनै समूहका मानिसहरु मिलेर दश लिम्बुवान राज्य बनाए र संघीय स्वरुपमा शासन गरे । यस्तो राज्य कहिले निर्माण भयो भन्नेमा भने केही मत-मतान्तर रहेको छ । सायद यस्तो राज्य ईस्वीको १२औं शताव्दीदेखि १७औं शताव्दीको बीचमा कुनै समयमा बन्यो होला भन्न सकिन्छ । तर ईतिहासकार स्व. ईमानसिं चेम्जोङले भने यस्तो राज्य छैटौ शताव्दीदेखि नवौ शताव्दीमा बनेको थियो भनेर उल्लेख गरेका छन् । यो अझै खोजकै विषय छ । त्यही दश लिम्बुवान राज्यकै कारण विभिन्न दिशाबाट आएका मानव समूहहरु परस्परमा विलय भई लिम्बु राष्ट्र र लिम्बुवान राज्य बन्न सक्यो भन्नु पर्ने हुन्छ । यसरी बनेको राज्यको सिमाना विभिन्न समयमा तल-माथि परे पनि पछिल्लो समयमा पश्चिममा अरुण, पुर्वमा टिस्टा/मेची नदी, उत्तरमा हिमाल र दक्षिणमा जलालगढ/भुंडे सिमल हो भन्ने बोलीचालीको प्रचलनमा रहेको छ ।

किरात तथा याक्थुङहाङ लाजे

यही राज्यलाई लिम्बु समाजमा थिबोङ याक्थुङ लाजे भनिआएको प्रचलन छ भने मुन्धुममा याक्थुङ लाजे भनिएको छ । यसरी नै स्व. ईमानसिं चेम्जोङले प्रकाशन गर्नु भएको किरात मुन्धुममा कहीँ याक्थुङहाङ लाजे त कहीँ किरात लाजे भनेर स्पष्ट रुपमा उल्लेख छ । (किरात मुन्धुम, पेज १०४ र १०८) यसरी नै उहाले ‘नाम्धालाम्नु याप्मि सोरिक् फेराआङग चेन्जेलुङमा तेम्बे हे ? यो याक्थुङहाङनु युबेआङग युङेसिल्ले, याक्थुङहाङले खावेसोग थाःक्फुःतु माङङिन्’ भनेर उल्लेख गरी चेन्जेलुङमा तेम्बे (नेपाल कान्तिपुर)का किराती राजाहरुलाई याक्थुङहाङ उल्था गर्नु भएको छ । (पेज १२६) यसलाई आलोचनात्मक रुपमा हेर्नु त छँदै छ तर वादविवाद तथा बहस गर्नेहरुले यो मुन्धुमलाई पनि हेर्छन् कि हेर्दैनन् भन्ने प्रश्न रहन्छ ।

धर्म

सामान्य रुपमा धर्म भनेको आध्यात्मिक आस्था तथा विश्वास हो । धर्ममा २ वटा कुरा हुन्छः आध्यात्मिक आस्था (Spiritual trust) र अर्को सामाजिक-सांस्कृतिक विश्वास प्रणाली (Socio-cultural belief system) । विज्ञानले भने यस्ता आध्यात्मिक आस्था र विश्वासलाई आलोचनात्मक रुपमा हेर्छ । यसमा कतिपय कुरा विज्ञानसम्मत भए पनि धेरैजसो कुराहरु अन्धविश्वास हो भन्ने मान्दछ । लिम्बु समुदायले परम्परागत सामाजिक-सांस्कृतिक तथा आध्यात्मिक विश्वास जे छ त्यही नै मानिरहेता पनि सरकारी लिखत तथा कागज पत्रहरुमा भने समय-समयमा फरक-फरक धर्म लेखेको देखिन्छ । सन् १७७४ (वि.सं. १८३१) पछि राज्यको दबावका कारण लिम्बु समुदायका कतिपयले हिन्दु धर्म लेखे भने फाल्गुनन्दको समयमा कतिपयले सत्यहाङमा धर्म लेखे । वि.सं. २०४८ (ईस्वी १९९१) मा भएको जनगणना भने कतिपयले किरात त कतिपयले हिन्दु धर्म लेखाए । थोरै संख्याले प्राकृत धर्म लेखेको पनि पाईयो । वि.सं. २०५८ को जनगणनामा लिम्बु समुदायले फेरि पनि किरात, हिन्दु र थोरै संख्याले प्राकृत, युमा र क्रिश्चियन धर्म लेख्यो भने वि.सं. २०६८ को जनगणनामा सोही कुरा दोहोरियो तर संख्यात्मक रुपमा थोरै तलमाथि पर्‍यो । वि.सं. २०७८ मा हुने अबको जनगणनामा के लेख्ने भन्ने पनि मस्तिष्क मन्थन भईरहेको छ । मुल विवाद किरात र युमा धर्ममध्ये कुन लेख्ने भन्ने आ-आफ्नै तर्क, अडान र अभियान रहेका छन् ।

मानव अधिकारले धर्मलगायत धेरै विषयहरुमा व्यक्तिगत स्वतन्त्रताको कुरा गर्छ । यो व्यक्तिगत अधिकारको दायरा भित्रको कुरा हो तर हामीहरु सामूहिक मानव अधिकारको कुरा गरिरहेका छौं । सामूहिक भन्नेबित्तिकै समुदाय तथा राष्ट्र (जाति) सँग जोडिन्छ । यस अर्थमा धर्मले हामीलाई २-४ वटा समुदाय बनाउन खोजिरहेको छ । यो दुःखद कुरा हो भने समुदायलाई फुटाउने कार्य हो । रह्यो धार्मिक हिसाबले पनि यो कसरी एउटै समुदाय बनाएर राखि राख्न सकिन्छ भन्ने प्रश्न ज्यादै चुनौतीपूर्ण छ । सम्भवत यो असम्भव पनि होला । यसको लागि निरन्तर बहस र छलफलहरु भइरहनु पर्दछ तर फुटाउने लाईनमा नभएर जुटाउने लाईनबाट ।

मुन्धुमले हामीलाई मानव विकासको क्रममा एक समयमा प्राकृत विश्वास मात्र सिकायो । त्यसैले आज लिम्बु समुदाय भनिएको मानव समूहले त्यस बेला बाली लगाउने पूजा गर्‍यो र सर्वशक्तिमान ताङगेरा निङवाफुलाई सम्झियो । चासोक पूजा गर्‍यो उही सर्वशक्तिमान ताङगेरा निङवाफु र शक्तिशाली प्राकृतिक शक्ति पोरोक्मी याम्फामी माङलाई सम्झिए । उभौली, उधौलीजस्ता विभिन्न पूजा गरे र तिनै सर्वशक्तिमान र प्राकृतिक शक्तिलाई सम्झिए । त्यसपछि, क्रमश: बोन विश्वासको प्रभाव पर्दै गयो र सामानिजम्लाई अंगीकार गर्दै गए । फेदाङवा, येवा तथा साम्बाहरु विकास गरियो भने तिब्बती बौधको प्रभावका कारण मुहिगुम ओङसी (अवतार या औतारी) पनि भित्र्याउने काम गरे । त्यसैगरी, शक्तिको स्वरुपमा युमा, थेवा तथा कप्पोबा माङ / साम्माङ थान्छीङमा (प्रकट हुने) विश्वासलाई अंगीकार गर्ने काम भयो । यिमध्ये कतिपय जेनेटिक स्थानान्तर पनि हो । त्यसपछि हिन्दुहरुको प्रभाव पर्‍यो र हिन्दुहरुका विधिविधानहरुलाई अंगीकार गर्ने काम हुन थाल्यो । त्यसरी नै क्रिश्चियनहरुको प्रभावबाट नशाजन्य जाँड/रक्सी नखाने मूल्यलाई अंगीकार गर्ने काम हुन थाल्यो । यस्तो काम त लिम्बु समुदायमा निरन्तर भइरहेको छ भने अहिले कुन धर्म मान्ने र लेख्ने भन्ने वादविवाद भइरहेको छ । फेरि धर्म भनेको नशाजस्तै हुने आध्यात्मिक आस्था र विश्वास भएकाले तिनीहरु जो उक्त धर्म विश्वासमा छन् अरुको कुरा सुन्न पनि सक्दैनन् र चाहँदैनन् पनि । यस अर्थमा यसको समाधान कठिन मात्र होईन असम्भव छ भन्ने ठान्छन कतिपय मानिसहरु । तर असम्भव छ भनेर छोड्न मिल्दैन । तत्काल सम्भव नभए पनि एउटा कोर्स (बाटो) खडा गर्न सकिन्छ भनेर प्रयास गरिरहन पर्छ । त्यो कोर्स भनेको पारस्परिक अन्तर्क्रिया, बहस र छलफल नै हो ।

मुन्धुममा वर्णन गरिएको घटनाहरुलाई पुष्टि गर्ने अभिलेखहरु पाइँदैन, पाईएको छैन । मुन्धुम पनि स्व. चेम्जोङले अभिलेखीकरण गरेको र अन्यले अभिलेखीकरण गरेको कतिपय ठाउँमा मिलेको देखिन्न । यस अर्थमा, लिम्बु समुदायको इतिहासको आधार संस्कृति, पुरातात्विक वस्तुहरु, सांकेतिक रुपमा अर्थ्याउन सकिने लिखत र केही मिथकहरुलाई लिनु पर्ने हुन्छ । इतिहासकारहरुले लेखेको इतिहास एकको अर्कोसँग धेरै विषयहरुमा मिलेको देखिँदैन अर्थात् परस्परमा बाझिएको पाइन्छ ।

संस्कृति तथा संस्कार

संस्कृति भनेको मानव समूहको क्रमश: विकास हुने क्रममा विभिन्न कठिन परिस्थितिमा जीवन तथा समुदायलाई अघि बढाउन र सहज रुपमा समाजलाई निर्देशित गर्न मानव समूहले विकास गरेको मुल्य र मान्यता हो । यसैले संस्कृतिलाई जीवन, पहिचान तथा सामुदायिक सामाजिक रुपमा रहेको परिधि (घेरा) र सामुदायिक एकताको सुत्र हो भन्ने गरिएको छ । मानवशास्त्रले यस्तो संस्कृतिसँगै संस्कारहरुको विकास नव ढुंगे युगमा (नवपाषाण युगमा) भयो भन्दछ । यो नव ढुंगे युग ईसापूर्व ९,००० देखि २,००० सम्म मानिएको छ । यो युग भनेको मानव समूहले खेती गर्ने, जंगली जनावरहरुलाई घरमा पाल्ने र सामूहिक रुपमा शिकार तथा कन्दमुलहरु बटुल्ने, र अलि स्थिर रुपमा बसोवास गर्न थालेको युग हो । यसैकारण, मानव समूहलाई सामाजिक नियम बनाउनु पर्ने भयो, समाज चलाउन विभिन्न उपायहरुको विकास गर्नु पर्ने भयो । यसरी नै सामाजिक संस्था (Social institution) तथा संस्कृतिको विकास भयो ।

संस्कृतिमा बाहिरीय प्रभाव पर्छ । बाहिरीयाहरुको सम्बन्ध र सम्पर्कले मौलिक संस्कृतिहरुमा बिचलन आउने र ह्रास आउने प्रक्रियाहरु चल्छ । लिम्बु भनिएका समुदायको सन्दर्भमा, यस्तो संस्कृतिको विकास जेनेटिक हिसाबले हालको दक्षिण-पश्चिम चीनको क्षेत्रमा भयो होला जसलाई मुन्धुमले मुनातेम्बे भन्दछ । कोही-कोही मानिसहरु मानवको उत्पति फक्ताङलुको काख ईम्धीरी ईङधाङवाको आसपासमा भएको मान्नेहरु पनि छन् । यो विश्वास विज्ञानसम्मत हुन सक्ने देखिन्न । मुनातेम्बेमा रहेका मानव समूह, त्यहाँ विकास भएको संस्कृति हाल नेपाल भनिएको भूभागमा आईपुग्दासम्ममा केही तल माथि तथा परिमार्जन भए भनेर अनुमान लगाउन सकिन्छ । त्यसलाई १० लिम्बुवान राज्य बनेपछि पुन: बलियो र सुदृढीकरण गर्ने काम भयो भन्ने देखिन्छ । अहिलेको भूमण्डलीकरणको समयमा ति संस्कृति तथा संस्कारहरु झनै लथालिंग भएका छन् । यसले एक समयको बलियो लिम्बु समाज क्रमश: कमजोर र तरल समाजको रुपमा विकास भइरहेको छ । यसलाई बलियो रुपमा राख्न केही त प्रयासहरु भई नै रहेका छन् । तुफान आँधीको बीचमा लिम्बु संस्कृति तथा संस्कारहरुलाई बचाउन हदैसम्मको कोशिस त जारी नै छ ।

इतिहास

इतिहास भनेको के हो भन्नेमा इतिहासकार बीच नै विवाद छ । एकथरी इतिहासकारहरुले इतिहासलाई अभिलेख पाईएदेखि यताको घट्ना क्रमहरुलाई मात्र इतिहासको रुपमा लिन्छन । त्यसभन्दा अघिको मिथकको रुपमा रहेका समयलाई प्रागऐतिहासिक कालको रुपमा लिन्छन् । अर्काथरी इतिहासकारहरुले भने ईतिहासको आधार संस्कृति, पुरातात्विक वस्तुहरु आदिलाई पनि लिन्छन् ।

लिम्बु समुदायको कुरा गर्दा, मुन्धुममा वर्णन गरिएको घटनाहरुलाई पुष्टि गर्ने अभिलेखहरु पाइँदैन, पाईएको छैन । मुन्धुम पनि स्व. चेम्जोङले अभिलेखीकरण गरेको र अन्यले अभिलेखीकरण गरेको कतिपय ठाउमा मिलेको देखिन्न । यस अर्थमा, लिम्बु समुदायको इतिहासको आधार संस्कृति, पुरातात्विक वस्तुहरु, सांकेतिक रुपमा अर्थ्याउन सकिने लिखत र केही मिथकहरुलाई लिनु पर्ने हुन्छ । विदेशी विद्धानहरुलाई छोडेर लिम्बुहरुको ईतिहास लेख्नेहरुमा स्व. प्रेम ब. मावोहाङ, स्व. ईमानसिं चेम्जोङ, शिव कुमार श्रेष्ठ आदि मुख्य छन् । यि इतिहासकारहरुले लेखेको इतिहास एकको अर्कोसँग धेरै विषयहरुमा मिलेको देखिँदैन अर्थात् परस्परमा बाझिएको पाईन्छ । यसमा संस्थागत रुपमा पहल गरी मुन्धुम र इतिहासबारे बहस र छलफल गरी मुन्धुमको सही अभिलेखीकरण र इतिहासको सही लेखन गर्न आवश्यकता रहेको देखिन्छ । यसको साथै इतिहासको आधारको रुपमा रहेको लिम्बु भित्रका विभिन्न वंशहरुको वंशावली लेखन पनि वैज्ञानिक र तर्कसंगत बनाउन आवश्यक छ ।

लिम्बु जातिको इतिहासलाई तर्कसंगत बनाउन जेनेटिक अध्ययनलाई पनि आधार बनाउन जरुरी छ । लिम्बु जाति पनि मंगोलोईड समूह भित्रको एक हाँगा भएकोले मंगोलोईड मानव समुहसँग जोडेर त्यसको उत्पत्ति र बसाईसराई हेर्न र विश्लेषण गर्न जरुरी छ ।

अफ्रिकाबाट बाहिर निस्कँदा माईकोकोन्ड्रीयल हाप्लोग्रप L3 परिवर्तन (Genetic mutation) भएर टर्कीको लेभेन्ट भएर पश्चिमी क्षेत्रमा जानेमा N हाप्लोग्रुप र, यमन र ईथोपियालाई जोड्ने बब एट मण्डपबाट पूर्वी क्षेत्रमा जानेमा M हाप्लोग्रुप विकास भयो । यसैले, बब एट मण्डपदेखि पूर्व लागेका एशियाका मानव समूहमा M हाप्लोग्रुप बचस्र्पशाली भयो भने लेभेन्टदेखि उत्तर तथा पश्चिमतिर लागेका मानव समूहहरुमा N हाप्लोग्रुप बचस्र्पशाली भयो । यसैकारण, यूरोपमा M हाप्लोग्रुप करिब-करिब अनुपस्थित छ भने एशियामा N प्लोग्रुप ज्यादै कमजोर छ । यही M हाप्लोग्रुप भएको मानव समूह पूर्वतिर लागी एशियाको दक्षिण हिमालय क्षेत्रदेखि पूर्वी एशिया तथा पुर्वी-दक्षिण एशिया बीचको क्षेत्रमा जीन परिवर्तन (Genetic mutation) भएर मंगोलोईड जीन अर्थात हाप्लोग्रुपको विकास भयो भन्ने जेनेटिक अध्ययनकर्ताहरुको भनाइ रहेको छ । यहि हाप्लोग्रुपका मानव समूह कोही उत्तर एशिया, पूर्वी एशिया, दक्षिण एशिया र पश्चिम एशियासम्म फैलिए । यही हाप्लोग्रुपका मानव समूह तिब्बतबाट लिम्बुवान क्षेत्रमा प्रवेश गर्ने र बर्मा, आसाम हुँदै भारतीय क्षेत्रमा फैलिएर लिम्बुवान क्षेत्रमा प्रवेश गर्ने मानव समूह नै आजका लिम्बु अर्थात याक्थुङ भनिएका मानव समुह हुन् । मुन्धुमले पनि यही कुरा सावित गर्दछ भने तिब्बति, बर्मी तथा चिनियाँहरुसँग लिम्बुहरुको भाषागत तथा सांस्कृतिक सम्बन्ध र सामिप्यताले पनि यही कुरा पुष्टि गर्दछ ।

आफ्नो सुरक्षाको लागि आदिवासीलाई चुनौती दिन ‘अनादिवासी हौं’ भन्ने गर्दछन् । नेपालको सन्दर्भमा खासगरी केही बाहुन तथा क्षेत्रीहरुले हामी अनादिवासी हौं भन्ने गरेका छन् । नेपालमा पहाडे आर्य बाहुन-क्षेत्रीको आगमन ईस्वीको चौधौँ शताव्दीभन्दा पछि भएको पाईन्छ । यस्तो अनादिवासी विश्वको कुनै कुनामा पनि अब छैन ।

जहाँसम्म आदिवासी लिम्बुबारे बाहिरबाट आएकाहरु कसरी आदिवासी हुन्छन् भन्ने सन्दर्भ छ, सबै मानव समूहहरु अफ्रिकाबाट एक ठाउबाट अर्को ठाउमा बसाईसराई गर्दै अहिलेको ठाउँमा पुगेका हुन् । कोही पनि त्यही उत्पति भएका होईनन् । यसर्थ, आदिवासीलाई २ वटा कुराले निर्धारण गर्दछ । पहिलो हो, आदिमकाल अर्थात ढुंगे युग खासगरी नव ढुंगे युगदेखि नै लगातार बसोबास गरिआएका (Human group continually living in a particular region since ancient time)  मानव समूह, र दोस्रो हो, सो क्षेत्रको पहिलो बासिन्दा (First settler human group in a particular region where they have been living there continually) जहाँ उनीहरुले आफ्नो संस्कृति, संस्कार, आध्यात्मिक विश्वास प्रणाली र जीवन पद्धतिको विकास गरे । लिम्बुहरुको हकमा हाल लिम्बुवान भनिएको भूमिमा उनीहरु जताबाट आए पनि पहिलो बासिन्दा हुन्। यस अर्थमा उनीहरु सो क्षेत्रका आदिवासी हुन् । लिम्बु पनि कतिपयले मंगोल त कतिले भूमिपुत्र त कतिले मुलवासी हौं भन्ने कुरा गर्दछन् ।

मंगोल, भूमि पुत्र तथा मुलवासी

विभिन्न लेख, दस्ताबेज तथा साहित्यहरुले मंगोल (Mongol) भन्ने शब्दको अर्थ २ हिसावले प्रयोग गरेको पाईन्छ । पहिलो, यस शब्दलाई खास मानव जातिय समूह (Ethnic group) बुझाउन प्रयोग भएको पाईन्छ । विकिपेडियाका अनुसार यस शब्दको प्रयोग सर्वप्रथम आठौं शताव्दीमा चीनको ताङ रेकर्डमा सिहुई भन्ने जातिय समूहलाई बुझाउन प्रयोग भएको देखिन्छ । यसको प्रयोग मंगोलियन प्लेटो (Mogolian Plato) मा रहेका केही जातिय मानव समूहलाई बुझाउन प्रयोग भएको छ भने पछिल्लोसमय अर्थात् १३ औ शताव्दीमा यसको प्रयोग चंगेज खानको वैद्यतामा गएर ठोकिन्छ र टुंगिन्छ । दोस्रो, यस शब्दको प्रयोग एक नश्ल (Race) जनाउन प्रयोग भएको देखिन्छ । तर मंगोल र मंगोलोईड (Mongoloid) भनेका फरक-फरक कुरा हुन् र यिनको अर्थ फरक-फरक लाग्छ । वंशाणुगत हिसाबले (Genetically) मंगोल भनेको मंगोलियन प्लेटोमा रहेका मानव समूहहरु जो एक मंगोलोईड जीनबाट परिवर्तन (utation) भएर विभिन्न समूह भए र त्यही रहेकालाई बुझाउन प्रयोग भएको छ । सारमा मंगोल भनेको मंगोलिया भन्ने देशको मानव समूह र मंगोलियन भनेको उनीहरुको राष्ट्रियता हो भन्ने अर्थ दिन्छ । मंगोलोईड (Mongoloid) भनेको मंगोल जीनको मानव समूह विकास हुनुअघि आजभन्दा करिब ५२,००० वर्ष पहिले एशियाको हिमालय क्षेत्रदेखि पूर्वी एशिया र पूर्वी-दक्षिण एशिया बीचको क्षेत्रमा विकास भएको वंश मानव समूह हो जसको वंश परिवर्तन (Genetic mutation) बाट तिब्बत, चीन, मंगोलिया, रुस, जापान, थाईल्याण्ड, बर्मा, आसाम, भारत, नेपाल लगायतमा बसोवास गर्ने धेरै मानव समूहहरु विकास भए र फैलिए । मंगोल मंगोलीयन प्लेटोको मानव वंशीय समूह हो भनेर जान्ने गरिन्छ भने मंगोलोईड भनेको एक ठुलो मानव समूह परिवार हो जसले मंगोलदेखि चिनियाँ, जापानिज, बर्मी, थाई, नागा हुँदै नेपालका चिम्सो आँखा, नेप्टो नाक र चेप्टो अनुहार भएका मानव समूहहरु जसलाई आर्यहरुले किरात भनेका मानव समूह समेतलाई समेट्छ ।

आदिवासीकै अर्थ दिने भूमि पुत्र तथा मुलवासीजस्ता शब्दहरू पनि यत्रतत्र प्रयोगमा छन् । सायद मुलवासीको अर्थ पनि अंग्रेजीमा Native/aborigines नै हो कि तर ठ्याक्कै के हो भन्ने शब्द छ जस्तो देखिन्न । लिम्बुहरुमा उनीहरु बसेको भूमिको ढुंगा माटोबाट जन्मिएकालाई खाम्बोङबासा लुम्बोङबासा भन्ने चलन छ । भूमि पुत्रलाई पनि त्यही अर्थमा प्रयोग गरिएको पाईन्छ । यथार्थमा त्यहीको ढुंगा माटोबाट त मानव उत्पति हुने कुरा सम्भव छैन तर त्यहीको ढुंगा माटोमा हुर्केको बढेको र दरसन्तान बितेको भने हुन्छ । यसर्थ, जुन मानव समूहलाई आफ्ना पुर्वजहरु कता र कहाँबाट आएका हुन् भन्ने कथा तथा इतिहास बताउन सक्दैनन् तिनीहरुलाई नै खाम्बोङसा लुम्बोङसा अर्थात् ‘भूमिपुत्र’ भनिएको देखिन्छ । वंशाणु विज्ञानले वंशाणु जाँच (Genetic test) गरेपछि भूमि पुत्र या अन्य कुनै मानव समूहको बसाईसराई कताबाट र कुन अर्को समुहसँग सम्बन्धित छ भन्ने देखाउने भएकाले तिनीहरुका पुर्खाहरु कतैबाट त्यहाँ आए पनि सो कुरा बिर्सिसकेको हुन्छ र हामी यहीँका भूमिपुत्र या खाम्बोङसा लुम्बोङसा भन्न पुगेका हुन्छन् । हाम्रो देशकै उदाहरण लिँदा पनि थारुलाई भूमि पुत्र भन्ने गरिन्छ जसका पुर्खाहरु कहाँबाट आए भन्ने थाहा थिएन । तर अहिले वंशाणु विज्ञानले वंशाणु जाँच (Genetic test) बाट थारुहरुको ७२% तिब्बतियन (मंगोलोईड) अर्थात् पूर्वी एशियान पुर्खा रहेको देखाएको छ यद्यपि यसमा अरु पुर्खाहरु पनि मिश्रण भएको देखिन्छ । कतिपय भूमि पुत्र भन्नेहरुले हामी मुलवासी हौं भन्ने पनि गरेको देखिन्छ । तर भूमि पुत्र  र मुलवासीमा फरक एउटाले आफ्ना पुर्खा कहाँबाट र कहिले आएका थिए भन्ने कथा तथा इतिहास थाहा पाउँदैन भने अर्कोले थाहा पाए पनि हामी मुल या मुख्य बासिन्दा हौँ भन्ने गर्दछ । मुलवासीलाई धेरैले पुराना बासिन्दाको रुपमा लिने गरेको देखिन्छ । मुलवासीलाई कतिपयले पहिलो बासिन्दाको रुपमा नलिने र कतिपयले आदिमकालदेखि बसेका मानव पुर्खाहरुको सन्तान नहुन पनि सक्ने अर्थमा प्रयोग गरेका छन् ।

सामाजिक क्षेत्रमा अर्को एउटा शब्द अनादिवासी पनि प्रयोगमा छ । अनादिवासीको अर्थ आफ्नो वंश कहाँबाट सुरु भएको भन्ने थाहा नभएको मानव समूह हो । यो त अज्ञानताको अवस्थामा प्रयोग गरिने शब्द हो । विश्वमा भएका सबै मानव समूहको उत्पत्ति तथा बसाइसराईको नालीबेली मानवशास्त्र र वंशाणु विज्ञानले दिन्छ । यस्तो शब्दको प्रयोग धेरैजसो पछिल्लो समयमा खास क्षेत्रमा बसाइसराई गरेर आएकाहरुले आफ्नो सुरक्षाको लागि आदिवासीलाई चुनौती दिन ‘अनादिवासी हौं’ भन्ने गर्दछन् । नेपालको सन्दर्भमा खासगरी केही बाहुन तथा क्षेत्रीहरुले हामी अनादिवासी हौं भन्ने गरेका छन् । नेपालमा पहाडे आर्य बाहुन-क्षेत्रीको आगमन ईस्वीको चौधौँ शताव्दीभन्दा पछि भएको पाईन्छ । यस्तो अनादिवासी विश्वको कुनै कुनामा पनि अब छैन ।

स्व. ईमानसिं चेम्जोङले ‘किरात मुन्धुम’मा सिन्युक लाजेमा सान वंशी राजापछि थिबोङ याक्थुङहाङले आपुंगी राज गरे (पेज ८४) भनेर उल्लेख भएकोलाई साचो मान्ने हो भने दश लिम्बु राजाहरुले राज्य गरेको देश (लाजे) पनि हालको लिम्बुवान नभएर सिन्युक लाजेतिरै हो कि भन्ने देखिन्छ । तर हाम्रोमा दश लिम्बुवानको केही प्रमाणिक कुराहरु भएकोले यो सिन्युक नभएर हालको लिम्बुवान नै हो भन्ने स्पष्ट छ ।

लिम्बुहरुमा आठराजा र दशराजाको कुरा

लिम्बुको ईतिहासमा आठराजा र तिनीहरुको सन्तानको कुरा आउँछ । मुन्धुममा आउने आठ राजा (येतहाङ) र लिम्बुवानको इतिहासमा आउने आठ राजाहरु फरक-फरक समयका फरक-फरक राजाहरु हुन् । मुन्धुमका येत्हाङहरु सृष्टिकालीन समय अर्थात् मुनातेम्बे क्षेत्र आसपासका हुन् भने लिम्बुवानका आठराजा दश लिम्बु राजा (थिबोङ याक्थुङहाङ) हरु भन्दा केही अघिका हुन् । लिम्बुवान इतिहासका आठराजा तथा दश राजाहरु सबै मुन्धुममा वर्णन गरिएका तिनै येत्हाङका सन्तान अर्थात् सावायेत्हाङसा हुन् । तर स्व. ईमानसिं चेम्जोङले ‘किरात मुन्धुम’मा सिन्युक लाजेमा सान वंशी राजापछि थिबोङ याक्थुङहाङले आपुंगी राज गरे (पेज ८४) भनेर उल्लेख भएकोलाई साचो मान्ने हो भने दश लिम्बु राजाहरुले राज्य गरेको देश (लाजे) पनि हालको लिम्बुवान नभएर सिन्युक लाजेतिरै हो कि भन्ने देखिन्छ । तर हाम्रोमा दश लिम्बुवानको केही प्रमाणिक कुराहरु भएकोले यो सिन्युक नभएर हालको लिम्बुवान नै हो भन्ने स्पष्ट छ । लिम्बुवान भूमिमा यिनीहरु कोही मुदेन रुट त कोही बर्मा-आसाम-भारतिय (तेमेन) रुटबाट आए । यि सबै मिलेर तत्कालीन समयको सम्भावित बाहिरिय हस्तक्षेप तथा दबदबालाई विचार गरेर संघीय स्वरुपको दश लिम्बुवान राज्य बनाए । यसलाई भाषागत, सांस्कृतिक र जेनेटिकल (वंशाणुगत विज्ञानको) आधारमा यिनीहरुको सम्बन्ध र सामिप्यतालाई हेर्न सकिन्छ र हेर्नुपर्दछ ।

प्रकाशित समय १४:०६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु