fbpx
corona information

गृहपृष्ठ कोरोना रोकथाममा ग्रामीण क्षेत्रका सहकारीको भूमिका

कोरोना रोकथाममा ग्रामीण क्षेत्रका सहकारीको भूमिका

विश्व अहिले नोवेल कोरोनाभाइरस (कोभिड १९) को अत्यन्त विषम परिस्थितिबाट गुज्रिरहेको छ । चीनबाट सुरु भएको यो महामारी अहिले विश्वव्यापी बनिसकेको छ । यो संक्रमण छोटो समयमै तीव्र रुपमा फैलिरेहको अवस्थामा नेपालमा हालसम्म यसको प्रभाव न्यून रहे पनि सम्भावित भयावह स्थितिलाई रोक्न निकै ठूलो चुनौती खडा भइसकेको छ । यसको पूर्वतयारीमा निकै ढिलो भइसकेको छ र रोकथामका लागि हामी सबैले आ‑आफ्नो क्षेत्रबाट सक्रियता देखाउन आवश्यक छ ।

नेपालमा २०१३ साल चैत २० गते चितवनमा नेपालकै पहिलो बखान सहकारी स्थापना गरिएको थियो । हाल नेपालमा करिब ३५ हजार सहकारी संस्था स्थापित भएसकेका छन् । ६५ लाख सदस्य सहकारी अभियानमा आबद्ध छन् । नेपालको कुल गार्हस्थ्य उत्पादनमा (जिडिपी) मा करिब ५ प्रतिशत सहकारी क्षेत्रको योगदान छ । विगत वर्षहरु जस्तै यो वर्ष पनि ‘मर्यादित श्रम र पर्यटनका लागि सहकारी’ भन्ने मूल नारासहित ६३औँ राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी देशभर भव्यताका साथ मनाउने पूर्वतयारी थियो । तर, विश्व महामारी कोरोनाले गर्दा कुनै औपचारिक कार्यक्रम हुन सकेन । कोभिड १९ विरुद्धको सरकारको अभियानमा सहयोग गरेर यसपटक सहकारी दिवस नमनाउने निर्णय भयो ।

यसै सन्दर्भमा, सहकारीका विभिन्न सिद्धान्तमध्ये ‘समुदायप्रति चासो’ले भनेजस्तै सहकारीहरु, सहकारी सञ्चालकहरु तथा सहकारीकर्मीहरुले निकै सक्रियताका साथ आफूलाई प्रस्तुत गर्नुपर्ने समय आएको छ । समुदायका सदस्यहरुको संलग्नताबिना कुनै पनि क्षेत्रको विकास सम्भव नहुने भएकाले सहकारी संस्थाले समुदायको आर्थिक तथा मानवीय विकासमा सहभागिता हुनुअघि स्वास्थ्य निकै महत्वपूर्ण रहेको कुरा वर्तमान अवस्थाले सचेत गराएको छ ।

सहकारी संस्था समाजमै स्थापना हुने सामाजिक संस्था भएकाले आफ्नो समाजभित्र रहेका समुदायका सदस्यका लागि सामाजिक उत्तरदायित्व वहन गर्न तत्पर रहनु अहिलेको आवश्यकता हो । स्थानीय पुँजीको विकास तथा गरिब विपन्न वर्गमा वित्तीय कारोबारलाई सहजता प्रदान गर्नका लागि उच्च सजगताका साथ विपन्न समुदायको सहयोगीको भूमिका खेल्न सहकारी हरम्भव तयार रहनुपर्ने देखिन्छ ।

भनिन्छ ‘जिउँदाको जन्ती, मर्दाको मलामी’ । यतिबेला ग्रामीण भेगहरुमा विपत पर्दाको साथीको रुपमा सामुदायिक उत्तरदायित्व वहन गर्न सहकारीले महत्वपूर्ण भूमिका खेल्नैपर्ने देखिन्छ । ग्रामीण भेगका सहकारीले यस्तो असहज परिस्थितिका बाबजुद केही अत्यावश्यक कुराहरु जस्तै ग्रामीण क्षेत्रमा वित्तीय कारोबारमा सहजता, विप्रेषण सेवा, अपनत्वको भावना, सुन्दा सामान्य लागे पनि सूचना प्रवाहका लागि रिचार्ज कार्ड, विपत जोखिम न्यूनीकरण राहत कोष, कोरोना संक्रमणबाट बचाउन सचेतनामूलक कार्यक्रम, स्वास्थ्य सामग्री र दैनिक खाद्यान्नको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । सुरक्षित तवरले सहकारीका सञ्चालक समितिको पटक पटक बैठक बसी स्वास्थ्य अवस्थाको समीक्षात्मक छलफलसहित महामारी उद्धार तथा सम्पर्क समिति गठन गरी परिचालन गर्नु जरुरी छ ।

कोरोना कहरले गर्दा घर घरमा थुनिएर बसेको अवस्थामा घरदैलोमै सेवा गर्नक लागि सुपथ मूल्य पसल सञ्चालन, कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री वितरण, समूह परिचालन र सचेतीकरण, सहकारी एम्बुलेन्स सेवा, विपन्न परिवारलाई राहत वितरण, सरसफाइ सामग्री तथा स्टेचर व्यवस्थापन, स्थानीय प्रहरी र सरकारी तथा गैरसरकारी संस्थाहरुसँग सामूहिक सहकार्य, समन्वय र सहयोग, एसएमएस सेवा, सचेतीकरणका लागि माइकिङ, रेडियो तथा एफहरुमा स्थानीय भाषामा सूचनामूलक र सचेतनामूलक सन्देश सम्प्रेषण गर्न सहकारीले अग्रसर हुनुपर्ने देखिन्छ । अहिले धेरैजसो व्यक्ति विदेश तथा सहरहरुबाट गाउँ केन्द्रित भएको अवस्थामा कोरोना संक्रमण सहरी इलाकामा भन्दा गाउँमा झन् विकराल हुन सक्ने अवस्थाबाट जोगाउन ग्रामीण सहकारीको झनै ठूलो भूमिका हुन सक्छ ।

त्यसैले राज्यले तेस्रो खम्बाको रुपमा लिएको सहकारी क्षेत्रले यतिबेला अधिकतम् मेहनत गर्न जरुरी छ । कोरोना महामारीले विश्व अर्थतन्त्र जस्तै नेपालको अर्थतन्त्रलाई निकै कमजोर बनाउने सहजै अनुमान गर्न सकिन्छ । यस्तो अवस्थामा ‘प्रत्येक सबैको लागि, सबै प्रत्येकको लागि’ तथा ‘वसुधैव कुटुम्बकम्’ भन्ने सहकारीको मूल मर्मअनुसार यतिबेला सरकारको समय समयमा आउने सूचना तथा सन्देश ग्रामीण विपन्न क्षेत्रमा रहेका समुदायसम्म निरन्तर प्रवाह गर्ने र उच्च सतर्कता अपनाउन सहकारी संस्थाले आफ्ना सदस्यहरुको मात्र नभई गैरसदस्य र समुदायको पनि हेरचाह गर्न जरुरी देखिन्छ ।

प्रकाशित समय २०:४६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु