fbpx
corona information

गृहपृष्ठ सलह संकटमा संवेदनशीलता अभाव

सलह संकटमा संवेदनशीलता अभाव

sampadakiya-newskarobar

अफ्रिकी महादेशहरुमा फैलिँदै पाकिस्तान हुँदै भारत प्रवेश गरेको सलहको संकटबारे नेपालमा सरकारी तहमा संवेदनशीलताको अभावका कारण अब यो नेपाली किसानका लागि पनि समस्याका रूपमा देखा पर्ने खतरा बढेको छ । नेपालका केही भारदारी विज्ञहरूले कोरोना भाइरसदेखि सलहसम्म गलत सूचना प्रवाहित गरी सरकारलाई प्रभावित गर्ने काम गरेको देखियो । कोरोनाभाइरस महामारी चीनबाट विस्तार हुँदै अन्य मुलुकसम्म फैलिइसक्दा नेपालका ती भारदारी विज्ञले यो भाइरस नेपालमा फैलिन नसक्ने, कसैमा संक्रमण देखा परिहाले पनि सामुदायिक स्तरमा विस्तार नहुने बताउँदै आए तर अहिले न्यून अनुपातमा परीक्षण गर्दा पनि १२ हजारभन्दा बढी नेपालीमा संक्रमण देखापरिसकेको छ । त्यसैगरी अर्काखाले भारदारी विज्ञहरूले नेपालको सीमावर्ती भारतीय प्रान्तहरूमा सलहको प्रकोप देखिइसक्दा नेपालमा आउनै नसक्ने गलत सूचना प्रवाहित गरे । खासगरी उनीहरूले बर्खायाममा सलह विस्तार हुन नसक्ने सुझाव दिएकै आधारमा नेपालमा यसको संकट देखा नै नपर्ने ठोकुवा गरेका हुन् । कृषि मन्त्रालयले जेठ १३ गते गठन गरेको प्राविधिक कार्यदलले प्रतिवेदन दिएको, प्रतिवेदन सबै सम्बद्ध निकायमा पठाइसकिएको र आवश्यक प्राविधिक ज्ञान प्रकाशित गरिसकिएको भनेर झारा टार्ने प्रेस विज्ञप्ति प्रकाशित गरेको छ । यो गैरजिम्मेवारीको पराकाष्ठा हो । किसानका तहसम्म सूचना पुगेकै छैन । कृषि ज्ञानकेन्द्र बल्ल सूचना जम्मा गर्दैछन् । अहिले रुपन्देही, बारा, पर्सा, सिन्धुली, सर्लाही हुँदै चितवनसम्म सलह देखिइसकेको छ । सलहको प्रकोप हाँसोठट्टाको विषय होइन, यसले हरिया वनस्पति सबै ठुटै पारेर बालीनाली सखाप पार्ने भएकाले किसानको चिन्ता बढेको हो ।

सलहको प्रकोप हाँसोठट्टाको विषय होइन, यसले हरिया वनस्पति सबै ठुटै पारेर बालीनाली सखाप पार्ने भएकाले किसानको चिन्ता बढेको हो ।

झन्डै तीन महिनादेखि नै नेपालमा सलह आउन सक्ने सम्भावना केही कृषि विज्ञहरूले औँल्याइसकेका थिए भने त्यसले पुर्‍याउन सक्ने क्षतिबारे समेत अवगत गराएका थिए तर कृषि मन्त्रालय भने नेपालमा मनसुन सुरु भइसकेको अवस्थामा यस किराको प्रवेश हुनसक्ने सम्भावना न्यून भएको भन्दै तयारीविहीन अवस्थामा बसेको थियो । यो आत्मघाती तहको आत्मविश्वास हो । सलह नियन्त्रणका लागि बेलैमा विश्व खाद्य तथा कृषि संगठन (एफएओ)सँग सहयोग र समन्वय गरिएको भए, त्यहाँबाट आवश्यक प्राविधिक सहयोग प्राप्त हुनसक्थ्यो । पाकिस्तान र भारतका केही प्रान्तका किसानले सलह किराको प्रकोपका कारण बालीनाली पुरै संकटमा परेपछि थाल ठटाउने, पटाका पड्काउनेलगायतका उपाय गरी सलह खेदाएका भिडियो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् । आवाजबाट तर्सिएर सलह किरा उड्ने भए पनि योमात्र समाधानको उपाय भने होइन। अझ नेपालको सन्दर्भमा त दसैँतिहारमा समेत पटका पड्काउन निषेध गरिएको अवस्थामा त्यस्ता आवाज निकाल्ने सामानको अभाव छ । सलह नियन्त्रणका लागि जुन किसिमका विषादी विश्व खाद्य तथा कृषि संगठनले सिफारिस गरेको छ, त्यो यसअघि नै भित्र्याएर सरकारले पर्याप्त भण्डारण गराउनुपर्थ्यो ।

यसअघि नै फौजी किराका कारण मकैखेतीमा ठूलो क्षति व्यहोरिसकेका नेपाली किसानलाई सलह संकटबाट बचाउन सरकारले ठोस योजना घोषणा गर्न नसक्नु अर्को विडम्बना बनेको छ । हावा अब पश्चिमतिरबाट बहने भएकाले सलह अब पूर्वमा नफैलने, सानो बथानमात्र भित्रिएकाले अतालिनु नपर्ने, मरुभूमिको सलहजस्तो ठूलो क्षति गर्नेखाले नभएकाले डराउनु नपर्नेलगायतका हचुवा अभिव्यक्तिले किसान आश्वस्त हुन सकेका छैनन् । आजका मितिसम्म फौजी किरा नियन्त्रणका लागि केन्द्रदेखि प्रदेशहरूमा रहेका कृषि मन्त्रालयले समेत कुनै ठोस निरूपणका उपाय ल्याउन सकेका छैनन् । स्थानीय तहहरू कर उठाउनमै व्यस्त छन् । यस्तो अवस्थामा सलह नियन्त्रणका लागि सरकारले के गर्छ भन्ने विषयमा आशा गर्नु र थाल ठट्टाउनुबाहेक अर्को कुनै उपाय छैन । सरकारले अन्य मुलुकसँग सहकार्य गरी सलह किरा नियन्त्रणका लागि प्रभावकारी उपाय तत्कालै कार्यान्वयनमा नल्याउने हो भने भोलि यसैका कारण अर्को ठूलो खाद्य संकट सिर्जना नहोला भन्न सकिँदैन ।

प्रकाशित समय १३:२९ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु