fbpx
corona information

गृहपृष्ठ यस्तो हुनुपर्छ सेयरको अनलाइन कारोबार

यस्तो हुनुपर्छ सेयरको अनलाइन कारोबार

सेयरको अनलाइन कारोबार सुरु भएसँगै यसको पूर्णताका बारेमा निरन्तर बहस चलिरहेका छन् । नोवेल कोरोनाभाइरसबाट हुने कोभिड १९ का कारण लकडाउन सुरु भएपछि त यसको आवश्यकता, प्रभावकारिताका बारेमा बहस चुलिएर गएको छ । सेयरको अनलाइन कारोबार गर्ने प्रणाली कस्तो हुनुपर्छ भन्नेमा धेरै थरी बहस भइरहेका छन् ।

अनलाइन कारोबार सुरु भएसँगै ब्रोकरको कामै हुँदैन भन्ने पनि कतिपयले सोचेका छन् तर यसमा सत्यता छैन । जस्तोसुकै विकसित कारोबार प्रणाली भएको देशमा पनि सबै लगानीकर्ताले सेयर किनबेच आफैँ गर्दैनन् । मानिसका व्यस्तता र अज्ञानताका कारण ब्रोकरलाई आदेश दिएर कारोबार गर्नेहरुको संख्या पनि उत्तिकै हुन्छ । कतिपय समयमा नेप्से र धितोपत्र बोर्डका हाकिमहरुको आसय पनि सेयर भएका जति सबैले अनलाइन कारोबार गर्नुपर्छ भन्ने जस्तो देखिन्छ । यो जति मूर्ख सोच केही हुन सक्दैन ।

अनलाइन कारोबार गर्न सकिन्छ भन्दैमा त्यही चलाएर बस्ने मानिसलाई फुर्सद हुँदैन । के चाहिँ सत्य हो भने सेयरको कारोबार आफैँ नगरे पनि अनलाइन युजर नेम र पासवर्ड लिएर कम्तीमा आफ्नो पोर्टफोलियो हेर्न सके राम्रो हुन्छ तर त्यो पनि ज्ञान र प्रविधिको उपयोग गर्ने क्षमता, पहुँचलगायतका कारण सबैमा सम्भव छैन । वास्तवमा, सेयरको अनलाइन कारोबार कस्तो हुनुपर्छ त !

खाता लगइन

लगानीकर्ताले कुनै ब्रोकरकहाँ अनलाइन कारोबार खाता खोलेपछि आफ्नो कारोबार खाता लगइन गर्ने पहुँचका लागि विभिन्न विकल्प दिनुपर्छ । जस्तैः सबैभन्दा राम्रो विकल्प सम्बन्धित ब्रोकरको वेबसाइट र नेप्सेको वेबसाइटबाट आफ्नो ब्रोकर छनौट गरी लगइन गर्न सक्ने विकल्प हो । त्यस्तै खाता लगइन गर्नका लागि केन्द्रीय निक्षेप प्रणाली (सिडिएस), नेपाल धितोपत्र बोर्ड र मर्चेन्ट बैँकका वेबसाइटसँग पनि सहकार्य गर्न सकिन्छ । अनलाइन कारोबार सुरु अवस्थामा भएका कारण पनि धेरै विकल्प पस्कन सक्नुपर्छ । तर, नेप्से यो गर्न सकिरहेको छैन न त धितोपत्र बोर्डका आँखा यसतर्फ पुगेका छन् ।

कारोबार खातामा पैसा सार्ने

अनलाइनमार्फत आफैँ कारोबार गर्ने लगानीकर्ताको हकमा कारोबार खातामा पैसा भएमात्र सेयर किन्न सकिने व्यवस्था गरिनुपर्छ । तर, ब्रोकरलाई आदेश दिएर कारोबार गर्ने संस्थाहरु जस्तैः म्युचुअल फन्डले गर्ने कारोबार भने फरक पनि हुनसक्छ । खातामा पैसा भएपछि मात्र गरिने कारोबारले नक्कली खरिद आदेश राखेर मूल्य प्रभावित गर्ने कामलाई निरुत्साहित गर्छ । हाम्रो सेयर बजारको रोग नक्कली खरिद आदेश हो । नेप्से र बोर्ड दुवै संस्था यो कुरामा पनि आँखा चिम्लिरहेका छन् । यसलाई निरुत्साहित गर्नुको साटो प्रोत्साहन गरेको देखिन्छ ।

सेयर किनबेच गर्नका लागि लगानीकर्ताले कारोबार खातामा पैसा सार्ने सजिलो विकल्पको व्यवस्था गरिनुपर्छ । जस्तैः आफ्नो कारोबार खाता लगइन गरिसकेपछि खातामा पैसा सार्ने (ट्रान्सफर बटनको) विकल्प हुनुपर्छ । जसमा क्लिक गरेपछि खाता रहेको बैंक छान्ने, बैंक खाता लगइन गर्ने र बैंक खाताबाट कारोबार खातामा पैसा सार्ने व्यवस्था हुनसक्छ । यसको विकल्पमा लगानीकर्ताले आफ्नो बैंक खाताबाट ब्रोकरको खातामा पैसा सारेर ब्रोकरले कारोबार खातामा सारिदिने वा स्वतः कारोबार खातामा जम्मा हुने अर्को विकल्प हुनसक्छ । कारोबार खातामा पैसा सारेपछि उक्त पैसा (ब्यालेन्स) खातामा देखिनुपर्छ । उदाहरणका लागि कुनै लगानीकर्ताले कारोबार खातामा ५० हजार रुपैयाँ सारे त्यो पैसा कारोबार खातामा नगद ब्यालेन्समा देखिनुपर्छ । यो पैसा लगानीकर्ताको खातामा देखिए पनि बैंकमा भने ब्रोकरको खातामा जम्मा हुने गर्छ । जसमा लगानीकर्ताले ब्याज पाउन पनि सक्छ, नपाउन पनि सक्छ । यो लगानीकर्ता र ब्रोकरको सम्झौतामा भर पर्छ । ब्याजका लागि ब्रोकरलाई बाध्यकारी बनाइनु हुन्न । यसमा ब्रोकरबीच प्रतिस्पर्धा गर्ने सुविधा दिइनुपर्छ । जुन ब्रोकरले बढी ब्याज दिन्छ, त्यतै लगानीकर्ता जाने वातावरण बनाइनुपर्छ ।

लगानीकर्ताले कारोबार खातामा भएको पैसा बराबर (ब्रोकर कमिसनसहित) सेयर किन्न सक्छ । मानौँ ५० हजार रुपैयाँभन्दा बढीको सेयर किन्न खोजे पैसा नपुग्ने संकेत सिस्टमले दिनुपर्छ । जसले गर्दा किन्न सक्नेभन्दा बढी सेयर सिस्टममा राखेर बढी माग देखाई मूल्य प्रभावित गर्न सक्दैन । ४० हजारको मात्र सेयर किन्दा सेयर किन्नेबित्तिकै ५० हजार ब्यालेन्सबाट ४० हजार घटेर बाँकी १० हजार कारोबार खातामा देखिनुपर्छ ।

लगानीकर्ताले कारोबार खातामा भएको पैसा बैंक खातामा सार्न चाहे ट्रान्सफर बटनमा क्लिक गरिसकेपछि रकम, बैंक र खाता नम्बर छानेर सार्न सक्ने हुनुपर्छ । यो काम ब्रोकरको मध्यस्ततामार्फत वा सिधै बैंकमा सार्न सक्ने बनाइनुपर्छ । पैसा जुन खाताबाट कारोबार खातामा सारिएको हो सोही खातामा सार्न सकिने बनाइनुपर्छ ।

सेयर पोर्टफोलियो

कारोबार खाता केवल बाइ र सेलका लागि मात्र प्रयोग गरिनु हुन्न । कारोबार खाता खोलिसकेपछि त्यसमा आफूसँग भएको पोर्टफोलियो देखिनुपर्छ । सकेसम्म लगानीकर्तालाई एउटै ब्रोकरको सेवा प्रयोग गर्न नियामकले प्रोत्साहित गर्नु उपयुक्त हुन्छ । एकभन्दा बढी ब्रोकरकहाँ खाता खोलेर कसैले कारोबार गर्छ भने पनि त्यसको विकल्प सेवाप्रदायकले दिनुपर्ने हुन्छ । जस्तैः कुनै लगानीकर्ताले ब्रोकर नम्बर ६५ मा अनलाइन कारोबार खाता खोलेर सेयर किनबेच सुरु गर्छन् । उनले आज २ लाख रुपैयाँका तीनवटा कम्पनी नविल, सानिमा र प्रभु बैंकको सेयर किने । उनले किनेको यो सेयर उनको कारोबार खातामा यसरी देखिनुपर्छ ।

यो कारोबार खाता नेप्सेको लाइभ कारोबार मूल्यसँग जोडिनुपर्छ र मूल्य परिवर्तनसँगै नाफा-नोक्सान परिवर्तन हुनुपर्छ । जसलाई मार्क टु मार्केट पनि भनिन्छ ।

कारोबार खाता लगानीकर्ताको डिम्याट खातामा पनि जोडिनुपर्छ । प्रश्न उठ्न सक्छ- डिम्याट खातामा भएको सेयर कसरी कारोबार खातामा देखिन्छ ? तर, यसमा कुनै समस्या छैन । यसका लागि लगानीकर्ताले कारोबार खाता लगइन गरेर डिम्याट खाता नम्बर र डिम्याटको पासवर्ड हालेपछि डिम्याटमा भएको सेयर कारोबार खातामा स्वतः देखिने (लिंक) बनाउन सकिन्छ । दुईवटा डिम्याट खातामा भए अर्को पनि डिम्याट खाता नम्बर र पासवर्ड हालेर त्यो सेयर पनि कारोबार खातामा सजिलै तान्न (एड गर्न) सकिन्छ । अब सबै डिम्याट खातामा भएका सेयर कारोबार खातामा देखिन्छन् । यो नै लगानीकर्ताको पूरा पोर्टफोलियो हुन्छ ।

यस्तै दुईवटा ब्रोकरकहाँ कारोबार खाता भए र डिम्याटबाट सेयर सार्न चाहे के गर्ने भन्ने हुन्छ ? यसका लागि लगानीकर्तालाई विकल्प दिनुपर्छ । जस्तैः कुन-कुन कम्पनी कुन ब्रोकरको कारोबार खातामा देखिने बनाउने भन्ने विकल्प दिन सकिन्छ । तर, एउटै कम्पनीको सेयर दुई फरक कारोबार खातामा बाँडेर देखिने विकल्प सम्भव भएसम्म दिइनु हुँदैन ।

यस्तै अर्को प्रश्न आउन सक्छ । सेयर धितोमा भए के गर्ने ? त्यो पनि सजिलो छ । धितोमा भएको सम्पूर्ण सेयर कारोबार खातामा देखिनुपर्छ वा तानिनुपर्छ । सिस्टममार्फत त्यसलाई नियन्त्रण गर्न सकिन्छ । जस्तैः बिक्री गर्ने बेला सिस्टमले बेच्न मिल्ने र धितोमा रहेको सेयर छुट्याएर देखाउन सक्नुपर्छ । जस्तैः जम्मा २ हजार कित्ता सेयरमध्ये १५ सय कित्ता धितोमा र ५ सय कित्ता फ्रि रहेछ भने लगानीकर्ताले ५०० कित्तासम्म बिक्री गर्दा सिस्टमले केही भन्दैन तर त्योभन्दा बढी बिक्री गर्न खोजे ब्रोकरलाई सम्पर्क गर वा ५०० कित्तामात्र फ्रि छ भन्ने सूचना देखिनुपर्छ ।

धितोमा रहेको सेयर बैंकको स्वीकृति लिएर बिक्री गर्ने र बिक्री गरेको पैसा बैंकलाई बुझाउने अधिकार ब्रोकरलाई दिइनुपर्छ ।

धितोमा रहेको सेयर बैंकको स्वीकृति लिएर बिक्री गर्ने र बिक्री गरेको पैसा बैंकलाई बुझाउने अधिकार ब्रोकरलाई दिइनुपर्छ । ब्रोकरले बैंकबाट स्वीकृति पाएपछि लगानीकर्तालाई बिक्रीका लागि सेयर खुला गरिदिने र पैसा बैंकमा जाने व्यवस्था गरिनुपर्छ । लगानीकर्ताले धितोको सेयर बिक्री गर्नासाथ पैसा लगानीकर्ताको कारोबार खातामा नदेखिई ब्रोकरको खातामा जाने व्यवस्था गरिनुपर्छ । धितोको सेयर बिक्रीका लागि लगानीकर्ताले सिस्टमबाट बैंकलाई सेयर बिक्री गर्न अनुरोध गर्ने, बिक्रीका लागि बैंकले स्वीकृति दिएको सूचना सम्बन्धित ब्रोकर र लगानीकर्तालाई सिस्टममार्फत जाने र ब्रोकरले स्वीकृति दिएपछि लगानीकर्ता आफैँले वा ब्रोकरले बिक्री गर्न सक्ने हुनुपर्छ । डिम्याट खातालाई कारोबार खातामा लिंक गरिसकेपछि कम्पनीले हकप्रद र बोनस दिए डिम्याटमा अपडेट हुनासाथ कारोबार खातामा पनि स्वतः देखिन्छ । यस्तै आइपिओको सेयर पनि त्यसरी नै अपडेट हुन्छ ।

सेयर बिक्री

सेयर कारोबार खातामा सेयरको सम्पूर्ण पोर्टफोलियो देखिइसकेपछि लगानीकर्ताले आफूले चाहेको बेला चाहेको कम्पनीको सेयर बेच्न पाउने हुनुपर्छ । खातामा सेयर नभई बिक्री गर्ने वा बिक्री आदेश राख्ने सुविधा दिइनु हुँदैन । यसरी कारोबार खातामा सेयर देखिइसकेपछि डिम्याट खातामा भेरिफाइ गर्नुपर्ने झन्झट रहँदैन । यसले खातामा नभएको सेयर बिक्रीमा देखाएर आपूर्ति बढेको देखाउने र मूल्य घटाउन दबाब दिने विकृतिलाई निरुत्साहित गर्नेछ ।

जस्तैः लगानीकर्तासँग नविलको २० कित्ता सेयर छ, जसमध्ये उसले १० कित्ता बिक्री गर्न चाहे नविलमा क्लिक गरेर सेल बटन थिच्छ । त्यसपछि उसले कित्ता उल्लेख गर्नुपर्छ, मूल्य राख्नुपर्छ । जस्तैः बजार मूल्य वा  सीमा (लिमिट) मूल्य । बिक्री आदेश पूरा गरेपछि सेल कन्फर्म गर्नुपर्छ । बिक्री गर्ने मूल्यमा बजार मूल्य छनौट गरे तत्काल बिक्री हुन्छ । बजार मूल्य नभई सीमा मूल्य भए र राखेको मूल्यमा बजार मूल्य पुगेपछि बिक्री हुन्छ । नभए त्यो आदेश कति दिनसम्म रहने जस्तो १५ दिन वा ३० दिन त्यसको सुविधा दिनुपर्छ । लगानीकर्ताले रद्द नगरे यो आदेश क्युमा बस्छ । आज राखेको आदेश आजलाई मात्र हुने (आजको कारोबार समयपश्चात् रद्द हुने) व्यवस्था अन्याय पूर्ण हुन्छ । आज किनबेच नभएका यस्ता आदेश कारोबार खातामा आदेश (अर्डर) भित्र पेन्डिङ आदेशमा देखिनुपर्छ र रद्द गर्न चाहे रद्द गर्न सकिने व्यवस्था पनि गरिनुपर्छ । खरिद गर्नका लागि पनि यस्तो सुविधा दिनुपर्छ ।

सेयर बिक्री हुनासाथ लगानीकर्ताको पोर्टफोलियोबाट उक्त सेयर संख्या घट्नुपर्छ । जस्तैः २० कित्तामध्येबाट १० कित्ता बिक्री गरेपछि अब कारोबार खाताको पोर्टफोलियोमा नविलको सेयर १० कित्तामात्र देखिनुपर्छ । सबै बिक्री गरे नविलको कित्ता सेटलमेन्ट नहुन्जेल जिरो देखिनुपर्छ । सेटलमेन्ट भइसकेपछि पोर्टफोलियोमा नविल देखिँदैन तर कारोबार इतिहासमा देखिनसक्छ । यस्तै बिक्री हुनासाथ बिक्री भएको पैसा कमिसन घटाएर कारोबार खाताको नगद ब्यालेन्समा देखिन्छ । जुन पैसाले तत्काल अर्को सेयर किन्न सकिन्छ भने कारोबार राफसाफपछि मात्र झिक्न पाउने व्यवस्था गर्न सकिन्छ । जुन कारोबार भएको एक दिन वा दुइ दिन पछि हुनसक्छ ।

तर यसो गर्न किन गाह्रो भइरहेको छ ?

सेयर बजारमा खातामा पैसा भएपछि मात्र किन्न पाउने व्यवस्थाको विरोधी धेरै छन् । यसमा नेप्से र धितोपत्र बोर्डका कर्मचारी पनि पर्छन् किनकि उनीहरु नेप्से र बोर्डका कर्मचारीको नाम भजाएर उधारोमा ब्रोकरकहाँ कारोबार गरेर फाइदा लिन पल्केका छन् । यस्तै अर्को ठूला लगानीकर्ता जो एक दिन भए पनि ढिला पैसा तिर्न पाए बैंकको ओभरड्राफ्टबाट ब्याज बचाउन पल्केका छन् । यी पनि नगद कारोबार गर्न चाहँदैनन् । संस्थासँग विश्वासमा काम हुनसक्छ । जो आफूसँग नगद भएर सेयर किन्न चाहन्छन्, उनीहरुलाई यसले कुनै फरक पार्दैन । तर, खातामा पैसा भएर वा पहिल्यै पैसा बुझाएर सेयर किन्नेको संख्या कति छ भन्ने नेप्से वा धितोपत्र बोर्डले अहिलेसम्म कुनै अध्ययन गरेको देखिँदैन । सेयर बजारमा कति प्रतिशत सेयर ऋण लिएर कारोबार गरिन्छ ? कति ब्रोकरलाई अग्रिम नगद दिएर कारोबार गरिन्छ ? कतिले ब्रोकरसँग उधारो किनेर पैसा नबुझाई बिक्री गरेर कारोबार सम्पन्न गर्छन् ? यसको अध्ययन यी कुनै निकायसँग छैन । अध्ययन नगर्ने अनि भएका अध्ययनअनुसार कानुन नबनाउने कमजोर नियामकको विकृतिको पराकाष्टाका कारण अनेक स्वार्थ समूहको जन्म भएको छ ।

(सेयर बजार विश्लेषक भट्टराईले त्रिभुवन विश्वबिद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट र सेयर बजारका बारेमा क्यानेडियन सेक्युरिटिज कोर्स गरेका छन् ।)

प्रकाशित समय १२:३५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु