fbpx
corona information

गृहपृष्ठ कोरोना महामारीको विश्लेषण र नेपालको अवस्था

कोरोना महामारीको विश्लेषण र नेपालको अवस्था

विश्वमा कोरोनाको अवस्था

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाले बुधबारसम्म ४३ लाख ४४ हजार २१४ मानिस संक्रमित भइसकेका छन्, जसमध्ये २ लाख ९२ हजार ९३६ जनाले ज्यान गुमाइसकेका छन् भने १६ लाख ४ हजार ९३४ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो अवधिमा कोरोनाबाट एकदमै पीडित हुने देश अमेरिका हो, जहाँ सबैभन्दा धेरै १४ लाख ८ हजार ६३६ संक्रमित भएका छन् भने उच्चतम रुपमा ८३ हजार ४२५ व्यक्तिको मृत्यु भइसकेको छ । कुल संक्रमितमध्ये ३२.४६ प्रतिशत संक्रमितको संख्या नै अमेरिकामा छ भने कुल मृत्युमध्ये २८.४४ प्रतिशत मृत्यु अमेरिकामा रहेको छ, यस हिसाबले अमेरिका सबैभन्दा पीडित देश मान्न सकिन्छ ।

जम्मा कोरोनाको महामारी मध्ये १० वटा देशको हिस्सा एकदमै धेरै देखिन्छ । जसमा माथिल्लो चरणबाट हेर्ने हो भने अमेरिका, स्पेन, रुस, बेलायत, इटली, फ्रान्स, जर्मनी, ब्राजिल, टर्की र इरान रहेका छन् । यी देशहरुमा कुल संक्रमितको संख्यामध्ये ७२ प्रतिशत संक्रमित छन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले संक्रमणको हिसाबले चीन एघारौँ स्थानमा झरिसकेको छ र धेरै हिसाबले नियन्त्रणमा छ ।

युरोपको सबैभन्दा पीडित देश स्पेन हो, जहाँ हालसम्म २ लाख ६९ हजार ५२० जनामा संक्रमण देखिसकेको छ, जुन जम्मा संक्रमणको ६.२ प्रतिशत हो । स्पेनमा २६ हजार ९२० व्यक्तिको मृत्यु भइसकेको छ, जुन जम्मा मृत्युको ९.१९ प्रतिशत हो । संक्रमणको हिसाबले युरोपका माथिल्ला दश देशहरुमा स्पेन, रुस, बेलायत, इटली, फ्रान्स, जर्मनी, बेल्जियम, नेदरल्यान्ड, स्विट्जरल्यान्ड र पोर्चुगल हो, जहाँ कुल १४ लाख ४७ हजार ५१९ व्यक्तिमा संक्रमण देखिएको छ, जुन कुल संक्रमणको ३३.९ प्रतिशत हो ।

संक्रमणको हिसाबले एसियाको सबैभन्दा पीडित देश हाल आएर टर्की भएको छ, जहाँ १ लाख ४१ हजार ४७५ व्यक्तिमा संक्रमण देखिएको छ भने ३ ह जार ८९४ व्यक्तिको मृत्यु भइसकेको छ । मृत्युको हिसाबले एसियाको सबैभन्दा पीडित देश इरान हो, जहाँ ५ हजार ७३३ व्यक्तिको कोरोनाको कारणले मृत्यु भइसकेको छ भने जम्मा संक्रमित संख्या १ लाख १० हजार ७६७ छ । संक्रमणको हिसाबले एसियाको माथिल्ला १० देशमा टर्की, इरान, चीन, भारत, साउदी अरब, पाकिस्तान, सिंगापुर, कतार, यूएइ र बंगलादेश छन् । जहाँ जम्मा ४ लाख ३२ हजार २५० व्यक्ति संक्रमित छन्, जुन जम्मा संक्रमणको हिसाबले ९.९५ प्रतिशत हो, जम्मा मृत्यु संख्या १५ हजार २७० छ, जुन जम्मा मृत्युको ५.२१ प्रतिशत हो ।

अफ्रिकाको कुरा गर्दा हालसम्ममा थोरै प्रभाव देखिन्छ । सम्पूर्ण अफ्रिकाको नै कुरा गर्दा जम्मा कोरोना संक्रमितको संख्या ७० हजार ९८४ को हाराहारीमा छ भने जम्मा मृत्यु संख्या लगभग २ हजार ४०७ को हाराहारीमा छ । जम्मा संक्रमितको हिसाबले अफ्रिकामा संक्रमण लगभग १.६३ प्रतिशत हो भने मृत्युको हिसाबले ०.८२ प्रतिशत  मात्र छ ।

अमेरिकाको कुरा गर्दा संक्रमणको हिसाबले माथिल्ला १० देशमा अमेरिका, ब्राजिल, क्यानडा, पेरु, मेक्सिको, चिली, इक्वेडर, कोलम्बिया, डोमिनिक रिपब्लिक, पनामा रहेका छन् । उत्तर र दक्षिण दुवै अमेरिको हिसाबले यी देशहरु रहेका छन् । यसमा जम्मा संक्रमित १८ लाख २० हजार ९९३ रहेका छन् भने जम्मा मृत्यु १ लाख ७  हजार ५६४ रहेको छ । जम्मा संक्रमितको हिसाबले अमेरिकाको यी १० देशमा मात्र ४२.६१ प्रतिशत र मृत्यु ३७.३९ प्रतिशत रहेको छ ।

युरोपभरमा १६ लाख ६५ हजार ३०२ जना संक्रमित भएका छन् भने १ लाख ५४ हजार १३८ जनाको मृत्यु भइसकेको छ । युरोपले जम्मा संक्रमण ३८.९७ प्रतिशत आफ्नो हिस्सामा लिएको छ भने मृत्यु ५३.५९ प्रतिशत युरोपमा मात्र भएको छ । यस हिसाबले जम्मा मृत्युको आधाभन्दा बढी युरोपमा भएको देखिन्छ ।

उत्तर अमेरिकाभरमा १५ लाख २० हजार १९० मा संक्रमण देखिन्छ भने ९१ हजार ३६९ व्यक्तिहरुको मृत्यु छ । यस हिसाबले उत्तर अमेरिकामा जम्मा ३५.५७ प्रतिशत संक्रमित रहेको देखिन्छ भने ३१.७६ प्रतिशत व्यक्तिको मृत्यु भएको देखिन्छ ।

एसियाभरमा ६ लाख ८९ हजार ३०९ व्यक्तिमा संक्रमण देखिएको छ भने २२ हजार ५७२ जनाको मृत्यु भएको देखिन्छ । संक्रमणको हिसाबले एसियामा १६.१३ प्रतिशत संक्रमण देखिन्छ भने कुल मृत्युमा एसियामा ७.८४ प्रतिशत भएको देखिन्छ ।

दक्षिण अमेरिकामा ३ लाख २० हजार ८४३ व्यक्तिमा संक्रमण देखिन्छ भने १७ हजार ०४८ व्यक्तिको मृत्यु भएको छ । यस हिसाबले दक्षिण अमेरिकामा ७.५ प्रतिशत संक्रमण देखिन्छ भने ५.९ प्रतिशतको मृत्यु देखिन्छ ।

प्रभावको हिसाबले सबैभन्दा कम प्रभाव परेको अफ्रिकामा ६७ हजार ७८९ व्यक्तिमा संक्रमण देखिन्छ भने २ हजार ३५५ व्यक्तिहरुको मृत्यु देखिन्छ । यस हिसाबले १.५ प्रतिशत संक्रमण र ०.८१ प्रतिशत मृत्यु देखिन्छ । यसलाई तलको टेबलमा राम्रोसँग देख्न सकिन्छ ।

दक्षिण एसियामा कोरोना संक्रमणको अवस्था

दक्षिण एसियामा कोरोना संक्रमणको हिसाबले भारत धेरै नै पीडित देखिन्छ । भारतमा बिहीबार बिहानसम्ममा ७८ हजार १९४ जनामा संक्रमण देखिएको छ भने २ हजार ५५१ जनाको मृत्यु भइसकेको छ । हालसम्म पनि कोरोना संक्रमण रोक्नका लागि लकडाउन गरिएको छ तर अवस्था त्यति सन्तोषजनक देखिँदैन । दक्षिण एसियामा कोरोनाको स्थितिलाई निम्नानुसारको टेबलबाट प्रस्ट देख्न सकिन्छ :

नेपालमा कोरोनाको अवस्था र चुनौती

नेपालमा कोरोना हालसम्मको स्थिति र अन्य देशको तुलना गर्ने हो भने संख्यात्मक हिसाबले नगन्य नै हो । हाल २४६ जनामा कोरोना संक्रमण देखिएको छ । तर, जसरी नेपालमा कोरोना बढ्दै गइरहेको छ, यसले भयानक स्थिति सिर्जना हुने कुरालाई नकार्न गाह्रो पर्ने देखिन्छ । नेपालको कोरोना भाइरसको फैलावटको हिसावले निम्नानुसारको टेबलबाट प्रस्ट हेर्न सकिन्छ :

कोरोना भाइरसको फैलावटको हिसाबले नेपाल ढुक्क हुने स्थितिमा भने छैन । बुधबार बिहानसम्म जम्मा २१७ वटा कोरोना संक्रमणमध्ये ११८ वटा संक्रमण मात्र ६ दिनमा देखिएको छ । यस हिसाबले हेर्ने हो भने भनि यसले भयानक रुप लिने छाँटकाँट देखाउँछ ।

नेपालमा बुधबार बिहानसम्म १८ हजार ९९० जनामा पिसिआर परीक्षण गरिएको छ, जसमध्ये २१७ मा कोरोनाको संक्रमण देखिएको छ । सो परीक्षणको आधारमा १२ हजार ७८५ जना व्यक्तिहरुलाई क्वारेन्टिनमा राखिएको छ । त्यस्तै २२८ जनालाई आइसोलेसनमा राखिएको छ भने ३३ जना निको भएर घर फर्किसकेको अवस्था छ । परीक्षणको हिसाबले र कोरोना फैलावटको संवेदनशीलतालाई हेर्दा यो परीक्षण सन्तोषजनक भने आफैँमा होइन । परीक्षणको दायरा र परीक्षण बढाउनुपर्ने हाम्रो आवश्यकता देखिन्छ ।

विश्वको कोरोना फैलावटलाई हेर्ने हो भने प्रायः सबै देशमा १०० वटा केस नाघेपछि ३ देखि ४ दिनमा १ हजार ५०० को हाराहारीमा पुगेको छ, नेपालमा पनि टेस्ट जति बढ्छ, त्यति नै संक्रमित भेटिने सम्भावना छ । टेस्ट नहुनु र संक्रमित नभेटिँदैमा नेपालमा संक्रमितको संख्या छैन भन्ने होइन । नेपालमा संक्रमण डरलाग्दो रुपमा फैलिएको अनुमान गर्न सकिन्छ । अब काठमाडौँमा फैलने ज्यादै ठूलो जोखिम छ । नेपालमा कोरोनाले डरलाग्दो रुप लिन सक्ने निम्न कारण छन् :

० भारतमा अत्यधिक मात्रामा कोरोना बढ्दै जानु र नेपाल भारत खुला सिमाना हुनु ।

० भारतबाट सामान आयात गर्नुपर्ने र सोहीमार्फत कोरोना भित्रिन सक्ने ।

० तराईका क्षेत्रहरुमा अहिले नै फैलिसकेको अवस्था र तिनीहरुले अरुलाई सारेको अनुमान गर्न सकिने ।

० काठमाडौँमा अव्यवस्थित बसोबास रहेको र यसले गर्दा सजिलै फैलिन सक्ने अवस्था सिर्जना हुनु ।

० सीमित अस्पताल, स्रोत साधन र सीमित मात्राको टेस्टले गर्दा छिटो‑छिटो फैलने कोरोनालाई रोक्न गाह्रो हुनु ।

० काठमाडौंमा लकडाउन पछिल्लो अवस्थामा खुकुलो पारिनु ।

० विदेशमा धेरै नेपाली कोरोनाबाट संक्रमित हुनु, लकडाउनपछिको अवस्थामा उनीहरुमार्फत कोरोना भित्रिने सम्भावना हुनु ।

नियन्त्रणका उपाय

भारत तथा अन्य देशहरुको स्थिति हेर्दा अहिले पनि नेपालको स्थिति बिग्री नै सकेको अवस्था भने होइन । आजसम्मको स्थितिलाई हेर्दा पनि नियन्त्रण गर्न सकिने अवस्था छ । त्यसका लागि निम्नानुसारका कार्य अविलम्ब गर्नुपर्ने देखिन्छ :

० लकडाउन अझै पनि खुकुलो नपारी दुई हप्तासम्म बढाउने ।

० लकडाउनको अवधिमा टेस्टलाई अत्यधिक रुपमा बढाउने ।

० स्थानीय स्तरमा गाउँ‑गाउँमा हेल्थपोस्टहरुको माध्यमबाट ज्वरो नाप्ने । ज्वरो देखिएमा निगरानीमा राखिहाल्ने ।

० मुख्य रुपमा भारतसँगको बोर्डर क्षेत्रहरुमा आर्मी नै परिचालन गरी कडाइका साथ बोर्डर सिल गर्ने (नेपाल आउने व्यक्तिहरुलाई रोक्ने)

० नेपाल भित्रिने सामानलाई पनि कोरोनामुक्त हुने उपाय अपनाउने ।

० नेपालमा कार्यरत डाक्टर, नर्सहरुलाई प्रोत्साहन तथा सम्मानको व्यवस्था गर्ने ।

० नागरिकहरुलाई कोरोनाप्रतिको संवेदनशीलता उजागर गराउने र नागरिक स्तरबाट सरकारलाई कोरोना नियन्त्रणमा सहयोग गर्ने ।

(नेपाल सरकारका लेखा अधिकृत कार्की हाल सामाजिक सुरक्षा कोषमा कार्यरत छिन् । लेखमा व्यक्त विचार लेखकका निजी विचार हुन् ।)

यो पनि पढ्नुहोस्

कोरोना त्रास : मनोवैज्ञानिक असर र चाल्नुपर्ने कदम

प्रकाशित समय १४:४२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु