fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ सेयर बजारमा लाभांश र वृद्धि रणनीति

सेयर बजारमा लाभांश र वृद्धि रणनीति

rabindra-bhattarai

सय रुपैयाँ अंकित मूल्य भएका कतिपय कम्पनीको सेयर सय रुपैयाँमा दुई कित्तासम्म किन्न सकिने अवस्था आएको छ । यसको अर्थ सेयर धेरै सस्ता भए भन्ने अवश्य पनि होइन । सस्तो र महँगोको मूल्यांकन तुलनात्मक रुपमा हेरिनुपर्छ र सेयरको मूल्यले कम्पनीको कार्य सम्पादनलाई पनि प्रदर्शित गर्नुपर्छ । अल्पकालमा वास्तविक मूल्य र बजार मूल्यमा धेरै भिन्नता देखिए पनि दीर्घकालमा त्यो भिन्नता कम भएर जान्छ । त्यसलाई मूल्यांकन गर्ने लगानीकर्ताका आ-आफ्नै आधार र तरिका हुन्छन् ।

‘सय रुपैयाँको सेयर ५० रुपैयामा पाएँ त्यही भएर सस्तो भयो नि’ भन्ने कुरा तर्क युक्त हुँदैन । किनकि अंकित मूल्य सय रुपैयाँ नै महँगो भएको पनि हुनसक्छ । अंकित मूल्य सबै कम्पनीका लागि सही मूल्य कदापि हुन सक्दैन । तर, सेयर बजारमा लगानीकर्ताको बुझाइ वा मूल्यांकन हेर्दा सय रुपैयाँ वास्तविक मूल्य हो भन्ने जस्तो देखिन्छ । नियामक नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डलगायतले पनि त्यही प्रकारको सिद्धान्तलाई स्थापित गर्ने प्रयास गरेको पाइन्छ ।

विशेष गरी जलविद्युत क्षेत्रका धेरै कम्पनीको सेयर मूल्य अंकित मूल्यभन्दा तल गएका छन् । के ती सबै सस्ता भए ? होइन । जलविद्युत क्षेत्रमा प्रमुख लगानीकर्ता वा सञ्चालक समूहले कागजी रुपमा बढाइएको लागत र तिनको कार्य सम्पादनलाई राम्ररी केलायौं भने प्रतिसेयर सय रुपैयाँ पनि धेरै महँगो देख्ने अवस्था छ । उदाहरणका लागि एक जलविद्युत प्रवर्धकले निर्माण प्रक्रियामा गएको जलविद्युत कम्पनीमा लगानी गर्नका लागि मलाई आग्रह गरे । उनको प्रस्ताव थियो- निर्माण सम्पन्न हुन पाँच वर्ष लाग्छ । लगानी गरे अहिलेबाटै प्रत्येक वर्ष १० प्रतिशतका दरले बोनस सेयर पाउनुहुन्छ ।

बनाउनै सुरु भएको छैन तर बोनस । भने पछि सेयरको संख्या बढाउँदै जाने हो । पुँजी आयोजनाको लागतमा देखिन्छ । तर, यथार्थमा लागत त्यति हुँदैन । जलविद्युत आयोजना निर्माणका क्रममा जुन प्रकारले लागत बढाउँदै लगियो त्यही हिसाबले ती कम्पनीको सेयर मूल्यमा अहिले समायोजन भइरहेको छ । त्यो अस्वाभाविक होइन । यसको अर्थ कतिपय कम्पनीको सय रुपैयाँ अंकित मूल्य पनि महँगो हो र थियो । सर्वसाधारणले सय रुपैयाँ तिर्नु भनेको महँगो मूल्य लगाउनु हो ।

यस्तै जलविद्युत क्षेत्रको अर्को पक्ष कम्पनीको कार्य सम्पादन र नाफा वितरण हो । जलविद्युत क्षेत्रका धेरै कम कम्पनीले मात्र नियमित लाभांश बाँडेका छन् । लाभांश बाँड्न सुरु गरेका पनि छैनन् । कतिपयबाट आश गर्न सक्ने ठाउँ पनि छैन । अधिकांश कम्पनी लाभांश नबाँड्ने र कमजोर कार्य सम्पादन भएका छन् । नाफा बाँड्ने अधिकांशको लाभांश ५ देखि १० प्रतिशतमा सीमित छ ।

राम्रो कार्य सम्पादन भएर भविष्यमा वृद्धिको सम्भावना बोकेका कम्पनी भए लाभांश नबाँडे पनि मूल्य बढ्ने आशा गर्ने ठाउँ हुन्छ, जसलाई ग्रोथ कम्पनीका रुपमा लिइन्छ तर जलविद्युत यस्तो क्षेत्र हो जसमा कम्पनीको सीमित उत्पादन र बिक्रीका कारण आम्दानीमा हरेक वर्ष र त्यसमा पनि उच्च वृद्धिको सम्भावना देखिँदैन । एउटै कम्पनीले धेरै आयोजना बनाउँदै गए वा अन्य आयोजनामा लगानी गरे कम्पनीको ग्रोथ हुँदै जाने हो तर यो सम्भावना पनि यहाँ देखिँदैन । किनकि प्रायःले हरेक आयोजना फरक कम्पनी बनाएर निर्माण गरेका छन् । यसकारण पनि जलविद्युत क्षेत्रका कम्पनीमा नाफाको अधिक वृद्धिको सम्भावना देखेर लगानी गर्नु उपयुक्त देखिँदैन । वृद्धिको सम्भावना पनि नहुने र लाभांश वितरण पनि गर्न नसक्ने कम्पनीले जोखिम बढाएर लान्छ । जसको ज्वलन्त उदाहरण अहिलेको घट्दो बजारमा देखिएको छ । मूल्य घटेर होल्ड गरिरहँदा कम्पनीबाट केही लाभांश पाइए केही मात्र भए पनि जोखिम न्यूनीकरण भएको महसुस हुनजान्छ ।

सेयर किन्दा वृद्धि (ग्रोथ पोटेन्सियल) र लाभांश वितरण दुवैको सम्भावनालाई केलाउन सक्नुपर्छ ।

अर्कोतर्फ सेयर बजारको अधिक हिस्सा ओगट्ने क्षेत्र भनेको बैंक तथा वित्तीय संस्थाको समूह हो । पछिल्लो त्रैमासिक प्रतिवेदन नै हेर्‍यौं भने पनि प्रायः बैंकको नाफा बढेको छ । तरलताको समस्या रहँदा पनि बैंकले नाफा बढाएका छन् । त्यो पनि एक वर्ष होइन, हरेक वर्ष नाफा बढाएको देखिन्छ । प्रतिस्पर्धामा फरक रुपमा प्रस्तुत हुने हो भने बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा वृद्धिको सम्भावना अझै बलियो छ । जलविद्युतमा जस्तो सीमित बिक्री र आम्दानीमा खुम्चनुपर्ने अवस्था छैन ।

यस्तै प्रायः बैंक तथा वित्तीय संस्थाले सेयरधनीलाई लाभांश पनि वितरण गरेका छन् । कतिपय बैंकले चार गुणा पुँजी बढाए पनि स्थिर रुपमा वा अझ बढाएर लाभांश वितरण गरेका छन् । बैंकले प्रतिसेयर २० वा २५ प्रतिशत लाभांश दियो भनेर नाक खुम्च्याउनेभन्दा पनि चार गुणा पुँजी बढाएर पनि सोही अनुपातमा लाभांश दिनसक्नु भनेको चार गुणा बराबरले नाफा बढाउन सक्नु भन्ने हो ।

अर्को कुरा कसले कतिमा सेयर किन्यो भन्ने आधारमा कम्पनीले लाभांश वितरण गर्ने पनि होइन । केही अपवादबाहेक प्रायः सबै सेयर सय रुपैयाँमा बिक्री गरिएका छन् । त्यो सय रुपैयाँमा सेयर किन्ने जस्तो संस्थापक वा सर्वसाधारणको लाभांशको रुपमा पाएको नाफाको प्रतिशत एक पटक हेर्ने हो भने जिब्रो टोक्नुपर्छ । सय रुपैयाँमा हरेक वर्ष १५ देखि ३० प्रतिशतको नाफा पाउनु भनेको सामान्य प्रतिफल हुन सक्दैन । संस्थापकले यस्तो प्रतिफल अन्य देशमा विरलै प्राप्त गर्छन् । १२-१३ प्रतिशतमा ऋण लिएर हकप्रद सेयरमा पैसा लाए पनि केही राम्रो लाभांश वितरण गर्ने बैंक तथा वित्तीय संस्थाका संस्थापक अझै फाइदामा वा लाभांश र ऋणको ब्याजमा सकारात्मक स्प्रेडमा छन् ।

यसैले हामीले सेयर किन्दा वृद्धि (ग्रोथ पोटेन्सियल) र लाभांश वितरण दुवैको सम्भावनालाई केलाउन सक्नुपर्छ । लाभांश वितरणको सम्भावना भए वा निरन्तर लाभांश वितरण गरिरहेको भए घट्दो बजारमा पनि केही न केही राहत हुन्छ । उदाहरणका लागि सेयर छनोट सुरु गर्दा नै विगत पाँच वर्षबाट नियमित लाभांश बाँडेको भन्ने जस्ता सर्तबाट सुरु गर्न सकिन्छ । तर, लाभांश पाउने कुनै सम्भावना नहुने कम्पनीको सेयर किन्ने हो भने अहिलेको पीडा फेरि दोहोरिन्छ र पूर्ण सट्टेबाजी गर्नुबाहेक केही पनि हुन सक्दैन ।

(त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर गरेका सेयर विश्लेषक भट्टराईले क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट गरेका छन् भने सेयरबजारबारे क्यानेडियन सेक्युरिटिज कोर्ससमेत गरेका छन् ।)

यो पनि पढ्नुहोस्

धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति र अर्थमन्त्रीको विवेक

 

प्रकाशित समय ११:४३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु