fbpx
corona information

गृहपृष्ठ प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिँदा उपयुक्त हुन्छ : मेटमणी चौधरी

प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिँदा उपयुक्त हुन्छ : मेटमणी चौधरी

२०५४/५५ ताकादेखि अखिलको जिल्ला अध्यक्ष र केन्द्रीय सचिवालय सदस्य हुँदै पार्टीको मूल राजनीतिमा प्रवेश गरेका मेटमणी चौधरी अहिले नेकपाका केन्द्रीय सदस्य छन् । गढवा गाउँपालिका ३ मानपुर स्थायी घर भएका उनी २०५१ सालमा दाङ १ बाट निर्वाचित भगवतीप्रसाद चौधरीका जेठा छोरा हुन् । दिदी शान्ति चौधरी गढवा गाउँपालिका उपाध्यक्ष छिन् । अर्थात् उनको परिवारिक पृष्ठभूमि राजनीति नै हो । अर्थसमिति सदस्य चौधरीले राजनीति शास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् भने अर्थशास्त्रमा स्नातकोत्तर गरिरहेका छन् । २०७४ सालको चुनावमा युवा नेता चौधरी कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको विश्वासपात्र कांग्रेस नेतृ एवं पूर्वसांसद सुशीला चौधरीलाई करिब १४ हजार मतले हराएर केन्द्रीय विधायक बन्न सफल भएका हुन् । सांसद चौधरीसँग पार्टीभित्रको तिक्तता, जनजीविका र विकास निर्माणका सवालमा सरकारका प्रयासलगायतका विषयमा डीआर आचार्यले गरेको कुराकानी :


कम्युनिस्ट पार्टी किन रोज्नु भो ?

कम्युनिस्टले राम्रो गर्छ भन्ने भएर रोजेँ ।

अहिले पनि त्यस्तै लाग्छ ?

लाग्छ । माथि बिग्रिए पनि स्थानीय स्तरमा बिग्रिएको छैन । काम भइरेहको छ । जनता आवासका काम भइरहेका छन् । देशभरबाट फुसका १ लाख छाना हटाउँदै छौँ । कम्युनिस्ट पार्टीका मान्छेले काम गर्छन् भन्ने मनोविज्ञान पनि छ र यथार्थ पनि त्यही हो । तर, ब्युरोक्रेसीका माथिल्लो तहका कर्मचारी र अहिलेका कुनै पनि दलका शीर्ष नेतृत्वबाट परिवर्तनको अपेक्षा छैन । देश बनाउन दृष्टिकोण र कमिटमेन्ट दुवै चाहिन्छ । कुनै पनि शीर्ष नेतामा यी दुवै प्रवृत्ति छैन ।

सरकारका कामकारबाही र पार्टी नेतृत्वप्रति कडा लोचना गरिरहनुभएको , असन्तुष्टिका खास कारण के हुन् ?

सरकारका सवालमा असन्तुष्टिका कारण धेरै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पाएको स्वर्णिम अवसर गुमाइरहनुभएको छ । उहाँले कि त पञ्चायत व्यवस्थाको विरोध गर्नुभो, कि त कांग्रेसको एकतन्त्रीय शासन व्यवस्थाको विरोध गर्नुभो । तर, उहाँलाई यति चाँडै कम्युनिस्ट पार्टीको बहुमतको सरकार बन्ला र यसको नेतृत्व गर्ने ठाउँमा पुगिएला भन्ने अनुमानसमेत थिएन, कल्पना नै थिएन । उहाँमा राजतन्त्र यति चाँडै ढल्ला, त्यसपछि लोकतान्त्रिक गणतन्त्र उन्मुख शासन व्यवस्था आउला र त्यसको अगुवाइ हामीले गर्न पाउँछौँ भन्ने अनुमान नै थिएन । अप्रत्यासित ढंगले आयो । ‘२०६२/६३ सालको आन्दोलन सफल हुनु भनेको बयल गाढामा चढेर अमेरिका पुग्नु जस्तै हो’ भन्ने टिप्पणी उहाँको थियो । उहाँमा कहिल्यै कन्फिडेन्स छैन ।

उहाँमा राजतन्त्र यति चाँडै ढल्ला, त्यसपछि लोकतान्त्रिक गणतन्त्र उन्मुख शासन व्यवस्था आउला र त्यसको अगुवाइ हामीले गर्न पाउँछौँ भन्ने अनुमान नै थिएन ।

खास समस्या के हो ? मुलुकका अप्ठ्यारा के‑के हुन्, विकासका अवरोधक के‑के हुन् ? यो विषयमा सोच्ने र एनालाइसिस गर्नेतिर उहाँ लाग्नु नै भएन । तर, आज हामीले त्यो अवसर पाएका छौँ । यो लास्ट स्टेज हो भन्छु म किनकि कुनै बेला कांग्रेसको सरकार नआए हाम्रो आउन सक्छ भन्ने थियो । तर, यति चाँडै आउला भन्ने थिएन । त्यसकारणले खाली हाम्रो भाषण कहाँनेर पुग्यो भने मञ्चमा उक्लिनेबित्तिकै कि पञ्चायत व्यवस्थालाई गाली गर्‍यो, कि कांग्रेसलाई, पार्टी फरक हुँदा अलिअलि माओवादीलाई । अनि माओवादीका नेता मञ्चमा उक्लिए भने एमालेलाई धेरै गाली गर्ने अनि कांग्रेसलाई कम गाली गर्ने । पञ्चायतलाई थोरै छुने । सबै नेताहरुको दिनचर्या यसरी नै चलिरह्यो । मुलुक बनाउने कुरा हामीले कहिल्यै बोलेनौँ, कहिल्यै जनतालाई न सिकायौँ न त बुझायौँ, बतायौँ । जो सबैभन्दा चर्को स्वरमा बोल्यो त्यही नेता । जेसुकै बोले पनि चर्को बोल्नुपर्‍यो । गाली गरेपछि ठूलो नेता भइयो ।

तर, अब त्यतिले पुग्दैन । देश बनाउनुछ, तपाईं हाम्रो जीवन परिवर्तन गर्नुछ । गरिब जनताको मुहारमा खुसियाली ल्याउनुछ । यो कुरा राख्दा हाम्रो योग्यता र क्षमतामा प्रश्न उठ्ने गर्छ । त्यसैले मैले भने नि केही राम्रो पोलिसी बनाउन थाल्नुस् या कुनै राम्रो काम गर्न थाल्नुस्, अवरोध भइहाल्छ । राम्रा प्रस्तावमा कि ब्युरोक्रेट्सबाट अवरोध हुन्छ कि त नेताबाट । राम्रा प्रस्ताव बिगार्ने, पारित हुन नदिने र पेन्डिङमा राखिदिने खेल हुन्छ । यस्तो हुनुको मुख्य कारण इन्डियन एम्बेसीको पैसा हो । जब तपाईं नुन खानुहुन्छ, नुनको सोझो त गर्नुपर्ने हुन्छ ! केपी कमरेड पनि १४ वर्ष जेल बसेको मान्छे । देश बनाउँछु भन्ने छ होला । तर के छ भने उहाँलाई के‑के भन्न र बोल्न सिकाइन्छ र मूल मुद्दालाई अन्यत्र मोडिन्छ ।

सरकार असफल हुनुका खास कारण यिनै हुन् ?

प्रधानमन्त्री झापाकै, अर्थमन्त्री झापाकै । झापाका त चलाख हुन्छन् भनिन्छ तर देश कसले चलाइरहेको छ भन्ने प्रधानमन्त्री स्वयंलाई थाहा छैन । इन्डियन एम्बेसीबाट सांसदमात्र होइन, ब्युरोक्रयाट्स, सबै खालका सुरक्षा निकाय, ठूला व्यापारीलगायत धेरैले तलब बुझ्छन् । इन्डियाबाट तलब खाने भएपछि इन्डियाको विपक्षमा कुनै पोलिसी बन्न थाल्यो भने त्यसलाई ब्रेक गर्न थालिन्छ । त्यसमा स्वयं नेपालका ठूलो तहका मानिस लाग्छन् । त्यसकारण अहिलेको मनोविज्ञान र यो टप लेभलबाट न मुक्ति सम्भव छ न त देश बन्छ । सबै खालका च्यालेन्ज सहन सक्ने, सामना गर्न सक्ने युवा नेताबाट मात्र देश बनाउन सम्भव छ । पोजेटिभ टाइपको मनोविज्ञान र कमिटमेन्ट भयो भने देश बनाउन सकिन्छ । कुनै बेला नेपाल पस्मिना निर्यातमा विश्वकै उत्कृष्ट देश थियो केही पछि इन्डियनलाई नेपाल प्रवेश गराए नेपालकै व्यापारी र नेताको सहयोगमा नेपालको लोगो लगाएर नक्कली पस्मिना निर्यात गर्न थालपयो । त्यसपछि नेपालको पस्मिना ब्ल्याक लिस्टमा पर्‍यो । नेपालका शासकहरूलाई धेरै लेयरमा अरुले चलाइरहेका हुनछन् । हामी जस्ता नेता आयौँ भने लेयरहरूलाई चिर्न सक्छौँ र मुलुक छोटो अवधिमा बनाउन सक्छौँ ।

सरकार कसरी अघि बढ्नुपर्थ्यो ?

मैले भनेँ नि दुईटै कुरा छ । प्रधानमन्त्रीकै कुरा गरौँ । उहाँ मञ्चमा उक्लिएपछि खासखुस गर्न थालिहाल्नुहुन्छ । उहाँका आफ्ना योजना छैनन् । कांग्रसेलाई गाली गर्ने ठाउँबाट भाषण सुरु गर्नुहुन्छ । समय बच्यो भने माधव नेपाललाई, प्रचण्डलाई । थोरै समय बाँकी रह्यो भने वामदेव कमरेडसम्म आएर कुरा टुङ्ग्याउनुहुन्छ । भनेपछि प्रधानमन्त्री तथा पार्टीको अध्यक्ष जस्तो मान्छेको दृष्टिकोण कहाँ छ ? एकदिन नेपालगन्ज पुगेका बेला ‘मेरा एउटा मान्य हुनुहुन्छ, यस्तो गर्नुहुन्छ’ भनेर मलाई समेत भ्याउनु भो, छाड्नु भएन ।

शासन गर्ने मान्छेको दृष्टिकोण, चिन्तन, विचार नभएपछि यस्तै हुन्छ । सरकार असफल हुनुको मूल कारण यही हो । सांसदलाई गाली गरेर, थर्कारएर हुन्छ ? केही दिनअघि ‘मलाई साथ दिएनौ भने संसद विघठन गरिदिन्छु, तिमीहरुको पदै जान्छ’ भन्नेसम्मका ब्ल्याकमेलिङ भए । यो तरिकाले त देश बन्दैन । उहाँले त ‘मलाई सपोर्ट गर्नुस्, मन्त्री बनाउने तमसुक नै गरिदिन्छु’ भन्नसमेत भ्याउनुभयो । बालुवाटरमा सांसद बोलाएर, कागज तयार पारेर, सिक्नेचर आफैँ गरेर ‘मलाई जोगाउनुस् अबको क्याबिनेटमा तपाईं’ भनिदिनुहुन्छ । सरकारको नेतृत्व गर्ने मान्छे यति हलुका हुने हो ?

एउटा हाइपोथेटिकल प्रश्न गरेँ, तपाईं प्रधानमन्त्री भए के गर्नुहुन्थ्यो  ?

म भए धेरै गर्थें । सुरुमा शीर्ष नेताहरु सबैलाई बोलाएर परामर्श गर्थें । नियमित बोलाउँथेँ । सल्लाह गर्थें । छलफल गर्थें । राजनीतिक निकास र मुलुकको विकासका लागि कुनै दल भन्दिनथेँ । म केवल प्रधानमन्त्री हो, गर्ने त तपाईंहरु नै हो भनेर उहाँहरुको मन जित्थेँ । सबै खालको नीति बनाउने जिम्मा उहाँहरूलाई दिन्थेँ । मेरो आफ्नो दृष्टिकोण लागू गर्ने कुरा त छ नै । तर पनि त्यो दृष्टिकोणलाई थप परिपक्व बनाउन सबैसँग सल्लाह गर्ने, विपक्षी दल अर्थात् शेरबहादुर देउवालाई समेत बोलाएर सुझाव, सल्लाह लिने अथवा अरु विपक्षीलाई पनि बोलाएर उनीहरुलाई नै अधिकतम उपयोग गरेर अघि बढ्थेँ ।

सरकारले जनजीविका विकास निर्माणका सवालमा धेरै काम गर्न सक्ने अवसर गुमाएको सत्य हो ?

हो । प्रधानमन्त्री सोचाइमा संसारको सबैभन्दा बलियो मान्छे पनि म, संसारको सबैभन्दा ठूलो इतिहासविद् पनि म, सबै जानेको म, अरु सबै खतम भन्ने छ । उहाँको सोचाइ कहाँसम्म छ भने शीर्ष नेताहरुलाई बोलाएर सुनाउँदै हुनुहुन्थ्यो रे एकदिन । ‘संसारमा दुईटा शक्तिशाली राष्ट्र छन्‑ एउटा भारत र अर्को अमेरिका । अमेरिकाको राष्ट्रपति व्यापारी हुन् । एक दिन पनि जेल नगएको । राष्ट्रपति पद गएपछि फेरि व्यापार नै गर्न जान्छन् । मोदी एकदिन पनि जेल नबसीकन प्रधानमन्त्री भएको मान्छे । जसको कुनै ठेगान छैन । तर, म जेल पनि बसेको, अहिले हटिहाले फेरि राजनीति । भनेपछि संसारको सबैभन्दा शक्तिशाली मान्छे त मै हुँ नि  !’ प्रचण्ड, माधव नेपाल र बामदेवलाई बोलाएर पुरै वास गर्न प्रयास गर्ने । मान्छेहरुको दिमाग कहाँ छ ? अनि त्यस्तो मान्छेले अगुवाइ गरेपछि देश बन्छ ?

अब के हुन्छ ? सबैले असन्तुष्टि जनाइहेका न् पार्टीभित्र पनि उहाँलाई दबाब छ उल्टै अधिवेशन अन्त्य गरिदिनुभयो संसद् विगठन हुने हो कि भन्नेसम्मका आशंका भए । अबको निकास के देख्नुहुन्छ ?

मैले देखेको छु । अब उहाँले केही दिनमै राजीनामा दिनुहुन्छ ।

राजीनामा दिनेमा विश्वस्त हुनुहुन्छ ?

राजीनामा दिनुहुन्छ । उपाय नै छैन नि ! सकभर उहाँले प्रधानमन्त्रीबाटै राजीनामा दिने होला । नभए पार्टी अध्यक्षको पदबाट कुनै हालतमा दिनुहुन्छ । दुवै ठाउँबाट राजीनामा दिनु सबैभन्दा उपयुक्त हुन्छ । प्रधानमन्त्री भएर देश चलाइरहँदा संसारका अरु देशको पनि नैतिक सहयोग चाहिन्छ । एमसिसी कुनै हालतमा पास गराउनुपर्छ भनिरारहँदा चीन असन्तुष्ट छ । पास गराउन नसक्दा  अमेरिकाले विश्वास गर्न छोड्यो । अहिले भारतसँग निरन्तर टकराव छ । उहाँले तीनवटा मुख्य शक्तिशाली राष्ट्रको नैतिक सहयोग गुमाउनुभयो ।

राजीनामा दिनुहुन्छ । उपाय नै छैन नि ! सकभर उहाँले प्रधानमन्त्रीबाटै राजीनामा दिने होला । नभए पार्टी अध्यक्षको पदबाट कुनै हालतमा दिनुहुन्छ ।

पार्टी अध्यक्षको कुरा गर्ने हो भने सचिवालय नौ जनामा ६ जना एकातिर तीन जना अर्कोतिर । तीन जनामा पनि एक जना उहाँ, अर्को एक जनाको भर छैन । पार्टीको स्थायी कमिटी ४४ जनामा पुरै भाग गर्ने हो भने ३४ र १० छ । केन्द्रीय कमिटीमा मुस्किलले २५ प्रतिशत छैन । संसदीय दलमा त्यो खालको पोजिसन छैन । पार्टीको एंगलबाट पनि र सरकार सञ्चालनमा पनि पूर्णरुपमा असफल । त्यसैले उहाँले थोरै भएको इज्जत बचाउन पनि राजीनामा दिनुपर्छ । राजीनामा दिनुभएन भने पार्टीको बैठक बस्छ । उहाँ आउनुपर्छ । आउनुभएन भने उहाँको राजीनामाको निर्णय हुन्छ । त्यसपछि केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्छ । अनि हेरौँ उहाँले दिनुहुन्छ या हुन्न ?

प्रधानमन्त्रीले राजनामा दिदा भारत हाबी भएको देखिने आशंका भइरहेका छन्, यसलाई कसरी लिनुहुन्छ ?

त्यस्तो होइन । हाम्रो निर्णय हामी आफैँ लिन्छौँ । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा कसरी आइपुग्यो थाहा छ ? केपी ओलीले लिएर आएको हो र ! पक्कै पनि होइन । राष्ट्रपतिले जेठ ३ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्थ्यो । सुझाव‑सल्लाहका लागि बिहान शीर्ष नेताहरुलाई बोलाइयो । माधव नेपालले खोसेर के‑के रहेछ भनेर हेर्दा कालापानी, लिपुलेक, लिम्पियाधुराको विषय नै थिएन । सारा जनताले यो कुरा उठाइरहेका बेला सम्बोधन गर्नुपर्छ भनेर प्रचण्ड, माधव नेपाललगायत सबैको एउटै स्वर भएपछि २६९औँ बुँदामा राखियो । नीति तथा कार्यक्रमको सबैभन्दा राम्रो, सबैभन्दा महत्वपूर्ण बुँदा पुछारमा भए पनि राख्ने काम भयो । केपी कमरेड या राष्ट्रपतिको दिमागमा आएर होइन, अरु नेताको प्रेसरमा आएको हो ।

भनेपछि केपी ओलीको राष्ट्रवादमालाई कसरी ल्यांकन गर्नुहुन्छ यहाँले ?

पुरै खोक्रो राष्ट्रवाद । भारतले नाकाबन्दी गर्‍यो । त्यसबेला पनि एक‑दुई दिन जोरी खोज्नुभयो । पछि सबैले उचाल्न थाले । यो काम नै ठिक रहेछ भनेर सामना गर्नुभयो । अहिले शीर्ष नेताहरुको दबाबमा नक्सा ल्याउनुभयो । ल्याइसकेपछि विपक्षी दल र जनताले प्रशांसा गर्न थाले । ल्याउनुपर्ने चिज रहेछ भनेर भूमिसुधारमन्त्रीलाई नक्सा बनाउन लगाउनुभयो । यी सबै गतिविधिले के देखाउँछ भने उहाँले आजसम्म जेजति गर्नुभयो, आजको पोजिसनमा आइपुग्नुभयो, सबै खोक्रो राष्ट्रवाद हो । जनतालई भ्रमित पारेर, झुट बोलेर यो ठाउँमा आइपुग्नुभयो । केपी ओली जस्तै संसारका धेरै देशका शासक राष्ट्रवादका कुरा लिएर पदमा पुगेका छन् । मोदी राष्ट्रवादकै कुरा लिएर अगाडि आए । ट्रम्प पनि सबलाई हटाइदिन्छु, अमेरिकनमात्र रहन्छन्, रोजगार पाउँछन् भनेर सत्तामा पुगे । केपी ओलीले पनि त्यही गरे । उहाँहरूका लागि राष्ट्रवाद भर्‍याङमात्र हो ।

एक वर्ष अघि २२ युवा नेताको नेतृत्व गर्दै पार्टी र सरकारप्रति असन्तुष्टि जनाउनुभयो, केपी ओलीले समय नदिएपछि महासचिवलाई ज्ञापन पत्र बुझाउनुभयो, फेरि किन सुस्ताउनुभयो ?

हामी सुस्ताएका छैनौँ । सिक्नेचर गराइरहेका छौँ ।

सको सिक्नेचर ?

यति ठूलो समस्या देशमा आइसकेपछि, पार्टीभित्र आइसकेपछि चुपचाप बस्ने भन्ने हुँदैन । स्थायी कमिटीले, सचिवालयले निकास नदिएपछि केन्द्रीय कमिटीमा गएर त्यहाँबाट निकास खोज्ने प्रयास गरिरहेका छौँ ।

प्रधानमन्त्रीले राजीनामा नदिएसम्म चुप बसिँदैन भन्न खोज्नुभएको हो ?

त्यसमा उल्लेख त गरेका छैनौँ तर केन्द्रीय कमिटीको बैठक बसेर त्यहाँबाट निकास खोज्ने भन्ने छ ।

कति जनालाई हस्ताक्षर गराउनुभयो ?

सयजना भन्दा बढी छौँ । पूर्वएमाले मात्रै । पूर्वमाओवादीबाट पनि आउनुहुन्छ ।

हामी सधैँ ऊर्जाशील युवाले मात्र देश बनाउन सक्छ भन्छौँ तर ऊर्जाशील युवा शीर्ष नेताका सिन्डिकेट तोडेर माथि जान सक्दैनन्, किन होला ?

एकैपटक त तोडिन्न नि ! नजिक‑नजिक पुगिँदै छ । हाम्रै महासचिव, उपमहासचिव घनश्याम भुसाल, गोकर्ण विष्ट हुनुहुन्छ, सर्वाधिक भोट ल्याएर आएको मान्छे । धेरै युवा अगाडि आइसकेका छन् । दोस्रो तहमा युवा आउँदैछन् । भीम रावल जस्ता नेता आइसकेका छन् । देशको प्रधानमन्त्री र पार्टीको अध्यक्ष नै भीम रावललाई बनाउनुपर्छ भन्ने खालको बहस सुरु भएको छ ।

एमसिसीको बढी विरोध गरेको भएर हो कि ?

हैन । अरु नै विषयले हो ।

उहाँमा दृष्टिकोण देख्नुहुन्छ ?

उहाँमा छ । उहाँ जस्ता नेताहरू नेतृत्व लिने अवस्था पुग्दै हुनुहुन्छ ।

देश या पार्टीको नेतृत्व लिने बेलामा उहाँ पनि वृद्ध भइसक्नुहोला !

२०१०‑१२ सालको हुनुहुन्छ होला । अब चार‑पाँच वर्ष पालो पाउनुभएन भने अर्को युवा आउनुपर्छ ।

पार्टी अध्यक्ष प्रधानमन्त्री एकै नेता हुन नपाउने व्यवस्था गर्दा पार्टी सञ्चालन र विकास निर्माणका काम सहज ढंगले अघि बढ्ने थिएनन् ?

स्वार्थै स्वार्थ छ । दुनियाँमा एउटै पार्टीमा दुई जना अध्यक्ष देख्नुभएको छ ?

उहाँहरु पालट हो नि !

माथि चाहिँ दुईवटा मुनि चाहिँ एउटै हुनुपर्ने, त्यो पनि भइदिनुपर्ने । कस्तो विडम्बना हो यो ?

संघयतामाथि प्रहार हुन थालेका छन्, नकारात्मक टिप्पणी हुन थालेका छन्, वितृष्णा बढ्दै जाँदा पुरानै पद्धतितिर फर्किनु पर्ने अवस्था त आउँदैन ?

दुईवटा चिज हुँदैन । एउटा पार्टी जुन पोजिसनमा अहिले छ, त्यसबाट पछाडि हट्दैन । कम्युनिस्ट पार्टी अब अगाडि जान्छ । मुलुक संघीयता, लोकतन्त्र, गणतन्त्रमा आधारित जुन शासन व्यवस्था छ, यसबाट पनि पछाडि हट्दैन । बहस, छलफल र टिकाटिप्पणी हुन्छ । कहिलेकाहीँ नेताले नै जरुरी थिएन, बेकारमा ल्याइयो, दबाबमा ल्याइयो भनिदिन्छन् । जनता अन्योलमा पर्छन् तर मुलुक संघीयताबाट पछि हट्दैन । कम्युनिस्ट आन्दोलन पनि पछाडि जाँदैन ।

पार्टी विभाजन हुने सम्भावना कि छैन ?

कम्युनिस्ट पार्टी अब कुनै हालतमा पनि विभाजन हुँदैन ।

आधार के हो त्यसको ?

मुलुकमा कुनै बेला कम्युनिस्ट पार्टी क्षतविक्षत थिए । तपाईंका लागि एउटा, मेरा लागि एउटा । तर, आज सबै कम्युनिस्ट आन्दोलनलाई एउटै बनाउनुपर्छ भन्ने मनोविज्ञानमा पुगेका छौँ । मुलुकलाई क्रमशः दुईवटा पोलमा विभाजन गर्ने‑ एउटा पुँजीवाद र अर्को समाजवाद । त्यसका लागि कम्युनिस्टहरुको एउटा पोल हुनुपर्छ । विगतमा माले र माक्सवादी लेनिनवादीबीच एकता भएर एमाले भयो । आज दुईवटा ठूला कम्युनिस्ट पार्टीबीच एकता गरी नेकपा भयौँ । नेपाल कम्युनिस्ट पार्टी भयौँ । त्यसैले एउटै मूलधार बनाउनुपर्छ भन्ने मनोविज्ञान भइरहेका बेला विभाजन हुन्छ भनेर कल्पना गर्न सक्दैनौँ । चौइटिएर जान सक्छ । कोही मानिस निस्क्रिय बस्न सक्छ । कोही कारबाहीमा पर्न सक्छ तर मूल पार्टी विभाजन हुँदैन ।

प्रचण्ड, माधव नेपाल ली यसमा स्पष्ट छन् ?

हुनुहुन्छ । नेतृत्व यो विषयमा सजग छ । नभए त अहिले क्षतविक्षत भइसक्थ्यो । प्रधानमन्त्री पनि सजग हुनुहुन्छ यसमा । थर्काउने, फकाउने कुरा बेग्लै हो ।

केन्द्रीय तहको बेमेल मनमुटावको असर पार्टीको तल्ला तहसम्म पर्न सक्ने सम्भावना कति देख्नुहुन्छ ?

त्यो त परिहाल्छ नि ! परिरहेको छ ।

यसले पार्टीको दीर्घ जीवनमा असर पार्दैन ?

पार्दैन । यसलाई अन्तरघुलन भन्नुपर्छ । घुलन भइरहेको छ । माओवादीका साथीहरु मलाई राम्रो गर्न खोजिरहेछन्, कुनै ठाउँमा एमालेको साथीहरुले माओवादीका साथीहरूलाई राम्रो गरिरहेका छन् । यो राम्रो पक्ष हो । यसले एक‑अर्कालाई नजिक बनाउने र झन् बलियो बनाउने काम गर्छ ।

स्थानीय तह भ्रष्टचारको अखडा बनेका विभिन्न अध्ययनले देखाएका छन्, युवा नेता हुनुका नाताले स्थानीय तहका कामप्रति कति सन्तुष्ट हुनुहुन्छ ?

हामीले आवश्यक सबै विधेयक ल्याउन सकेका छैनौँ । त्यो विधेयकसँग प्रदेशले सरोकार राख्छ । त्यसैमा टेकेर स्थानीय तहले कानुन बनाउँछन् । आजको स्थानीय पालिका भनेको सबैको लागि नयाँ सिकाइ हो । अभ्यास कसैको छैन । सबै नयाँ भएकाले ठिक कुन हो ? गलत कुन हो ? अख्तियारले समात्ने हो कि भन्ने डर छ । यसको असर विकास निर्माणमा परेको छ । अर्को प्रदेश र संघीय सांसदले स्थानीय तहको सहयोग लिनेभन्दा पनि स्थापित गर्ने हो । तर मनोविज्ञान कस्तो छ भने स्थानीय पालिका सबै हामी चलाउँछौँ । त्यो मनोविज्ञानले काम गरिरहेको छ । त्यसले द्वन्द्व सिर्जना भएको छ । आवश्यक कानुन नबनेकै कारण यस्ता समस्या सिर्जना भएका हुन् । भूमिकाको कुरा गर्ने हो भने त कोरोना संक्रमणको प्रभाव सबै स्थानीय पालिकाले नै थेगिरा’छन् । संघ र प्रदेश सरकारको इज्ज्त पालिकाले धानिरहेका छन् ।

थारु कल्याणकारी सभा, थारु लोकतान्त्रिक संघलगायतका संघसंस्थामा बसेर काम गर्नुभएको छ, यिनीहरूलाई डलरे संस्थाको आरोप पनि लगाइन्छ, के भन्नुहुन्छ ?

म क्लियर थिएँ । मेरो बाबा सुरुदेखि कम्युनिस्ट आन्दोलनसँग जोडिनुभएको हो । त्यसपछि मेरो पुरै परिवार कम्युनिस्ट आन्दोलनमा लाग्यो । म आफू पनि पञ्चायत व्यवस्थादेखि नै यही पार्टीमा लागेको हो । त्यसैले दृष्टिकोणको हिसाबले म क्लियर थिए । म थारु कल्याणकारीको जिल्ला सचिव पनि भएँ । थारु विद्यार्थी समितिको केन्द्रीय कोषाध्यक्ष पनि भए । दुईवटै ठाउँमा आइसकेपछि मैले यो फिल्डलाई आफ्नो फिल्ड बनाउने प्रण गरेँ । त्यसकारण मैले विदेशी पैसा ल्याएर उपयोग, दुरुपयोग गर्नेतिर कहिल्यै लागिन । राजनीतिका लागि त्यो मेरो टेक्ने ठाउँ मात्र थियो । त्यसमा नटेकीकन राजनीतिक सफलता हासिल गर्नै सकिँदैन । जनजाति, थारु लोकतान्त्रिक संघ ठूलो समूह हो । त्यो दृष्टिकोणका साथ आएका कारण, डोनरहरु ल्याउने, विदेशी पैसा भित्र्याउने कुरामा ध्यान कहिल्यै गएन । तर मान्छहरुले गर्छन् । राजकुमार लेखी त्यही गलत गरेका कारण पार्टीबाट बाहिरिनुपर्‍यो ।

तपाई जिल्लामा बौद्धिक नेताका रुपमा चिनिनुहुन्छ, काग्रेसको किल्ला भत्काउनुभयो, मतदाताको यो भरोसा कायम राख्न के गरिरहनुभएको ?

मैले जनताको मनोविज्ञानलाई सधैँ निकै नजिकबाट हेरेको छु । त्यो मनोविज्ञानलाई कहिल्यै टुट्न दिनु हुँदैन भन्ने मेरो दृष्टिकोण हो । त्यसकारण जस्तोसुकै अफ्ठ्यारो, दुःख, समस्या परेका बेला म सधैँ जनतासँगै हुन्छु । कोरोनाको समयमा पनि केन्द्रीय र प्रदेशसभा सांसदमध्ये सबैभन्दा धेरै मैले नै गरेको छु जस्तो लाग्छ । मैले १८ देखि २० लाख रुपैयाँबराबरको त चामल नै बाँडेको छु । अब बाढी र डुबानको समस्या हुनसक्छ, त्यसका लागि पनि गाउँ पुगिहाल्छु ।

स्रोत के हो यहाँको ?

तपाईंसँग एक किलो माग्ने, अर्कोसँग एक बोरा माग्ने, यसरी समन्वय गरेर संकलन गर्छु । भएकाबाट मागेर नभएकालाई दिन्छु ।

माग्दा दिन्छन सहयोग कि ठूला उद्योगी व्यापारसँग लिने ?

जति पनि दिन्छन् । म कहिल्यै भोट किन्दिन । ठूला व्यापारीसँग फस्दिन । मसँग अहिले चेक गर्नुभयो भने एक रुपैयाँ पनि भेट्नुहुन्न । तर पनि २०‑२५ लाखभन्दा धेरैको कारोबार गर्न सफल भएँ ।

स्थानीय स्तरमै संकलन गर्नुहुन्छ ?

स्थानीय स्तरमै । उदाहरणको रुपमा मेरो घरबेटीका छोराछोरी डाक्टर हुनुहुन्छ । उहाँहरुले ठूलो मात्रामा मेडिकल सामान सहयोग गर्नुभो । कसैसँग पाँच क्विन्टल र कसैसँग १० किलो चालम समन्वय गर्ने र मेडिकल सामानसहित लगेर आवश्यक ठाउँमा दिने काम गर्छु । नेतामा सबैभन्दा ठूलो दृष्टिकोण चाहिन्छ । खरको छाना हटाएर टिनको छाना राख्ने निर्वाचनमा मेरो मुख्य एजेन्डा यही थियो । मैले जनतालाई भनेको थिएँ‑ मलाई जिताउनुस् सबको घरबाट खरको छानो हटाएर टिनको छानो लाउँछु । आज त्यो कार्यान्वयन हुँदैछ । कुनै पनि चिज जित्न या पाउनको लागि उससँग पैसा अथवा अकाउन्टमा डिपोजिट हुनुपर्छ भन्ने छैन । दृष्टिकोण छ भने इच्छा शक्ति, प्रतिबद्धता छ भने सबै हुन्छ ।

(तस्बिर : कबेन्द्रकुमार रावल)

प्रकाशित समय १५:५९ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु