fbpx
corona information

गृहपृष्ठ भारदारी विज्ञका कोरोना चंगुलमा सरकार

भारदारी विज्ञका कोरोना चंगुलमा सरकार

Dr Anup_NewsKarobar

साँच्चै नेपालमा समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएको छैन त? म यसको उत्तर खोतल्ने कोशिस गर्छु । यस विषयमा हाम्रा कहलिएका ठूला विज्ञहरूका मत अत्यन्त भ्रामक र गैर-जिम्मेवार छन् भन्ने मेरो दलील पुष्टि गर्ने प्रयास गर्नेछु । यसको उत्तर किन पनि चाहियो भने यसलाई सरकारले प्राज्ञिक बहसको रूपमा मात्र लिएको छैन। टेस्टको दायरा झन् नखुम्च्याऔं, निश्चित सर्जरीअघि कोभिडको लक्षण नभएकामा पनि रोगका रिस्क फ्याक्टर छन् भने टेस्ट गरेर अस्पताललाई सुरक्षित राखौं भन्दा समुदायमा छैन त्यसैले पर्दैन भन्ने जिकिर हुन्छ।

समुदायमा कति फैलेको छ भन्ने बारे सत्य आँकडा सायद जनसङ्ख्याको ठूलो प्रतिनिधि-हिस्साको निश्चित अन्तरालमा पिसिआर जाँच गरिरहने गर्दा नै पाइन्छ। त्यसो नगर्दा अर्को उपाय त्यस्तो प्रतिनिधि हिस्साको सेरोप्रेभलेन्स स्टडी, अर्थात कोभिडको संक्रमणपछि देखिने प्रोटिन कति जनामा छ हेर्ने हो। तर सेरोप्रेभलेन्स वा समुदायव्यापी पिसीआर यहाँ भएको छैन।अनि कसरी समुदायमा फैलिन थाले-नथालेको थाहा पाउने त ? केही परोक्ष आँकडाबाट यसबारे अनुमान गर्न सक्छौं। बाहिरबाट आउनेसँग वा संक्रमित पुष्टि भएको व्यक्तिसँग सम्पर्क नभएका निकै जनामा संक्रमण भेटिएमा समुदायमै फैलिन थालेको मानिन्छ।

काठमाडौंकै कतिलाई जाँचियो? रिस्क ग्रुप/सेन्टिनेल सर्भेल्यान्स वा सेरोप्रेभलेन्स कति भए? छानेर विदेशबाट आएकामा र तिनका वरिपरि गरेका टेस्टका आधारमा संक्रमण फैलेको छैन भन्न महामारी शास्त्रले सिकाउँछ?

काठमाडौंमा गत ५-६ हप्तामा देखिएका निकै जना संक्रमितको कमसे कम पत्रिकामा छापिएका रिपोर्टबाट बुझिएसम्म बाहिरबाट आएका वा काठमाडौंमै संक्रमित भनेर चिनिएका कसैसँग सम्पर्क भएको थिएन। विदेशमा जस्तो हरेक संक्रमितको र कन्ट्याक्ट ट्रेसिङको विवरण कतै नराखिएकोले यकीन संख्या भन्न सकिंन।

काठमाडौं उपत्यकामा कोभिडकै कारण मृत्यु हुने व्यक्ति देखिएको पनि १ महिनाभन्दा बढी भइसक्यो। पछि धुलिखेल अस्पतालमा पुगेर मृत्यु पुष्टी हुने सिन्धुपाल्चोककी महिलाको कि गोंगबु क्षेत्र कि शिक्षण अस्पतालमा संक्रमण भएको थियो। सामान्य महामारीशास्त्रीय अंकगणितले के देखाउन सकिन्छ भने कोभिडको कारणले १ जनाको मृत्यु हुँदासम्म त्यो समुदायमा ८०० (मृत्युदर १ प्रतिशत मान्दा) देखि १६०० (मृत्युदर ०.५ प्रतिशत मान्दा) जतिलाई संक्रमण भइसकेको हुन्छ। काठमाडौं उपत्यकामै संक्रमणको स्रोत व्यक्ति थाहा नभएका कम्तिमा २-३ जनाको, सायद बढीको, त्यसरी मृत्यु भइसकेको छ।

काठमाडौंमा केही दिन संक्रमणको बढी जोखिम भएका समूहमा जाँच गर्ने राम्रो काम भको थियो।कामनपाका सरसफाइ कर्मचारीमध्ये ३१ जनामा द्रूत जाँच (आरडिटी)मा आईजीएम पोजिटिभ देखिएको थियो। ठीक छ, यो भरपर्दो जाँच थिएन।मानौं आधा मात्र सही थियो। समुदायमा नफैलिईकनै १५ जनामा चाहिं संक्रमण कसरी भएछ होला?

पदेन विज्ञको कुरा पत्याउने हो भने पहिलेकै साधारण कोरोना भाइरसले गर्दा आरडिटी पोजिटिभ हुन सक्छ। त्यसो भए सायद आईजीजी देखिनुपर्ने, आईजीएम होइन। अनि, आरडिटी दोहोर्‍याउँदा पनि पोजिटिभ भए टेस्टको सत्यता धेरै बढ्छ। केन्द्रीय कारागारका नर्समा दोहोर्‍याएरै पोजिटिभ देखिएको थियो। तिनलाई कसबाट सरेछ?

चैतको पहिलो सातासम्म चीन, मध्यपूर्व, युरोप, अमेरिकाका आगन्तुक लिएर सयौं विमान काठमाडौं उत्रे। १-२ उडानका ३-४ यात्रु लक्षण नभएका संक्रमित पाइएपछि ती उडानका अरुको जाँच भयो। तर बाँकी उडानका हजारौंलाई सायद लक्षण नभएकैले जाँचिएन।के ती कसैलाई संक्रमण थिएन, तिनबाट कसैलाई सरेन होला ?

यदि संक्रमणको सम्भावना भएका त्यस्ता सबैलाई जाँच गरेर, कन्ट्याक्ट ट्रेसिङ गरेर क्वारेन्टिन, आइसोलेशनमा राख्ने गरेको भए पो समुदायमा संक्रमण फैलिन पाएन होला भन्न मिल्थ्यो। त्यस्ता अधिकांशको जाँच त गरिएन, अनि संसारभर देखिएको भाइरसको प्रकृतिविपरीत फैलिएन होला भनेर ढुक्क हुन मिल्छ?

डा मास्के सोध्नुहुन्छः यदि समुदायमै फैलिएको भए किन विदेशमा झैं अस्पतालहरू कोभिडका बिरामीले भरिएका छैनन् ? संक्रमितको संख्या केही अघि घट्दै गएको केरलामा झैं यहाँ पनि फैलिँदैन कि भनेर उहाँले केरलाको ग्राफ सबैतिर देखाउने गर्नुहुन्छ। (मानौं केरलामा चुप लागेर बसेकै भरमा आफैं घटेछ) ।

विश्वलाई हेर्दा, चीनसँग हाम्रोभन्दा धेरै गुणा बढी आवागमन हुने युरोप-अमेरिकी देशमा सायद सयौं-हजारौं संक्रमित व्यक्ति देशका धेरै भागमा हवाई आवागमन बन्द हुनुअघि नै पुगिसकेका हुनाले महामारी पहिले बाक्लियो। तर, त्यता पनि महिनौंसम्म भूमिगतै सल्किरहेको रहेछ बाहिर धुवाँ नदेखिने गरी।

संसारभर महामारी भयावह रूपमा प्रकट हुनुअघि पिसिआरबाट पत्ता लागेका संक्रमित भनेका आइसबर्गको टुप्पो मात्र रहेछन्, र वास्तविक संक्रमितको संख्या परीक्षणबाट देखिएका संख्याभन्दा असाध्यै बढी रहेछन् भन्ने थुप्रै अध्ययनले देखाइसकेका छन्।

तलको ट्विटमा यो झन् बढी स्पष्ट छ।अब किन अस्पताल भरिएनन् भन्ने प्रश्नलाई जवाफः हाम्रो चीनसँग आवागमन त्यति बाक्लो रहेनछ। शुरुमा केही मान्छेसँग संक्रमणका झिल्का पक्कै आए। तर ३-महिने लकडाउनमा भुसको आगो मात्र रह्यो, डढेलो हुन पाएको छैन। तर, हुने दिन टाढा छैन ।

प्रतिप्रश्नः खालि अनुमान मात्र गरेर तर्साउने? खोइ काठमाडौंमा संक्रमित?

उत्तरः काठमाडौंकै कतिलाई जाँचियो? रिस्क ग्रुप/सेन्टिनेल सर्भेल्यान्स वा सेरोप्रेभलेन्स कति भए? छानेर विदेशबाट आएकामा र तिनका वरिपरि गरेका टेस्टका आधारमा संक्रमण फैलेको छैन भन्न महामारी शास्त्रले सिकाउँछ?

बौद्धिक चुनौतीकै रूपमा गाह्रो दलिल नै पेश गरौं भनेर माथि संक्रमण कम पुष्टी भएको काठमाडौंमै समुदायमा फैलिसकेको हुनुपर्छ भन्ने तर्क गरेँ। यहाँ त विज्ञले प्रदेश २, ५, कर्णाली, सुदूरपश्चिम कतै पनि समुदायमा संक्रमण छैन भन्छन्। सुतुरासन लिनेसँग सकिँदैन नै, बाँकीलाई बुझाइरहनु नपर्ला ।

तर, उहाँहरूले त डब्लूएचओजस्तो विज्ञ संस्थाको हवाला पो दिनुभएको छ, नेपालमा समुदायमा संक्रमण छैन भन्नलाई। मेरो जवाफः डब्लूएचओले आफैं महामारी कति फैलिएको छ भन्दिने टेस्ट,अध्ययन गर्छ? कि सरकारले दिने आँकडाकै भरमा अहिलेलाई यति मात्र भन्छौं भन्छ? डब्लूएओका नेपालमा यस्ता महामारीकै विज्ञ कति छन्?

विज्ञहरूको मुख्य समस्या- उहाँलाई लक्षणविनाका संक्रमितको अनुपात कति ठूलो रहेछ भन्ने विगत ३-४ महिनामा खुलेको ज्ञानले केही सिकाएकै छैन। हो, हालसम्म नेपालमा सिकिस्त कम छन् लक्षणविनाका बढी छन्, तर त्यही नै डराउनुपर्ने कुरा हो। शुरुमा हाम्रैजस्तो सबैतिर रहेछ।

भियतनाम, ताइवान, केरलाले झैं शुरुदेखि नै हरेक संक्रमितलाई चिन्न र छुट्टै राख्न मेहेनत गर्नुको साटो “नेपालमा फैलन्न, थोरै प्रतिशत मात्र सिकिस्त हुन्छन्” भनेर मुतको न्यानो ताप्दै बस्यौं भने फैलिँदै गएपछि जब लकडाउनभर घरभित्रै बसेका सिकिस्त हुने जोखिमका व्यक्तिलाई भाइरसले भेट्न थाल्नेछ, तब विज्ञज्यूहरूलाई मुखभरीको जवाफ दिने गरी मृत्युदर पनि बढ्नेछ, तर धेरैको लागि ढिलो भइसकेको हुनेछ।

तसर्थ उहाँहरूलाई अनुरोधः काठमाडौंमै कोही संक्रमितसँग सम्पर्क नभई कोभिडले मृत्यु भएकाबाट बुझ्नुपर्ने कुरा गमौं, देशमा कोभिडले बितेका (अन्यत्र भए नबित्ने) १४-१५ युवालाई सम्झौं, नेपाली जिन बोकेका,  बिसीजी लाएका, लसुन-बेसार खाने, प्रायः युवा १३० जना नेपालीको कोभिडले विदेशमा मृत्यु भइसकेको कुरा सम्झौं, र सोचौं। १० हजार संक्रमित भइसके, यति धेरै नेपालीको मृत्यु भइसक्यो, के देखेपछि भारदारी र सरकारी विज्ञहरूलाई आफ्नो विज्ञताको आइभरी टावरबाट ओर्लिन मन लाग्नेछ?

जनता मूर्ख छन्, सूचना पाउँदा त्यसलाई आँकेर ठीक- बेठीक नठम्याई खालि आत्तिन्छन् भन्ने एलिटिस्ट भ्रम कसैले नपालौं। सरकारले भन्दा पनि सुसूचित जनताले हो, महामारीविरुद्ध जिताउने।धेरै हताहति हुने सम्भावना छैन आफैं भन्ने, सुतुरासन लिने, अनि मूर्ख जनता मास्क नलाई भिड गर्छन् भन्न नपाई है।

आफ्नो बोली र भूमिकाप्रति जिम्मेवार होऔं। भित्रकाले बेसारले ठीक हुन्छ भन्ने, भारदारी विज्ञले फैलेकै छैन, फैलिँदैन भन्ने, सचेत गराउन खोज्नेलाई विषवमन गर्ने, जनताले के बुझ्छन्? भारदारी विज्ञले फैलेकै छैन, फैलन्न भनेपछि सरकारी विज्ञलाई ब्रह्मकवच भैगो, काम सकिगो, दुःख गर्नै परेन।

वर्षौं आलोपालो मन्त्रालयभित्र र बाहिरबाट म्युजिकल चेयर खेल्दा दुवैथरी सरकारी र भारदारी क्रोनी-विज्ञलाई इडीसीडीमा महामारीशास्त्री चाहिन्छ भन्ने पनि हेक्कै भएनछ।“टिबीले,दुर्घटनाले कति धेरै मर्छन्, किन कोभिडकै आतंक फैलाएको?”भन्ने गाली पनि खाइयो।

अन्तमा केही नगर्दा समस्या कति जटिल हुनसक्ट, महामारीबाट धेरै हताहती हुनबाट बच्न के के उपाय कति प्रभावकारी हुन्छन् भन्ने उद्देश्यले गरेको हाम्रो अध्ययनको मनगढन्ते एकसूत्रीय (आतङ्क मच्चाउन खोजेको) वर्णन गर्दै हिँड्नेले चार्ल्स डार्विनको जवाफ पनि मनन गरुन् ।

(डा. सुवेदीका ट्वीट थ्रेडबाट अनुमतिसहित साभार)

 

 

प्रकाशित समय १०:२१ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु