fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ वुहान कोरोनाभाइरसका आर्थिक प्रभाव

वुहान कोरोनाभाइरसका आर्थिक प्रभाव

Article_NewsKarobar

यतिबेला विश्व अर्थतन्त्रमा नयाँ त्रास सिर्जना भएको छ, विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनमा देखापरेको नोबल कोरोनाभाइरस निमोनिया (वुहान कोरोनाभाइरस)का कारण विश्व अर्थतन्त्रमा कस्तो झट्का (सक्स) देखा पर्छ र त्यसले विश्वव्यापी अर्थतन्त्रमा केकस्तो प्रभाव छाड्ने छ भन्ने विषयमा अर्थशास्त्रीहरूले प्रारम्भिक आकलन गर्न थालिएको छ ।

यसअघि विश्वव्यापी रूपमा देखापरेका इबोला र सार्सले पार्नसक्ने असरहरूबारे अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँग सम्बन्धित र अन्य विश्वव्यापी थिंकट्यांकहरूसँग सम्बन्धित केही अर्थशास्त्रीहरूले फरक-फरक आकलनहरू तयार पारेका भए पनि  नोबल कोरोना भाइरस निमोनियाका बारेका अहिलेसम्म प्रारम्भिक अनुमानमात्रै गरिएका छन् । यसले पार्नसक्ने असर सार्सका भन्दा कैयन गुणा बढी हुने अनुमान अर्थशास्त्रीहरूको छ ।

इबोला, सार्स, कोरानाजस्ता महामारीबाट विश्व अर्थतन्त्रले वार्षिक ५ खर्ब डलरभन्दा बढीको नोक्सानी बेहोर्ने अर्थशास्त्रीहरूको आकलन छ । नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार, पर्यटक स्रोत गन्तव्य र मुख्य लगानीकर्ता देश चीनमा देखापरेको वुहान कोरोनाभाइरसका महामारीबाट नेपाल अछुतो रहने छैन ।

सन् २०१७ मा प्रकासित एक शोधमा अर्थशास्त्रीहरू भिक्टोरिया फ्यान, डिन जेमिसन र लरेन्स समर्सले यस्ता महामारीहरूले विश्वव्यापी रूपमा प्रतिवर्ष ५ खर्ब अमेरिकी डलर वा विश्वव्यापी आयको ०.६ प्रतिशत नोक्सानी हुने उल्लेख गरेका थिए । यसमा उपल्लो मृत्युदरका कारण बेहोर्नु पर्ने क्षति र आयगत नोक्सानी दुवैका दुवैको लागि लेखांकन गरिएको उल्लेख थियो । यसैगरी कमिसन अन ग्लोबल हेल्थ रिस्क फ्रेमवर्कले सन् २०१६ मा प्रकासित अर्को अध्ययनमा यस्ता महामहारीहरूले विश्वव्यापी अर्थतन्त्रमा २१ औं शताब्दीभरिमा ६० खर्ब अमेरिकी डलरभन्दा बढीको क्षति बेहोर्नु पर्ने उल्लेख गरेको थियो, जुन वार्षिक औसत ६० अर्ब अमेरिकी डलरभन्दा बढी हुन्छ ।

आईएमएफका लागि डेभिड ब्लोम, डेनियल क्याडरेट र जेपी सेविलाको अर्को शोधले यस्ता महामाहारीका कारण स्वास्थ्यको असर सीमित भए पनि आर्थिक नतिजा ठूलो हुने देखायो ।

वुहान कोरोनाभाइरसका असरलाई अहिले नै न्यून आकलन गर्न सकिने अवस्था पनि छैन, किनकी यसका कारण मृत्यु हुनेहरूका संख्या बढेर एक हजार नाघिसकेको छ भने विश्व स्वास्थ्य संगठनले यसलाइ स्वास्थ्य महामारी नै घोषित गरिसकेको छ । यो महामारी नियन्त्रणका लागि अहिलेसम्म ठोस उपचार, खोप वा औषधिका सिफारिस भइसकेको छैन ।

अमेरिका-चीन व्यापार तनावका कारण एक चरणको झट्का बेहोरिसकेको विश्व व्यापार चक्रले वुहान कोरोनाभाइरसका कारण उत्पन्न महामारीबाट अर्को ठूलो झट्का बेहोर्ने छ । वुहान कोरोनाभाइरसको सबैभन्दा ठूलो प्रभाव पर्यटन र उड्डयन क्षेत्रमा पर्नेछ । भाइरस फैलन सक्ने त्रास, चीनद्वारा गरिएको बढ्दो यात्रा प्रतिबन्ध तथा चीनसम्म उडान गर्ने धेरै अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान रद्द गर्न थालेपछि यसले विश्वव्यापी पर्यटन गतिविधिमै असर पार्ने प्रारम्भिक संकेतहरू देखिएका छन् ।

हालसम्म चीन, नेपालसहित विश्वका २५ देशमा कोरोना भाइरस संक्रमितहरू देखापरिसकेका छन् ।

मंगलबारसम्मका विवरणअनुसार

  • विश्वभरि ४०,१३४ कोरोना भाइरस संक्रमण पुष्टि
  • २८,९४२ जना शंकास्पद संक्रमितहरू
  • ९०४ जनाका मृत्यु
  • ६,३०५ जना गम्भीर अवस्थामा 
  • विश्वका २५ देश प्रभावित, चीनमा उदगम र भयावह अवस्था

नेपालमा असर

चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार हो भने पर्यटक आगमनका हिसाबले पनि दोस्रो मुख्य स्रोत गन्तव्य हो । सन् २०१९ मा १ लाख ६९ हजार ५४३ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन्, यो सन् २०१८ भन्दा करिब १६ हजार बढी हो । विगत केही वर्षयता नेपालमा चिनियाँ पर्यटकहरूको आगमन लगातार बढ्दै गइरहेको पृष्ठभूमिमा सरकारले सञ्चालन गरिरहेको भिजिट नेपाल २०२० मा कम्तिमा ३ लाख चिनियाँ पर्यटक भित्र्याउने लक्ष्य राखिएको थियो । चीनले यात्रा प्रतिबन्ध लगाएसँगै गत वर्षजति पनि चिनियाँ पर्यटक नआउने निश्चित भएको छ । यसको प्रभाव नेपालको पर्यटन तथा उड्डयन क्षेत्र दुवैमा पर्नेछ, किनकी चीन उडान गर्दै आएको नेपालको निजी वायुसेवा कम्पनी हिमालयन एयरलाइन्सले चीनतर्फका उडान रोकिसकेको छ ।

यसैगरी व्यापारमा पनि नेपालले ठूलै धक्का बेहोर्ने अवस्था छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा चीनबाट कुल १ खर्ब १८ अर्ब रूपैयाँको वस्तु आयात भएको छ भने नेपालबाट चीनतर्फ १ अर्ब  १ करोड रूपैयाँको वस्तु निर्यात भएको छ । कुल आयातमा चीनको १७ प्रतिशत हिस्सा छ ।

वुहान कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न चीन सरकारले वुहान आन्तरिक रूपमा गरेको यात्रा प्रतिबन्धका कारण चीनको औद्योगिक उत्पादन गतिविधि (म्यानुफ्याक्चरिङ) पूरै प्रभावित बनेको छ । यसले चीनबाट हुने निर्यात पनि अब क्रमिक रुपमा संकुचित हुँदै जाने जोखिम बढाएको छ । यसको प्रभाव नेपालको वैदेशिक व्यापारमा पनि पर्नेछ ।

नेपालका जलविद्युत, चक्रपथ विस्तार आयोजनासहित थुप्रै पूर्वाधार निर्माणमा करिब १ हजार चिनियाँ कामदारहरू कार्यरत छन् । होङ्सी शिवम सिमेन्टसहितका केही उद्योगमा पनि चिनियाँ सहभागिता छ । वैदेशिक लगानीका हिसाबले चीन नै अग्रपंक्तिमा रहेको परिप्रेक्षमा वुहान कोरोनाभाइरसको प्रभावसँगै आउँदा दिनमा लगानीसमेत प्रभावित हुनेछ भने वसन्त उत्सव मनाउन चीन गएका चिनियाँ कामदार नफर्किँदा त्यसको प्रभावले पूर्वाधार निर्माणमा बिलम्ब हुने देखिएको छ ।

चीनमा अध्ययनका लागि गएका १८० नेपालीले स्वदेश फर्कन पाउँ भनेर निवेदन दिइसकेका छन्, सरकारले त्यसमा आलटाल गर्दै आएको छ । तीबाहेक चीनमा अहिले ठूलो संख्यामा नेपालीहरू चिकित्सा, होटल व्यवस्थापनलगायतका विषयमा अध्ययनरत छन् । वुहान कोरोनाभाइरस महामारी नियन्त्रण गर्न समय लागेमा र यसको प्रभाव फैलिँदै गएमा चिनियाँ अर्थतन्त्र त मन्दीका चरणमा फस्नेछ नै, विश्वका थुप्रै अर्थव्यवस्थामा यसको गम्भीर प्रभाव फैलिने जोखिम छ । जसबाट नेपाल अछुतो रहन सक्नेछैन ।

प्रकाशित समय १६:१५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु