fbpx
corona information

गृहपृष्ठ लकडाउनपछिको सेयरबजार

लकडाउनपछिको सेयरबजार

भनिन्छ रित्ता भाँडा धेरै बज्छन् । सेयर बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्ड नामका रित्ता भाँडाहरु लकडाउनसँगै धेरै बझ्न थालेका छन् । लगानीकर्ताबाट हरेक कारोबारमा चर्को रुपमा असुलेको कमिसन बजार विकासमा लगानी नगरी ब्याज र बोनसको लोभमा बैंकमा थन्क्याएर पूर्ण र अपूर्ण अनलाइनको नाममा एक‑अर्काको गाँड कोराकोर गरेर बसेका छन् । जसको मर्कामा जोखिम मोलेर पैसा लगानी गर्ने लगानीकर्तापरेका छन् । नेताको झगडाका कारण जनताले वर्षौंसम्म अविकास, असुरक्षा र अशिक्षामा पिल्सिनुपरेझैँ यी संस्थाको गाँड कोराकोर र अक्षमताका कारण एउटा सुन्दर र सुरक्षित कारोबारको सपना बोकेका लगानीकर्ताले आफ्नो जीवन आशैआशमा बिताउनुपर्ने अवस्था छ ।

जस्तोसुकै परिस्थितिमा पनि नियमित कारोबार दिन र समयमा सेयरबजार खुल्नुपर्छ भन्ने सामान्य सिद्धान्त हो । भारतले के गर्‍यो, चीनले के गर्‍यो वा जापानले के गर्‍यो भन्दा पनि हामीले के गर्‍यौँ भन्ने महत्वपूर्ण हुन्छ । अरु सबैले खोले, हामीले बन्द गर्‍यौँ । अरुले कारोबार गर्न दिए, हामीले दिएनौँ । लकडाउनमा उनीहरु घरमै बसेर बजार खुलाए, चलाए हामी घरमै बसेर बजार बन्द गारइदियौँ । फरक यति हो उनीहरु र हामीमा ।

हामीले बजार खुलाउन नसकेको होइन । बरु हामीले प्रणाली बनाउन नसकेको हो । एक अपूर्ण र देखावटी अनलाइन प्रणालीलाई नेप्से संसारकै उत्कृष्टको संज्ञा दिँदै हिँडेको छ । एउटा प्रेमीले प्रेमिकालाई आकाशको तारा झार्दिने झुटो कल्पना बाँडेझैँ लगानीकर्तालाई कल्पना बाँडिरहेको छ अनि अर्थ मन्त्रालयलाई उल्लु बनाइरहेको छ ।

पूर्ण अनलाइन त्यो हो, जहाँ सेयर बजारमा सरोकार राख्ने चाहे त्यो ब्रोकर होस् वा नेप्से, धितोपत्र बोर्ड, लगानीकर्ता, सिडिएस, मर्चेन्ट बैंक वा बैंक घरमै बसेर सबै काम गर्न सक्छन् । सेयर किनबेचको पूरा चक्र घरबाटै सम्पन्न हुन्छ । न कार्यालय धाउनुपर्छ न त बैँक । घर नै कार्यालय । न पैसा लिन धाउनुपर्छ न त पैसा दिन । तर, उदेक लाग्दो कुरा संसारको उत्कृष्ट प्रणालीको दाबी गर्नेहरु बजार बन्दको सूचना टाँसेर किन घरमा बसेका छन् ?

बाइ र सेलको बटन थिच्ने सुविधाले मात्र पूर्ण अनलाइनलाई जनाउँदैन । बटन थिच्नुअघि र पछिका सयौँ काम यससँग जोडिएका छन् । जसको अभावमा एउटा किनबेच पूरा हुन सक्दैन । नेप्सेका नेता जति भुके पनि ती सबै काम घरबाट गर्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा नेप्से आफ्ना कमजोरी स्वीकार्न सकिरहेको छैन । पूर्ण प्रविधि र सुविधाको अभावमा लगानीकर्ता वा समग्र सेयर (पुँजी) बजारले व्यहोर्नुपरेको नोक्सानीका बारेमा आशावादी भविष्य र सान्त्वनाका शब्द खर्चन उसलाई गाह्रो भइरहेको छ । अनि ऊ ग्राभेल सडकलाई कालोपत्रेको कागज बनाएर पैसा निकासा गर्ने इन्जिनियरझैँ गरी लगानीकर्तामाझ झुटा र कपोलकल्पित कुरा बुनिरहेको छ । नेप्सेले बुझे हुन्छ, जस्तो कागज बनाए पनि यसका उपभोक्तालाई राम्ररी थाहा छ सडक कच्ची नै छ । कालोपत्रे भा’छैन ।

लकडाउनका समयमा सेयर बजार खुल्न नसक्नु नेपाली सेयर बजारका लागि दुर्भाग्य हो । सेयर बजारको यो कालो समय कोरोनाभाइरसका नाममा नभई बोर्ड र नेप्सेको नेतृत्वका नाममा लेखिनेछ, जसका कारण सेयर बजारसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाहरुको संगठनको एउटा सदस्यले शिर निहुराउनुपरेको छ ।

भाइरस सर्ने नाममा नभई आर्थिक क्षमता भएर पनि नेप्से र धितोपत्र बोर्डले प्रविधिको विकास र उपयोग नगर्दा लकडाउनमा सेयर बजार खुल्न सकेन । अहिले सेयर बजारमा प्रयोग भइरहेको प्रविधि र प्रणालीका आधारमा लकडाउनकै अवस्थामा सेयर बजार खोलेर कारोबार हुनसक्ने अवस्था छैन । किनकि, कारोबार सम्पन्न गर्न अहिलेको प्रविधि लगानीकर्ताको पहुँचभन्दा धेरै टाढा छ । तर, सरकारले लकडाउन खुलाए सेयर बजार बन्द गर्नुअघि जुन रुपमा सेयर बजार खोलिएको थियो, सोही रुपमा पूरा समय खोलिनुपर्छ । यसअघि जुन नियम र मान्यतामा बजार चलेको थियो, सोही अनुसार चल्नुपर्छ । दिनको पाँच घन्टा । आइतबारदेखि बिहीबारसम्म । बजारले आफ्नो दिशा आफैँ लिनेछ । वित्तीय तथा आर्थिक क्षेत्रका गतिविधिलाई सेयर बजारले उसको रेखाचित्रमा प्राकृतिक रुपमा आफैँ प्रदर्शित गर्नेछ ।

यो पनि पढ्नुहोस्

सेयर बजारमा सरकारी राहत

प्रकाशित समय ११:२४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु