fbpx
corona information

गृहपृष्ठ विश्वव्यापी महामारी र अपांगता क्षेत्रमा यसको असर

विश्वव्यापी महामारी र अपांगता क्षेत्रमा यसको असर

सन् २०१९ को डिसेम्बर ३१ मा चीनको हुबेई प्रान्तबाट सुरु भएर हाल विश्वलाई नै काबुमा राखिरहेको कोरोनाभाइरस (कोभिड १९) संक्रमणले मे २२ सम्ममा विश्वभरका ५२ लाख मानिस संक्रमित भएका छन् । तीमध्ये ३ लाख ३४ हजार ६९८ जनाले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । दक्षिण एसियाली मुलुकहरुमा एक लाख ६४ हजारभन्दा बढी संक्रमित छन् भने ज्यान गुमाउनेको संख्या ५ हजार १४० छ । नेपालमा हालसम्म ४८७ जनामा कोरोना पोजिटिभ देखिएको छ भने तीन जनाले ज्यान गुमाएका छन् ।

महामारीको असर विश्वका धनी, गरिब, विकसित, अविकसित, विकासोन्मुख सबै देश र जनतामा परेको छ । हालसम्मको सांसारिक तथ्यांक हेर्दा यसले वृद्धवृद्धा, दीर्घ रोगीहरु, शरीरमा रोगविरुद्ध लड्न सक्ने क्षमता कम भएकाहरु र धुम्रपानका अम्मलीहरुलाई बढी निशाना बनाएको देखिन्छ । आजसम्म यसबाट अपांगता भएका कति व्यक्ति प्रभावित भए वा कतिको ज्यान गयो भन्ने यकिन तथ्यांक फेला पार्न सकिएको छैन, तथापि विविध कारणले गर्दा अपांगता भएका व्यक्तिहरु प्रत्यक्ष वा परोक्ष रुपमा उच्च जोखिममा रहेको कुरा भने नकार्न सकिन्न । तसर्थ यो महामारीको समयमा उनीहरुलाई विशेष हेरचाहको आबश्यकता पर्छ किनभने उनीहरु यस महामारीबाट जुनसुकै बेला पनि संक्रमित हुनसक्ने खतरा रहन्छ ।

नेपालको जनस्वास्थ्य प्रणालीले त्यति प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको अवस्था, स्वास्थ्य सुविधाहरु अपांगता भएका व्यक्तिहरुका लागि पहुँचयोग्य नभएको, अपांगता भएका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोण, पारिवारिक तथा सामाजिक समावेशिताको कमी, कमजोर आर्थिक अवस्था, उचित पुनःस्थापना तथा जीविकोपार्जनको अभाव, अपांगतासम्बन्धी बनेका नियम कानुनहरुको उचित कार्यान्वयन नहुनु जस्ता कारणले अपांगता भएका व्यक्ति सधैँ पछाडि पर्ने गरेका छन्, जसले उनीहरुलाई सधैँ उच्च जोखिममा राखेको कुरा कसैले पनि नकार्न सक्दैन । तसर्थ, हालको विश्वव्यापी कोरोना व्याधिबाट उनीहरुलाई बचाउन र उनीहरुमा पर्न सक्ने निम्न असर कम गर्न यी कुरामा ध्यान दिनु अत्यन्त जरुरी देखिन्छ :

स्वास्थ्यमा थप समस्या

अपांगता भएका व्यक्तिहरु विभिन्न किसिमका स्वास्थ्य समस्याबाट ग्रसित हुन्छन् । महामारीका कारण उनीहरुले पाउनुपर्ने दैनिक स्याहारसुसार तथा हेरचाह प्रभावित भएमा उनीहरुमा थप समस्या उत्पन्न हुन्छ । प्रेसर सोर, युरिनरी इन्फेक्सन, मानसिक तनाव जस्ता समस्या थपिन सक्छन् । यसबाट उनीहरुलाई बचाउन आवश्यक सेवा तथा सुविधा निरन्तर प्रदान गर्ने, आवश्यक पर्ने मेडिकल सामग्रीहरु थप स्टोर गर्नुका साथै उचित परामर्श र समावेशिताका लागि राज्य, सेवाप्रदायक संघ संस्था तथा अभिभावक र स्वयंसेवकहरुले विशेष ध्यान दिनुपर्ने हुन्छ ।

आर्थिक अभा

महामारी नियन्त्रण तथा बचावटका क्रममा गरिएको लकडाउन एवं सामाजिक दूरी निर्धारणले आयआर्जनका कामहरु प्रायः ठप्प छन् । जसले गर्दा जो रोजगारी एवं स्वरोजगारी गरेर जीविकोपार्जन गरिरहेकाहरू त्यसबाट वञ्चित छन् । यातायातको असुविधा एवं पहुँचका कारण घरपरिबारबाहिर रहेकाहरु चरम आर्थिक समस्यामा परिरहेका छन् । यस्ता व्यक्तिका लागि सरकारी तवरबाट विशेष आर्थिक प्याकेज घोषणा गरी वितरण गर्नु अपरिहार्य छ ।

राहत/ सेवा लिनमा कठिना

लकडाउनको विद्यमान अवस्था र पहुँचका कारण धेरैजसो अपांगता भएका व्यक्तिले राहत प्राप्त गर्न नसकेकोतर्फ सरोकारवालाहरुको ध्यान जान आवश्यक छ । साथै आफ्नो अवस्थाका कारण सरकार र दाताहरुबाट दिइएको राहतसमेत समयमा प्राप्त गर्न नसक्नेहरुलाई विशेष व्यवस्था र प्राथमिकतासहित उपलब्ध गराउनका लागि पहल गर्नुपर्छ । त्यसका लागि स्थानीय सरकारमार्फत अपांगता भएका व्यक्तिहरु पत्ता लगाई उनीहरुलाई आवश्यक पर्ने राहत उनीहरुको घर‑घरसम्म पुर्‍याउने काम सरकार र सरोकारवालाहरुले गर्नुपर्छ । यस विषम परिस्थितिमा विशेष राहत प्याकेज उपलब्ध गराउनुपर्नेमा भत्तासमेत रोकिनु दुर्भाग्यपूर्ण छ ।

सूचनाको कमी

सूचनाको हक सबै नागरिकमा बराबरी भए पनि अपांगता भएका व्यक्ति यसबाट वञ्चित छन् । महामारी नियन्त्रणका लागि उनीहरुलाई सही सूचना दिई विद्यमान परिस्थिति र भइरहेका नियन्त्रण र रोकथामसम्बन्धी उपायहरुको यथार्थ जानकारी गराउनुपर्छ । यसबाट उनीहरुले रोगबारे सही ज्ञान पाउनुका साथै रोकथाममा समेत सहयोग पुग्न जान्छ ।

सेवाप्रदायक संघ संस्था र केन्द्रहरुको व्यवस्थापन

अपांगताका क्षेत्रमा काम गर्ने संघ संस्थाहरुमा आवश्यक पर्ने औषधि र अन्य आवश्यक सामग्री कमि हुन नदिन उचित व्यवस्था गर्नुपर्छ । दैनिक आवश्यक पर्ने सामान कमी भए उनीहरु थप पीडित हुन सक्छन् । यसर्थ उनीहरुले पाउनुपर्ने अति आवश्यकीय सेवाहरु जस्तैः दैनिक रुपमा गर्नुपर्ने ड्रेसिङ, फिजियोथेरापी, अकुपेसनल थेरापी, ग्रुप थेरापी जस्ता अत्यावश्यक सेवा निरन्तर सञ्चालन गर्नुपर्छ । यस्ता बेलामा ग्रुप थेरापी सञ्चालन गर्दा धेरैलाई समेट्न सकिन्छ ।

संक्रमण व्यवस्थापनको कमी

हालसम्म यो महामारीबाट कति अपांगता भएका व्यक्ति संक्रमित भए भन्ने आंकडा प्रस्ट नभए नि यो वर्ग अति उच्च जोखिममा छ । भनिन्छ, ‘रोग लागेपछि उपचार गर्नुभन्दा लाग्न नदिनु नै जाति’ । यही तथ्यलाई मनन गरी अपांगता भएका व्यक्तिलाई यो विनाशकारी रोगबाट बचाउन सके ठूलो उपलब्धि भई उनीहरु यो पीडाबाट छुटकारा पाउँछन् । यसका लागि अपांगता भएका व्यक्तिहरु स्वयं, उनीहरुका घरपरिवार, सेवाप्रदायक संघ संस्था र सोमा कार्यरत कर्मचारीहरु सबैको बिशेष भूमिका रहन्छ । नेपालको सन्दर्भमा, अपांगमैत्री संरचनाको कमी, आइसोलेसन वार्डको छुटै व्यवस्थापन नहुनु र स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीमा अपांगता सेवासम्बन्धी विशेष तालिम नहुनुले पनि यो संक्रमण अपांगता भएका व्यक्तिहरुका लागि अभिषाप बन्नसक्छ । सरोकारवाला निकायहरुले यसबाट पाठ सिकेर आगामी दिनहरुमा समेत अपांगता भएका व्यक्तिहरुका लागि छुट्टै वार्ड र त्यसमा काम गर्ने कर्मचारीहरुलाई विशेष तालिमको व्यवस्था गर्नु आवश्यक छ ।

पिपिई उपलब्धता

कोरोनाभाइरस नियन्त्रणमा पिपिईको अत्यन्तै ठूलो भूमिका रहेकाले यसको उपलब्धता सहज हुन अनिवार्य हुन्छ । पन्जा, मास्क, गाउन, चश्मा, स्यानिटाइजर स्वास्थ्य सामग्रीमा सबैको पहुँचमा हुनुपर्छ ।

संक्षेपमा, अपांगता समस्या होइन, यो त एक अवस्था हो । अपांगता भएका व्यक्तिहरु पनि तपाईं हाम्रै सन्तान हुन् । जब परिस्थिति असहज हुन्छ तब उनीहरुलाई तपाईं हाम्रो सहयोगको बढी आवश्यकता पर्छ । अहिलेको विषम परिस्थितिमा अपांगता भएका व्यक्ति कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा रहेकाले उनीहरुलाई आवश्यक पर्ने सेवाहरु जस्तैः सामाजिक सुरक्षा भत्ता वितरण, विशेष राहात प्याकेज, औषधि र अन्य सहायक सामग्री निःशर्त प्रदान गर्नुपर्छ । साथै, लकडाउन र सामाजिक दूरी कायमका कारणले गर्दा उनीहरुले आफूलाई एक्लो महसुस गरेका हुनसक्छन्, तसर्थ विद्युतीय माध्यमबाट भए पनि उनीहरुसँग कुराकानी गर्ने व्यवस्था मिलाउनुपर्छ ।

यसका साथै महामारीको समय र महामारीपश्चात समेत उनीहरुलाई उच्च प्राथमिकतामा राखी उपचार, आवास, स्वास्थ्य, शिक्षा, रोजगारी तथा पुनःस्थापनाका लागि विशेष सहयोग गर्नु हामी सबैको जिम्मेवारी एवं दायित्व हो ।

(लेखक नेपाल लगायत विश्वका विभिन्न देशमा अपांगता अध्ययन र व्यवस्थापनमा संलग्न छन् ।)

प्रकाशित समय १३:४० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु