fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ आफ्नै लागि हो लकडाउन

आफ्नै लागि हो लकडाउन

विश्वव्यापी स्वास्थ्य संकटका रुपमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण विस्तार हुन थालेपछि नेपाल सरकारले सचेतना अपनाउन, यसको प्रकोप नेपालमा फैलन नदिन तथा सम्भाव्य संक्रमितहरुको पहिचान गरी उपचार गर्नका विशेष सतर्कता अपनाउनका लागि ८ दिनको ‘लकडाउन’ घोषणा गरेको छ । नेपालले ८ दिनको ‘लकडाउन’ घोषणा गरिरहँदा नेपालसँग १८०० किलोमिटर खुला सीमाना जोडिएको छिमेकी मुलुक भारतले २१ दिनको राष्ट्रव्यापी ‘लकडाउन’को घोषणा गरेको छ । आमनागरिकले यो ‘लकडाउन’को अर्थ नै नबुझेकोजस्तो देखियो । यो कुनै राजनीतिक, सामाजिक कारणले लगाइएको संकटकाल होइन, न त यो कुनै आन्दोलन, द्वन्द्व, अशान्ति नै फैलिएर घोषणा गरिएको कर्फ्यु नै हो । यो स्वास्थ्य संकटकाल हो, हाम्रो आफ्नै स्वास्थ्यको सुरक्षाका लागि सरकारले घोषणा गरेको हो । रमाइलो गर्ने वा रमिता हेर्ने भनेर सडकमा निस्कने समय हुँदै होइन । जति हामी सचेत रहन सक्यौं, जतिको सुरक्षा सावधानी अपनाउन सक्यौं । उत्ति नै सुरक्षित हुनेछौं ।

बाटोमा रहेका सुरक्षाकर्मीहरू पनि रहरले निस्केका होइन, उनीहरूमा पनि संक्रणम फैलन सक्छ, तर उनीहरू हामीलाई नै सम्झाइ रहेका छन्– आफ्नालागि, आफ्नो परिवारका लागि, जीवनका लागि, कृपया बाहिर ननिस्किदिनु होस्, घरमै बसिदिनु होस् । यो अनुरोध पालना गर्नु हामी सबैका कर्तव्य नै हो, किनकी एक जनाको गल्ती वा लापरवाहीले पूरै परिवार, परिवार हुँदै समुदाय, समुदाय हुँदै देश नै जोखिममा पर्न सक्छ । त्यसलै लकडाउनका समयमा बाहिर निस्कनु बुद्धिमानी होइन, बेबकुफी हो ।

लकडाउनका समयमा पनि खाद्यान्न, औषधि, तरकारी, फलफूल, दूध, पानीजस्ता वस्तुको सहज आपूर्तिको व्यवस्था भने सरकारले मिलाउनै पर्छ । यस्ता अत्यावश्यक वस्तु कुनै पनि क्षेत्रमा कुनै पनि रुपमा अभाव भएको छ भने सुरक्षाकर्मीको सक्रियतामा तत्कालै ती क्षेत्रमा खाद्य संकट हुन नदिन विशेष प्रबन्ध मिलाइ हाल्नु पर्छ । विशेषगरी, अहिले अपांगता भएका व्यक्तिहरूको सन्दर्भमा राज्य र समुदायले विशेष सतर्कता अपनाउनु पर्ने र उचित प्रबन्ध गर्नुपर्ने खाँचो छ, किनकी यस्ता व्यक्तिहरूको रोग प्रतिरोधी क्षमता निकै कमजोर हुन्छ । लकडाउनका अवस्थामा बाहिर निस्कन नपाउँदा उनीहरूको खाद्य सुरक्षा संकट बढ्न सक्छ । तत्कालै स्थानीय तहहरूसँगको समन्वयमा समुदायमा रहेका अपांगता भएका व्यक्तिहरूकालागि खाद्यान्न, औषधिलगायतका व्यवस्थापन गर्न राज्यले ढिलाइ गर्नु हुँदैन ।

लकडाउनका अवस्थामा पनि बैंक–वित्तीय संस्था खोल्ने भनेर जुन किसिमको अपरिपक्व निर्णय गरिएको छ, यसले अर्को अन्योल सिर्जना गरेको छ । बैंक–वित्तीय संस्था खोल्दा त्यहाँ कारोबारका लागि व्यक्ति नपुगी हुँदैन । बैंक खोल्दा, नेपाल राष्ट्र बैंकको भल्ट पनि खोल्नु पर्ने हुन्छ । राष्ट्र बैंकको भल्टबाट केही लाख होइन, करोडौं झिक्नु पर्ने हुन्छ । त्यसका लागि कम्तिमा ४ देखि ६ जनासम्म जनशक्ति एकै पटक परिचालन गर्नुपर्ने हुन्छ । त्यो नोट राष्ट्र बैंकदेखि बैंकका प्रधान कार्यालय, त्यहाँबाट शाखा कार्यालयसम्म ल्याँदा–लैजाँदा व्यक्ति–व्यक्तिबीचको कायम राख्नु पर्ने दूरी कामय नरहन सक्छ । पैसामा समेत संक्रमण फैलने भन्दै चीनले करोडौंका नोट नष्ट गरेको नजीर छ । त्यसैले संक्रमणकालीन अवधिमा सकेसम्म बैंक–वित्तीय संस्था खोल्दै नखोल्ने, खोली हाल्नु परेमा सीमित जनशक्तिले विशेष सावधानीसहित, स्वास्थ्य सुरक्षाका आवश्यक प्रबन्ध सहितमात्र सेवा दिने व्यवस्था गरिनु पर्छ ।

अहिले ८ दिनका लागिमात्र घोषणा गरिएको लकडाउनको अवधि अझ बढ्न पनि सक्छ । यस्तो अवस्थामा हामी डराउने वा आतंकीत हुने होइन, सावधानी अपनाएर घरभित्रै बस्नु नै हामी सबैको हितमा हुनेछ । लकडाउनका अवधिमा खाद्य संकट हुन नदिनका लागि भने सरकारले विशेष ध्यान दिनुपर्छ ।

प्रकाशित समय १०:२२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु